Thursday, 24 August 2017

तीता-मीठा पलहरु(गजल बिशेष)-७

                     भाग-७
         नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिदीबहिनीहरु दर खानलाई माइत गैसकेका थिए।बिदेशमा हुनेहरु भने सामाजिक संजालमा आफ्ना भावना,मर्म र बेदना पोखिरहेका थिए।यी त भए तीजका कुरा।तर दर खाने दिनको अर्को रोचक र सोचनीय पक्ष पनि छ।त्यो हो नेपाली गजल।त्यो अवस्थासम्म आइपुग्दा नेपाली गजलले ठूलो फड्को मारिसकेको थियो।समयको मागलाई मध्यनजर राखेर सर्जकहरुले बहर,छन्द र स्वतन्त्र गरी तीन तरीकाले गजल लेखेर गजलको बाढी समेत ल्याइसकेका थिए।तर बिडम्बना भन्नुपर्छ-सर्जकहरु गजल लेख्न भन्दा वहस गर्नतिर उद्धत देखिन थालेका थिए।परिणामस्वरूप एकजनाले आफ्नो फेसबुक वालमा आदरणीय वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र उहाँका गजलमाथि प्रश्नचिह्न खडा गरेको देखियो।गजलकार घनेन्द्र ओझाको फेसबुक वालबाट-

" निश्चित अनुशासनमा आवद्ध नभई गजल गजल हुदैन, त्यो अनिवार्य एउटा अनुशासन गजलका लागि छन्द/बहर/लय पनि हो भन्ने कुरा ज्ञानु दाजुलाई थाहा नहुने कुरै भएन! 
यो "ब्रेक दि रुल" गजलमा लागू हुन सक्ने देखिन्छ र ज्ञानु दाजु?
गजलमा जब नियम भङ्ग गरिन्छ, तब त्यो गजल हुन सक्दैन!
भोलिका दिनमा पनि गजल नै भनिने गजल लेख्ने हो भने ज्ञानु दाजुको यो तर्कलाई पूरापूर बेवास्ता गर्नुको विकल्प छैन!
अनि हो यही कारण, अथवा अग्रजहरूले नै गजलको बारेमा यथार्थ कुरो नबोली आफ्नो अनुकूल बोलिदिनाले अहिले गजल अराजक र विवादित बनेको हो!
गजलमा छन्दभङ्ग वा लयभङ्ग हुनै हुदैन भन्ने कुरा ज्ञानु दाजुले बुझ्नै पर्ने र अनुज पुस्तालाई बुझाउनै पर्छ अब!
ज्ञानु दाजुलगायत अग्रजबाट अब बहर/छन्दमा गजल रचना गर्न सम्भव कम छ, तर अनुज पुस्तालाई यसरी गलत "स्कूलिङ" दिनु पनि अग्रजहरूको समेत हितमा हुदैन!"

विभिन्न ब्यक्तित्व,साहित्यकार तथा गजलकारहरुको प्रतिकृया जस्ताको तस्तै प्रस्तुत गर्ने कोसिस गरेको छु।

" नेपाली गजलमा ब्रेक द रूल परम्पराकाे थालनीकर्ता स्वयं ज्ञानुदाइबाट यस्तो कुरा अाउनु स्वाभाविकै हो घनेन्द्र बाबु । तर मैले  तपाईंको भनाइलाई २०४४ देखि अात्मसात् गर्दै अाएकाे छु । तपाईंहरूकाे अागमनपछि मात्रै मेरो अभियानले साथ पाएकाे हो"-डा.घनश्याम परिश्रमी 

" ज्ञानुवाकर दाजुले ठीक भन्नु भयो ब्रेक द रुल तर त्यसलाई "गजल" नै नामाकरण गर्ने मोह नछोडनुको कारण पनि त खुलाई दिएको भए हुन्थ्यो नि।"-बिपुल सिजापती

" छन्दशास्त्रको लागि साधना हुन पर्योन्त,आँखा चिम्लेर छ ओटा हरफ लेख्दैमा गजलकार बनेर खादा ओढ्न पल्किएकाहरूलाई पद्य माथि यसरी कुर्लनु स्वभाविक हो।-द्धीप मिलन

" साधना हो सिर्जना भन्ने बुझेको मान्छेले ज्ञानु दाजुको जस्तो तर्क गर्दैन, बरु "धेरै साधना गर्नुपर्ने र अध्ययन गर्नुपर्ने हुदा छन्द र बहरमा गजल लेख्न जोकोहीले सक्दैन" भन्दाचाही उपयुक्त हुने थियो! यही कारण उहाहरू यस्ता तर्क अगाडि सार्नुहुन्छ, जुन सरासर गलत हो!"-घनेन्द्र ओझा

" गजलका लागि काफिया र बहर/छन्द/बद्ध लय अपरिहार्य छ.मुक्त लयमा लेखिएका रचनालाई गद्य कवितामा राख्दा गजल र कविता दुवैप्रति न्याय गरेको ठहर्छ।"-डा.नारायण गैरे

" सबैभन्दा पहिले त्रिविमा गजल भनेर पढाइने रचनाहरूविरुद्ध अावाज उठाउनुपर्छ तपाईंको भनाइले स्वीकृति पाउन ।"-डा.घनश्याम परिश्रमी 

" डा Narayan  gaire साप एउटा कुरा बुझाइदिनूस् न लय भनेकाे के हाे ? केलाइ लय मान्ने ? गजलकाे स‌रचना भित्र रहेर पनि मुक्तलयमा गजल लेख्न सकिन्छ हाेलानी हाेला नी । ती चैँ गजल भएनन् त हजुरकाे पि‍एचडीकाे परिभाषामा त ?"-पुरु लम्साल

" अहिलेको गजल अल्झिएको यसैमा हो।
गीतको लय र कविताको भाव  गजलमा आउनु जरुरी छ । लय/ छन्द/ बहर सकभर भएको राम्रो   । लयका नाममा भाव पक्ष कमजोर हुनुहुदैन भन्ने लाग्छ मलाई ।"-महानन्द ढकाल

" त्रि. वि.र अन्य वि. वि.मा पनि गजलका बारेमा    देखिएका भ्रमहरू हटाउने जिम्मेवारी हाम्रो हो.सस्तो लोकप्रियताका लागि गलत कुरालाई पनि सत्य भनेर स्विकार्दै जाँदा आज गजलको यस्तो दुर्दशा भएको हो.मैले सिद्धान्तको अध्ययनका क्रममा मुक्त लयमा लेखिएका रचना गजल हुन्छन् भन्ने कहीं आधिकारिक लेखाइ पाइनँ.गजल शास्त्रीय गेय विधा भएकाले यसमा अरबीफारसी बहर, संस्कृत सममात्रिक वा समवार्णिक छन्द,नेपाली समआक्षरिक छन्द तथा स्वनिर्मित भए पनि समअक्षरी छन्द त हुनुपर्यो नि गजल भनिसकेपछि नत्रभने कसरी छुट्याउने त गद्य कविता र गजलबिचको भिन्नता?"-डा.नारायण गैरे

" अब यसबारेमा हामीले अावाज उठाउनु अावश्यक भइसकेको छ ।"-डा.घनश्याम परिश्रमी 

" हो सर, त्रि.वि. र अन्य विश्वविद्यालयमा नै गजल बारे ठुलो भ्रम विद्यमान छ. त्यो भ्रम हटाउनुपर्छ.अब गजलका बारेमा स्पष्ट हुनु नितान्त जरुरी छ.पर्याप्त संख्यामा गजल लेखन भइसकेकाले यसको स्तरीकरणतर्फ ध्यान दिनु आवश्यक छ."-डा. नारायण गैरे

"दुवै गुरु प्रति सहमत अब त भ्रम विरूद्ध बोलम,आवाज उठाम,सस्तो लोकप्रियताको लागि ताली नबजाम"-द्धीप मिलन

" अब गजलले न्याय पाउला जस्तो छ, वाकर हरु कता वाक गर्न जान्छन् त्यसपछि ? "-रेशम चौधरी 

" दुई जना गजलकै "शल्यचिकित्सक" (गजलमै विद्यावारिधी) आदरणीय DrGhanashyam Parishramee र DrNarayan Gaire ले समेत प्रष्ट पारिसक्नुभएपछी ज्ञानु दाजुलगायत गजलमा "ब्रेक दि रुल" को वकालत गर्नेहरूले एक पटक सोच्नुपर्ला कि!"-घनेन्द्र ओझा

" गजल भनेकै निश्चित नियममा बाँधिएर लेख्ने शृजना हो। ज्ञानु सरको भनाई सरासर गलत हो, ब्रेक दि रूल भन्ने कुराको स्थान हुन्न गजलमा। कबितालाई गजल भन्न सकिन्न , गजल गजल हो।"-अविरल स्पन्दन बिनोद

" एउटै कुरा के हाे भने गजलमा लय अावश्यक छ । अन्य कुरा सबै बिबादका लागि गरिने हत्कण्डा मात्रै हाे । जसले जसरी लेख्न सक्छ त्यसैगरि लेख्ने हाे ।  छन्द जान्नेले लेख्दा भाे । बहर जान्नेले बहरमा  । र छन्द भङ्ग हुँदैमा गजल नहुने भन्ने कुरा पनि हाेइन । लय भङ्ग हुनु चैँ दाेष हाे ।"-पुरु लम्साल

"गजल सेर काफिया रदिफ उला सानी तखल्लुस् मुसलसल आदि सबै गजलकै तत्व मान्ने अनि बहर चाहिँ नमान्ने ?
कि यिन्को नाम पनि छुट्टै बनाइयोस् ।नत्र गजल भने पछि आधारभूत मान्यता सबै मानियोस्"-लोकेश संघात

