Sunday, 1 October 2023

स्वर्ग

कल्याणकारी कृतिहरुको वीउ यो माटोमा छर्न चाहन्छु 
नेपाल भन्दा अर्को कुनै स्वर्ग छैन,यहीँ कतै सर्न चाहन्छु
रगत बगाउने मन छैन,सहिद हुने सपना छैन मेरो
मरेर हैन,बाँचेरै यो देशको लागि केही गर्न चाहन्छु।

Thursday, 14 September 2023

मनचोर

घृणाको भाइरसले सताउने हो मायाको खोप लाग्नु अगाडि 
अरे,हर कोही सकुशल नै हुन्छ नजरको तोप लाग्नु अगाडि 
कुनै हालतमा म समय भन्दा एक कदम अगाडि हुन चाहन्छु 
म आरोपककै भैसकेको हुनेछु मनचोरको आरोप लाग्नु अगाडि।



Monday, 11 September 2023

ए जिन्दगी

अनेक पाटो,गाह्रो बाटो ए जिन्दगी!
अन्तिममा त बन्छ माटो ए जिन्दगी!
आज हुन्छ,भोलि हुन्न ए जिन्दगी 
गल्ती नगर बाटो चुन्न ए जिन्दगी!
ए जिन्दगी!
ए जिन्दगी!

छिचोलेर शरदलाई चुनौती दिएर
सुनाखरी भई बाँच्नु मुस्कान लिएर
भत्किएको हुन सक्छ तर्ने साँघु पनि
नरोक्नु है यात्रा तिमी हिम्मतिलो बनी।

मडारिन्छ कालो बादल ए जिन्दगी 
आउन सक्छ सामू खाडल ए जिन्दगी 
जोगिएर चल्नुपर्छ ए जिन्दगी 
जीवन-दियो बल्नुपर्छ ए जिन्दगी!

अल्झाउन,खुट्टा तान्न धेरै आउन सक्छन् 
बल्झाउन घाउहरु छेउ छाउन सक्छन् 
चिन्नुपर्छ को हो शत्रु अनि को हो मित्र
बर्णन गरी साध्य छैन,संसार छ बिचित्र।









Saturday, 2 September 2023

लेखन

कसै कसैको दिलमा "अङ्गार" लेखिएको हुन्छ
कसै कसैको दिलमा "अहंकार" लेखिएको हुन्छ
स्वागतम लेखिएको हुन्छ गरिबहरुको ढोकामा
धनीहरुको ढोकामा "होसियार" लेखिएको हुन्छ।

Friday, 28 July 2023

अयोग्य

बस्नुपरेको छ निर्विरोध मुख सिएर
त्यसै मरेका हैनन् कत्ति विख पिएर
सुनको गुणस्तर जाँच्न कसी लाउनुपर्छ 
अयोग्य बनाइन्छ जाँच दिने मौकै नदिएर।


Monday, 24 July 2023

प्रगतिको मापक

किन गरिरहनुपर्यो र नाटक प्रगतिको
प्रेम हो कि घृणा हो बाधक प्रगतिको
सबैको आ-आफ्नो दृष्टिकोण होला
पैसा हो कि पेशा हो मापक प्रगतिको?

Saturday, 22 July 2023

दिनरात सल्बलाइरहन्छन् बा'का भूतहरु 
लुकाउन खप्पिस छन् आफ्ना कर्तूतहरु।

Wednesday, 21 June 2023

खेती

"नेता" नामको किसानले
"देश"नामको खेतबारीमा
"कार्यकर्ता"नामको औजारले खनजोत गरे
भाषणको मल हाले
आश्वासनले सिंचाइ गरे
"राजनीति"को खेती गरे।
जनताको भर्याङ हालेर सत्ताको फल टिपे।
भीरमौरीको मह जस्तै गुलियो सत्ताको नशाले 
किसान लट्ठ भएर सुतिरहे
पाँच बर्ष भए-फल सकेछ 
फेरि खेतीको सिजन शुरु भएको छ।
ए किसान!याद राख,
झूटको खेती फेरि-फेरि फस्टाउँदैन।
 

गल्ती

मुखले सुस्त बोले पनि नसुन्ने कानैको गल्ती देखिन्छ 
चुहुने पानी हुन्छ यहाँ निरीह छानैको गल्ती देखिन्छ 
"जसको शक्ति उसैको भक्ति" भनेर त्यसै भनिएको हैन
गर्ने बेला ठूलाले गरे पनि देखिँदा सानैको गल्ती देखिन्छ।



