Saturday, 30 May 2020

नशा

प्यालाहरु रित्याएरै सकुशल चलेको छु
हजारौं निराशाहरुमा धपक्क बलेको छु
पौडिएरै सागर समेत तर्ने साहस थियो 
तर आज तिम्रो आँखाको नशाले ढलेको छु।

श्रद्धाञ्जली

ब्वाँसाहरुले भनेछन् -:
"स्वर्गीय बाख्रा प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली!"

अधुरो कहानी

पिरतीको यात्रा हाम्रो जातमा टुंगियो
सपनाहरु पूरा हुने आशमा पुरियो
कहाँबाट उठ्यो आज षड्यन्त्रको छाल
गन्तव्यमा पुग्न खोज्दा घाटमा टुंगियो।

आपसमा फुट्न छोडी कहिले जुट्ने होला
जात-भात भन्दा माथि कहिले उठ्ने होला
मान्छे बीचको विभेदले पिल्सिंदैछन् मान्छे
अहमताले मानवता नै बिर्सिंदैछन् मान्छे।

विवेक र चेतहरु धारामै थुनिए
धर्महरु खोल ओढी मन्दिरमै अड्किए
नैतिकताले दिनानुदिन बसाइँ सर्न थाल्यो
अमृतले स्वयं आज बिष छर्न थाल्यो।

गिज्याउँदैछ समाजलाई जल्दै मेरो लासले
परिवर्तन ल्याउन सकोस् यौटा मेरो त्यागले
ठूलो उर्जा बन्न सकोस् हाम्रो प्रेम कहानी
कोही कसैको नहोस् अब अधुरो कहानी।



Thursday, 28 May 2020

दासढुंगा-२

जनताको आँखामा
कलंकित आश्वासनको पट्टी बाँधेर 
कायापलटको सपना देखाएर
कथित परिवर्तनको नशा पिलाएर
लामो कोमामा पठाई
रातारात गरिनेछ एउटा भूलको सम्झौता।

संसदीय वाण प्रहार गरी
हान्नेछन् आमाको कोखमा।

अरवौं डलर कुम्ल्याएर
बेचिनेछ मातृभूमि।

राष्ट्रियताको छातीमा लात हानी
चीरकालसम्म बन्धक बनाईनेछ-
स्वतन्त्रताको पंक्षीलाई।

पुनर्जन्म त हुनेछ मदन भण्डारीको
"नोट अफ डिसेन्ट"को राँको बालेर
बचाउन खोज्नेछ दुर्घटनोन्मुख देशलाई।

अन्ततः पुनः रचिनेछ भयंकर षडयन्त्र 
घटाइनेछ-"दासढुंगा-२"।

अणु-बम

अहमताका पिल्लरहरु हालेर
असमानताका ईँटाहरु जोडेर
खडा गरिदिएको छ समाजले हामी-बीच
जातिय वर्लिन-पर्खाल।

सँग-सँगै रोपिदिएका छन् 
घृणाका अनगिन्ती विरुवाहरु।

नजिकैबाट बहन्छ नरसंहारको नदी।

वरिपरि दन्किरहन्छ विभेदको आगो।

प्रेमको बीउ नछरेसम्म-
मर्लान् त बिरुवा?

सद्भावको सूर्य नउदाएसम्म-
सुक्ला त नदी?

परिवर्तनको वर्षा नभएसम्म,
निभ्ला र आगो?

अब पर्खाल ध्वस्त पार्न
बनाउनैपर्छ चेतनाको अणु-बम!

राष्ट्रियताको ट्रान्जिट

जवसम्म,
तेन्जीङ नोर्गेहरुले सम्मान पाउँदैनन् 
श्रमिकहरुले श्रम बराबरको मूल्य पाउँदैनन् 
कलाहरुले बजार पाउँदैनन् 
जवसम्म,
पसिनाको कदर हुँदैन 
श्रमको इज्जत गरिंदैन
तवसम्म,
राष्ट्रियता खल्तीमा बोकेर मुग्लान पुर्याईन्छ।

Wednesday, 27 May 2020

समयको माग

राष्ट्रप्रेमको भावना आज खै कता भागेको छ?
वैरीको घाँटी छिनाल्ने खुकुरीमा खिया लागेको छ 
सेलाएर गयो ऐतिहासिक वीरताको गाथा
समयले फेरी उस्तै वीर योद्धाहरु मागेको छ।

अमर प्रेम

सागर सुकेर जाला,यद्यपि बगर रहन्छ
सागरले बगरमा ल्याएको असर रहन्छ
देह बरु नासिएला,धर्ती पनि भासिएला
युगौं-युगसम्म सच्चा प्रेम अमर रहन्छ।

घाइते चितुवा

विकृति र विसंगतिको डढेलोलाई
आमूल परिवर्तनको मसीले निभाउन खोज्दा
अराजकताको पाइलालाई
अक्षरको पहाडले छेक्न खोज्दा
एउटा निरंकुश घाइते चितुवा 
झम्टिरहेछ कलम माथि।

धमाका

अदृश्य विकाउ शक्तिहरु
फ्याँकिरहेका छन् ममतालाई नरपिपासुहरुको भीडमा 
अस्मिता लुटिन बाध्य पारिएको छ।

घचेटिएको छ स्नेहलाई अनकन्टारमा
जहाँ गिद्धाहरु मिलेर 
लुछिरहेछन् अंग-प्रत्यंग।

अनगिन्ती दिनका औंसीहरुले
अन्धकारका पट्टि बाँधेका छन्-
सुन्दर आँखाहरुमा।

समाचार आएको सुन्ने रहर छ-
"एउटा ठूलो धमाका,
देशद्रोहीहरुको एउटै चिहान"।

यो देश कसको

हामीलाई,
उसैले हिंडाउनुपर्ने
उसैले दौडाउनुपर्ने
उसैले चढाउनुपर्ने
उसैले ओराल्नुपर्ने।

कतै हामीमा,
उसैको श्वास त छैन?
उसैको रगत त छैन?

राणा-शासन उसैले सिध्याइदिनुपर्ने
प्रजातन्त्र उसैले ल्याइदिनुपर्ने
राजतन्त्र उसैले ढालिदिनुपर्ने
गणतन्त्र उसैले ठड्याइदिनुपर्ने।

हामी स्वयंले गर्नुपर्ने चाहिँ के रहेछ?

हुँदा-हुँदा,हाम्रै भूमिमा
सडक पनि उसैले बनाइदिनुपर्ने।
कतै हाम्रो देश उसैको देश त हैन?

अणु-बम

अहमताका पिल्लरहरु हालेर
असमानताका ईँटाहरु जोडेर
खडा गरिदिएको छ समाजले हामी-बीच
जातिय वर्लिन-पर्खाल।

सँग-सँगै रोपिदिएका छन् 
घृणाका अनगिन्ती विरुवाहरु।

नजिकैबाट बहन्छ नरसंहारको नदी।

वरिपरि दन्किरहन्छ विभेदको आगो।

प्रेमको बीउ नछरेसम्म-
मर्लान् त बिरुवा?

सद्भावको सूर्य नउदाएसम्म-
सुक्ला त नदी?

परिवर्तनको वर्षा नभएसम्म,
निभ्ला र आगो?

अब पर्खाल ध्वस्त पार्न
बनाउनैपर्छ चेतनाको अणु-बम!

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...