" अहिलेको गजल अल्झिएको यसैमा हो ।
गीतको लय र कविताको भाव  गजलमा आउनु जरुरी छ । लय/ छन्द/ बहर सकभर गजलमा समातेकै राम्रो  । लयका नाममा भाव पक्ष कमजोर हुनुहुदैन भन्ने लाग्छ मलाई ।"-महानन्द ढकाल

" भाव शायर मा भर पर्ने कुरा हुन कस्तो भाव दिने भन्ने कुरा।सायद सिद्धान्तले ह्र्स्व दीर्घ मिल्दैमा गजल हुन् भन्दैन होला। साधना गर्ने बानी बसाल्यो भने भावको कमजोरी हटाउन सकिन्छ भन्ने तमाम शायरहरू जान्दछन्। क्षमा गर्नुहोला #mahananda सर, हजुरको अगाडि यसरी बोल्ने हैसियत मेरो छैन त्यै पनि छुच्चो मुख बोलिहाल्यो"-द्धीप मिलन

" "म साधना गर्न सक्दिन , मेरो अध्ययन गर्ने समय पनि छैन र मैले गजल भनेर लेखिसकेपछि गजल नै हो ।"
ठूलाले यहि सिकाएकाले साना अल्मलिए ।
अझै कतिदिन जिब्रो चपाएर बोल्नुहुन्छ अग्रजहरू ?
कि भने अध्ययन गर्दा सामाग्री थिएन र राम्रो जान्न पाइएन भन्नुपर्यो हैन भने साँचो कुरा बताएर आँफैले लेखेका बेबहर गजललाई गजलै हैनन् भनेर भन्न सक्नुपर्यो ।
नत्र भने समयले अरू कसैलाई नै अगुवा बनाएर सत्य बाहिर ल्याउँछ , तर त्यो बेला ढिलो भइसकेको हुन सक्छ । आँखा खोल्नुहोस् गुरुहरू , अझै समय छ । सत्यताको वकालत जो कोहिले गर्छ हामी पूर्ण समर्थन गरेर सम्मान गर्छौं । किनकी हामीलाई तपाइँहरूको अध्ययन र साधनाको महत्व थाहा छ । तर खोक्रो वाहवाहीमा बिक्ने जो कोहिलाई पनि सम्मान दिन आवश्यक ठानिन्न ।"-अविनाश सापकोटा 

" आदर्णीय गुरु द्वय DrGhanashyam Parishramee गुरु र DrNarayan Gaire यसरी अडिग रहेर बोली र काममा एकरुपता आईरहेमा गजलले कुनै एउटा निश्चित मापदण्ड पाउला नत्र उहीँ हो हालत,गोरु ब्याए पनि गजल,गाई ब्याए पनि गजल। माफ पाऊँ अलिक अभद्र कमेन्ट भयो भने"-द्धीप मिलन

" अब सत्य बोल्ने वेला भएको छ.गजल नबनेका रचनालाई गजल नभनौं.गजल बन्नका लागि आवश्यक न्यूनतम नियमको पालना गर्न र गराउन निर्भय भएर कार्यक्षेत्रमा जुटौं.मेरा गल्ती म सुधार्छु भन्न संकोच नमानौं.अब नेपाली गजलमा सुधार र परिष्कारको यात्रा आरम्भ भएको कुरा स्वीकार गरौं.।"-डा.नारायण गैरे

" पक्कै पनि,हिजो पुनर्जागरणको समयमा के-के गरिए हैन, आज के भैरहेको छ ? र भोलि के गरिनुपर्छ भन्ने कुराको बारेमा चिन्तन हुनु आजको आवश्यकता हो। तर हामीमा हिजो मैले यसो गरें यहि नै सत्य हो, यसैगरी नै अगाडि बढ्नुपर्छ भन्ने धारणा हावी भएको छ गुरु। मैले नसके पछि मैले म अनुरुपको नियम लाद्ने अधिकार मलाई गजल दिँदैन। भन्ने कुरा हिजोकाहरूले बुझेर अब आउने नयाँहरूलाई मार्ग सहज र साधनाको लागि आवश्यक स्थान बनाईदिनु पर्दछ। साँचो बोल्दैमा कसैको स्तर घट्दैन झन बढ्छ, श्रद्धाले शिर झुक्दछ।"-द्धीप मिलन

" दीप बाबु ! इतिहास भत्काउने दुस्साहस राम्रो हुँदैन । नियम मिचेर खेल खेल्नु पनि उचित हुँदैन ।"-डा.घनश्याम परिश्रमी 

"आदरणीय गुरु
हामीमा यहि भैरहेको छ, नियम मिचेर खेल खेल्ने र ईतिहास मेटेर आफुलाई सत्य सावित गर्ने। गजलको सम्बन्धमा म केही जान्दिन , केही सिक्न खोज्दैछु भने गुरुलाई पढेर बुझेर सिक्न खोज्दैछु। यी भ्रमहरूका निदान चाँडै होस्।"-द्धीप मिलन

" तीन ओटा कुरा बोल्न मन लाग्यो=
१) गजलका आफ्नै संरचनागत नियम र ढाँचा हुन्छन । यो सत्य हो । बहर, छन्द, लोकलय र लयवृत्तमा गजल लेख्ने अनेकौं बाटाहरुलाई  आजका गजलकारहरुले आफाफ्नो रुचि र सहजताको आधारमा अबलम्बन गरेको कुरा पनि आजको यथार्थ हो ।
२) छन्द र बहरमा गजल लेखेर मीठो भाव पस्किनेहरु महान हुन । लोकलय र लयवृत्तमा गजल लेखेर पनि गजलिय कलाको मीठास दिन खोज्नेहरु पनि महान हुन । तर छन्द-बहरमा गजल लेखेर पनि गजलिय भाव दिन नसक्नेहरु र गजलमा उच्च स्तरको चिन्तन पस्केर पनि लयको न्युनतम मापदन्ड पूरा गर्न नसक्नेहरु केवल लहडी हुन ।
३) गजलको परम्परा धानेर स्तरिय गजल लेख्न सक्नका लागि जति उच्च स्तरको प्रतिभाको खांचो पर्छ त्यसै गरि साहित्यमा "ब्रेक दी रुल" गरेर अघि बढ्नका लागि पनि आँट र हिम्मत चाहिन्छ । साहित्यमा कि त प्रतिभाशालीहरु नै चिनिन्छन कि त आँटिलाले नै साहित्यको ईतिहास र परम्परालाई बदल्छन । तर बहस गर्नेहरु केवल बहस मै सीमित हुन्छ्न ।"-खगेन्द्र गिरी कोपिला

" नेपाली गजलको बिकासक्रम  भर्खर सुरु हुदैछ । बाघको सन्तान बच्चा छ भन्दैमा बिरालो भन्न पनि गलत होला । बिरालो मोटो भएर बाघ नहोला । त्यसैले गजल गजल नै हो अन्य ससक्त सिर्जनाको सम्मान त्यसैको नाम बाट गरिनु पर्छ ।बिरालो बाघ जस्तो हुन सक्ला तर बाघ नै भन्न नमिल्ला ।"-लोकेश संघात

" ज्ञानु दाइ नेपाली गजलका क्षेत्रमा सम्मानित व्यक्तित्व हुनुहुन्छ । उहाँले नेपाली गजलको पुनर्जागरणमा दिनुभएको योगदान प्रशंसनीय छ । तर, उहाँले आफ्ना गजललाई मानक ठानेर गजल सम्बन्धी स्थापित मान्यतालाई बङ्ग्याउन खोज्नु राम्रो काम होइन । ब्रेक द रुलका नाममा गजल गद्यमा पनि लेखिन्छ भन्नु नितान्त गलत कुरा हो । गजलमा बहर भनेको फारसी शास्त्रीय छन्द मात्र होइन ! नेपाली लोकलयहरु वा समाक्षरिक स्वतन्त्र लयहरु पनि हुन् तर गद्यमा चाहिँ गजल कुनै पनि हालतमा हुँदैन !
आफ्नोपन निर्माण गर्ने नाममा गजलका मूल चिनारीहरु काफिया, लय र कवित्वलाई नै समाप्त पार्ने कुरा कसरी मान्य हुन्छ र ? नेपालीपन दिने नाममा ५-७-५ को संरचनामा लेखिने जापानी कविता हाइकूलाई अब हामी ७-१०-१२ को संरचनामा लेखौं भन्दा हुन्छ कि हुँदैन ?
त्यसैले अग्रजहरु ! दोषलाई आदर्श मानेर नयाँ पुस्तालाई गलत शिक्षा दिनुभन्दा साधना गर्न उत्प्रेरित गर्ने कि ?"-देवी नेपाल

" मैले बुझे अनुसार साहित्य भनेको भाव बिचार अन्दाजको प्रस्तुति हो ।संरचना सहितको साहित्य बिधागत साहित्य हो ।
गजल हुनको लागि लय चाहिन्छ । भन्ने कुरा लगभग धेरैले स्वीकार गरेको पाइन्छ । मिहिन लय भनेको बहर छन्द नै हो किन कि वजन बराबर नभए सम्म लय बन्न सक्दैन ।
छन्द बहर चाहिदैन भन्नू भनेको एक त आफुले लेख्न नसक्ने कमजोरी को ढाकछोप हो भने अर्को केही समय केही जमातमा भ्रम छरेर केवल मुतको न्यानो लिनु हो जस्ले भोलि पर्दा खुल्दा नांगै देखाउनेछ ।
त्यसैले भ्रम छर्ने अग्रजले इजार नचुडिदै लाज ढाक्ने उपाय सोच्दा उत्तम हुनेछ ।"-लोकेश संघात 

