Tuesday, 29 March 2022

सवारी

भिआइपीको सवारी हुँदैछ।

यो समय
यो बाटो
यो माहोल
भिआइपीको हो।

तिमीहरू झारपात हौ
झारपातहरुले यतिखेर 
बीचबाट छेउतिर साइड लाग्ने हो
छेउमा भएकाहरु जहाँको तही रहने हो
चुपचाप 
निशब्द
पिनड्रप साइलेन्ट हुने हो।

भिआइपीको सवारी हुँदैछ।

झारपातहरु!
खान बन्द गर
पिउन बन्द गर
सास रोकेर बस।

भिआइपीतिर नहेर
आँखा बन्द गर।

भीडभाडमा कोचिएर बस 
हलचल नगर
नत्र••••••••(लाठी प्रदर्शन)

(साइरनको आवाज......वाउवाउवाउवाउवाउ..............)





Friday, 25 March 2022

कथा

कसैले देला र खाउँला भनी पर्खनुपरेको छ
यस्तै छ हजुर मेरो देशको उधारोको कथा।

उसको रङ देखेर दङ्ग पर्नुको औचित्य छैन
सबैलाई अवगत भएकै हो छेपारोको कथा।

परेपछि फसिन्छ फसिन्छ,१००% पक्का हो
प्रेमसंग तुलना गरे हुन्छ भड्खारोको कथा।



स्वार्थ

विरुवाको ज्यान लिएर आगो ताप्न पछि पर्दैनन् मान्छे
आफ्नो सुरक्षार्थ अरुलाई पासो थाप्न पछि पर्दैनन् मान्छे 
यो भन्दा ठूलो स्वार्थको उदाहरण के नै दिन सकिएला र
धूलोबाट बच्न अरुलाई हिलो छ्याप्न पछि पर्दैनन् मान्छे।

Tuesday, 22 March 2022

विभेद

मानिस सफल छन्-थप्नमा अमानवीय तलाहरु
रेटिंदै छन् क्षण-क्षणमा मानवताका गलाहरु
अराजक हुन सकेकोमा बहुत गर्व गर्छन् आफ्नै
दिनप्रतिदिन बढिरहेछन् विभेदका शृंखलाहरु।


Monday, 21 March 2022

नवीन

भएको मात्र हो सौखिन,के नै छ र
प्रायः जसो भए प्राचीन,के नै छ र
नलेखिएको,नबोलिएको के छ बाँकी
लेखिनुपर्ने खासै नवीन के नै छ र?

Sunday, 20 March 2022

म्यादी मायालु

मेरो जीवनमा ल्यायौ बाढी मायालु
पूर्ण भईनौ तिमी मेरो आधी मायालु
निश्चित अवधिको लागि मात्र प्रेम गर्यौ
कसरी सम्बोधन गरुँ म्यादी मायालु?

कर्मचारी

कहाँ बिसाउने हो र दु:खका भारीहरु
सुबिधा भोग्न लिप्त छन् अधिकारीहरु
सुखी र समृद्धशाली कहिले हौंला हामी
सबै भ्रष्ट छन् हाम्रा प्यारा कर्मचारीहरु।


बहाना

माली बनी प्रेमबाग गोड्न आएको साँचो हो
लाउरे सोचेर गला जोड्न आएको साँचो हो
जब यथार्थ छर्लङ्ग भयो र मेरो औकात बुझ्यौ
सय बहानामा सम्बन्ध तोड्न आएको साँचो हो।

Saturday, 19 March 2022

भेडा

आलुको पनि,पेडाको पनि आफ्नै महत्व छ 
अभावमा एक-गेडाको पनि आफ्नै महत्व छ
गणेशमानले जनतालाई गज्जबको संज्ञा दिए
साँच्चै चुनावमा भेडाको पनि आफ्नै महत्व छ।

