Thursday, 30 March 2023

मान्छे

सुखमा मातेर हाँस्छ,दु:खमा धरधरी रुन्छ
कहिल्यै सोच्दैन-संसारमा अजम्वरी कुन छ
जिन्दगी केही होइन भन्छ बिरामी पर्दा जो 
त्यही मान्छे सञ्चो भएपछि घमण्डी हुन्छ।

Tuesday, 28 March 2023

ऋण र धन

पैसा संग जवानी साट्ने दिन नआओस् कसैको
धन होस् तर धनले मात्ने दिन नआओस् कसैको
धनले धन तान्छ,फलामले फलाम काट्छ भन्छन् 
तर ऋण तिर्न ऋणै काढ्ने दिन नआओस् कसैको


Tuesday, 21 March 2023

कैदी कविता

कवितालाई सकेसम्म
मनमै बसाउने हो 
मनमै सजाउने हो
मनैले स्पर्श गर्ने हो
मनैले सुमसुम्याउने हो 
मनैले महसुस गर्ने हो।

जब कवितालाई 
कोरिन्छ
चिथोरिन्छ 
तब कविता अपाङ्ग हुन्छे।

छापिएपछि कविता पानामा कैद हुन्छे।

Sunday, 19 March 2023

यात्रा

केशको बादल बहकिंदा
स्पर्शले पुलकित हुने महत्वकांक्षाले पिरतीको चौतारीमा थकान मेटिरहेको 
म एउटा यात्री।

प्रेमको घनघोर वृष्टि पश्चात्
निथ्रुक्क भिजेर गहिराईको महसुस गर्न चाहने 
तर कुनै ओत नचाहिने 
म एउटा यात्री।

नजरको चट्याङले घाइते हुँदा 
निको नभएकै जाती भन्ठान्ने 
म एउटा यात्री।

यात्रामा यात्रारत छु
म एउटा यात्री।

यद्यपि 
कहिले तिम्रो तिरस्कारको पहाडले छेक्छ
कहिले जातको परिधिले बाँध्छ
कहिले गरिबीको आँशुले डुबाउँछ
कहिले असमझदारीको तगारोले लडाउँछ।

तिम्रो मुटुसम्मको यात्रा धेरै कठिन छ।

Tuesday, 14 March 2023

सक्षम जनशक्ति

ढाँट्न सक्ने भयो
छल्न सक्ने भयो
लड्न सक्ने भयो
चोर्न सक्ने भयो
लुट्न सक्ने भयो
यति भएपछि यो देशमा बाँच्न सक्ने एक सक्षम जनशक्ति तयार भयो।


बच्चा

स्त्री-पुरुष मिलेर संभोग गरेर मात्र पुग्दैन
सही शिक्षा र संस्कार दिनुपर्छ-बच्चा बनाउन।

Friday, 10 March 2023

फिस्टे

अरुलाई काम नलाग्ने धन भएपछि 
धनकै आडमा छुद्र वचन भएपछि 
दरबार जत्रो घर भएर पनि के काम
फिस्टे भन्दा पनि सानो मन भएपछि।

Tuesday, 7 March 2023

हतार

अवरोधहरु पन्छाउँदै
अग्निज्वाला हत्केलामा बोकेर
तीव्रगतिमा उड्दै-उड्दै
अगाडि बढिरहन्छ।
कसैको सुन्दैन ऊ 
मनमा गुन्दैन ऊ
यति हतारमा छ मान्छे-घाटसम्म पुग्न।


Thursday, 2 March 2023

लेख्छु

खोज्छु म यदि सुख खोजेर भेटिन्छ भने
रुन्छु म यदि आँशुले आँशु रेटिन्छ भने 
जिन्दगीमा धेरै कुरा नलेखेरै पनि मेटिए
लेख्छु म यदि लेखेर दु:ख मेटिन्छ भने।


tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...