Tuesday, 30 June 2020

आत्महत्या

कलाहरु ग्रीनकार्डमा झुन्डिएर आत्महत्या गर्छन्।

Saturday, 27 June 2020

सुझाव

भारी बर्षाले ताल जमेर सडक अवरुद्ध छ।
म गाडी फर्काउन खोज्छु।
एकजनाले सुझाव दिन्छ-
"जान्छ-जान्छ।"

सीधा

कच्ची रोडमा गाडी चलाउँदै थिएँ।अगाडी खाल्डो देखेर संयमित हुन्छु।नजिकको एकजनाले भन्छ-"सीधा जानू।"

Friday, 26 June 2020

हाँसो

उसको नजरमा कुनै षडयन्त्रको दृष्टी छैन।
उसको मुस्कान अपूर्ण छैन।
उसको वास्नामा कुनै स्वार्थको गन्ध छैन।

फूलको जस्तो प्राकृतिक हाँसो लाग्दैन मान्छेको।

बाटो

धमिलो भएपनि रोशी-खोला
बिर्सेको छैन उसले आफ्नो लय र गति।
सुस्ताइरहेछ निरन्तर-निरन्तर।

मन अमिलो हुँदैमा हामीले चाहिँ किन बाटो बिराउने ?

Tuesday, 23 June 2020

आशाको मुना

एउटाले सुकाएर गयो,थाहा छैन-कसले जलाउँला 
सजिलैसँग जल्ला,नजले पनि घरी-घरी चलाउँला 
यदि कोही माली आई प्रेमको जलले सिञ्चित गरे
निर्जीव यो दिलमा फेरी आशाको मुना पलाउँला।

Saturday, 20 June 2020

परिवार नियोजन

सम्मानित ओहदामा आसिन व्यक्ति 
अविछिन्न जन्माइरहेछ-अनियंत्रित अभिव्यक्तिहरु।

कसैले सल्लाह दिनुस् -परिवार नियोजन गर्न!

मैदान

जोडेर टुक्का-उखान,खान नपाएपछि 
के गर्छन् मेरा जहान?खान नपाएपछि 
बाँच्न असम्भव भएपछि कविता कोरी 
चुनिदिएँ मैले मैदान,खान नपाएपछि।

उल्लंघन

लक्ष्यमा संशोधन गरिदिएँ
संघर्षको बिमोचन गरिदिएँ
भोको पेटले धान्न नसक्दा
नियमको उल्लंघन गरिदिएँ।


भोको पेट

चलाएर चोरीको नेट,घरमै बस्नुपर्छ रे
नगरी कसैसँग भेट,घरमै बस्नुपर्छ रे
महामारीको बेला केही काम गर्न हुन्न 
लिएर भोको पेट,घरमै बस्नुपर्छ रे।

Tuesday, 9 June 2020

झूटको खेती

कुसंस्कृतिको चन्द्रमा उदाएको छ
मानवताको सुरज अस्ताएको छ
जरैदेखि मलजल गरी हुर्किएर
झूटको खेती खुब फस्टाएको छ।

Friday, 5 June 2020

खाली पेटहरु

निरीह मात्र हुँदैनन् खाली पेटहरु
आत्महत्या मात्र रोज्दैनन्
आक्रमक पनि हुन्छन् खाली पेटहरु।

बेलैमा बुझ्ने की
कोठामा थुनेर घाँटी अँठ्याउँदा
कति हिंस्रक हुन्छ बिरालो!

