तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक्र्याउने भन्ने चिन्ताले छाती तहसनहस नै भएको थियो।मेरो आफ्नै एउटै कोखका दिदीबहिनी नभएपनि नाताले पर्ने दिदीबहिनीहरुबाटै टीका ग्रहन गर्दै आएको थिएँ।अरु दाजुभाहरु कोही लाहुरे र कोही जागिरे भएकोले दिदीबहिनीहरुलाई दक्षिणाको रुपमा मोटो रकम टक्र्याउनेमा कुनै शंका थिएन।आफू भने बिहान-बेलुका हातमुख जोर्न नै धौधौ भैरहेको बेलामा प्रति दिदीबहिनी एकसय रुपियाँको दरले दिनपनि असमर्थ थिएँ।गोजीमा सुक्को नभएकोले मोबाईल मा रिचार्ज कार्ड भर्न सकिरहेको समेत थिईन।धन्न एनसेलले फ्री मा ट्वीटर चलाउन सकिने सुबिधा दिएकोले मन त्यतै बहलाईरहेको थिएँ।फेसबुक चलाउनलाई मेरो औकातले भ्याए पो।औकातकै कुरा गर्ने हो भने,बजारमा नयाँ-नयाँ मोडलका मोबाईलहरु आउँदा आफू भने फोटो हेरेरै चित्त बुझाउँथें।त्यतिबेला खासगरी आइफोन-६ ले बजार हल्लाइरहेको थियो।साथीभाइहरु भने महँगा मोबाईल र मोटरसाइकल लिएर फाइँफुर्ती लगाएर हिंड्थे।अँ त,ट्वीटरकै प्रसंगलाई जोडौं।ट्वीटरमा करीब ७ हजार फोलर र उत्तिकै संख्यामा फोलोईङ पनि थिए।म भने फोलरको संख्या गनेरै मख्ख हुन्थें।म थोरै संख्यामा ट्वीट गर्थें र धेरै जसो अरुकै ट्वीट पढेर समय ब्यतित गर्थें।त्यो दिन पनि म अरुदिन झैं फ्री ट्वीटरमै ब्यस्त थिएँ।भोलिपल्ट तिहारको बिशेष दिन अर्थात भाइटीका थियो।मेरो औकात छताछुल्ल हुने दिन एकदमै नजिक आएको थियो।मात्र एकरात कुर्नुपर्ने थियोे।ट्वीटरमा भाइटिकाकै बिषयले माहोल तताइरहेको थियो।दाजुभाइ तथा दिदीबहिनीहरु खुलेर ट्वीट र प्रतिकृया दिइरहेका थिए।मेरो नजरमा एकजना निखिता नामको चेलीको ट्वीट पर्यो जुन ट्वीटले मेरो मस्तिष्कमा आँधीतुफान नै ल्याइदियो।
"यदि आइफोन-६ उपहारस्वरूप दिन सक्ने वा दिनचाहने कोही त्यस्ता दाजुभाइ हुनुहुन्छ भने मलाई तुरुन्तै सम्पर्क गर्नुहोला,म भोलि भाइटिका लाइदिन तयार छु।"
त्यो ट्वीट मेरै मन-मस्तिष्कमा भाइरल बनेर छाइरह्यो।जाबो एकसय रुपियाँको दक्षिणा दिन नसक्ने मैले के नै गर्न सक्थें र।स्तब्ध भएर बस्नुको कुनै बिकल्प थिएन।उक्त ट्वीट प्रति कसले के प्रतिकृया जनाए,मैले कुनै चासो राखिन।भोलिपल्ट भाइटीका आयो र दिदीबहिनीहरुले मबाट ५० रुपियाँमै चित्त बुझाए।एउटै कोखका दिदीबहिनी भएको भए खासै फरक पर्ने थिएन होला र मैले पनि थर्काएकै भरमा टीका हासिल गर्ने थिएँ होला।तर कुरा अलग थियो।हुन त दिदीबहिनीहरुले पैसाको अपेक्षा गरेका हुँदैनन् तर दाजुभाइको इज्जतको पनि सवाल हुन्थ्यो।त्यो भाइटीकाले पनि मलाई नराम्रो चोट दिएर गयो।समयको चक्रसंगै दिन,हप्ता र महिना बिते।ट्वीटरको लतले भने छोडेन।