" सायद नेपाली माटोमा जन्मेको यो मौलिक विधाको अब न्वारान जरुरी छ । अन्यथा यसले सँधैभरि अरबी बाबुको झटकेलो सन्तानको रूपमा संकुचित भएर बाँचिरहनु पर्ने छ । बेबहर जुमलाहरूलाई गजलकै मान्यता दिइएछ भनेपनि यो केवल एउटा ढाँट भन्दा बढी हुनै सक्दैन । कहिलेसम्म यो मूतको न्यानोमा आनन्द मान्ने ?
हिजो पो गजल के हो भन्ने थाहा नहुँदा जसो जसो भनियो त्यही पत्याएर आइयो । आज अब गजल नै हो भने बहर/छन्द चाहिँदो रहेछ, बेबहर भए शेर नमानिँदो रहेछ, जुमला हुँदो रहेछ, जुमला जुटाएर गजल हुँदो रहेनछ भन्ने लगभग सबैले बुझिसकेको अवस्था हो । सिङ्गो युग शेर र जुमला बीच फरक छुट्याउन नसकेर भ्रममा रहेपछि अब बुझ्दा पनि स्विकार गर्न नसकेको अवस्था कायम छ ।
जुमला नै किन नहोस् नेपाली साहित्यको एउटा ठूलो हिस्सा यस्तै रचनाले भरिएको छ । त्यसको सम्मानजनक नामाकरण आवश्यक छ, सँधै अरबी बाबुको झटकेलोको रूपमा अनाधिकृत गजल नाम दिई अपमान गरिनुहुन्न ।"-आवाज शर्मा

" ज्ञानु दाईलाई सम्मानपूर्वक के भन्न चाहन्छु भने उहाँ गजल लेखनमा शिल्पगत दोष शुरूदेखि नै रहेको अवस्था हो, उहाँले स्वीकार मात्र आज गर्नु भएको हो, घुमाउरो पाराले ।"-गोपाल आश्क 

" लय मुक्त वा बिषमलयी वा मोटामोटी लयी रचनालाई गजल नै भन्नु गजल ब्राण्ड नेम को कमाल हो । नत्र नाम पनि अर्कै राखेर ब्रेक द रूल गर्न सकिन्छ । जस्तै भारतमा गनुक ( गजल नुमा कविता ) जसमा लय/ वहर / छन्द बाहेक सबै पाईन्छन् । ७० को दशक देखि नै भारतमा यस्ता रचना आजाद गजलका नाममा लेखिदै आएका छन् जसलाई ज्ञानु सरले नेपालमा भित्र्याउनु भएको हो । अहिलेको बहस कसरी यही रचनालाई सम्मानपुर्वक व्यवस्थापन गर्ने भन्ने हो ।"-टक लम तमु

" गजल भनेर मुक्त लयमा लेखिएका रचनाको संख्या नेपाली भाषामा ठुलो छ.कुनै उपयुक्त नाम दिएर यी रचनाको पनि संरक्षण र संवर्धन गर्नु जरुरी छ तर यस्ता रचनालाई गजल भन्नु उचित हुँदैन.यहाँको विचार मननीय छ।"-डा.नारायण गैरे

" पूर्वतिर देवी पन्थी सरले गजललाई 'राग-विराग' भन्दै अलाप्न थाल्नुभएछ ।"-देवी पन्थी

" विश्वको सर्वोच्च शिखर सगरमाथानै हो । र यसको उचाई ८८४८ मि नै हो । धौलागिरी, कञ्चनजंघा, माच्छापुछ्रे लगायत अरु कुनै चढ्ने हो वा सगरमाथानै चढ्ने हो ,त्यो आरोहण गर्न चाहनेको इच्छा र सामर्थ्यको कुरो हो ।
अरू कुनै हिमाल चढेर ,यही मैले चढेको शिखरनै सगरमाथा हो भनेर चिनाउन खोज्ने र सगरमाथानै चढेको हुँ भन्ने  दुस्साहस कसैले नगरौं ।
अब कोही गुमराहमा पर्नेवाला छैनन् ।"-लालकाजी श्रेष्ठ
 
" गजल नै भन्न रुचाउनेले गजलको नियम भित्र रहेर लेख्ने नत्र ब्रेक दि रुल गरेर नया नाम दिए भैगोन्त।"-बेहोशी भीम रसाइली 

गज्जबको कुरो त्यतिबेला म पनि स्वतन्त्र गजल लेखनमा अभ्यास्त थिएँ।मलाई चित्त नबुझेकोले प्रतिकृया दिएँ।मैले के गरें मलाई नै थाहा थिएन।मनमा लागेको कुरा भनें।
" बहर /छन्द वालाको पेवा हो र गजल?
बहर गजल
छन्द गजल
स्वतन्त्र गजल
भनेर छुट्याए भैगो नि।
बहस गर्न मन थिएन।बाध्य भएँ।"-माङ संग्राम
" सहि भन्नू भो छन्द र बहर भन्दा अरु आफ्नै स्वतन्त्र लय हुन सक्दैन भन्नू नि गलत हो।"-शिशिर दूरबस्तीको 

" हुन् सक्छ तर छुट्टै नाम दिनु पर्छ । गजल भन्ने हो भने गजलका मान्यता पूरा हुनुपर्छ ।"-लोकेश संघात 

" के गजल मन्दिरको प्रसाद हो जस्ले जे लेख्यो त्यो मान्ने?"-मिलन मधुवसी

" गजलको भदाहा भन्दिमला नि त।"-शिशिर दूरवस्तीको

" (एउटा सानो किस्सा)
बाउले कान्छी आमा बिहे गरेर अलग्गै बस्न थालेछ।जेठी पट्टीको छोरा पनि ठूलो भएछ र  बाउको बारेमा सोधखोज गरेछ।आमाले नचाहँदा नचाहँदै पनि बाउ देखाइदिन करै लाग्यो।एकदिन आमाले छोरालाई आफ्नो बाउ देखाइदिएछ।तर अचम्मको कुरा छोराले भनेछ-
"यो मान्छे मेरो बाउ कसरी हुनसक्छ?मेरो अनुहार संग पटक्कै मिल्दैन।मलाई त्यो मान्छेलाई बाउ भन्न मनै लागेन।अर्को बाउ देखाइदिनुस्।"
छोराको कुराले आमा शुरुमा दु:खी भइन्।तर पछि भने छोराको हर्कत देखेर उनलाई रिस उठ्यो।उनले गालामा एक चड्कन लाएर भनिन्-
"यो तेरै बाउ हो।छोरा  हुनलाई बाउको अनुहारसंग मिल्नुपर्छ  भन्ने छ र?"
(यस्तै चड्कन बहर/छन्द वाला गजलकारलाई हान्नुपर्ने देखियो,जसले स्वतन्त्र गजललाई गजल नै हैन भन्छन्।Give respect/take respect.)-माङ संग्राम 

" कथा :- पानीको खिर
धेरै पहिलेको कुरा हो । एकजना मानिस आफ्नो आफन्त भेट्नको लागि धेरै लामो बाटो पार गरेर गएछ । आफन्तले पनि बडो सत्कारले घरमा स्वागत गरेछ र बेलुकीको खानामा बिभिन्न परिकार सहित खिर बनाएर खुवाएछ । पहिले कहिल्यै खिर नखाएको उसलाई खिर बहुत मीठो लागेछ तर कसरी बनाउने भन्ने सोध्न लाज लागेर नसोधी घर फर्किएछ  । घरमा आइसकेपछि उसलाई घरमा पनि खिर खान मन लागेछ , र आफुले खाएको खिरमा के के स्वाद थियो सम्झिन लागेछ । उसले चामल , चिनी , नरिवल , छोकडा , काजु , किसमिस आदी सबै पत्ता लगाएछ तर के मा पकाएको हो थाहा पाएनछ ।
अन्त्यमा उसले खिर पानी हालेर पकाएछ र सारा गाउँलाइ खानको लागि निम्तो दिएछ । उसले त्यो परिकार उस्तै नभएको चाल त पाएछ तर कारण थाहा पाएनछ र सारा गाउँलेलाई पानिमा पकाएको परिकारलाई खिर हो भनेरै खुवाएछ । सारा गाउँलेलाई पनि त्यो गुलियो र मसला मिसिएको परिकार धेरै नै स्वादिलो लागेछ र बनाउने सामान र तरिका बारे उसंग सोधेछन् । उसले पनि दूध बाहेक अरू सामान र तरिका बताएछ र गाउँलेहरूले पनि खिर भनेर सो परिकार बनाएर खान लागेछन् । केहिबर्ष यसैगरी बितेपछि एकजना मान्छे उसको आफन्तको गाउँबाट त्यो गाउँमा घुम्दै आइपुगेछ र खिरको सत्यता बारे थाहा पाएछ । तब उसले खिरको लागि दूध आवश्यक हुन्छ पानिमा पकाउँदा त पुलाउ हुन्छ भनेर भनेछ । तर केहि अपबाद बाहेकका गाउँलेले उसको कुरा पत्याएनछन् र उ भएको ठाउँमा सोध्न गएछन् । उसले सत्य कुरा बुझे पनि आफ्नो अस्तित्व बचाउनको लागि यो खिर नै हो, दूध मिसिएको परिकार खिर नाम गरेको अर्को परिकार हुन सक्छ भनेर गाउँलेलाई पठाएछ । गाउँलेले सोहि अनुरुप यो खिर नै हो भनेर आ आफ्नो घर फर्किएछन् । तर अपबादमा रहेका केहि ब्यक्तिहरू त्यो आएको मान्छेबाट खिरको सत्यता बारे बुझ्नको लागि आकर्षित भएछन् र खिर र पुलाउ छुट्टा छुट्टै दुई परिकार हो भन्ने थाहा पाएछन् ।
अझै पनि बेला बेलामा खिर भन्न पाउने विषयमा पानीपुलाउ पक्षले बखेडा निकालेर दूधे खिर पक्ष संग बिबाद गर्छन् अरे । सुन्नेलाई सुनको माला ......-अविनाश सापकोटा 