Monday, 12 June 2023

खुशी

गोडमेल गर पिरती छरेर,म खुशी नै हुनेछु
गएपनि एकदुई पात झरेर,म खुशी नै हुनेछु
तिम्रो लागि यो मुटुमा ठूलो जग्गा खाली छ 
बेचे पनि बेच प्लटिङ गरेर,म खुशी नै हुनेछु।






Friday, 26 May 2023

पसौं पसौं पसौं हामी नैनीतालमा पसौँ 
फसौं फसौं फसौं हामी मायाजालमा फसौं
नैनी तालमा पसौँ
मायाजालमा फसौं।

Tuesday, 16 May 2023

लत

तिमी नहुँदा उज्यालो मुहार हुँदैन अब 
फसिसकें दलदलमा ,उद्धार हुँदैन अब 
लत लागिसक्यो मलाई तिम्रो मायाको
सुधार केन्द्रमा पनि सुधार हुँदैन अब।

मूल्य

सबै मलाई हेप्थे
गरिब देख्थे 
फिरन्ते भन्थे 
बेकारको मान्छे भन्थे
तर होइन रहेछ
म पनि केही रहेछु
मेरो पनि केही मूल्य रहेछ
खाडी बेचिएपछि थाहा भयो।

Thursday, 11 May 2023

छ्योमे बालेर

छ्योमे बालेर
रिसराग फालेर
आउ है दल्जा शान्तिले बाँचौंला
आउ है दल्जा खुलेर नाचौंला।

जन्मेर मर्छ एकचोटि,अजम्वरी हुँदैन 
मानव चोला गएपछि,घरीघरी आउँदैन 
घाट नै हो गन्तव्य जतिसुकै दौडे नि 
आखिर लाने क्यै हैन,सम्पत्तिमै पौडे नि।

कुरो बुझेर
चुरो बुझेर
आउ है आच्यु मिलेर खाऔंला
आउ है आच्यु मिलेर हाँसौँला।

काँधमा काँध हालेर,हातेमालो गरेर
हत्या र हिंसा त्यागेर,प्रेमको बीउ छरेर 
ॐ माने पेमे जपौं न शान्तिको दीप बालेर
कसैको भलो हुँदैन मनमा ईर्ष्या पालेर।

मोह त्यागेर
लालच त्यागेर 
गुम्बामा आजी दर्शन गरौंला 
बुद्धको आजी दर्शन गरौंला।













Thursday, 4 May 2023

लडाइँ

निर्जन रजनीमा नयनको पुल्ठो बालेर
चाहनाको कुटो/कोदालोले सपनाको गोडमेल गरिरहेको 
एक मनुवा निद्रासंग लडाइँ लडिरहेछ।

Thursday, 27 April 2023

शासक

हिटलर भन्दा बढी घातक बन्दैछन्
अचेल प्रेमिकाहरु अराजक बन्दैछन्
तालाचाबी सबै आफ्नै हातमा लिई
प्रेमीहरुका खुंखार शासक बन्दैछन्।

Tuesday, 18 April 2023

फरक

"लैबरी लै२,गाउँकी केटी सबैलाई"
"के रोग लाग्यो केटीलाई यस्तो अमिलो मात्रै रुचाउने"
"छोरी भन्दा आमा तरुनी लिपिस्टिक पाउडरले,लान्छ क्यारे घुमाउन झिल्के डाइभरले"
"तिम्रै छोरी तरुनी हाम्लाई केको दोष"
यस्तै यस्तै गीत गाएर वरिष्ठ लोक गायक हुन्छ।
"बोलमाया"
"पीर"
"सकम्बरी" 
यस्ता गीत गाएर गाली खान्छ।
के गायो भन्दा पनि कसले गायो भनेर हेर्छन् क्यारे।

Sunday, 16 April 2023

अबिकाउ पुरुष

नारीलाई उपभोग्य र बिकाउ बस्तुको रुपमा लिइयो भनेर गुनासो गर्ने ए नारी!
दुर्भाग्यबस हामी पुरुष त बिकाउ पनि हुन सकेनौं 
हुनसक्छ भने हामीलाई पनि बिकाउ भन
या बनाउ
या भनाउ
हामीलाई किन
हामी बिक्न तयार छौं।



