Tuesday, 6 July 2021

बाँदर र मान्छे

          बाँदरको आफ्नो घर हुन्छ।जहाँ बस्यो त्यहीँ घर हो।त्यसैले जंगल बाँदरको घर हो।रुख उसको घर हो।भीर,पाखा र पहरा खेल्ने-डुल्ने मैदान हुन्।प्रकृतिले नै उसलाई बस्ने घर बनाइदिएको छ।उसले घर बनाइरहनु जरुरी छैन।

         त्यसो त धेरैजसो वन्यजन्तुहरुले आफ्नो घर बनाउँदैनन्।एकाधले आफ्नो सुविधाको लागि अस्थायी बासस्थान बनाउँछन्।पुरानो र बस्न नालायकको भएपछि छोडेर जान्छन्।उनीहरुको पनि घर भनेकै वनजंगल हुन्।वनजंगलमा उनीहरू स्वेच्छापूर्वक जहाँ पनि जान सक्छन्।बस्न सक्छन्।सुत्न सक्छन्।घर बनाउनेले पनि उपलब्ध श्रोतबाटै बनाउँछन्।केही परिश्रम अवश्य लगानी हुन्छ तर महंगो पर्दैन।पैसा लाग्दैन।बाँदरहरु खेल्दा,उफ्रिदा अरुका घर भत्किन सक्छन् तर घर भत्किएकाहरु गुनासो गर्दैनन्।गुनासो त सिर्फ मान्छेहरू गर्छन्।त्यसैले बाँदरलाई हेयको दृष्टिले हेर्छन्।घृणा गर्छन्,मानौं उनीहरुको घरै बाँदरले भत्काइदिएका छन्।त्यसो हुँदो हो त काठमाडौं शहरै हुन्थेन।अनाकन्टार जंगल हुन्थ्यो।अथवा कंकृट घरहरुका अवशेष मात्र हुन्थे।बरु कुनै बेला काठमाडौ जंगल थियो।त्यहाँ बाँदर थिए।सनैसनै मासिंदै गए।यहाँका बाँदरहरु लोपोन्मुख हुँदै गए।पशुपति र स्वयंभूका बाँदरहरु कुनै टाढाको जंगलबाट यहाँ बसाइँ सरेर आएका होइनन्।उनीहरू त आदिवासी हुन्।त्यसैले 'बाँदर शहरमा पसेका हुन् कि मान्छे जंगल पसेका हुन्?' भन्ने सवालको जवाफ खोज्नुपर्ने दिन आएको छ।

           वनजंगलमा फल्ने फलफूल नै उसको खानेकुरा हो।उसले खेती गर्नुपर्ने जरुरत छैन।जसरी अरु वन्यजन्तु र पंक्षीहरु स्वतन्त्र चाहन्छन्,उनीहरू पनि चाहन्छन्।दमित र अतिक्रमित भएको मनपराउँदैनन्।तर अचेल वनफँडानी भैरहेको छ।उनीहरूको क्षेत्र अतिक्रमण भैरहेको छ।वन फाँडेर मानिसहरु खेती गरिरहेका छन्। बाँदरहरुले आफ्नो क्षेत्रमा फलेको अन्नबाली खानु स्वभाविक हो।त्यसैले "बादरले खेती पनि गर्दैन र मानिसले गरेको खेती पनि बर्बाद बनाउँछ" भन्ने तर्क न्यायसंगत हुँदैन

           आदिमकालमा त झन गाउँ र शहर नै थिएन।जंगल मात्र थियो।सबै वन्यजन्तु थिए।अर्थात मान्छे र बाँदर जंगली थिए।जंगलमै बसोबास गर्थे।औकात एउटै थियो।यसर्थ मान्छे र वन्यजन्तुको पृथ्वीमा अधिकार बराबर हुन्छ।

           मानिस आफूलाई उच्च र बाँदरलाई निच ठान्छन्।यो उनीहरुको भ्रम मात्र हो।अहिलेका कतिपय मान्छे बाँदर जत्तिको असल पनि हुन सकेका छैनन्।खासमा बाँदरले मान्छेको केही बिगारेको छैन,बिगार्दैन र बिगार्न सक्दैन पनि।बरु बाँदर भन्दा त मान्छे धेरै तल गिर्छन्।त्यसैले मान्छेलाई बाँदरसंग तुलना गरेर बाँदरको अपमान नगरेकै बेश।

           अर्को कुरा बाँदरको देश भनेको सिंगो पृथ्वी हो।उनीहरुको लागि कुनै भौगोलिक सिमाना हुँदैन।बाँदरहरु इमानदार हुन्छन्।आफ्नो देशको लागि बफादार हुन्छन्।राष्ट्रघाती हुँदैनन्।मान्छेले जस्तो नदीनाला बेच्दैनन्।आफ्नो देश बेच्दैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...