" तपाईंको किस्सा मजाको लाग्यो । तर यहाँ कुरो उल्टो छ ।अनुहार मिल्यो गजल जस्तै देखियो तर डि एन ए मिलेन ।अब बाउ भन्ने कि नभन्ने आफै बिचार गर्नुस् ।"-लोकेश संघात 

" डि एन ए मिल्यो अनुहार फरक भए पनि।यो चाहिँ सत्य हो।"-माङ संग्राम

" डि एन ए भनेको लय हो गजलको यस्मा दुई मत छैन ।यदि हैन भने चित्तबुझ्दो लजिक दिनुस् ।
आमाले चडकन हान्दैमा डि एन ए नमिले पनि बाउ भन्नुहुन्छ भने त मेरो भन्नू केही छैन ।"-लोकेश संघात

" बाउ र छोराको डि एन एन नमिल्ने कुरै आउदैन।यहाँ छोराहरुले ज्ञानुवाकर पौडेल सर जस्तो बाउ लाई बाउ हैन भन्दैछन्।"-माङ संग्राम

" ज्ञानुवाकर सरको सम्मान गर्छु तर म गजलको बाउ मान्दिन ।डि एन ए पुर्खा बाट आउने कुरा हो । गजलको इतिहास कोट्याएर गजलको  उत्पत्ति र पुर्खा भेटिन्छन् । नेपालमा यस्को जन्म भएको हैन ।अब उस्तै अनुहारको कसैले जन्मायो भने त्यस्को अर्कै नाम दिनुपर्छ । ज्ञानुवाकर सरलाई गजलको बाउ मान्नुपर्ने लजिक दिनुस् । यदि तपाईंको लजिक चित्त बुझे म पनि छोरो बन्न तयार हौला नत्र गजल कसैको छोरो हैन । यस्को आफ्नै इतिहास छ ।"-लोकेश संघात

" छोरो जन्माएर मात्र प्रयाप्त छैन।जन्माएपछि उचित रेखदेख र पालनपोषणको आबस्यकता पर्छ।छोरो जन्माएर छोड्दैमा असल बाउ हुन सकिन्न।कसैले नेपालमा गजल जन्माएर छोडे ।त्यसपछि नेपाली गजल लाई हुर्काउने बढाउने कोही भएनन्।अपांग भए गजल।रोगी भए।हो त्यसैबेला ज्ञानुवाकार पौडेल सर हरुले गजलको पालनपोषण गरेर हुर्काए बढाए।आज नेपाली गजल यहाँ सम्म आइपुग्नुमा उहाँको योगदान अतुलनीय छ।अब भन्नुस् उहाँ बाउ हो कि होइन?जन्म दिने मात्र बाउ हुँदैनन्।कर्म दिने,शिक्षा र संस्कार दिने त झन महान बाउ हुन्छन्।"-माङ संग्राम 

" तपाईंले भनेको कुरा बिल्कुलै सहि हो पालन पोषण राम्रो हुनुपर्यो ।
मोतीराम भट्टले गजल भित्राए नेपालमा ।उन्ले बहरमै भित्राएका छन् इतिहास हेर्नुस् ।
मतलब उन्ले बाघ जन्माएर छोडे तर ज्ञानुवाकरले लय ब्रेक गरेर बिरालो जस्तो गरि हुर्काए अब उनी तपाईंले भने जस्तो असल बाउ भए कि भएनन् आफै बिचार गर्नुस् ।
यदि उन्ले बाघ नै हुर्काउथे भने उनलाई पनि काकाबाउ मानिन्थ्यो होला ।"-लोकेश संघात 

" मान्छे का रगत धेरैमा धेरैको मिलेको हुन्छ तर रगत मिल्दैमा मान्छे उहि हो भन्न मिल्दैन।"-मिलन मधुबासी

" कसरी हुर्काएको थियो भन्ने कुरा त एकादुईले भनेर हुने कुरा होइन।दुनियाँले देख्ने कुरा हुन्।यदि उहाँ अरु जस्ता बाउहरुले पालनपोषण नगरेको भए गजलको मृत्यु भैसकेको हुन्थ्यो।आज हामी यहाँ गजल-गजल भनेर बहस गरिरहेका हुने थिएनौं।"-माङ संग्राम 

" ज्ञानुवाकरले गजल चै कुन लेखे ?अाधा गजलको नियम पालना हुदैमा गजल भन्न पाईन्छ।"-मिलन मधुबासी

" हो गजल नाम जिवित राख्नु भएको वहाँले हो त्यो मानिन्छ । तर गजलका आधारभूत मान्यता जोगाउन सक्नु भएन बिकासक्रममा यस्को खोजी भैरहेको छ ।यो कुरा वहालाई पनि समयले बुझाउने छ।"-लोकेश संघात


"मान्छे त मान्छे हो नि।चार जात छत्तीस वर्णको फूलबारी त्यतिकै भनिएको हो र?जात फरक हुँदैमा मान्छे नै होइन?तँ सानो जात ,म ठूलो जात भनेर दम्भ देखाएको पारा हो यो पनि।"-माङ संग्राम

" अनुहार मिल्दैमा अर्काको घर पुगेर अरुको छोरालाई म तेरो बाऊ हु भन्न पाईन्छ?"-मिलन मधुबासी

"मान्छे मान्छे नै हो जुन जातको भए नि सहि भन्नू भो तर यहाँ मान्छे जस्तै अनुहारको भयो भनेर बादरलाई मान्छे बनाउने कोशिश गरिदैछ जुन सम्भव छैन अब सबैले बुझिसकेका छन् ।"-लोकेश संघात 

" त्यसो भए त नवराज पराजुली सरको गद्य कविता सगरमाथाको गहिराइ कविता नै होईन भन्ने त।।ईतिहास हेर्नुस् भानुभक्तले कविता छन्दमा लेखेर सुरुवात गरेका छन्।।स्वतन्त्र भएर लेखेको गजल गजल हुदैन भने छन्द वेगर लेखिएको कविता कविता नहुनुपर्ने होईन र।।आफूलाई जे मन लाग्यो त्यै सही।।"-प्रदीप रिजाल

" नेपालमा कसरी लेखियो भन्नू कविता गजलको इतिहास हैन प्रदीप जि भानुभक्त ले लेख्नु पहिला भन्दा अन्य भाषामा कविता हरु गद्य नै थिए ।नेपालमा आउदा फरक भयो त्यसैले फरक फरक नाम दिइयो । गजलमा पनि त्यै हुनु पर्यो ।कि आधारभूत मान्यता सबै पालना हुनुपर्यो कि अर्को भिन्नै नाम दिइनु पर्यो बेबहरे रचनालाई ।"-लोकेश संघात

" वहर गजल लाई वहर गजल भनौ।।स्वतन्त्र गजललाई स्वतन्त्र गजल भनौँ।।जस्तै कवितालाई छन्द कविता र गद्य कविता भनिएजस्तै।।आउनेले,वहरमा लेख्न खोज्जेले वहरमा लेख्छन् स्वतन्त्र इच्छा हुनेले स्वतन्त्र नै।।पुर्खाले जे चलायो त्यहीँ नै सवै हो भन्ने भावना त्यागौँ।।समय अनुसार हेरफेर हुनुपर्छ।।तपाईले सधैं एउटै कपडा लगाउनु भयो भने त्यसले स्वभा त पक्कै पनि दिनैन।।"-प्रदीप रिजाल

" गजल सेर काफिया रदिफ उला सानी मतला मक्ता तखल्लुस् मुसलसल आदि सबै गजलका परम्परागत तत्व मान्ने अनि एउटा् बहर जुन सबैभन्दा महत्त्वपूर्ण हो किन नमान्ने  ।
यदि नमान्ने नै हो भने यी शब्द पनि फरक नाम राख्न पर्यो नि त ।हैन भने सबै मान्यता मानिनु पर्छ ।"-लोकेश संघात 

" त्यै त प्रकासन गर्दा स्वतन्त्र गजल लाई स्वतन्त्र गजल सङ्ग्रह भनेर राखिदिने र वहरमा लेखिएकालाई गजल सङ्ग्रह भनेर राखिदिने।।च्यादरको भएपनि सुतीको भएपनि कपडा त कपडा हो नि।।सुतिकोलाई कपडानै होईन।।च्यादरको मात्र कपडा हो भन्न मिल्छ र?"-प्रदीप रिजाल

" माथी बाट तल सम्मको बहस पढियो धेरैको भनाइ स्वतन्त्र गजल गजल हुन सक्दैन भन्ने रहेछ!
अब उहाँहरुबाटै सबैलाइ चित्त बुझ्दो नामकरण गरियोस स्वतन्त्र गजलको नयाँ नाम? हैन भने स्वतन्त्र गजल गजल नै हुनुपर्छ!"-केशव शाही

" केही सिमित ब्यक्तिहरुको झुन्डले गजल हैन भन्दैमा नहुने होइन केशब सर।"-माङ संग्राम

" गजल कसैको पेवा हैन, जो पाखुरा सुर्कँदैमा आफ्नो हालीमुहाली गर्न सकियोस् !
वाकर सर हरुले गजल लाई नेपाली बृत्तमा कोमा बाट पुनःस्थापित गर्नुभएको युगान्तकारी गुन छ, त्यसैको आधारमा आजको दशक उहाँ प्रती ऋणी छ, भोलि पनि रहनेछ !
३ दशक अगाडिको गजलिय रवैया आत्मचिन्तन त लहैलहैमा ब्यतित भैरहँदा पनि सैद्धान्तिक र बौद्धिक बर्गले त्यस्मा झापड हानेको छैन को मतलब सम्मान गरिरहेको छ !
छन्द/बहर नै गजलको वास्तविक अनुशासन को, नियम हो, परिधी हो र लय हो भन्ने कुरामा कोहि कसैलाई शंका छ भनें १३०० बर्ष यता गजल मा निरन्तर अभ्यास गरिरहेको "उर्दु//फारसी" गजल क्षेत्र लाई अलिकति अध्यन गरे पुग्छ ! ईन्टरनेट को जमाना छ, घरमै बसेर सर्च गरेर हेर्न पढ्न पाइन्छ, भाषा नबुझे ट्रान्सलेट गर्ने सम्मको सुबिधा पनि उपलब्ध छ !
गजलको नाममा अनावश्यक भ्रम र बिकृती बोकेका कुपोषित मानसिकता हरु कुहिरो भित्र भविस्य देख्नु मुर्खता हो भनेर बुझियो भनें वास्तविकताको नजिक पुगिन्छ !!"-रेशम अधिकारी