तिहार पछि मैले निर्णय गरें कि म जस्तोसुकै काम गरेर पनि पैसा कमाउँछु,पैसा बिना यो दुनियाँमा केही नहुने रहेछ।यहाँसम्म कि दिदीबहिनी बनाउन पनि नसकिंदो रहेछ।मैले दिन र रात गरी दुई ठाउँमा सुरक्षागार्डको काम गर्न थालें।रातीको काम खासै गाह्रो नभएकोले सतर्कताका साथ सुत्न पनि सकिन्थ्यो।केही महिना पश्चात् म सँग आइफोन-६ किन्न सकिने पैसामा केही हजार अपुग भयो।जागिरे भनेपछि जसले पनि ॠण पत्याउने भएकोले साथीभाइ सँग ऋण लिएर पैसा जम्मा पारें र एकदिन समय मिलाएर बजार गएँ र आइफोन-६ किनेरै छोडें।तर त्यो फोन मैले नचलाईकन बाकसमै राखें।कडा मिहिनेत गरेर कमाएको पैसा मैले आइफोन-६ मा हालें।कता-कता पश्चातापको आगोमा पनि जल्न थालें-गल्ती गरें कि भनेर।सही-गलत जे गरेपनि गरिसकेको थिएँ-पछुताएर पनि हुने केही थिएन।केही महिना पश्चात् प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे हर युवायुवतीहरुको लागि खुशीको दिन भएर आइसकेको थियो।हुनसक्छ त्यो दिन कसैको ओठमा मुस्कान होला त कसैको आँखामा अश्रु।त्यो दिन आउन मात्र एकदिन बाँकी थियो।एकदिन पनि के भनुँ-रातको बाह्र बजेपश्चात अर्को दिन शुरु हुने भएकोले केही घण्टामात्र बाँकी थियो।हर युवायुवतीहरुको धड्कन बनेर त्यतिखेर पनि आइफोन-६ ले नै तहल्का मचाएर बजार पिट्दै थियो।आइफोन-७ लन्च भैसकेको थिएन।तिहारको जस्तो तनावग्रस्त थिईन म,किन भने मसँग पनि आइफोन-६ थियो।तर पूर्णरुपमा खुशी भने थिईन।किन भने तिहारमा आफ्नै दिदीबहिनीको अभाव भए झैं यसपटक पनि मेरो आफ्नै प्रेमिका थिईन-प्रेम दिवसको लागि।तिहारमा त मैले निखितालाई आफ्नो बहिनी बनाउन सकिन।यसपल्ट कसैलाई प्रेमिका बनाउन सकिन्छ या सकिन्न त्यो भविश्यकै गर्भमा थियो।धेरैजसोले प्रेम दिवसको शुभकामना आदन-प्रदान गरिरहेका थिए-ट्वीटरको माध्यमबाट।तिहारमा निखिताले गरेको ट्वीट अझैसम्म मेरो मानसपटलमा खिल बनेर गढिएको थियो।प्रेम दिवसमा पनि कसैले निखिताको जस्तो ट्वीट गर्लान् कि भनेर मैले ट्वीटरमै नजर लाईरहें तर त्यस्तो खाले ट्वीट गर्ने हिम्मत कसैले देखाएनन्।बरु यसपटक भने मेरो हिम्मत बढेको थियो।ट्वीट नगरुँ भनेर जति संयमित र नियंत्रित भएपनि झनझन म अनियंत्रित हुँदै थिएँ।अन्ततः केही सीप नलागेर मैले ट्वीट गरेरै छाडें।
"भ्यालेन्टाइनको उपलक्ष्यमा आइफोन-६ उपहारस्वरूप स्वीकार्न सक्ने कोही केटी साथी हुनुहुन्छ भने कृपया मलाई यथाशीघ्र सम्पर्क गर्नुहोला।"
ट्वीट गरेको केही बेरमै धेरै जनाले मेरो ट्वीटलाई रिट्वीट गरे र प्रतिकृया पनि जनाए।प्रतिकृया जनाउनेमा केटाहरु नै अग्रस्थानमा थिए।कुनै केटाहरुले मजाक गर्दै प्रतिकृया जनाए-"म किन केटी भएर जन्मिन यार?"
