Thursday, 28 April 2022

घोषणापत्र

यतिखेर म शहरमा 
आफ्नै कामको दौडानमा छु। 

सार्वजनिक चर्पी छैन
भए पनि पानी छैन
तिम्रो घोषणापत्र खुब काम लागेको छ यतिखेर - गुहु पुछेर फाल्न।

इज्जत

एउटाले जे गर्यो,त्यसैको अनुसरण गर्ने समाज हो यो
शक्तिको आडमा नारीको चीरहरण गर्ने समाज हो यो
फलाम कुट्नेलाई कामी भने,जुत्ता सिउनेलाई सार्की
पेशाको आधारमा इज्जत वर्गीकरण गर्ने समाज हो यो।



Tuesday, 26 April 2022

खुल्ला

कामकुरो कतातिर कुम्लो बोकी ठिमीतिर डुलेको पनि देखियो
क्याम्पस हिंडेका ठिटा-ठिटी जिगलतिर भुलेको पनि देखियो 
फूल फुलेकै सुहाउँछ,डाली नुँगेकै सुहाउँछ,फल झुलेकै सुहाउँछ 
छोपिएर रहँदै सुहाउने कतिपय कुरा खुलेको पनि देखियो।

Monday, 25 April 2022

त्याग

छोड्न कोही राजी छैनन्,सबलाई आ-आफ्नो भाग हुनैपर्छ यहाँ 
कोइली हुन चाहदैनन् ,सबलाई टाठोबाठो काग हुनैपर्छ यहाँ 
हारेर जित्न भन्दा पनि जितेर जित्न चाहन्छन् जोकोही मान्छे  
वास्तवमा सबैको भलाइको लागि कसैबाट त्याग हुनैपर्छ यहाँ।

Sunday, 24 April 2022

माग्न

आफ्नो जिम्मेवारीबाट भाग्न कति सजिलो छ है?
उचाइबाट ओरालोमा लाग्न कति सजिलो छ है?
दु:ख गर्न,पसिना बगाउन पो धेरै गाह्रो छ त यहाँ 
इज्जतको ख्यालै नगरी माग्न कति सजिलो छ है?


Monday, 18 April 2022

गोविन्द

घर मेरो झलमल्ल देखिन्छ झाडीबाट हेर्दा त
मात्र कुरुप देखिएको हुँ म अगाडीबाट हेर्दा त
सबै कुरामा पूर्ण को नै हुन्छ र,मान्छेको जात 
मान्छे त म गोविन्द हुँ नि पछाडीबाट हेर्दा त।

गल्ती

आफ्नो प्यास मेट्न अरुको मूल सुकाउँछौं हामी
आफ्नो शीर ठाडो पार्न अरुको झुकाउँछौं हामी
अहिलेसम्म हामीले सिकेको पाठै यति र यस्तै छ 
अरुको गल्ती देखाउन आफ्नो लुकाउँछौं हामी।

जन्मदाता

भावनाको कुनै विन्दुसम्म डुबेर 
मन र मस्तिष्कको मिलनबाट
कापी र कलमको घर्षणबाट
गर्भवती भएर 
प्रसवपीडा भोगिरहेको छ एउटा सर्वनामले।
उसले एउटा कवितालाई जन्माएको क्षण,
कविताले पनि कविलाई जन्म दिन्छ 
एक-अर्काको जन्मदाता "कवि र कविता"।




Friday, 15 April 2022

स्वार्थ

हर कोही मान्छे फाइदाको मार्ग चुन्छ यहाँ 
घाटा लागेपछि व्यापारी धुरुधुरु रुन्छ यहाँ 
विना स्वार्थको मान्छे कतै देख्नुभएको छ र?
सन्यासीको पनि निस्वार्थी हुने स्वार्थ हुन्छ यहाँ।

Thursday, 7 April 2022

सम्पत्ति

विदेशीलाई सुम्पिसके पानी,अरु के नै बाँकी छ र
उत्खनन गर्न सकेनन् खानी,अरु के नै बाँकी छ र
बौद्धिक,भौतिक सम्पत्ति सबै बेचेर खाइसकेपछि 
सम्पत्ति भनेकै छ राहदानी,अरु के नै बाँकी छ र?

Wednesday, 6 April 2022

तला गन्दागन्दै

ठूलै प्रगति गर्छु भन्दाभन्दै जिन्दगी जाने भो
सपनाको जग खन्दाखन्दै जिन्दगी जाने भो
मनको लड्डु घिउसित खाँदा टन्न अघाइसकें
राजधानीमा तला गन्दागन्दै जिन्दगी जाने भो।

उदाहरणको साँघु

उदाहरणको साँघु तरेर देखाइदेऊ
भकारीमा अन्नज भरेर देखाइदेऊ
नेपाल कृषिप्रधान देश हो भन्छौ
सरकार!आफैं खेती गरेर देखाइदेऊ।

Tuesday, 5 April 2022

चालक

ढल्नेहरु ढल्छन्,नढल्नेहरु ढलाउँछन्,यसैगरी चलेको छ 
जल्नेहरु जल्छन्,नजल्नेहरु जलाउँछन्,यसैगरी चलेको छ
प्रश्न छ"सबैजना देशको लागि मरे देश कसले चलाउँने?" 
मर्ने शहिद हुन्छन्,मार्नेले देश चलाउँछन्,यसैगरी चलेको छ।


Monday, 4 April 2022

दलाली

गाली खान नपरोस्,गाली छर्न नपरोस् 
अरुको गाँस काटेर थाली भर्न नपरोस् 
मिहिनेत गरेर दुई छाक टार्न सके पुग्छ
दुई दिन बाँच्नलाई दलाली गर्न नपरोस्।


Sunday, 3 April 2022

टीका

देश बाली आगो तापेर आउँछन् उतैबाट 
सत्ताको लम्बाइ नापेर आउँछन् उतैबाट 
खुब फापेको छ पल्लो प्रभुको आशीर्वाद 
राजाहरु टीका थापेर आउँछन् उतैबाट।

आँखा खुल्नुपर्छ

चेतनाको सुनाखरी अब दुर्गममा फुल्नुपर्छ
शिक्षाको दियो बालेर अंधकारमा डुल्नुपर्छ
कहिलेसम्म सुतिबस्ने हामी कुम्भकर्ण भएर
धेरै अबेर भैसक्यो,अब त आँखा खुल्नुपर्छ।

डंगुर

गुलियोलाई अमिलो अंगुर बनाउने यिनै नेता हुन् 
कार्यकर्तालाई खाते बंगुर बनाउने यिनै नेता हुन् 
"राजनीति"शब्द त आफैंमा शुद्ध छ,कुनै दोष छैन
यसलाई फोहोरको डंगुर बनाउने यिनै नेता हुन्।



कारण

कामले शून्य र मौखिक मात्र भएर हो
व्यवहारिक हैन,काल्पनिक मात्र भएर हो
विकासले गति लिन नसक्नुको कारण 
प्रयोगात्मक नभई सैद्धान्तिक मात्र भएर हो।

Friday, 1 April 2022

बिकाउ

यो देशमा
जो बिक्दैन
त्यो टिक्दैन।

अवशेष

भन्न पनि कहाँ सकियो र अब "पानी मात्र बाँकी छ"
हामीसंग सम्पत्तिको नाउँमा राहदानी मात्र बाँकी छ
देश त उहिल्यै बेचिसक्यो,पोलेर सेकुवा खाइसक्यो
छ त केवल अवशेष एकमुठी खरानी मात्र बाँकी छ।


tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...