" बहर छन्द गजलको उच्चतम बिन्दु हुन् । स्वतन्त्र लेख्नेलाई बहर छन्द लेख्न नसकेर स्वतन्त्र लेखेको भनिन्छ भने लोक लयमा लेख्नेलाई पनि कृपया बहर छन्द लेख्न नसकेर लोक लयमा लेखिएको भनिदिनु होला !
बहर छन्दमा भाव अन्दाज जस्ता कुरालाई न्याय दिनसक्नु महान हो तर प्रक्रिया मात्र निभाएर मैले छन्द बहरमा पनि गजल लेख्न सक्छु भन्नु बेकार मात्र हो । म अत्यन्तै पातलो लेख्ने तर बहर लोकलय र लय बिना पनि लेख्छु । ऐले विवाद हुने गजल भनेको पनि लय विनाका ( उला सानीमा लयको सम्बन्ध समान नभएका )  हुन् र मलाई लागेको ऐले नेपालमा सर्वाधिक रुचाइएको धार पनि यही हो एकदम लोकप्रिय भइसक्यो भनेपछि यसलाई स्वीकार गर्दा के हुन्छ? फेरि डा. घनश्याम परिश्रमी पोस्टराज चापागाईं डा. कृष्णहरि बराल ललिजन रावल करुण थापाहरूले सवै धारलाई समर्थन गरेको पाइन्छ नत्र यस्तै गजल विमोचन हुँदा किन उपस्थित हुन्छन् ? किन दिन्छन् ती पुस्तकमा शुभकामना? त्यसैले चली आएका सवै धारलाई सम्मान गरौँ तर यसलाई स्वीकार गरेर बहर छन्द लोकलय हटाउनु पर्छ भन्ने हैन है । यी मध्ये जुनसुकै धारमा लेखिए पनि एकार्काको रचनालाई सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा हो । पण्डित्याई गर्नेहरू यी सबै धारमा छन् । जसले लेख्नेको समेत मन मार्दिएका छन् ।"-दिल सम्याम्

" धेरै साथीहरूले कुरा राखि सक्नु भएको छ मैले भन्नु पर्ने बाकी केही रहेन । लेखिन्छ अाफ्नै तरिकाले गजल के कस्तो हुनुपर्छ भन्ने कुरा थोरै बुझेको छु । अग्रजहरुलाई मेरो बिन्ती यत्ति मात्रै छ कि म जस्ता भरखरैका सिकारुहरुलाई अलमलमा नपारिदिनु होला । तपाईंहरुले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको सम्मान र कदर गर्दछु तर मनपरि ढंगले अस्पष्ट कुराहरुलाई संगाल्न सक्दैन।"-निर्दोष महता जय

" कुनै जमना थ्यो छन्द र पध्य कबिता लेख्ने ले गध्य कबितालाई कबिताको स्थान नै नदिने आज हेर्नुस् कबितामा यही गध्य कबिताको बोल कबोल छ तिनै कबिता पुरस्कृत भएकाछन!
यो समयको माग हो
लोक दोहोरी आधुनिक गीत गाउँनेले हिपहप र्यापलाई यो गीत नै होइन भनेर भन्नु भनेको उ अझै पनि एक्काइसौ सताब्तिमा नभएर १८औ  तिर छ भनेर बुझ्नु पर्छ
दोहोरी गीत हाम्रो परम्परा हो हिपहप र्याप जमनाको माग हो !
त्यस्तै अचेल यो भित्तोमा हस्व दीर्घ वाले गजल लेख्नेले त्यो बाहेकको गजल गजल नै होइन भनेर भन्नु उहा पनि १८ सताब्दी तिर रहनु हो परिवर्तित हुन नसक्नु हो!
बहर र शास्त्रिय छन्द लोक गीत झै साहित्यको परम्परा हो! जोगाइ राख्नु जरुरी छ! तर यस्को मतलब यो होइन कसैले बहर बाहेकको गजल लेख्दा म मान्दिन भन्नु हामीले लेख्ने गजल श्रीजना भनेको पाठकको लागि हो स्रोताको लागि हो!
म लेखेर दिन्छु तपाईंले कुनै दिन गजलको पुस्तक निकाल्नु भयो भने किनेर तपाईंका श्रीजना पढ्ने भनेका तिनै आम पाठकले हो !
जो जो बारीस्ट हुनुहुन्छ उहाले आफु बरीस्ट भएको प्रमाण देखाउन बेला बेला आँफै आलोचित हुने बिवाधित हुने तर्क र नियम बताउने मात्र हो ! बिमोचन समारोहमा सित्तैमा दिनु भयो भनेर तस्बिर देखाएर एउटा फोटो खिच्ने
घरमा पुराएर कुनै कुनामा फ्यालीदिने हो !
तपाईं हाम्रा पाठक उही आम ब्याक्ती हुन !जो सबै व्याकरणमा पोख्त छैनन  उहाहरुले हस्व दीर्घ निहाल्दैनन केवल रचना हेर्छन 
उद्रेको चोली चल्ने बेलामा बारहाते पोटुकी चलाऊनु पर्छ भनेर सुगा रटाइ गर्नु अलिक सुहाउदैन !!
#जितु खड्का गाउँले को यो कुरा मलाई मन पर्यो !!"
-प्रकाश पाठक योगी

" बहस र बिबाद मात्र गर्ने बा बहसलाई निर्णायक बनाउने??
यसबाट चपेटामा पर्ने त हामीजस्ता अनुजहरुनै हौँ ,,बहस होस,विवाद होस क्यै छैन तर निस्कर्ष यथेष्ट आओस!!
जय गजल"-समीर समीप

" समयको माग र पाठकहरूको इच्छालाई बुझ्दै गजललाई सरलतापूर्वक लैजाने एउटा ठोस नियमको निर्माण होस् ।
जय साहित्य जय गजल।"-प्रकाश पाठक योगी

" गधालाई धोएर गाई बन्छ भने बरु विश्वास लाग्छ तर गजलको विवादमा निष्कर्ष निस्किन्छ भन्दा विश्वास लाग्न छोड्यो मलाई त"-तरल तेज 

" नेपालको राजनीति र गजल काण्ड एउटै,,
कसैले राजा हुनुपर्छ भन्छ
कसैले सँघियता
कसैले लोकतन्त्र
कसैले एक मधेस
#हैरान भैयो यार"-समीर समीप

" भारत र पाकिस्तानको युद्ध जस्तै भयो गजलको बहस पनि
निष्कर्षमा कहिले नपुग्ने भयो"-तरल तेज

" गजल निश्चित रूपमा पद्य विधा हो तर शास्त्रीय बहरमा नलेख्नेबित्तिकै गद्य भएको आरोप लगाउनु अरुको अस्तित्व स्वीकार गर्न नसक्नु हो ! यत्तिका नेपाली लोक तथा सुगम गीतहरु सबै गद्य रचना हुन्  त ? शास्त्रीय वा स्वनिर्मित लय विधानमा रहेर हाडछालाले बेरिएको शरीर जस्तो मात्र होइन, विचारसहितको, दिमागसहितको जीवनरुपी गजल लेखौं । बहस नै जरुरी छैन । राम्रा र धेरैले स्विकार्ने गजल लख्नु आजको आवश्यकता हो । पण्डित्याइँमा गजललाई फेरि नधकेलौं ।"-रुपिन्द्र प्रभावी

" साहित्य सिर्जना पाठकको लागी गरिन्छ , त्यसैले छन्द र बहर पाठकले जान्दैनन् र बुझ्दैनन , अब जसको लागि सिर्जना गरिन्छ उसैले बुझ्दैनन् भने त्यस्तो सिर्जनाको के काम ??? मैले  बहर जानेको छु त्यसैले म गजलकार हु भनेर नाखोकेको राम्रो तपाईले बहरमा लेखेको गजल बहरनै हो भनेर बुझेर पढ्ने पाठक नभए पछी त्यो बहरको अस्तित्व के ???"-दिपेन्द्र अश्रुमाली

              गजलमा देखिएका विभिन्न विवाद र बहस लाई अध्ययन गरेर केही गजलकारहरुले पनि आफ्नो फेसबुकमा स्ट्याटस लेखेका थिए।बाबु त्रिपाटीले आफ्नो वालमा लेखेका थिए-

" भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस्
============================
नेपाली गजलमा हामीले ज्ञानुवाकर पौडेललाई स्वीकार गर्यौँ ।  मनु ब्राजाकी लाई स्वीकार गर्यौँ ।
ललिजन रावललाई स्वीकार गर्यौँ । डा.कृष्णहरि बराललाई स्वीकार गर्यौँ । बूँद रानालाई स्वीकार गर्यौँ । डा.घनश्याम न्यौपानेलाई स्वीकार गर्यौँ । डा.सनत वस्तीलाई स्वीकार गर्यौँ । रवि प्राञ्जललाई स्वीकार गर्यौँ । करुण थापालाई स्वीकार गर्यौँ । यावत तरिकाले हाम्रो स्वीकार गर्ने सिलसिला क्रमश जारी छ । यो जारी नै रहन्छ ।
गजल बिउँझिएको छ । बिगतका वर्षहरुमा भन्दा अहिले आएर देश देशान्तर गजलका कार्यक्रमहरु अझै बढी हुन थालेका छन् । यो बेलासम्म गजल आइपुग्दा तपाइँहरु छन्द र बहरमा लेख्ने (सबैलाई भनेको होइन)  कुन दुलोमा हुनुहुन्थ्यो । अहिले गैर बहरमा लेखिएको गजलको व्यापकता कतिसम्म छ त्यो फेसबुकमा बसेर तपाइँहरुले पत्ता लगाउन सक्नु हुन्न । पत्ता लगाउन मैदानमा उत्रिन सक्नुपर्छ । यसको व्यापकता कति छ त्यसको अनुमान गर्न मैदानमा आउने हिम्मत पनि तपाईँहरुमा छैन । तपाइँहरुको हिम्मत भनेको सामाजिक सञ्जालमा बहुलाउनु मात्र हो । हिम्मत छ भने बहर र छन्दमा लेखिएका गजल लिएर तपाइँ मैदानमा आउनुस् । श्रोताले छिनोफानो गरिदिन्छन् । गजलको चिन्ता तपाइँहरुलाई मात्र हैन हामीलाई पनि छ । तमाम गजल लेख्नेहरुलाई छ । कमसेकम ती गजल लेख्नेहरुको मन सम्म पुग्न म आग्रह गर्दछु ।
तपाईँ  सक्नुहुन्छ गजल लेख्नुस् र श्रोताको माझमा जानुस् । श्रोताहरूको स्वीकारोक्ती नै हाम्रो स्वीकारोक्ति हुनेछ । श्रोताहरूले गैर बहरमा लेखिएका गजलहरु गजल हैनन् भन्छन् भने हामी त्यस्तो गजल लेख्न बन्द गरिदिन्छौँ । सक्नुहुन्न भने गैर बहरमा लेखिएका गजललाई लिएर सामाजिक सञ्जालमा कुण्ठा पोख्ने काम बन्द गर्नुस् । यसको व्यापकता देखिर आत्तिने काम बन्द गर्नुस् । तनाब नलिनुस् रोग लाग्ला । गजलको हुर्मत लिने काम बन्द गर्नुस् । कुण्ठीत हुने काम बन्द गर्नुस् । मन हाम्रो पनि छ । हाम्रो मन दुखाउने चेष्टा कृपया नगर्नुहोला ।
गजलका बारेमा छलफल हुन जरुरी छ । बहस पनि जरुरी छ । मात्र सिद्धान्तका कुरा लिएर अरुको भावनामा ठेस पुर्याउने अधिकार कसैलाई छैन । हामीले सिद्धान्त मान्दैनौँ कहिल्यै भनेका छैनौँ । हामी पनि गजललाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा चिन्तित छौँ । हामी कानमा तेल हालेर बसेका छैनौँ । हामी नबोलेका मात्र हौँ । हामी लाटो होइनौँ ।
छन्दमा गजल लेख्नु हुनेहरूलाई हामीले हृदयदेखि स्वागत गरिरहेका छौँ । बहरमा लेखिरहनु भएकाहरुलाई पनि हामीले हृदयदेखि स्वागत गरिरहेका छौँ । हामीले कहिल्यै पनि छन्द र बहरमा लेखिएका गजलहरु गजल हैनन् भनेका छैनौँ । भन्ने पनि छैनौँ ।
गजल लेख्ने र सिक्नेक्रम हाम्रो जारी छ । जारी रहन्छ । यो सिलसिलामा छन्दमा गजल लेख्नु हुने, बहरमा गजल लेख्नु हुने र गैर बहरमा गजल लेख्नु हुने सबैले सबैलाई आत्मीय र सहृदयी तरिकाले गजलको विकास र उन्नतीलाई यहाँ सम्म ल्याइपुर्याएको सुखद् घटना हामी सामु छ ।
अहिले आएर यो सामाजिक सञ्जालमा गजलका केही उपबुज्रकहरू (सबैलाई भन्न खोजेको होइन, जो हिजो अस्तीमात्र यो सामाजिक सञ्जालमा देखा परेका छन्, कोही अलि अगाडि हामी पनि अग्रज हौँ भनी उदाएका छन्, कसैको उदाउने र अस्ताउने काम भइरहेको छ) गजल छन्दमा र बहरमामात्र हुनपर्छ भनेर रोइलो गरेको दुखद् घटना पनि देख्न परेको छ ।
स्वीकार गर्ने सिलसिलामा गैर बहरमा गजल लेख्नेहरुले बहर र छन्दमा लेखिएका गजलकारहरुको गजललाई अस्वीकार गर्ने सिलसिला अगाडि बढ्यो वा बढायौँ भने नेपाली गजलको अवस्था कस्तो होला ।
स्मरण रहोस् (जो सामाजिक सञ्जालमा रोइलो गरिररहेछन् उनीहरुलाईमात्र भनिएको हो) कुखुरालाई अन्डा यसरी पार्न पर्छ भनेर सिकाउने चेष्टा नगरेकै राम्रो । हामी नबोलेका मात्र हौँ । हामी लाटो होइनौँ
यो सामाजिक सञ्जालमा गैर बहरका गजललाई लिएर बहर र छन्दमा गजल लेख्नु हुने तपाइँहरु (सबैलाई भन्न खोजेको होइन,) ले फेरि पनि हाम्रा गजलमाथि अपमानका शब्दहरू खर्चिनु भयो भने हामी के गर्न सक्छौँ त्यसको हेक्का तपाइँहरूलाई छ ।धन्यवाद ।"-बाबु त्रिपाटी 

गजलकार बाबु त्रिपाटीको स्ट्याटसमा दिइएका प्रतिकृयाहरु यसप्रकार छन्।

" अझ थप कुरो । यो बहर, बाच्छा-बाच्छीको विषयमा त बहस हुँदै गर्ला । संगीत भर्न सकिने मात्रै होइन मीटर नमिलेका पनि गजल हुन सक्छन्, जो पढिनका लागि लेखिन्छन् भनेको पनि सुनेको छु । स्वयम् मैले "शारदा"मा पनि त्यस खालका गजल छापेको छु । सही कुरो के होला ? विशेषज्ञ वा ज्ञाताहरूद्वारा थाहा दिन सकिएला ?"-बिमल भौकाजी

" दाइका कुरा सही हुन् । जगजीतले गाएको सब भर रहा चर्चा तेरा गजल हैन कसले भन्न सक्छ?"-अच्युत घिमिरे 

" अनावस्यक वहसतिर नलागौं । अलि थोरै भित्र हृदयसम्म पुग्ने र बाँकी धेरै स्याउला-सोत्तर दुवैतिर छन् । सकेजति राम्रो लेखौं, अझै राम्रो लेख्ने प्रयास गरौं । र महत्वपूर्ण कुरा साँच्चिकै राम्राको मात्र हल्ला गरौं, सल्लाह भन्दा हल्लाले बढी हुर्मत लिईरहेको साँचो हो ।"-जनक रसिक 

" हरेक साहित्यिक विधामा परिवर्तन भएको इतिहास छ । छन्द कवितामा परिवर्तन आएको छ गद्य कविता बनेको छ । कथा  निबन्ध नाटक सबैमा कुनै न कुनै समयमा केही न केही परिवर्तन हुँदै आएको इतिहास साक्षी छ । मोतिरामले भित्राएको गजलले लामो समयसम्म परिवर्तनको आसा गरेन फलस्वरु झन्डै सय वर्ष मुर्छित भयो । मुर्छाबाट बिउझाउन समसामयिकता भित्राउनु पर्यो तब मात्र गजलले आजको रुप लिएको कुरालाई कसैले नकार्न सक्दैन 
गजलमा कविता र गीत दुवैको गुण भेटिन्छ । गजलमा कविताको जस्तो भाव र गीतको जस्तो लय जरुरी छ । सक्नेले भावपक्षलाई प्राथमिकता दिएर छन्द वा वहरमा लेख्दा राम्रो  । बहरमा अभ्यास नभएकाले  अाधारभूत संरचना नबिगारेर  स्वनिर्मित छन्दमा लेख्दा राम्रो ।
यहीबाट गजलमा परिवर्तन अाएको हो भनेर विद्वानहरुले स्विकारे त भै हाल्यो नि ।
गजलमा समय अनुसार परिवर्तन हुनै हुदैन भन्ने त छैन होला नि ? यदि छ भने गजलमा समसामयिकता हैन श्रृङ्गारिता मात्रै  लेखौं । के यो स्वीकार्न सकिन्छ ???????"-सुमित्रा न्यौपाने
 
" धन्यवाद अनन्त अनुराग सर !
बाबू त्रिपाठी आफ्नो कुरामा गलत छन् । जबसम्म उनले र उनका साथीहरूले गजल के हो र गजल हुनुको अनिवार्य सर्तहरू के के हुन् भन्ने बुझ्नै खोज्दैनन्  उनिहरूले जो जसलाई स्वीकार गरुन् नगरुन् त्यसले अर्थ राख्दैन । न त बहर मात्रै मिलाउदैमा गजल हुन्छ न त भावको थुप्रो लगाउँदैमा ! फेरि "बहरबद्ध" गजलमा भाव हुन्न भन्नेहरूले गजल अनवरत साधनाबाट प्राप्त हुने ज्ञान हो  भन्ने बुझेका छैनन् । मैले चाहिँ लय (बहर या छन्द) र परिपक्व भाव नहुन्जेल गजल पूर्ण हुन सक्दैन भन्ने बुझेको छु । फेरि पनि धन्यवाद ।"-बिनोद परिवर्तित 

" मेरा आमा बाबा ले
ऋण को ब्याज चुक्ता गर्ने बेलामा  हातको औला भाचेँर ब्याज चुक्ता गर्नुहुन्थ्यो
आजभोली मैले  PTR/100
को सुत्र मा ब्याज निकाल्छु  मेरि आमाले मान्नु नै हुन्न
बिस्वासै लाग्दैन उहालाइँ
मैले  आज पनि हात को औलाँ भाचेँर नै हिसाब निकाल्न पर्छ
चाहे गलत होस चाहे सहि होस।"-अखिल अनुराग

