Tuesday, 23 February 2021

जुलुस

हो म जुलुसमा जान्छु।

सबेरै जागेर 
नाम्लोको झन्डा फहराउँदै
हँसिया/हतौडा बोकेर
कहिले घाँसतिर झम्टन्छु
कहिले ढुँगातिर लम्कन्छु
म संघर्ष गर्छु।

हो म जुलुसमा जान्छु।

"प्रतिकूल समय-मुर्दावाद!"
"मेरो गरिबी-मुर्दावाद!"
"मेरो पेट-जिन्दावाद!"
म नारा लाउँछु।

हो म जुलुसमा जान्छु।

कहिले भेडा-बाख्राहरुलाई सम्बोधन गर्छु
कहिले रुखहरुलाई भाषण दिन्छु  
म सम्मेलन गर्छु।

हो म जुलुसमा जान्छु।

हिम्मत र मिहिनेतको राँको बालेर 
जलाउन जान्छु-समस्याको पुत्ला
तोडफोड गर्न चाहन्छु-अभावको पर्खाल
म क्रान्ति गर्छु।

हो म जुलुसमा जान्छु।

जिन्दगीको दु:ख-सागर तर्न 
म जुलुसमा जान्छु।

आउनुस् ,संगै मिलेर जुलुसमा जाऔं।




No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...