Monday, 28 February 2022

भिखारी

एउटा घरमा भात माग्छु
अर्को घरमा दाल माग्छु
अर्को घरमा तरकारी माग्छु
अर्को घरमा अचार माग्छु
मस्तले खान्छु
खुशी हुन्छु 
सुखी हुन्छु।

तर यो कथा मेरो होइन
एउटा भिखारीको हो 
मेरो देशको हो।

धितो

फाल्नसम्म इज्जत फाले गद्धारहरुले
राष्टघाती कदम चाले गद्धारहरुले
अन्तमा गएर लिलाम नहोला भन्न सकिन्न
देश धितो राखी ऋण निकाले गद्धारहरुले।

Saturday, 26 February 2022

बच्चाहरु

उफ्रेका छन्,नाचेका छन्,डुलेका छन् बच्चाहरु
कसैको बन्द मुट्ठीभित्र खुब खुलेका छन् बच्चाहरु
सुगा जस्तै रटाइएका नारा फुरुङ्ग भएर फलाक्दै
ललिपपको रसमा लपक्कै भुलेका छन् बच्चाहरु।


Friday, 25 February 2022

ओखती

बनेपछि मान्छे रोडपति,के होला हजुर
नियतिले थिचेपछि गति के होला हजुर
रोग लागेपछि त जेनतेन उपचार गरौंला 
भन्न्नुस्,गरिबीको ओखती के होला हजुर।

Thursday, 24 February 2022

प्रचार

सत्यतथ्य छर्न छोडी भ्रम छरेर बस्छन् साथीहरू 
उकालो चढ्नुस् भन्छु तल झरेर बस्छन् साथीहरू 
शिक्षकको काम त ज्ञान,सीप र उज्यालो दिने हो
पढाउन छोडी पार्टीको प्रचार गरेर बस्छन् साथीहरू।

Saturday, 19 February 2022

उपदेश

व्यर्थमा समय खेर फाल्नु जस्तै हो
सर्पको दुलोमा हात हाल्नु जस्तै हो
अहिलेको मान्छेलाई उपदेश दिनु त
आफ्नै चाकमा आगो बाल्नु जस्तै हो।

तालमेल

जित्नुपर्ने पनि हारिन्छ,खेल नमिलेपछि 
गाडी पनि कहाँ चल्दछ तेल नमिलेपछि 
कस्तो हुन्छ भत्किएको रोड?सोच्नुस् त!
त्यस्तै हुन्छ जिन्दगी,तालमेल नमिलेपछि।
 

ड्राइपर

खानाको सट्टा चक्की खाने-खुवाउने बेला आयो 
बिना शारीरिक सम्पर्क बच्चा पाउने बेला आयो 
झन्झटिला कार्य गर्ने फुर्सदै हुन छाडिसक्यो ऐले 
चर्पी जाने समय छैन,ड्राइपर लाउने बेला आयो।

Friday, 18 February 2022

समृद्धि

हामी अनभिज्ञ छौं,
उनी को हुन् 
उनी के हुन्।

अन्जानवश हामीले न्वारान गर्यौं-
उनको नाम-"समृद्धि।

दुर्भाग्यवश उनी त
देख्नै पो नसक्ने रहिछे
हिंड्नै पो नसक्ने रहिछे।

समृद्धि त अपांग पो रहिछे।

कमिलाको गति

नानाभाती कुरा गरी,आकाश छुन्छ
गफैले यहाँ लट्ठ पार्ने जाल बुन्छ
समयको गति तीब्र भएको बेला
कमिलाको गतिले विकास हुन्छ?


Thursday, 17 February 2022

अभ्यास

हो,हुन्छ,नमरेसम्म मान्छेमा सास हुन्छ
सबैको आफूलाई फाइदाको आस हुन्छ 
धेरै जसो छिटो र छोटो बाटो नै रोज्छन्
लामो बाटोले शारीरिक अभ्यास हुन्छ।

कुकुरको काम

बाघको गर्जन सुनेर लुक्न दिनुस्
खानाको लागि मालिक ढुक्न दिनुस् 
जसको औकात जे हो,त्यही गर्ने हो
कुकुरको काम भुक्ने हो,भुक्न दिनुस्।

दुश्मन

मनले उसलाई सहयात्री मानिरहेको छ
तर उसले मलाई दुश्मन ठानिरहेको छ
म भने ऊ संगसंगै दौडिने प्रयत्न गर्छु
समय चाहिँ मलाई पछाडि तानिरहेको छ।

