Wednesday, 24 March 2021

भ्यू-टावर

विकास र समृद्धिको सूचक-तिम्रो भ्यू-टावर।

तर तिम्रो भ्यू-टावर मलाई -
लाचार लाग्छ
निकम्मा लाग्छ 
निरर्थक लाग्छ
व्यर्थ लाग्छ।

आकारले ठूलो होला
अग्लो होला
तर उचाइ धेरै कम लाग्छ मलाई।

तिम्रो भ्यू-टावरले 
गाउँवस्तीको कथा बुझ्न सक्दैन 
चुल्हाहरुको व्यथा महसुस गर्न सक्दैन
लाटो छ तिम्रो भ्यू-टावर।

तिम्रो भ्यू-टावरले
टावर जस्तै महलहरु मात्र देख्छ
ठम्याउन सक्दैन-स-साना झुपडीहरु
देख्न सक्दैन जीर्ण संरचनाहरु 
कमजोर छन् तिम्रो भ्यू-टावरका आँखाहरु।

तिम्रो भ्यू-टावरले 
सुन्न सक्छ महंगा गाडीका हर्नहरु मात्र
सुन्न सक्दैन करुणामय ध्वनिहरु
कमजोर छन् तिम्रा भ्यू-टावरका कानहरु।

तिम्रो भ्यू-टावरले 
सुघ्न खोज्छ विदेशी पर्फ्युमका वास्नाहरु मात्र
थाहा पाउनै खोज्दैन पसिनाको गन्ध
पक्षपाती छ तिम्रो भ्यू-टावरको नाक।

ए!लाटो त म पो रहेछु
निर्जीव तिम्रो भ्यू-टावरलाई तथानाम गाली गरेछु!!!







No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।