Wednesday, 30 June 2021

लोडसेडिङ

तिम्रो नाम सुन्दा पनि दिलको घण्टी टिङ टिङ हुन्छ 
तिम्रो हल्का स्पर्षले पनि यो मन सिरिङ सिरिङ हुन्छ
तिम्रो उपस्थितिमा आफूलाई रंगीन संसारमा पाउँछु 
तिमी बिना मेरो जिन्दगीमा कालो लोडसेडिङ हुन्छ।

Monday, 28 June 2021

अभिनय

किनेर पेट भर्नु र अन्नले भकारी भर्नुमा फरक त भैहाल्छ
स्वावलम्बी हुनु र अर्काको भर पर्नुमा फरक त भैहाल्छ 
भनाइ र गराइ बीच आकाश र पाताल जस्तै फरक भएझैं 
कृषक हुनु र कृषकको अभिनय गर्नुमा फरक त भैहाल्छ।



Sunday, 27 June 2021

फ्लाट

थाकिसकें,दु:ख बिसाउने खाट मिलाइदेऊ
घृणा लागे सधैं बिसाउने घाट मिलाइदेऊ
प्रेमको दुनियाँमा शरणार्थी भैसकें है सानू! 
तिम्रो दिलमा तीनकोठे फ्लाट मिलाइदेऊ।

भाले

धेरैलाई थाहा छैन,म मान्छे कस्तो खाले हो
कसैले भन्लान् यो नाथे मात्र एउटा पाले हो
भन्न त जे भन्दा पनि हुन्छ,उसको हो मर्जी
थोरैलाई थाहा छ,लडाइँमा जितेको भाले हो।


Friday, 25 June 2021

अभियान्ता

         जातले गैर दलित भएपनि ऊ दलितहरूको हक,हित र अधिकारका लड्ने खुंखार सामाजिक अभियान्ता थिए।सेलिब्रेटी नै भयो।

         फाउन्डेसन खोल्यो।समाजसेवाको लागि बिदेशबाट पनि रकम ओइरिन थाल्यो उसको खातामा।नाम कमायो।दाम कमायो।

       छुवाछूत र भेदभाव हटाउने उदेश्यले दलितसंग विहे समेत गर्यो।तर दुर्भाग्यवश अन्ततः वहुविवाहको मुद्दामा जेल चलान भयो।

पानी-मूलको

म पानी हुँ-मूलको
बग्दै- बग्दै
खोला हुँदै 
नदी हुँदै
यात्रा तय गर्नुछ
तर अन्तिम गन्तव्य महासागर हुँदै-हैन
बाफिएर गगन चुम्नुछ 
र बर्षनुछ वर्षा बनेर।
बचाउनुछ जीव-जगतलाई।

Monday, 21 June 2021

प्रेमको बाढी

हिजो 
उनी टाढा थिइन् 
निकै प..........र 
आफ्नो बाटो हिंडिरहन्थिन्
आफ्नै धुनमा
आफ्नै लयमा
सुस्ताइरहन्थिन्
गुनगुनाउँथिन्-आफ्नै जिन्दगीको गीत।

म पनि टाढा थिएँ
निकै व...........र
म हेरिरहन्थें एकनास 
रमाइरहेथें परको दृश्य देखेर
मीठो लाग्थ्यो उनको गीत।

मेरो आफ्नै जिन्दगी थियो
जे थिएँ,जस्तो थिएँ,खुशी थिएँ
शान्त थिएँ
सन्तुष्ट थिएँ।

एक्कासी उनले आफ्नो स्वभाव बद्लिन्
उनको प्रेमको आयतन ह्वात्तै बढ्यो
बाढी जस्तै!
बढ्दै-बढ्दै आइपुगिन् मेरो जिन्दगीमा
म पनि बग्दै-बग्दै गएँ उनीसंगै
के बगें भनुँ?बगाईन् उनैले।

निकै तल पुगें
फर्कनै नसक्ने ठाउँमा पुगें।

मैले आफ्नो अस्तित्व गुमाएँ
म म रहिन
मेरो म भित्रको म उनीसंग बहँदा खुइलियो।

पुन: उनको स्वभावले परिवर्तनको मार्ग चुन्यो
उनको प्रेमको आयतन स्वात्तै घट्यो
उनको प्रेम सुक्दै-सुक्दै गयो
उनी खुम्चिंदै खुम्चिंदै गईन्
टाढिंदै-टाढिंदै गईन्
निकै प.....र पुगिन्।