" "गजलकार हाे" ढाडमा टाँसिदेऊ
नयाँ ढङ्गकाे "मानहानी" हुनेछ ।।
विजय याेजित

साच्चै गजलका बहसमा मेन्सन हुँदा पनि मान हानी नै महसुस हुन थालेको छ यस्तै अस्वस्थ्य भाषा र कुण्ठा पोखिने भएकाले ।
गजल सेर काफिया रदिफ उला सानी मतला  मक्ता तखल्लुस् मुसलसल आदि गजलका परम्परागत तत्वलाई स्वीकार गरिसके पछि बहर पनि स्वीकार गरौं भन्ने हाम्रो आग्रह हो । जुन काफिया जत्तिकै महत्त्वपूर्ण छ । हुन त काफिया बिनै पनि गजल सुनाउछन् कोहि । स्वतन्त्रताको राम्रो प्रतिफल होला ।
बहर मात्र मिल्दैमा गजल हुन्न गजलमा अन्य आवश्यक तत्व पनि चाहिन्छ भन्ने बहर मार्गी भनिनेहरुले पनि बुझेका छन् केही हद सम्म ।त्यस्तै स्वतन्त्र मार्गीले पनि कि माथी उल्लेखित गजलका कुनै पनि तत्व नमानौ कि माने पछि सबै आधारभूत मान्यता अंगिकार गरौं ।
हैन भने छुट्टै नाम दिएर ती गजल जस्तै देखिने रचनाको सम्मान गरौं । बहस होस् बिवाद नहोस् ।"-लोकेश संघात

" राम्रो रचना गरौ न। यसमा उसमा भन्नै पर्दैन। एउटा केटी सारी लगाउदा नि राम्री देखिन्छे, कुर्ता सुरुवालमा पनि राम्री देखिन्छे। यही लगा भन्न चाहिँ भएन। कुनमा बढी राम्रो त्यो त जगजाहेर भइहाल्छ। भनिदिने त अरुले हो नि।बरु बहसमा उत्रने मित्रहरु गजलमै उत्रे कति जाति हुन्थ्यो।"-माधव खतिवडा 

" हार्दिक धन्यवाद अनन्त अनुराग गुरु, यो जानकाकारीको लागि, यत्ती भन्छु गजलको अन्तर्राष्ट्रिय मञ्चमा उभिएको कुनै पनि ठेकेदारले "ये मेरा दोस्तका गजल हे"  भनेर नाम बिनाको गजल वाचन गरेर फर्कन नपरोस्। कि त आफ्नो गजललाई अन्तर्राष्ट्रिय स्तरमा गजल हो भनेर उभिन सक्नु पर्यो। हैन भने गजलको सैद्धान्तिक पाटोलाई पनि स्विकार्न सक्नुपर्छ।"-द्धीप मिलन

" अन्तर्राष्ट्रिय मञ्च भनेको कता हो? भन्ने कुराले पनि प्रभाव पार्ला।र त्यो मञ्चको निर्माता को हो? भन्नेले पनि फरक पार्ला।
बहरमार्गीहरूले गरेझैँ गैरबहरमार्गीहरूले गरेको पनि साधना हो।खेलाँची होइन।तसर्थ संसारको जुनसुकै मञ्चमा उभिएर हामीले नेपालमा गजल क्षत्रमा यसो गरेका छौँ भनेर आफ्नो साधनाको वकालत गर्न नसकिएला भन्ने कुरामा मलाई पत्यार छैन ।"-अनन्त अनुराग

" अन्तर्राष्ट्रिय मन्च कता हो? म बेलायतमा बस्छु मैले यहाँका गोराहरुले नेपाली गजल  सुनेको देखेको छैन। नेपाली गजलको राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राह्मण्ड जे जे मञ्च भनेको नेपाली नै हो। श्रोता पाठक नेपाली नै हो। यसको जिम्मा अन्तर्राष्ट्रिय भन्दा नेपाली पाठकलाई दिदा उत्तम होला। अरुको पनि सम्मान गरौ अहम नगरौ।"-नृपेश उप्रेती

" मैले पनि साधना हैन कहिल्यै भनेको छैन,र भन्ने हिम्मत पनि छैन,किनकी गजलमा केही गर्नको लागि हिम्मत चाहिँदो रहेछ। मेरो भन्नु पनि यहि हो, कि त वकालत गरेर नेपाली गजलको व्यापकता बढाउनु पर्यो हैन भने हिजो को जस्तै मेरा दोस्त का गजल है भन्ने नियती दोहिरिरहन्छ। म मा तपाइको जति गजलको ज्ञान छैन तथापि गजल हाम्रो गृह विधा नभएकोले अन्तर्राष्ट्रिय मानक सँग सँगै हाम्रो मानकलाई पनि त उभ्याउन सक्नु पर्यो। घरमा आएर यस्तो उस्तो भन्नेले किन मेरा दोस्तका गजल है भनेर फफर्किए? गजलको बाहिरी सम्मेलनमा गएर।"-द्धीप मिलन 

" अनन्त सरलाई सम्झनु भएकाेमा धन्यवाद भन्नचाहेँ , म चाहिँ यता नदेखिनुकाे एउटा कारण म बाबु सरसँग नजाेडिएकाे कारण हाे र अर्काे यस्ता बहस जाे निष्कर्षमा पुग्न सक्दैनन् / सकेका छैनन् त्यस्ता बहसहरूमा घुस्नु भनेकाे सृजनाशक्तिकाे क्षय गर्नुमात्र हाे भन्ने लगभग पछिल्ला अनेकाैं बहसहरूबाट बुझी सकिएकाे भएर पनि हाे ।
याे स्टाटसकाे जड भनेकाे ज्ञानु दाई ले गजलमा गर्नुभएकाे  "ब्रेक दी रूल" काे वकालत नै हाे । वहाँले नै मैले नियम भाँचे भनिसकेपछि सबै कुराे काे चुराे त्यहीं नै छ । रेलकाे पटरी टुक्र्याएर गर्व गर्नु भनेकाे यी र यस्तै दुर्घटनामा पर्नु हाे । भाषण जत्तिकै गजल लेखाैं यस्ता बहसहरूले कान खाने मात्र हुन् ।"-बिजय योजित 

" निषेधको चर्चाप्रपञ्च कसैका लागि पनि बैतरणीपुच्छर नहुने बुझी अरुको खेदो खन्ने क्रम कतै कसैबाट नभएको म हेर्न चाहन्छु ।  :-) स्राहित्य सबैलाई समेट्ने औचित्य !"-नारायण नेपाल 

" गजल लेखौ साथी गजल । निम्नतम् नियमको पालना गर्दै । यि जो कुरा चर्का गर्छन् आफुलाई मसिहा ठान्छन् । यिनको अवोध हस्त़क्षेप र मिचाई, नवसामन्तिपना कहिलेसम्म टिक्ला हेर्दै गरौ । साथी हो लेखौ गजल लेखौ, रोनाधोनाका पछि नलागौ ।"-अर्जु बिष्ट सल्यानी

" हुनत म यो बहस मा नपसेको राम्रो थ्यो
हामी त सानो मान्छे यति ठुला कुरा गर्न आउदैन!
तर पनि मन मा के लाग्छ भने
यसरी बहस किन हुन्छ? तर्क बितर्क हुनुको कारण के हो!
छ सय भन्दा बढी नेताहरुले एउटै बिचार धारा बोकेर देश बिकास मा लागुन् भन्ने चाहना भएको हामी नेपाली
एउटा सानो   बिषयमा यति ताण्ड्व किन मच्चाउन चाहन्छौ?
किन यसको निस्कर्श नै छैन त!?
तपाइले  आफ्नो छोरा नाति लाई हेर्नुस ।।हजुर्को जमानाको पढ्ने तरिका र अहिलेको पढ्ने तरिका कति फरक छ?
खास पढाइ शैलि नै चेन्ज भएको, नेपाली मा भाषानै फरक भएको,
अंग्रेजी को वोर्ड नै चेन्ज भएको,
वोर्ड को मिनिङ नै चेन्ज भएको,
म्याथ को सुत्र नै चेन्ज भएको  त हैन होला नि!
किनत अहिलेको पढाइ दिन दिनै परिस्कृत हुदैछ ?
किन त नया शिक्षा प्रणाली को आव्ह्वान गरिदैछ?
अर्को बुझ्नुपर्ने कुरा
भानुभक्त , माधप्रसाद घिमिरे ।सिद्दिचरण श्रेस्ठ  आदि स्रस्ठा हरु आजका त हैनन, के उनिहरुले छन्द मा लेखेका कबिता छैनन!र?
किन रामायण पुरै छन्दमा लेखियो?  किन स्वतन्त्र मा लेखिएको भए हुदैन्थ्यो?
छन्दको तथा बहर  आजको नया सिर्जना त  हैन!
यो यसकारण बुझ्नुपर्छ हामिले कि त्यो जमाना देखि नै छन्द तथा बहर मै लेखिनु पर्छ भन्ने मान्यता
रहेछ ।।
तर सिकाउने गुरुको अभाव थियो सायद या शिक्षाको अभाव ले गर्दा यस्तो कुरा मा चासो दिएनन 
लेखिएका गजल कबिताका खास गुदो  थाहा नपाइकन हरफ 
मिलाएर लेखे हुनेरैछ भन्ने भ्रम  तेतिबेला देखि आजसम्म
परेको पनि त हुनसक्छ !
अब त सबै सामु प्रस्ट भैसकेको छ कि गजल बहर\ छन्द  मा लेखिने रहेछ कबिता छन्द मा लेखिने रहेछ
नया स्रस्टा ले सहि कुरा को बिकास गर्न खोज्नुभएको छ त किन हामिहरु बिरोध गर्न खोज्छौ?किन भाँझो हाल्छौँ?
हो ज जस्लाइ लेख्न आउदैन नलेख्नुस्
जस्लाइ जुन लेख्न आउँछ त्यो खुलेर लेख्नुस्
थप सिक्न चाहनुहुनेले  सोध्खोज गर्नुस सिक्नुस्
सिक्न मन छैन नसिक्नुस्
तर जता ततै सन्जाल मा।खोक्रो बहस अनि तमाशा नगर्नुस   
कसैले कसैको बिरोध नगर्नुस।
तेसोत तपाईं कबिता लेखेर गजल भन्नुस त्यो तपाइको अधिकारको कुरा हो।
बिरालो लाई बाघ हो भनेर सबैलाइ हसाउनु भन्दा  बिरालो लाई बिरालो नै भनेर भलादमी  बन्नु राम्रो होला जस्तो लाग्छ  मलाई।
सक्नुहुन्छ नया कोट किन्नुस 
सक्नुहुन्न पुरानो कोट पनि नच्यात्नुस्
जय साहित्य।"-अखिल अनुराग 