Saturday, 15 April 2023

लुटेरा

पेट पालिरहेका छन् 
कोही मागेर 
कोही चोरेर 
कोही मिहिनेत गरेर
पेट पालिरहेका छन्। 

सरकार जनता लुटेर देश चलाइरहेछ।

Thursday, 6 April 2023

परिचय

लाग्दैछ-हाम्रो भेट पहिले पनि कतै भएको थियो
राम्ररी सम्झन सकिरहेको छैन।

ए.ए...
बल्ल सम्झें 
हाम्रो पहिलो भेट मर्निङ-वाक जाँदा सहिद पार्कतिर भएको थियो।
तर त्यतिबेला हाम्रो परिचय भएकै थिएन।

म तिम्रो मायामा खसें
नराम्रोसंग फसें।

समयको घातले गर्दा
अहिले पनि हाम्रो बोलचाल छैन
कारण-अहिले पनि त हाम्रो परिचय भएको छैन।

Sunday, 2 April 2023

गगनचुम्बी

प्रशस्त छैन मसंग धन त
तैपनि चलेकै छ धड्कन त
पाँचतले घर नभएर के भो
गगनचुम्बी छ यो मन त।

किन

यो देशबाट तर्किन्छन् किन 
र नेतृत्वसँग झर्किन्छन् किन 
देश बनाउँछु भनेर आउँछन्
फेरि युवाहरु फर्किन्छन् किन?

Thursday, 30 March 2023

मान्छे

सुखमा मातेर हाँस्छ,दु:खमा धरधरी रुन्छ
कहिल्यै सोच्दैन-संसारमा अजम्वरी कुन छ
जिन्दगी केही होइन भन्छ बिरामी पर्दा जो 
त्यही मान्छे सञ्चो भएपछि घमण्डी हुन्छ।

Tuesday, 28 March 2023

ऋण र धन

पैसा संग जवानी साट्ने दिन नआओस् कसैको
धन होस् तर धनले मात्ने दिन नआओस् कसैको
धनले धन तान्छ,फलामले फलाम काट्छ भन्छन् 
तर ऋण तिर्न ऋणै काढ्ने दिन नआओस् कसैको


Tuesday, 21 March 2023

कैदी कविता

कवितालाई सकेसम्म
मनमै बसाउने हो 
मनमै सजाउने हो
मनैले स्पर्श गर्ने हो
मनैले सुमसुम्याउने हो 
मनैले महसुस गर्ने हो।

जब कवितालाई 
कोरिन्छ
चिथोरिन्छ 
तब कविता अपाङ्ग हुन्छे।

छापिएपछि कविता पानामा कैद हुन्छे।

Sunday, 19 March 2023

यात्रा

केशको बादल बहकिंदा
स्पर्शले पुलकित हुने महत्वकांक्षाले पिरतीको चौतारीमा थकान मेटिरहेको 
म एउटा यात्री।

प्रेमको घनघोर वृष्टि पश्चात्
निथ्रुक्क भिजेर गहिराईको महसुस गर्न चाहने 
तर कुनै ओत नचाहिने 
म एउटा यात्री।

नजरको चट्याङले घाइते हुँदा 
निको नभएकै जाती भन्ठान्ने 
म एउटा यात्री।

यात्रामा यात्रारत छु
म एउटा यात्री।

यद्यपि 
कहिले तिम्रो तिरस्कारको पहाडले छेक्छ
कहिले जातको परिधिले बाँध्छ
कहिले गरिबीको आँशुले डुबाउँछ
कहिले असमझदारीको तगारोले लडाउँछ।

तिम्रो मुटुसम्मको यात्रा धेरै कठिन छ।

Tuesday, 14 March 2023

सक्षम जनशक्ति

ढाँट्न सक्ने भयो
छल्न सक्ने भयो
लड्न सक्ने भयो
चोर्न सक्ने भयो
लुट्न सक्ने भयो
यति भएपछि यो देशमा बाँच्न सक्ने एक सक्षम जनशक्ति तयार भयो।


बच्चा

स्त्री-पुरुष मिलेर संभोग गरेर मात्र पुग्दैन
सही शिक्षा र संस्कार दिनुपर्छ-बच्चा बनाउन।

Friday, 10 March 2023

फिस्टे

अरुलाई काम नलाग्ने धन भएपछि 
धनकै आडमा छुद्र वचन भएपछि 
दरबार जत्रो घर भएर पनि के काम
फिस्टे भन्दा पनि सानो मन भएपछि।