म निकै व....र पुगें
तर म ढलिसकेको थिएँ-उठ्नै नसक्ने गरी
कसैले उठाए पनि म सिंगो उठ्ने थिइन 
आधा मात्र उठ्ने भएँ
म भित्रको विश्वासको घर ढलिसकेको थियो
उम्मीदका झ्याल-ढोकाहरु भत्किसकेका थिए।

आज 
म उनलाई हेरिरहेको छु
म उनलाई देखिरहेको छु
ऊ आफ्नै बाटोमा हिंडिरहेकी छिन् 
आफ्नै लयमा
आफ्नै धुनमा
उस्तै गरी 
सुस्ताइरहन्छिन्
गुनगुनाउँछिन् आफ्नै जिन्दगीको गीत
तर यसपटक म रमाउन सक्दिन 
कर्कश लाग्छ उनको गीत
सायद यसपटक उनको गीत,अरु कसैलाई 
मीठो लागिरहेको छ।

बश.. उनको याद बगर बनेर
मेरो छातीको फाँटमा लमतन्न सुतिरहेको छ।



Sunday, 20 June 2021

एक्सरे

संवेदनाको अदृश्य पुल तरेर देखाइदेऊ
पुल मुनिको गहिरो खाडल भरेर देखाइदेऊ
साँच्चै एकाइसौं शताब्दीमा छौ भने ए डाक्टर 
मान्छेको मनको एक्सरे पनि गरेर देखाइदेऊ।

Friday, 18 June 2021

कथा

आँखाहरु आँशुले भिजेको कथा
समयबाट धेरै कुरा सिकेको कथा
सुन्नुस्,सुनाउँछु आज दिल खोलेर
मैले महामारीलाई जितेको कथा।

Thursday, 17 June 2021

पानी

जीवनको अन्तिम श्वास फेरिरहेको बीउले
एकथोपा पानी पाएपछि अंकुराउन थाल्छ।

मरुभूमिमा काकाकुल पंक्षीले एकथोपा पानी पाए
ज्यान बचाउन सक्छ।

बिषसंग मिलेर एकथोपा पानीले
कसैको जीवन सिध्याउन सक्छ।

अमृतसंग मिलेर एकथोपा पानीले
कसैको जीवन बचाउन सक्छ।

घामसंग मिलेर पानीले
सप्तरंगी इन्द्रेणीको सिर्जना गर्छ।

शुक्रकीटको सहकार्य पानीसंग हुन्छ,
डिम्बसंग मिलेर भ्रुण बनाउँछ।

दुईथोपा पानी आँखाबाट खस्दा
मनको वेदना पनि संगै खस्छ।

दुधसंग मिलेर पानीले शिशुलाई बचाउँछ।
हामी पानी पिउँछौं र त जिउँछौं।

पानीले जीवन र चक्र चलाउँछ।

पानीको कुनै निश्चित आकार हुँदैन 
निश्चित रुप हुँदैन 
कुनै रङ्ग हुँदैन।

जब पानीले उग्र रुप लिन्छ,
तब
समस्याको आकार ठूलो हुन्छ 
बाढी जान्छ
पहिरो जान्छ
ज्यान लिन्छ
जिन्दगीको रङ फिका पार्छ
जायजेथा लान्छ
पसिनाको कमाइ लान्छ
सपना बगाई लान्छ
मन गलाउँछ
मुटु जलाउँछ 
पानी भन्नु आगो पनि त रहेछ।



Monday, 14 June 2021

म्याराथन

छिचोल्दै जाँदा बाधा-अड्चन जिन्दगीको
गर्दै जाँदा गन्थन् अनि मनन् जिन्दगीको 
एउटा यस्तो महत्त्वपूर्ण निचोडमा पुगें म 
समाधिमै टुंगिने र'छ म्याराथन जिन्दगीको।

Monday, 7 June 2021

क्रान्तिकारी

ऊ फोहोरी छ
थोत्रो लगाउँछ
बस्तुभाउ चराउँछ 
गोबर सोहोर्छ 
परैबाट गन्हाउँछ।

ऊ खन्छ 
जोत्छ 
डल्ला फोर्छ  
सपनाको बीज रोप्छ 
मलजल गर्छ 
आशाको बिरुवा उमार्छ 
विश्वासको फल फलाउँछ।

मेरो दृष्टिकोणमा 
उसले कृषि क्रान्ति गरेको छ
ऊ जत्तिको क्रान्तिकारी मलाई कोही लाग्दैन।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...