केही केटी साथीहरुले "साँच्चै!" भनेर मात्र प्रतिकृया जनाए।रातको ठिक ११:५९ बजे फेरि मैले अर्को ट्वीट गरें-
"भ्यालेन्टाइन डे को उपल्क्ष्यमा सबैलाई शुभकामना ब्यक्त गर्न चाहन्छु।साथै मेरो प्रेम र उपहार स्वीकार्न सक्नुहुने केटी साथीले उपहार लिनको लागि भोलि बिहानको ठिक दस बजे बौद्धको जी-क्याफेमा मलाई भेट्न सक्नुहुनेछ।"
यति ट्वीट गरेपछि मैले ट्वीटर बन्द गरेर निद्रादेवीको काखमा लुट्पुटिन थालें।केहीबेर सम्म निद्रा आएन।
"के मैले यो ठिक गरें?के मैले पनि अरुले झैं धन र आइफोनको धमास दिएकै हो त?तैलें ठिक गरेनस् केटा।त्यस्तो ट्वीट गर्नुपर्ने के आवश्यकता थियो र?के मेरो प्रेम र उपहार स्वीकार्न कोही आउँली त?के मैले पनि प्रेमिका बनाउन सकुँला र?अहिलेसम्म गर्न नसकेको काम भोलि सकुँला र?जे पर्ला पर्ला,कसैले स्वीकार नगरे पनि बालै भएन,म छँदैछु र मेरो आइफोन पनि छँदैछ।"
मनमा यस्तै कुराहरुको छाल आइरह्यो धेरै बेरसम्म।मेरो मन उथलपुथल भएर ठेगानमा थिएन।बेचैन बढिरहेको थियो।छट्पटी बढिरह्यो।तनाब बढिरह्यो।घडी र मोबाईलमा समय त हेरिन,तर करीब-करीब दुई बजेतिर निद्राले च्याप्न थाल्यो र कतिखेर भुस भएँ थाहै भएन।राती अबेरसम्म नसुतेकोले ब्युँझिदा बिहानको ९ बजिसकेको रहेछ।फ्रेस भएर खाना खाइसक्दा घरमै १० बजिसकेको थियोे।प्रेमदिवसमा मेरो लागि प्रतिक्षा गर्ने कोही होला जस्तो लागेन।तैपनि ट्वीटरमा दिएको वचन पूरा गर्न ब्यागमा आइफोन हालें र लुखुर-लुखुर हिंडेर जान लागें बौद्धतिर।म लगभग निराँश नै थिएँ।
"जाबो ट्वीटरबाट आह्वान गर्दैमा मलाई कुन केटीले भेट्न आउँली र?खेर गईस् मनोज,तँ खेर गईस्।"
मनमनै आफूले आफैंलाई कमजोर बनाएँ!लाचार ठानें।ब्यागबाट आईफोन-६ निकालेर एकछिन सुम्सुम्याएँ र भनें-"मेरो ५ महिनाको तलब!"
एकचोटि म्वाइँ खाएँ आइफोनलाई।किन भने त्यो मेरो अथाह परिश्रमको फल थियोे।करीब ५ महिना खान पुग्ने पैसाले किनिएको फोन थियो।म लगभग गन्तव्यमा अर्थात जी-क्याफेमा पुग्नै लागेको थिएँ।मेरो मुटु मृग नाचेझैं उफ्रन थाल्यो।निधारमा चिट-चिट पसिना आउन थाल्यो।शरीर थरथर काम्न थाल्यो।चालिएका कदमहरु त्यतिकै रोकिन थाले।
"भाग मनोज!यहाँबाट टाप कसिहाल।"-मेरो एक मनले भन्दै थियो।
"किन हरेश खान्छस् केटा!तँलाई भेट्न कोही नआएको भए पनि एकचोटि घुमेर चिया-सिया खाएर त आउ।जाँदैमा के नै जान्छ र तेरो?"-अर्को मनले मलाई हिम्मत दिलाउँदै भन्यो।
ममाथि दोश्रो मनले कब्जा जमायो।आफूलाई अलि दह्रो बनाएँ र क्याफे भित्र प्रबेश गरें।संघारमा पाइला मात्र के टेकेको थिएँ,एकै स्वरमा धेरै जना केटीहरुको आवाज आयो-"ह्याप्पी भ्यालेन्टाइन डे टु यु मनोज!"
हत्तपत्त मेरो नजर भित्रतिर मात्र के गएको थियो,करीब-करीब १५ जना केटीहरु उभिएर मतिरै टुलुटुलु हेरिरहेका थिए।सबैको आँखामा एक किसिमको आशा सवार थियो।सबैजना एकले अर्कालाई हेरेर आश्चर्यचकित हुँदै थिए।मेरो होस तब उड्यो जब मेरो नजर निखिता माथि पर्यो।
Sunday, 30 October 2016
आइफोन-६
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment