असमानताका ईँटाहरु जोडेर
खडा गरिदिएको छ समाजले हामी-बीच
जातिय वर्लिन-पर्खाल।
सँग-सँगै रोपिदिएका छन्
घृणाका अनगिन्ती विरुवाहरु।
नजिकैबाट बहन्छ नरसंहारको नदी।
वरिपरि दन्किरहन्छ विभेदको आगो।
प्रेमको बीउ नछरेसम्म-
मर्लान् त बिरुवा?
सद्भावको सूर्य नउदाएसम्म-
सुक्ला त नदी?
परिवर्तनको वर्षा नभएसम्म,
निभ्ला र आगो?
अब पर्खाल ध्वस्त पार्न
बनाउनैपर्छ चेतनाको अणु-बम!
No comments:
Post a Comment