कुकुरको काम

पूच्छर हल्लाउँदै मालिकको सामू झुकिरहन्छ
मालिकले के देला र खाउँला भनी ढुकिरहन्छ
बाघको गर्जन सुनेर लत्र्याक्क परेर लुक्छन् 
यद्यपि कुकुरको काम भुक्ने हो भुकिरहन्छन्।


शव

कोपिलाहरु अनायसै रेटिन थालेका छन्
हत्याराद्धारा प्रमाण मेटिन थालेका छन्
को हुन्?कसले गरे?केही अत्तोपत्तो छैन
शीर बिनाका शवहरु भेटिन थालेका छन्।

Wednesday, 16 February 2022

भीर

स्वार्थको पापड बेल्न सक्छन्,होसियार!
खतरनाक खेल खेल्न सक्छन्,होसियार!
हुन सक्छन् घर भित्र या बाहिर दुश्मनहरु
समस्याको भीरमा ठेल्न सक्छन्,होसियार!

बोल्न छाड्छन्

रुखो बोलीमा गुलियो मह घोल्न छोड्छन्
पहिले जस्तो मनको कुरा खोल्न छोड्छन्
जल्दारहेछन् मान्छेको जात यति नराम्रोसंग
कोही कसैको उचाइ देखेर बोल्न छोड्छन्।

Tuesday, 15 February 2022

दिनुमै मज्जा

खोलिन् प्रेमको ढोका,दिनुमै मज्जा भन्थिन्
खर्चिन् पैसाको पोका,दिनुमै मज्जा भन्थिन्
भन्थिन् सधैं-"लिनु भन्दा दिनुमै मज्जा हुन्छ"
अन्तमा दिइन् धोका,दिनुमै मज्जा भन्थिन्।

Monday, 14 February 2022

दर्शन

जति चरा हुन्छ खजुरको दर्शन पाएर
भाले मजुर पोथी मजुरको दर्शन पाएर
सायद त्यो भन्दा बढ्ता खुशी हुन्छु म
बयानै गर्न नसकिने हजुरको दर्शन पाएर।

भिख

खल्लो लागिरहेको छ,दु:ख लागिरहेको छ
सुख-समृद्धि हामीबाट टाढा भागिरहेको छ
कोही गरिब,आसक्त गाना गाएर मागिरहँदा
लाग्छ सिंगो देशले नै भिख मागिरहेको छ।

Sunday, 13 February 2022

झ्याउ लागेर

लेउ लागेर हो
लेउ लागेर हो!
दिमागमा लेउ लागेर हो२
म साह्रै बिग्रेको
पिरिममा फसेको
पढ्न लेख्न झ्याउ लागेर हो
दिमागमा लेउ लागेर हो
पढ्न लेख्न झ्याउ लागेर हो। 

डाक्टर पाइलट भैसके धेरै साथीहरू 
साम्सद मन्त्री भैसके धेरै साथीहरु
अमेरिका गैसके कति साथीहरू 
बेलायतै गैसके कति साथीहरू।

पाको जागीर नखाएर हो२
म साह्रै बिग्रेको
पिरिममा फसेको
पढ्न लेख्न झ्याउ लागेर हो
दिमागमा लेउ लागेर हो
पढ्न लेख्न झ्याउ लागेर हो। 

तँ त खेरै गैसकिस् भन्छन् साथीहरू 
घरबार गरिहाल् भन्छन् साथीहरू 
बे'को भोज ख्वाइहाल् भन्छन् साथीहरू 
भन्टाङ भुन्टुङ पाइहाल् भन्छन् साथीहरू।

लखर  लखर डुलेर हो२
म साह्रै बिग्रेको
पिरिममा फसेको
पढ्न लेख्न झ्याउ लागेर हो
दिमागमा लेउ लागेर हो
पढ्न लेख्न झ्याउ लागेर हो। 



औकात

उजाडिएको रुख रहेछ,पात पनि रहेनछ
एकलकाँटे रहेछ,साथ-जमात पनि रहेनछ 
आफूलाई सागर अनि मलाई गागर भन्थ्यो
प्रेम-मामलामा थोपाको औकात पनि रहेनछ।

प्रहार

भैदियो गलत प्रचार,नहुनुपर्थ्यो त्यहाँबाट 
गरिन मैले तिरस्कार,नहुनुपर्थ्यो त्यहाँबाट 
मेरो मुटु ढुंगाको भन्ने कुरा त म स्वीकार्छु
तर हतौडाको प्रहार नहुनुपर्थ्यो त्यहाँबाट।

