Sunday, 27 September 2020

चट्याङ

कसैको मनमा बस्न बेर छैन
कसैको मनमा डस्न बेर छैन
चट्याङ भएर कसैको मुक्तक 
सत्ताको मुटुमा खस्न बेर छैन।

चोर

आँखामा प्रेमिल शब्द कोरेकै हो
दिमागमा अमिट छाप छोडेकै हो
कुन जेलमा हाल्छौ,हाल मलाई 
तिम्रो दिल मैले पक्कै चोरेकै हो।

जिन्दगीको गीत

प्रिय पाठकवृन्द!
मैले मनको गुगलमा 
प्रकाशित गरेको छु-यथार्थताको अनगिन्ती कविताहरु
पढिदिनुहुन्छ?

प्रिय श्रोता/दर्शकवृन्द!
जिन्दगीको मञ्चमा म गाइरहेछु-प्रेमका सुरहरु 
बजाइरहेछु-मुटुका धुनहरु 
सुनिदिनुहुन्छ?


Saturday, 26 September 2020

यो बाटो कहाँ जाने हो?

पुरानो ड्राइभरलाई नयाँ बाटो।
ट्याक्सी नं.२२९ को द्रुत गति।
हुस्सु र बर्षाको संयुक्त आन्दोलन।।

अन्यौलता!

यो बाटो कहाँ जाने हो दाइ?
खाडी चौर।
यो बाटो कहाँ जाने हो दाइ?
मुडे।

बिडम्बना!
खुँडे बाटोले तल लग्यो
ट्याक्सी तल खस्यो
यात्रु माथि पुगे।

तपाईं को ?
यमराज।
यो बाटो कहाँ जाने हो?
यमलोक!

Friday, 25 September 2020

प्रेमको दलदल

डाकौं अब दुई मुटुलाई,राखौं छलफलमा 
तिमीलाई खोज्छ मनले हरेक पलपलमा
बिछ्याएर त्यो मनै,पार लगाइदेउ सुरक्षित 
अनायासै भासिएछु तिम्रै प्रेमको दलदलमा।

शंका

आँखा सुते पनि अनौठो सपना जाग्न थालेको छ
पुरानो भावना आफैं बाट टाढा भाग्न थालेको छ 
तिमीलाई देखेपछि अनायासै परिवर्तन आयो ममा
म "म" हो कि होइन भनी शंका लाग्न थालेको छ।

मायाको सीमा

दुई-आक्षरी यो शब्द मुश्किलले परिभाषित हुन्छ 
मनको धरातलमा अंकुरित भएर पल्लवित हुन्छ
ब्रह्माण्डको आयतन पनि पराजित हुन्छ यो संग 
उमेरले छेक्न नसक्ने साँचो-माया असीमित हुन्छ।

Thursday, 24 September 2020

जय लकडाउन

जय लकडाउन!
जय लकडाउन!!

गाडी छैनन् 
प्रदुषण छैन
स्वच्छ हावा फेर्न पाइएको छ।

चिर्बिर्र चिर्र!
चिर्बिर्र चिर्र!!

डियर उज्ज्वलमान

तिमी गएसंगै उज्यालो पनि गएको छ
उज्यालो गएसंगै अँध्यारो आएको छ।

डियर उज्ज्वलमान!
तिमी कहिले आउँछौ?

अब तिमीलाई कसैले ल्याउनु पर्दैन 
आफैं आउनुपर्छ।

भूत

तिमी-मैले गरेको रोमान्सको सबूत नपठाउ
भिजाइरहने सम्झनाको नदी बहूत नपठाउ
निदाउन गाह्रो हुन्छ,जीवन विताउन गाह्राे 
वर्तमान तर्साइदिने डरलाग्दो भूत नपठाउ।

Friday, 18 September 2020

बाटो बन्द छ

बाटो खनेर बिगार्छ
अनि सजिलै लेख्छ-"बाटो बन्द छ"।

Monday, 14 September 2020

भुत्तुक्क

लुकी-छिपी खुसुक्क छुने दिन गैसके 
रातो-पिरो भई धुरुक्क रुने दिन गैसके 
आजभोलि केटा-केटी हाकाहाकी भए
लाज मानेर भुत्तुक्क हुने दिन गैसके।

Friday, 11 September 2020

लडाइँ

गुटबन्दी बिरुद्धको लडाइँ हो यो 
जंगे प्रवृत्ति बिरुद्धको लडाइँ हो यो
खराब नियत बिरुद्धको लडाइँ हो यो 
दमित पात्रको बुलन्द आवाज हो यो।

तिमी माया

तिमी माया गर 
या त माया मार
म त तिम्रै हुन्छु
म त तिम्रै हुन्छु।

जति भाग तिमी,पछ्याइरहन्छु
बेवास्ता गरे नि,पट्याइरहन्छु 
गाली गरे पनि सही नै रहन्छु 
तिम्रै छायाँ बनी संसंगै रहन्छु।

ढुंगाले हाने नि फूल सम्झी दिन्छु
घृणा गरे पनि माया सम्झी दिन्छु
टाढा सम्झ तिमी,म त नजिक ठान्छु
पराई सम्झे पनि म त आफ्नो मान्छु।

Monday, 7 September 2020

प्रत्यक्ष-प्रसारण

म खुशी थिएँ त केवल त्यहाँ मात्र थिएँ
म सुखी थिएँ त केवल त्यहाँ मात्र थिएँ
जीवन थियो त केवल ९ महिना मात्र थियो।

जब यो धर्तीमा आएँ,दु:ख मात्र पाएँ।

अहिले त मेरो मृत्यूको प्रत्यक्ष-प्रसारण भैरहेको छ।

Friday, 4 September 2020

प्रेमीको माग

यो मागको नियम कति विचित्र छ
उता कामदारको माग बढ्यो
यता प्रेमीको माग बढ्यो।

ममता

उनको शब्दकोषमा छैन अहमताको नाम 
आमा हो करङ धितो राख्ने क्षमताको नाम 
आफ्नो ज्यानै जाओस् बरु,पस्किन्छिन् माम 
त्यसै कहाँ चुलिएको छ यहाँ ममताको नाम?


Wednesday, 2 September 2020

सिस्नुपानी

सेतो पानामा कालो मसीले पोतिएको होइन
सिस्नुमा पानी छ्यापिएको हो।
त्यसैले,
यो कविता होइन
सिस्नु-पानी हो।
होसियार शासक हो,
अवश्य पोल्नेछ।

Tuesday, 1 September 2020

चिहान

बलि दिंदै आएको छु समयदेवलाई कति कति चाहनाहरुको
चाङ लाग्दै गएको छ अविस्मरणीय तीता-तीता सम्झनाहरुको
अतीतका भूतहरु जुर्मुराउँछन् जब रातले विजयोत्सव मनाउँछ 
यो छाती होइन,डरलाग्दो चिहान हो- हजारौं मृत सपनाहरुको। 

सपनाहरुको चिहान

यो छाती होइन,मृत सपनाहरुको चिहान हो।

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...