Monday, 26 July 2021

पासवर्ड

टाढा राख्यौ या छेउ मलाई 
भएन केही पनि भेउ मलाई 
कसरी छिर्ने हो तिम्रो दिलमा
सुटुक्क पासवर्ड देउ मलाई।

Friday, 23 July 2021

मूल्य

जिउन जाने जीवन अर्थपूर्ण सफर हुन्छ
महत्त्व बुझेपछि मात्र अत्तर पनि अत्तर हुन्छ 
चीज अमूल्य तब हुन्छ,जब सकिन्छ चिन्न
बहुमूल्य हीरा पनि चिन्न नसके पत्थर हुन्छ।
 

थुकिएको थुक

पदसंग ईमान साट्नेहरु पनि देखें
भित्रभित्रै जरा काट्नेहरु पनि देखें
मान्छेहरु बोल्छन् अर्कै,गर्छन् अर्कै
थुकिएको थुक चाट्नेहरु पनि देखें।

भाउजू देवर

गल्ती लुकाउने कि स्वीकार्ने हजूर?
समाजलाई सपार्ने कि बिगार्ने हजूर?
भेनालाई साली जस्तै भाउजूलाई देवर चाहियो रे
विकृति सुधार्ने कि थुपार्ने हजूर?

Sunday, 18 July 2021

चुच्चे

चुच्चे बनाउने पनि तिनै हुन् 
बुच्चे बनाउने पनि तिनै हुन् 
शान्त भएर बसेका जनलाई 
छुच्चे बनाउने पनि तिनै हुन्।

गोलाप्रथा

आँखा चिम्मा गरेर एउटालाई तान्नुपर्ला जस्तो छ 
भाग्यले जुरा'कोलाई आफ्नो मान्नुपर्ला जस्तो छ
जो देख्यो उस्तै लाग्छ,सबैले मलाई उस्तै चाहन्छन्
गोला-प्रथाबाट जीवनसाथी छान्नुपर्ला जस्तो छ।


औषधालय

प्राकृतिक विविधताले भरिएको विशाल पुस्तकालय हो
पशुपंक्षीहरुको सुमधुर ध्वनि आफैंमा संगीत या लय हो
यहाँका हरेक चीज औषधि हुन् किन आयात गर्नु व्यर्थै
नियालेर हेर्ने हो भने नेपाल एउटा ठूलो औषधालय हो।

Saturday, 17 July 2021

प्रेमको सत्ता

कोही टाँसिएर त कोही कक्षमा बस्न खोज्छन्
प्रायः गुमाउने भन्दा पाउने लक्षमा बस्न खोज्छन् 
यहाँ प्रेमलाई पनि राजनीति र सत्ता बनाइसके हरे!
कोही सत्तामा र कोही प्रतिपक्षमा बस्न खोज्छन्।



सहयात्री

कसको नियत के भनेर तत्काल गरिने मायामा नदेखिन पनि सक्छ 
को सही/गलत ठाउँमा भनी बुझ्न दायाँबायाँमा नदेखिन पनि सक्छ 
जे देखिन्छ,त्यो नहुन पनि सक्छ र त्यो हुन पनि सक्छ जो देखिन्न 
सहयात्रीको पींठमा तरवार भएपनि छायाँमा नदेखिन पनि सक्छ। 
 

प्रेमपथ

दुई पाङ्ग्रा भई एउटै रथमा चम्कनुपर्छ हामीले
दु:खको गर्मीमा साथको पंख हम्कनुपर्छ हामीले  
देख्नेले जेसुकै देखून् र भन्नेले पनि जेसुकै भनून्
घृणा छोडेर प्रेमको पथमा लम्कनुपर्छ हामीले।


Wednesday, 14 July 2021

जून

रुपको चहकिलो किरण छरेको देख्दा अचम्म लागेको छ
त्यै किरणले मान्छे मूर्छा परेको देख्दा अचम्म लागेको छ
माथिको जून त रातमा मात्र चम्किन्छ,हर रात पनि होइन
सधैं चम्किने जून छेउमै झरेको देख्दा अचम्म लागेको छ। 




मुर्कुटा

टाउको नभएकोलाई मुर्कुटा भनिन्छ हाम्रोतिर।

उसो त बुद्धि नभए टाउको हुनुको अर्थ छैन,
अर्थात टाउको नभए बराबर हो।

आज एउटा मुर्कुटा 
एउटा आयाताकारको वरिपरि फनफनी घुमिरहेछ
कहिले कताबाट,कहिले कताबाट कोट्याउँदैछ।

अचम्म त यस कुरामा छ-
मुर्कुटाले देश चलाउँदैछ।



औकात

गोड्से तब हुन्छ,जब गान्धीको जस्तो मारिनेको पहिचान हुन्छ 
सुदामा सुदामा जस्तै थियो र त कृष्णासंगै उसको पनि बयान हुन्छ 
सबैको आ-आफ्नो औकात हुन्छ,देखाउँछ र त्यस्तै रहन दिनुपर्छ,
झोले/पूच्छरहरुलाई हनुमान भन्दा रामचन्द्रजीको अपमान हुन्छ।


स्थल

जल बनेको छ
भल बनेको छ
आँखा पीडा पोख्ने
स्थल बनेको छ।

Sunday, 11 July 2021

कालो चश्मा

कमजोर छ आँखा समाजको,बिषय छ खेदको
व्यवहारमा लागू गर्दैन,परन्तु गर्छ कुरा वेदको
समानताको सागसब्जी खुवाउनुपर्ने नै देखिन्छ 
अझैपनि लगाएकै छ कालो चश्मा विभेदको।