भाषण

शासनले देश बिगारे हजुर
आसनले देश बिगारे हजुर
काम गरे पो देश बन्थ्यो त
भाषणले देश बिगारे हजुर।

Wednesday, 9 February 2022

प्रेमको ज्वाला

सोचेको थिएँ-प्रेमले
मेरो जिन्दगीको रुखमा सिचाइ गर्नेछ
रहरका पालुवा पलाउनेछन् 
सपनाका फूलहरु फुल्नेछन्
हराभरा हुनेछ
रंगीन हुनेछ
मग-मग बसाउनेछ।

तर जब प्रेम बर्स्यो,
छलकपटको अम्लले भिजायो
पीडाको थोपाहरुले गलाए मुटुको जरा।

खुशीका पातहरु झरे
खङ्ग्रङ्ग भयो सिंगो रुख
बिस्तारै सुक्न थाल्यो
उमंगका बोक्राहरु खुइलिए।

बिस्तारै प्रेमले आगोको रुप लियो
दनदनी ज्वाला दन्किन थाल्यो
झनझन तिरस्कारको इन्धन थपियो
घृणाको हावाले झन् दन्किन मद्धत गर्यो
अन्ततः रुख खरानी बन्यो।

आज त्यही खरानीलाई मलको रुपमा प्रयोग गरी
उनले आफ्नो जिन्दगी सपार्दैछिन्।




धन

सन्तुष्टि नै ठूलो कुरा हो,मनै त हो
जति सुखी,उत्तिनै रोगी,तनै त हो
दु:ख,सुख आदि-इत्यादि अस्थायी हुन् 
आज छ,भोलि नहुन सक्छ,धनै त हो।




Tuesday, 8 February 2022

घर जलाउनु भन्दा

आफ्नै कन्चटमा हान्नु,अरुको छातीमा गोली चलाउनु भन्दा
आफैं सही बाटोमा हिंड्नु पहिले,अरुलाई तह-लाउनु भन्दा
आफू मरेर अरुलाई बचाउने पो महान कहलिन्छ यो संसारमा 
बरु घरै छोडेर हिंड्नु उत्तम हुन्छ,आफ्नै घर जलाउनु भन्दा। 


Monday, 7 February 2022

फस्ट इन टिकटक

कुराले त सगरमाथा छुन पनि सक्छन् 
अभिनयमा आँशुले आँखा धुन पनि सक्छन् 
सधैं लास्ट मात्र हुन्छन् जो पढाइमा
टिकटकमा फस्ट हुन पनि सक्छन्।

Saturday, 5 February 2022

मोटर दुर्घटना

फेदबाट पलाउन छोडी टुप्पोबाट पलाएपछि 
अहंताको आगोले संस्कारको घर जलाएपछि 
कतिखेर कहाँ पुगेर दुर्घटना हुन्छ,भन्न सकिन्न 
जिन्दगीको मोटर गलत तरिकाले चलाएपछि।



भिखारी

रोबर्ट वारि छ 
रिमोट पारी छ 
ऋण पाउँदा दङ्ग
संस्कार भिखारी छ।

Friday, 4 February 2022

राजनीति

चुनावको बखत मात्र पुग्छन् गाम,राजनीति हो
जनताको लागि गर्दैनन् कुनै काम,राजनीति हो
पद र कुर्सीको लागि जे पनि गर्न तयार हुन्छन् 
छलकपट र धोकाको अर्को नाम,राजनीति हो।

Wednesday, 2 February 2022

खुकुरी

बढिसक्यो राष्ट्रघातीको चुरीफुरी,ब्युँझेर आउनुस्
ल्याउनुछ आन्दोलनको आँधीहुरी,दौडेर आउनुस्
देश छिट्टै बेचिने-वालामा छ है देशभक्त साथीहरू!
हातमा तरवार,भाला र खुकुरी बोकेर आउनुस्।

देश बेच्ने तरखर

ऊ देशको राजधानी शहरमा छ
उसैको चर्चा पत्रिका-खबरमा छ 
गाउँ-गाउँबाट खुकुरी लिई आउनु 
सुन्नुस्!ऊ देश बेच्ने तरखरमा छ।

Tuesday, 1 February 2022

जागीर

राष्ट्रघातीको अगाडि झुकाउनुपर्ने,पाएछु कस्तो शीर मैले
दु:ख पर्दा पनि आफ्नै परिवारको लिन नपाउने पीर मैले 
इच्छा,चाहनाहरु बन्धकी राखेर जिउँदो लास भइ बाँच्नुपर्ने 
विसंगतिको विरोध गर्न नपाउने खाएछु कस्तो जागीर मैले।

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...