छ्योमे बालेर
रिसराग फालेर
आउ है दल्जा शान्तिले बाँचौंला
आउ है दल्जा खुलेर नाचौंला।
जन्मेर मर्छ एकचोटि,अजम्वरी हुँदैन
मानव चोला गएपछि,घरीघरी आउँदैन
घाट नै हो गन्तव्य जतिसुकै दौडे नि
आखिर लाने क्यै हैन,सम्पत्तिमै पौडे नि।
कुरो बुझेर
चुरो बुझेर
आउ है आच्यु मिलेर खाऔंला
आउ है आच्यु मिलेर हाँसौँला।
काँधमा काँध हालेर,हातेमालो गरेर
हत्या र हिंसा त्यागेर,प्रेमको बीउ छरेर
ॐ माने पेमे जपौं न शान्तिको दीप बालेर
कसैको भलो हुँदैन मनमा ईर्ष्या पालेर।
मोह त्यागेर
लालच त्यागेर
गुम्बामा आजी दर्शन गरौंला
बुद्धको आजी दर्शन गरौंला।