उत्सव

आफन्तहरुले मीठा-मीठा परिकार बनाउनुहोला
मित्र मात्र नभई शत्रुले पनि हाजिरी जनाउनुहोला
मेरा सबै दु:ख,पीर र समस्या दूर हुनेछन् त्यो क्षण
मेरो मृत्यूको दिन भव्यरुपमा उत्सव मनाउनुहोला।

Tuesday, 6 July 2021

बाँदर र मान्छे

          बाँदरको आफ्नो घर हुन्छ।जहाँ बस्यो त्यहीँ घर हो।त्यसैले जंगल बाँदरको घर हो।रुख उसको घर हो।भीर,पाखा र पहरा खेल्ने-डुल्ने मैदान हुन्।प्रकृतिले नै उसलाई बस्ने घर बनाइदिएको छ।उसले घर बनाइरहनु जरुरी छैन।

         त्यसो त धेरैजसो वन्यजन्तुहरुले आफ्नो घर बनाउँदैनन्।एकाधले आफ्नो सुविधाको लागि अस्थायी बासस्थान बनाउँछन्।पुरानो र बस्न नालायकको भएपछि छोडेर जान्छन्।उनीहरुको पनि घर भनेकै वनजंगल हुन्।वनजंगलमा उनीहरू स्वेच्छापूर्वक जहाँ पनि जान सक्छन्।बस्न सक्छन्।सुत्न सक्छन्।घर बनाउनेले पनि उपलब्ध श्रोतबाटै बनाउँछन्।केही परिश्रम अवश्य लगानी हुन्छ तर महंगो पर्दैन।पैसा लाग्दैन।बाँदरहरु खेल्दा,उफ्रिदा अरुका घर भत्किन सक्छन् तर घर भत्किएकाहरु गुनासो गर्दैनन्।गुनासो त सिर्फ मान्छेहरू गर्छन्।त्यसैले बाँदरलाई हेयको दृष्टिले हेर्छन्।घृणा गर्छन्,मानौं उनीहरुको घरै बाँदरले भत्काइदिएका छन्।त्यसो हुँदो हो त काठमाडौं शहरै हुन्थेन।अनाकन्टार जंगल हुन्थ्यो।अथवा कंकृट घरहरुका अवशेष मात्र हुन्थे।बरु कुनै बेला काठमाडौ जंगल थियो।त्यहाँ बाँदर थिए।सनैसनै मासिंदै गए।यहाँका बाँदरहरु लोपोन्मुख हुँदै गए।पशुपति र स्वयंभूका बाँदरहरु कुनै टाढाको जंगलबाट यहाँ बसाइँ सरेर आएका होइनन्।उनीहरू त आदिवासी हुन्।त्यसैले 'बाँदर शहरमा पसेका हुन् कि मान्छे जंगल पसेका हुन्?' भन्ने सवालको जवाफ खोज्नुपर्ने दिन आएको छ।

           वनजंगलमा फल्ने फलफूल नै उसको खानेकुरा हो।उसले खेती गर्नुपर्ने जरुरत छैन।जसरी अरु वन्यजन्तु र पंक्षीहरु स्वतन्त्र चाहन्छन्,उनीहरू पनि चाहन्छन्।दमित र अतिक्रमित भएको मनपराउँदैनन्।तर अचेल वनफँडानी भैरहेको छ।उनीहरूको क्षेत्र अतिक्रमण भैरहेको छ।वन फाँडेर मानिसहरु खेती गरिरहेका छन्। बाँदरहरुले आफ्नो क्षेत्रमा फलेको अन्नबाली खानु स्वभाविक हो।त्यसैले "बादरले खेती पनि गर्दैन र मानिसले गरेको खेती पनि बर्बाद बनाउँछ" भन्ने तर्क न्यायसंगत हुँदैन

           आदिमकालमा त झन गाउँ र शहर नै थिएन।जंगल मात्र थियो।सबै वन्यजन्तु थिए।अर्थात मान्छे र बाँदर जंगली थिए।जंगलमै बसोबास गर्थे।औकात एउटै थियो।यसर्थ मान्छे र वन्यजन्तुको पृथ्वीमा अधिकार बराबर हुन्छ।

           मानिस आफूलाई उच्च र बाँदरलाई निच ठान्छन्।यो उनीहरुको भ्रम मात्र हो।अहिलेका कतिपय मान्छे बाँदर जत्तिको असल पनि हुन सकेका छैनन्।खासमा बाँदरले मान्छेको केही बिगारेको छैन,बिगार्दैन र बिगार्न सक्दैन पनि।बरु बाँदर भन्दा त मान्छे धेरै तल गिर्छन्।त्यसैले मान्छेलाई बाँदरसंग तुलना गरेर बाँदरको अपमान नगरेकै बेश।

           अर्को कुरा बाँदरको देश भनेको सिंगो पृथ्वी हो।उनीहरुको लागि कुनै भौगोलिक सिमाना हुँदैन।बाँदरहरु इमानदार हुन्छन्।आफ्नो देशको लागि बफादार हुन्छन्।राष्ट्रघाती हुँदैनन्।मान्छेले जस्तो नदीनाला बेच्दैनन्।आफ्नो देश बेच्दैनन्।

Friday, 2 July 2021

सुन्दर भविष्य

विवेकको छिना,श्रमको घन लिई संघर्षमा हाजिरी जनाउनुपर्छ 
सुखमा मात्र होइन अब हरेक दु:खमा समेत उत्सव मनाउनुपर्छ 
घैटोमा पनि घाम लाग्ला भनेर हातमा दही जमाएर बस्न हुन्न 
अरु कसैले बनाउँदैन,आफ्नो सुन्दर भविष्य आफैंले बनाउनुपर्छ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...