Sunday, 30 January 2022

छेपारो

महंगो छैन,सस्तै छ
किनबेच प्रशस्तै छ
रंग फेरिरहन्छ यसले
माया छेपारो जस्तै छ।

Saturday, 29 January 2022

आन्दोलन

जति गर्यौ,जति लड्यौ,भन-आन्दोलन थिएन त्यो
आफ्नै लागि मरिमेट्यौ,जन-आन्दोलन थिएन त्यो

पीडा मात्र दियो,समस्याको सम्बोधन हुन सकेन
केवल दुखाइदियो सबैको मन,आन्दोलन थिएन त्यो।


याद

नबिराई नबिर्साई हर-दिन आयो  
मायालुको यति धेरै याद किन आयो?

धोका दिएँ धेरैलाई,धोका दिएँ तिमीलाई 
कोहीबाट धोका पाएँ,आज सम्झें तिमीलाई 
अतीतको सम्झनाले पीर दिन आयो 
मायालुको यति धेरै याद किन आयो?

आज तिम्रो पिरतीले दु:ख दिन्छु भन्छ 
हुँदा-हुँदा आखिरीमा ज्यानै लिन्छु भन्छ 
माया पनि ऋणै रैछ आज लिन आयो 
मायालुको यति धेरै याद किन आयो?


मोबाइल

युट्यूब हेरेर पकाउने दिन आयो कठै 
मौलिकता सकाउने दिन आयो कठै 
केही गरी बच्चाले लिटो खान नमाने 
मोबाइल दिई फकाउने दिन आयो कठै।

Friday, 28 January 2022

संयोग

धर्मपत्नी छोडी परस्त्रीलाई रोजे पितृसत्ताको रोग पनि हुनसक्छ
धेरै खाएर नअघाए शारीरिक भोक नभई भोग पनि हुनसक्छ 
उन्मादको भारी रंगीचंगी फूलहरुको चौतारीहरुमा बिसाएपछि 
कसैसँग कसैको डि.एन.ए.मिल्न गएमा संयोग पनि हुनसक्छ।

Thursday, 27 January 2022

रोड नाप्दै

बदाम खाँदै,घाम ताप्दै बस्छन् मेरा साथीहरु
नानाथरी सरकारलाई सराप्दै बस्छन् मेरा साथीहरू 
म भने घरबार चलाउन पसिना बगाइरहन्छु
मेरो कुरा काट्दै,रोड नाप्दै बस्छन् मेरा साथीहरू। 

Friday, 21 January 2022

बलेको आगो

जसको गोजी गरम् छ,उसैलाई काखी च्याप्छन् सबैले 
नदिए तर्केर जान्छन् ,दिन सके हात थाप्छन् सबैले
निभेको आगो बाल्ने कसले,झन् कुल्चेर हिंडिदिन्छन्
देखिएको तीतो सत्य हो,बलेकै आगो ताप्छन् सबैले।

Tuesday, 18 January 2022

साली देवर

नारीले विहे पश्चात् थर बदल्ने समाज यही हो
कुरीतिको विरोध गर्नेको घर जल्ने समाज यही हो
"जसको शक्ति,उसैको भक्ति" चरितार्थ छ यहाँ 
साली चल्ने,तर देवर नचल्ने समाज  यही हो।

Sunday, 9 January 2022

एकान्त

रहन मनलाग्छ चुपचाप र शान्त,मेरै लागि होला
लेखिएको यो बिचित्रको लेखान्त,मेरै लागि होला
भीड,कोलाहल र अस्तव्यस्तताबाट धेरै पर जानुछ
लाग्न थालेको छ- प्रत्येक एकान्त मेरै लागि होला।

Saturday, 8 January 2022

हार-जीत

मान्छेको जात न हो,नबुझी सार,सशंकित हुन्छ कहिलेकाही 
निराशाको मरुभूमिमा आशाको बिज अंकुरित हुन्छ कहिलेकाही 
क्षणिक परिणाम जेसुकै होस्,दूरगामी सोचले अघि बढ्नु जरुरी छ 
सहन मात्र सक्नुपर्छ,हारमा पनि जीत हुन्छ कहिलेकाही। 


Friday, 7 January 2022

भोकै

चलाएर आफ्नै पाखुरी,पेट भरिन्छ बरु
दु:ख-सुख,उकाली-ओराली गरिन्छ बरु 
स्वाभिमानले शीर ठाडो पारेरै बाँचिन्छ
हात फैलाउनु भन्दा भोकै मरिन्छ बरु।

आरोप-प्रत्यारोप

जसरी बन्दुक/तोपले कसैलाई फाइदा गर्दैन
आरोप र प्रत्यारोपले कसैलाई फाइदा गर्दैन।

सैद्धान्तिक,बैचारिक रुपमा पतन हुनु के हो?
यो प्रकोप हो,प्रकोपले कसैलाई फाइदा गर्दैन।

केलाउनुपर्छ,स्वीकार्नुपर्छ,गल्ती,कमी-कमजोरी नलुकाउनु,ढाकछोपले कसैलाई फाइदा गर्दैन ।

Wednesday, 5 January 2022

मेरो मान्छे

तिमी रुँदा म रुन नपाए नि
आफ्नो भनेर छुन नपाए नि
तिमीलाई उस्तै माया गर्नेछु
तिमी मेरो मान्छे हुन नपाए नि।

Monday, 3 January 2022

बाजको पञ्जा

आतंकवादको नङ्ग्राले डसिसक्यो
समस्याको दलदलमा फसिसक्यो
कुखुरा जत्रो छ सुन्दर हाम्रो देश
क्रूर बाजको पञ्जामा पसिसक्यो।




समृद्ध

त्यो शक्तिको मूल्य हुन्न,जुन सञ्चित मात्र हुन्छ,खपत हुँदैन 
कमाएको धन सबै खर्च गरियो भने त्यहाँ कुनै बचत हुँदैन 
एउटा सिन्को नभाँची हुंकार र गफ दिने त हजारौं छन् यहाँ 
त्यो देश कहिल्यै समृद्धशाली हुन्न,जहाँ श्रमको इज्जत हुँदैन।

टुँडिखेल

म रुँदा खुशी लाग्ने भए आँखामा भेल बनाइदिन्छु
तिम्रो खुशीको लागि मेरै खुशी थुन्ने जेल बनाइदिन्छु 
तिम्रो लागि धेरै गर्न सक्दिन,ज्यान दिन सक्दिन,तर 
नाच,उफ्र,खेल,म छातीलाई टुँडिखेल बनाइदिन्छु।

Sunday, 2 January 2022

कौडीमा

बाँच्नु भन्दा बरु बिष पिए हुन्छ
कालको मुखमा उभिए हुन्छ 
देशलाई माथि उठाउन नसके
कौडीको भाउमा बेच्दिए हुन्छ।

ढाँट्न जान्नु

छाँट्न पनि जान्नुपर्ने रहेछ
काट्न पनि जान्नुपर्ने रहेछ
आखिर त्यही कुरा नै त हो,
ढाँट्न पनि जान्नुपर्ने रहेछ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...