पेशा

मेरो बारेमा गफको बीउ छर्छौ,गुनासो छैन
मसंग हिंड्नु परे लाजले मर्छौ,गुनासो छैन 
यहाँ श्रमको पनि वर्ग र औकात हुनेरहेछ
पेशा देखी मलाई नदेखेझैं गर्छौ,गुनासो छैन।

Monday, 14 March 2022

पिटाइ

कहिले यथास्थितिमा रहन सक्नुपर्छ 
कहिले परिस्थितिसंगै बहन सक्नुपर्छ 
सफलता र निखारता पाउन गाह्रो छ
फलामले जस्तै पिटाइ सहन सक्नुपर्छ।

पूरामा

चुरामा खुब सुहाउँछ महिलालाई 
कुरामा खुब सुहाउँछ महिलालाई 
आधामा बिल्कुल अश्लील देखिन्छ 
पूरामा खुब सुहाउँछ महिलालाई।

Tuesday, 8 March 2022

झापट

छोराछोरीले गल्ती गरेमा तर्साउनु पनि पर्छ
गल्ती सुधारी सुध्रने तरीका दर्शाउनु पनि पर्छ
डिभोर्स नै अन्तिम अस्त्र होइन भन्ने कुरा बुझी
छोरी-ज्वाइँ झगडा गरे झापट बर्षाउनु पनि पर्छ।

तिमी हराएको सूचना

बाटो हिन्दै गर्दा
कतै अपृय/अश्लील/अभद्र शब्द सुने
केही नसुनेझैं गरी 
कुकुरले पूच्छर टाङमुनि लुकाएर हिनेझैं गरी 
लुखुर-लुखुर आफ्नो बाटो तताउनुपर्छ
जान्ने-बुझ्ने भएर गुरु भइटोपलेर 
शिक्षा/उपदेश दिन खोजे 
गुरु-दक्षिणाको रुपमा 
कानको जाली च्यात्तिन सक्छ 
भरपूर गोदाइ खान सकिन्छ।

कसैको ज्यान काटिएको देखे
ती हतियार बोकेका हातहरुलाई शक्तिको नाम दिनु 
कसैको अस्मिता लुटिएको देखे
लुट्ने लिंगलाई पुरुषार्थको संज्ञा दिनु 
साक्षी बनेर बयान दिने दुस्साहस नगर्नु
नत्र तिम्रो ज्यान काटिएको साक्षी नपाइएला।

ए कानहरु!
सुनेको नसुनेझैं गर्नु
नसुनेको सुनेझैं गर्नु।

ए आँखाहरु!
देखेको नदेखेझैं गर्नु
नदेखेको देखेझैं गर्नु।

सकेसम्म 
हेर्ने  जिम्मा अन्धाहरुलाई छोडिदिनु।

भित्ताको पनि कान हुन्छ नि
सुन्ने जिम्मा भित्ताहरुलाई छोडिदिनु।

कसैले थिचोमिचो गरे सहेर हिनिदिनु
कसैले एक लात दिए अर्को लात खाएर जानु 
प्रतिवाद गर्दै-नगर्नु
कलहमा भाग लिँदै-नलिनु
द्वन्द हाम्रो समाजमा अपाच्य हुन्छ 
निरीहले निरीहै भएर भाग्नु।

बाहिरबाट आएकाहरु 
लोकल बासिन्दाबाट टाढै रहनु
त्यहाँको माटो तिम्रो होइन
त्यहाँको बाटो तिम्रो  होइन 
टाढै रहनु 
नत्र भोलिको पत्रीकामा तिमी हराएको सूचना आउनेछ।

Friday, 4 March 2022

फसाउन सक्छन्

प्रेम गरी ढिकीमा ओखल पसाउन पनि सक्छन् है 
तिमीलाई रुवाई दुनियाँ हँसाउन पनि सक्छन् है
कदम कदममा सतर्क हुन जरुरी छ यो बेलामा
सेक्स गर्नु पहिले सोच्नु,फसाउन पनि सक्छन् है।



tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...