मसंग ऊ मात्र थिएन,
जो भिख माग्दै-माग्दै
दानीहरुलाई नै भिखारी बनाएर
उनीहरु माथि आधिपत्य जमाएर
दरबारको सिंहासनमा विराजमान थियो।
मसंग ऊ मात्र थिएन
जो जनको मन जितेको पात्र थियो
उच्च ओहदामा आसीन थियो
आशाको उदीयमान दीप थियो।
मसंग ऊ पनि थियो,
जसले विपन्नताको चिप्लो वक्ररेखामा
चिप्लिंदै,लड्दै र उठ्दै
सम्पन्नताको शिखरमा पाइला टेकेको थियो
जो संघर्षको एउटा पर्याय थियो
जीवन बुझाउने अनुकरणीय पाठ थियो।
मसंग ऊ पनि थियो
जो प्रतिभाको खुड्किला उक्लिंदै-उक्लिंदै
अर्काको निमित्त जोखिम मोल्दै-मोल्दै
जल-थलको नभई नभको मार्ग चुनेको थियो।
मसंग ऊ पनि थियो
जो मार्गनिर्देशकहरुको निर्देशक थियो।
मसंग ती व्यक्तिहरु पनि थिए
जो असल कर्म गरेपनि अपरिचित थिए
बौद्धिकताको धनी भएर पनि गुमनाम थिए।
हाम्रा परिचय र कर्म भिन्न थिए
यद्यपि यात्रा-मार्ग र साधन एउटै थियो
हामीले फेर्ने सास एउटै थियो
हामी उडेको आकास एउटै थियो।
दुर्भाग्यवश
संयोगवश
हाम्रो अन्त्य पनि एउटै भइदियो।
तर विडम्बना,
एकाध बाहेक
श्रद्धाञ्जलीको एउटै पानामा अटाएनौं।
No comments:
Post a Comment