Thursday, 7 March 2019

साम्राज्य मनको

साम्राज्य मनको,सम्हालिदिने रानी नै भएन
खडेरी लाग्यो मायाको खेतमा,पानी नै भएन।

प्रीतिको बोट सुकेर जाला माली नै नभए
फलेको हाँगा नुगेर जाला साहारा नपाए
प्रेमको भिक्षा मागेर हिंडें,दानी नै भएन
खडेरी लाग्यो मायाको खेतमा,पानी नै भएन।

मनको बाँध फुटेर जाला प्रतिक्षा गरेर
पराइले स्वार्थ लुटेर जाला भ्रममा पारेर
अरुको जुठो खाएर हिंड्ने बानी नै भएन
खडेरी लाग्यो मायाको खेतमा,पानी नै भएन।

Tuesday, 5 March 2019

यादको छाल

यादको छाल मायालु सम्म पुग्यो कि पुगेन
सम्झेर मलाई उसै गरेर दुख्यो कि दुखेन!
बिछोडको पीडा छल्किरहेछ तरल बनेर
सम्झाई मन,सुकाउन खोजें,क्यै गरी सुकेन।

अन्जानवश गम्भीर गल्ती भैदियो मबाट
चाहेकै थिन, गएछ पुग्न मुटुमा आघात
बनाई गयौ जिन्दगी मेरो शिशिरझैं उराठ
पश्चातापको आगोमा जल्छु हरेक दिनरात।

प्रीतिको देशमा फर्केर आऊ,नहिंड्नु भौतारी
यो छाती लाई बनाई दिउँला शित्तल चौतारी
चखेवा जोडी बनेर उडौं प्रेमको गगनमा
स्वागत बिछ्याई,पर्खेर बस्छु मनको आँगनमा।

Friday, 1 March 2019

श्रद्धाञ्जलीको पाना

मसंग ऊ मात्र थिएन,
जो भिख माग्दै-माग्दै
दानीहरुलाई नै भिखारी बनाएर
उनीहरु माथि आधिपत्य जमाएर
दरबारको सिंहासनमा विराजमान थियो।

मसंग ऊ मात्र थिएन
जो जनको मन जितेको पात्र थियो
उच्च ओहदामा आसीन थियो
आशाको उदीयमान दीप थियो।

मसंग ऊ पनि थियो,
जसले विपन्नताको चिप्लो वक्ररेखामा
चिप्लिंदै,लड्दै र उठ्दै
सम्पन्नताको शिखरमा पाइला टेकेको थियो
जो संघर्षको एउटा पर्याय थियो
जीवन बुझाउने अनुकरणीय पाठ थियो।

मसंग ऊ पनि थियो
जो प्रतिभाको खुड्किला उक्लिंदै-उक्लिंदै
अर्काको निमित्त जोखिम मोल्दै-मोल्दै
जल-थलको नभई नभको मार्ग चुनेको थियो।

मसंग ऊ पनि थियो
जो मार्गनिर्देशकहरुको निर्देशक थियो।

मसंग ती व्यक्तिहरु पनि थिए
जो असल कर्म गरेपनि अपरिचित थिए
बौद्धिकताको धनी भएर पनि गुमनाम थिए।

हाम्रा परिचय र कर्म भिन्न थिए
यद्यपि यात्रा-मार्ग र साधन एउटै थियो
हामीले फेर्ने सास एउटै थियो
हामी उडेको आकास एउटै थियो।

दुर्भाग्यवश
संयोगवश
हाम्रो अन्त्य पनि एउटै भइदियो।

तर विडम्बना,
एकाध बाहेक
श्रद्धाञ्जलीको एउटै पानामा अटाएनौं।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...