कतै अपृय/अश्लील/अभद्र शब्द सुने
केही नसुनेझैं गरी
कुकुरले पूच्छर टाङमुनि लुकाएर हिनेझैं गरी
लुखुर-लुखुर आफ्नो बाटो तताउनुपर्छ
जान्ने-बुझ्ने भएर गुरु भइटोपलेर
शिक्षा/उपदेश दिन खोजे
गुरु-दक्षिणाको रुपमा
कानको जाली च्यात्तिन सक्छ
भरपूर गोदाइ खान सकिन्छ।
कसैको ज्यान काटिएको देखे
ती हतियार बोकेका हातहरुलाई शक्तिको नाम दिनु
कसैको अस्मिता लुटिएको देखे
लुट्ने लिंगलाई पुरुषार्थको संज्ञा दिनु
साक्षी बनेर बयान दिने दुस्साहस नगर्नु
नत्र तिम्रो ज्यान काटिएको साक्षी नपाइएला।
ए कानहरु!
सुनेको नसुनेझैं गर्नु
नसुनेको सुनेझैं गर्नु।
ए आँखाहरु!
देखेको नदेखेझैं गर्नु
नदेखेको देखेझैं गर्नु।
सकेसम्म
हेर्ने जिम्मा अन्धाहरुलाई छोडिदिनु।
भित्ताको पनि कान हुन्छ नि
सुन्ने जिम्मा भित्ताहरुलाई छोडिदिनु।
कसैले थिचोमिचो गरे सहेर हिनिदिनु
कसैले एक लात दिए अर्को लात खाएर जानु
प्रतिवाद गर्दै-नगर्नु
कलहमा भाग लिँदै-नलिनु
द्वन्द हाम्रो समाजमा अपाच्य हुन्छ
निरीहले निरीहै भएर भाग्नु।
बाहिरबाट आएकाहरु
लोकल बासिन्दाबाट टाढै रहनु
त्यहाँको माटो तिम्रो होइन
त्यहाँको बाटो तिम्रो होइन
टाढै रहनु
नत्र भोलिको पत्रीकामा तिमी हराएको सूचना आउनेछ।
No comments:
Post a Comment