" हैन यो मान्नु र नमान्नुको सवाल नै देख्दिन म त । कुनै व्यक्ती विशेषले मानेर या नमानेर हुने कुरा हो र ?
      हरेक कुराको आफ्नो सीमा हुन्छ, परिधी हुन्छ, सिद्धान्त हुन्छ पहिले यो कुराको मनन गर्नुस् ज्ञान लिनुस् र तर्क राख्नुस् आखिर कुनै पनि कुराले मान्यता पाउने त्यसको सिद्धान्त र परिधिले नै हो न कि कसैले मानेर या नमानेर ।
         नियम बन्ने नै तोडिनको निम्ति हो भन्ने केटाकेटी मानसिकता भन्दा माथि नउठ्दासम्म यहाँ केही हुनेवाला छैन ।"-अन्जान यात्री

" निकै सान्दर्भिक लाग्यो बाबू दाजुको कुरो ।मलाई खुब मजा लाग्छ बहरमा लेख्ने केही अादरणिय ब्यक्तित्वहरु   बेबहर,स्वतन्त्र गजल गजलै हैनन भन्दै कराउँदै उफ्रिदै गर्दा गर्दै  रणा परेको हेर्न ।यति सम्म स्वतन्त्र गजललाई   अर्को नामाकरण गरौ भन्ने गजल सिक्ने भए फलानो गिता पढनुस भन्ने पण्डित जजमान ज्युहरुको समेत हाबि छ जस्ले मलाई मोतीले पुर्ण जन्म लिए छन कि भन्ने अाभाष दिलाउछ ।स्वतन्त्र बेबहरमा लेख्ने कुनै पनि गजल  सर्जकले कहिल्यै छन्द या बहरमा लेखिएका गजललाई गजलै हैन भनेनन् बरु थप उर्जाका लागि हौसला उत्साहित गरिरहे गर्दै छन भोलिका दिनमा पनि गर्ने छन यस्को उपज उहाँहरुलाई अपच भएर बमेट गर्दै  हुनुहुन्छ ।जस्ले अाफैलाई फोहरि बनाउदै छ ।भोलि कुनै रोग लाग्न बेर छैन जो समयमै सचेत भए उत्तम हुने छ । लय =अब बहर लेख्नेले बहरमा मात्रै लय हुन्छ भन्नू राइस कुकरमा मात्रै भात पाक्छ भन्नू जस्तै हो ।किनकि भाब लय र गजललाई मस्त बनाउने त लेखकको साधनामा भर पर्छ ।लय बहरकै गजलमा मात्रै हुनसक्छ भन्नेहरुलाई हजारौं गजलकारका स्वतन्त्र गजलहरुले झापड हानेकै छन ।त्यसैले धेरै ब्याख्या गर्न चाहिन ।अादरणिय ब्यक्तित्व ज्युहरु बहरमा लेख्नेले बहरमा लेखौ । छन्द स्वतन्त्रमा लेख्नेले छन्द / स्वतन्त्रमा लेखौ अग्रजहरुको सम्मान गरौ धरातल नभुलौ । गजल लेख्नेहरुले नै गजल हैनन भन्दै रडाको मच्चाउन थालियो भने गजल पुर्ण हैन जिर्ण हुनेमा कुनै दुई मत छैन ।जय गजल ।"-लोकेश जलन 

" म त सकेसम्म सिक्दैछु, बुझ्दैछु । जुन दिन बुझ्नेछु त्यो दिन मुख खोल्नेछु । बस यत्ति भन्न उचित लाग्यो । सकेसम्म राम्रो लेख्ने प्रयास गरौं, नसके चुपचाप अध्ययनमा लागौं । जसलाई जुनमा लेख्न मन लाग्छ लेखौं । बेकारको रोइलो कसैले पनि नगरौं ।"-कपिल अन्जान 

" यो बिषयमा कस्ले बोल्ला भन्ने लागेको थियो बाबू जि बोलिदिनु भयो खुशी लाग्यो।कराउदा कराउदै घाँटी सुक्ला तर यो बिषयमा बुझाउन र सम्झाउन सकिएला भन्ने लाग्दैन।राम्रो लेख्ने कोशिस गरौ अगाडि बढौ उफ्रने हरु उफ्रीरहन्छन।"-नवीन यात्री

" बास्तबमा जुन बेला भाषा तथा लिपिको बिकास थिएन ,तेतिबेला एक पुर्खा देखि अर्को पुस्ता सम्म रचनाको हस्तान्तरणका लागि थियो बहर,छन्द आदिको प्रयोग,अझै भनु स्मरणका लागि थियो छन्दको प्रयोग।
उदाहरणका लागि एउटा पुरानो असारे भाका :
असारे महिना छकछके हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा दुईबिश रिन लग्यो (झ्याउरे लय) जो स्मरणका लागि थियो ।
तर ऐले प्रबिधी को युग हो धेरै कुराको बिकास भैसकेको छ ।
मलाई लाग्छ हामी अल्झनु हुदैन लेख्नु पर्छ।"-भरत प्रमोद दहाल 

" बहरमुक्त नेपाली गजलले पैदा गरेको साहित्यिक अवसरले नै नेपाली गजलको विकास भएको हो । ज्ञानुवाकरजीको मत यही हो, जुन सत्य हो भने कुरा नेपाली गजलको अध्येताको लागि छर्लङ्गै छ । बहरमुक्त नेपाली गजल नै नेपाली गजलमा यसको dominant अस्तित्व, साहित्यिक उत्कृष्टता र यसको असीमित सम्भावनाको कारणले नेपाली गजलको मूलधार हो, विशेषता हो, शक्ति हो, गौरव हो ।"-दिपक कुमार खड्का

" प्यारोडी गजल भन्छु  म छन्द र बहरका गजललाई । म लेख्छु पनि प्यारोडी तर स्वतन्त्र लेखेजस्तो मेरा भावना लेख्न सक्दिन । र लाग्छ प्यारोडी कला त हो तर थोरै नक्कली । म हाम्रा लोक लयका गजललाई सक्कली ठान्छु र ठानिरहन्छु ।"-एकु घिमिरे 

" के भन्नू कसका कुरा मान्नु र सुन्नु अनि कसलाई दोष दिनु कसलाई निर्दोष भन्नू त्यही भएर जहाँ सम्म लाग्छ नेपाली साहित्यले जहाँ जसरि गजल भित्र्याएको थियोे र यहाँ सम्म पुगेको छ र यसलाई कसरी सुदृढ गर्न सकिन्छ अनि के हो न्याय संगत भनेर बुझेर अघि बढ्नु नै उचित लाग्यो , बहस अनि बिबाद को तुक छैन ।"-रोहित कुँवर

स्ट्याटस लेख्ने क्रममा मुक्तककार सुनिल अधिकारीले पनि आफ्नो स्ट्याटस यसरी लेख्नुभएको थियो।
" उहिले मोतीराम बाजेले त्यत्तिकै भित्र्याएको गज़ल मैयामा "विकार" आउन थालेपछि रगत जचाउँदा अहिले A B C तीनथरीको गुरुप भेट्टियो रे...त्यो पनि सप्पै 'नेगेटिभ' मात्तै l त्यसैले गर्दा तीनथरीकै गुरुपमा गालीगलौचका भाइरसहरु भेटिन थालेकोले अब अहिले केही खुप जान्ने, ठुल्ठुला गज़लका डाकटरहरुले मिलेर आन्द्राभुँडी समेत छर्लङ्ग हुनेगरी रिपोट तयार पार्न अप्रेशन गर्दैछन् रे l यो भन्दा पहिलेका विशेषज्ञहरुले आफ्नै ढङ्गले रोग पैल्याएर पेश गरेको रिपोट चाहिं कुन दुलामा हाल्ने हुन् ? था छैन l
(मनमा लागेको खुल्दुली /कमेंट्स सभ्य भाषामा गरौँ)"

       समग्रमा गजललाई लिएर गरिएको बहस र विवादलाई मध्यनजर गर्दा नेपाली गजलले छलाङ मार्यो तर केही नाम चलेका गजलकारहरुको मेरो गोरुको बाह्रै टक्का र बालहठले गर्दा नेपाली गजल झन-झन विवादित बन्दै जाने निश्चित देखिएको छ।साथै नव सर्जकहरु अन्यौलग्रस्त हुने देखिन्छ।गजलका आफ्नै आधारभूत नियम र संरचना भएपनि पाठकको रुचि तथा माग र समयानुकुल परिमार्जन गर्दै जान सकिने भनेर एकखाले गजलकारहरुले भन्दै आएका छन्।अर्का थरीका गजलकार भने गजल बहरमा सिमित हुनुपर्ने अडान राख्छन्।को सही र को गलत भन्ने कुरा समयले नै देखाउनेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...