Tuesday, 7 March 2023

हतार

अवरोधहरु पन्छाउँदै
अग्निज्वाला हत्केलामा बोकेर
तीव्रगतिमा उड्दै-उड्दै
अगाडि बढिरहन्छ।
कसैको सुन्दैन ऊ 
मनमा गुन्दैन ऊ
यति हतारमा छ मान्छे-घाटसम्म पुग्न।


Thursday, 2 March 2023

लेख्छु

खोज्छु म यदि सुख खोजेर भेटिन्छ भने
रुन्छु म यदि आँशुले आँशु रेटिन्छ भने 
जिन्दगीमा धेरै कुरा नलेखेरै पनि मेटिए
लेख्छु म यदि लेखेर दु:ख मेटिन्छ भने।


Saturday, 18 February 2023

पात

समयको फन्दामा परिएन भने
यमलोकको साँघु तरिएन भने
एउटै हाँगाको पात भएर रहौंला
शिशिरले कठङ्गृएर झरिएन भने।

Sunday, 12 February 2023

निष्ठुरीलाई कारबाही गरिएको छ
दिलमा पस्न मनाही गरिएको छ।

हार्नेले नहारेमा जित्ने कसले हो 
बिजयीकै वाहवाही गरिएको छ।

Saturday, 11 February 2023

अस्त्र र बिचार

यत्ति त पक्कै बुझेको हुनुपर्छ यो संसारले पनि 
जित मात्र हैन सिकाउँछ धेरै पाठहरु हारले पनि 
अस्त्रले युद्ध जित्ने भए संसार एकलौटी हुन्थ्यो
अस्त्रले नसकेको युद्ध जितेको छ बिचारले पनि।


Monday, 6 February 2023

ज्यानमुद्धा

राम्रोको जरै काटेर जलाउने
अनि कसरी पालुवा पलाउने 
आज जसलाई ज्यानमुद्धा छ
भोलि उसैले हो देश चलाउने।

Monday, 30 January 2023

बिरोध र समर्थन

हिजो तिम्रो बा'ले जुन काम गर्यो,
तिम्रो समर्थन,मेरो बिरोध रह्यो
आज त्यही काम मेरो बा'ले गर्दा
मेरो बिरोध नै रह्यो
तर तिमी मौन रह्यौ।
तिम्रो मौनतालाई म कसरी बुझौं
बिरोध या समर्थन?

Monday, 23 January 2023

डर

अहिलेको मान्छेमा
इज्जत जाने डर छैन
कुटाइ खाने डर छैन
ज्यान जाने डर छैन।
डरै हराएपछि सबैथोक हराउने रहेछ।

Sunday, 22 January 2023

सरकारको काम

सरकारले 
कर्मचारीको तलब बढायो-राम्रै गर्यो
एकल महिलालाई भत्ताको व्यवस्था गर्यो-राम्रै गर्यो
बृद्ध-बृद्धालाई ६० बर्ष पुगेपछि भत्ताको व्यवस्था गर्यो-राम्रै गर्यो
तर मलाई सरकारको एउटा काम मन परेकै छैन
६० बर्ष भन्दा बढी बाँच्नै दिन्न त!


उपहार

गोबर,पत्कर सोहोर्दा
नल,घाँस,दाउरा काट्दा
ढुंगा फुटाउँदा
पट्पटी फुटेका छन् 
फुटाउनै नसकिने ठेला उठेका छन् 
कुरुप भएका छन् हातहरु
पटक्कै सुहाउँदैन
साथी!!
सुनको औँठी उपहार नदेउ।



Saturday, 21 January 2023

विध्वंस

सुपृम कमान्डरले 
मुसा मार्न मात्र बिरालो पालेको हो
दूध सखाप भएपछि मात्र सबैको चेत खुलेको हो।

शब्दार्थ
----------
सुपृम कमान्डर=पुष्पकमल दहाल "प्रचण्ड"
मुसा=मारिएका १७००० जनता
बिरालो=छापामार/योद्धा/युद्धमा होमिएका सबै
दूध=देश/नेपाल 

Thursday, 12 January 2023

गरिब

मसंग
पद छ
पैसा छ
प्रतिष्ठा छ 
तर मसंग केही छैन
म गरिब छु
किनकि म रोगी छु।

Monday, 2 January 2023

पञ्चे-बाजा नबजाउनु,मनै तोडिन्छ 
सिन्दुर-पोते नसजाउनु,ध्यानै मोडिन्छ

छमछम चुरा नबजाउनु ध्यानै मोडिन्छ 


tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...