होमोस्यापिन्स

होमोस्यापिन्सको आकांक्षा
दुई खुट्टाले उभिंदै,
हिंड्दै,दौडिंदै
आज उड्ने तर्खरमा छ।

ढुंगे युगबाट छलाङ मार्दै
अत्याधुनिक सुसम्पन्न युगमा पाइला टेकेको छ।

ऊ यति रफ्तारमा छ की 
उसैको अस्त्रले खनेको अगाडीको खाल्डोमा
ऊ आफैं फसेको पत्तै पाउने छैन।

Thursday, 4 June 2020

काल

मान्छेहरु,
अन्धाधुन्ध गोली बर्षाउँदैछन् आकाशतिर।
उनीहरुलाई के थाहा,
तिनै गोलीहरु काल बनेर
बर्षिनेछन् -आफैंतिर।

अन्त्य

  हरेक शुरुवातको अन्त्य नहुन पनि सक्छ 
हरेक शुरुवात सुखद नहुन पनि सक्छ
हरेक अन्त्य दु:खद नहुन पनि सक्छ।

तर,
अनन्त आशाका किरणहरु बोकेर-
उदाएको मानव सभ्यता
आज अस्ताइरहेछ
निराशाको बादल बोकेर।

Monday, 1 June 2020

सिकार

एकहुल भेडाहरु
ज्यान जोगाउने होडमा
कहिले भीरतिर दौडेका छन् 
कहिले जंगलतिर भागेका छन् 
कहिले कता लागेका छन्।

यस्तै पाराले कुनै दिन
बाघको सिकार हुने निश्चित छ।

पत्थर

परिवेशका दृश्यहरुले घोचिरहे
आश्वासनका आवाजहरुले हानिरहे
छलछामका पत्थरहरुले थिचिरहे।

नदेखाऊ अब केही
नसुनाऊ अब केही
नछोऊ अब दिलमा।

म अन्धो भैसकें
म बहिरो भैसकें
म पत्थर भैसकें।

विनाशको जड

खडेरी लागेर नैतिकताको 
इमानका गराहरुमा
सुक्न थालेका छन्-अनुशासनका बीजहरु।

हिटलरी बिचारहरुले
उमारिरहेछन्-विषालु बृक्षहरु
उपदेश बाँडिरहेछन्-बुद्धलाई।

आदर्शका गुरु-गुरुआमाहरु
पस्किरहेछन् शिक्षा 
जहाँ सिकाईन्छ-नाम वा सर्वनाम बन्न
कहिल्यै सिकाईन्न-मान्छे बन्न।

जब मान्छे अरु नै केही/कोही बन्छ
उसको बिनाश अवश्यम्भावी छ।

जिन्दगीको इन्जिन

बाहिर जान नि:षेध गरिएको अवस्था।

गाडीरुपी जिन्दगी 
गेट भित्रको पार्किङमा थन्किएको छ।

टायर पञ्चर छ
हावा भर्ने ठाउँ छैन
टाल्ने वर्कशप छैन।

ब्याट्री पूरै डाउन छ
स्टार्ट हुन्न
किन्ने पसल बन्द छ।

महिनौं यसैगरी थन्किंदा
भोकको खियाले खाएर
कतै जिन्दगीको इन्जिन सिज त हुन्न?

जिउँदो मानसिकता

नवराज वि.क.को शव जलिसक्यो
तर विकृत मानसिकता जिउँदै छ
सिञ्चित हुँदै
फकृरहेको छ-झन-झन।

बाँझो भविष्य

मानसिकतामा दुबो उमृएको छ
जोश जाँगर पलायन भए
वर्तमान खण्डहर छ
भविष्य बाँझो।

कारागारको कैदी

कतैबाट 
परिचालित सिद्धान्त 
नियोजित उदेश्य
प्रायोजित कार्यक्रम।

सुगा रटाई-नाराहरु!

स्वतन्त्रता र स्वाधिनताको अभियान्ता
स्वयं स्वतन्त्र छैन
माकुरी जालमा छ
कसैको स्वार्थको कारागारमा छ।

अरुकै स्क्रीप्टमा अभिनय
अरुकै गीत गायन
सीमा र सिमितता छन्।

चोरिएको वास्नामा रमाएको छ
सापटिएको रंगमा हाँसेको छ।

आफ्नै सुवास र रंगले निर्वाध फकृएको
फूल हुन कहिल्यै सकेन।

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...