हिजो
उनी टाढा थिइन् निकै प..........र
आफ्नो बाटो हिंडिरहन्थिन्
आफ्नै धुनमा
आफ्नै लयमा
सुस्ताइरहन्थिन्
गुनगुनाउँथिन्-आफ्नै जिन्दगीको गीत।
म पनि टाढा थिएँ
निकै व...........र
म हेरिरहन्थें एकनास
रमाइरहेथें परको दृश्य देखेर
मीठो लाग्थ्यो उनको गीत।
मेरो आफ्नै जिन्दगी थियो
जे थिएँ,जस्तो थिएँ,खुशी थिएँ
शान्त थिएँ
सन्तुष्ट थिएँ।
एक्कासी उनले आफ्नो स्वभाव बद्लिन्
उनको प्रेमको आयतन ह्वात्तै बढ्यो
बाढी जस्तै!
बढ्दै-बढ्दै आइपुगिन् मेरो जिन्दगीमा
म पनि बग्दै-बग्दै गएँ उनीसंगै
के बगें भनुँ?बगाईन् उनैले।
निकै तल पुगें
फर्कनै नसक्ने ठाउँमा पुगें।
मैले आफ्नो अस्तित्व गुमाएँ
म म रहिन
मेरो म भित्रको म उनीसंग बहँदा खुइलियो।
पुन: उनको स्वभावले परिवर्तनको मार्ग चुन्यो
उनको प्रेमको आयतन स्वात्तै घट्यो
उनको प्रेम सुक्दै-सुक्दै गयो
उनी खुम्चिंदै खुम्चिंदै गईन्
टाढिंदै-टाढिंदै गईन्
निकै प.....र पुगिन्।
म निकै व....र पुगें
तर म ढलिसकेको थिएँ-उठ्नै नसक्ने गरी
कसैले उठाए पनि म सिंगो उठ्ने थिइन
आधा मात्र उठ्ने भएँ
म भित्रको विश्वासको घर ढलिसकेको थियो
उम्मीदका झ्याल-ढोकाहरु भत्किसकेका थिए।
आज
म उनलाई हेरिरहेको छु
म उनलाई देखिरहेको छु
ऊ आफ्नै बाटोमा हिंडिरहेकी छिन्
आफ्नै लयमा
आफ्नै धुनमा
उस्तै गरी
सुस्ताइरहन्छिन्
गुनगुनाउँछिन् आफ्नै जिन्दगीको गीत
तर यसपटक म रमाउन सक्दिन
कर्कश लाग्छ उनको गीत
सायद यसपटक उनको गीत,अरु कसैलाई
मीठो लागिरहेको छ।
बश.. उनको याद बगर बनेर
मेरो छातीको फाँटमा लमतन्न सुतिरहेको छ।
No comments:
Post a Comment