Friday, 30 December 2022

चौतारी

नसताउ
नभगाउ
नतर्साउ
ए नियति!
समस्याहरुको थुप्रोलाई लिएर
समाधानको चौतारीमा बिसाउन देउ।

Thursday, 29 December 2022

बिगौती

जहानिया शासनको मृत्युसंगै जन्मियो-
च्याँ-च्याँ गर्दै प्रजातन्त्र 
परन्तु,चाँडै कुपोषित हुँदै जीर्ण बन्यो।
जन्मिएको केही दिनमै अवगत भयो-
संघीय लोकतान्त्रिक गणतन्त्र पनि अपाङ्ग रहेछ।
पुनः सुत्केरी भएको छ समय-
परिवर्तनको बिगौती ख्वाउन।

Wednesday, 28 December 2022

प्रेमको पुनर्बहाली

मतलब छैन,अरुको गाली होस् या ताली होस् 
बारम्बार फकाउने हिम्मत छैन,यसैपाली होस् 
हाम्रो सम्बन्धको विघटनले दुनियाँ हाँसिरहेछ
आउ मिलौं ताकि हाम्रो प्रेमको पुनर्बहाली होस्।

Thursday, 22 December 2022

सम्भव

हामीभित्र सदैव सकारात्मकता मात्र अटाउनुपर्छ 
नकारात्मकताको हिस्सालाई क्रमशः घटाउनुपर्छ
हिम्मत र इच्छाशक्ति भए सबै कुरा सम्भव छ यहाँ
"असम्भव"लाई मनको शब्दकोषबाटै हटाउनुपर्छ। 

Tuesday, 20 December 2022

देशको निर्माण

बनाउँदै भत्काउँदै
बनाउँदै भत्काउँदै
बनाउँदै  भत्काउँदै।
यसरी देश कहिल्यै बन्दैन।

Monday, 19 December 2022

उमेरको

काम छैन पुरानो सोच,भन्छन् नानीहरू 
भैसक्यो धर्तीको बोझ,भन्छन् नानीहरू 
मलाई भने भर्खरका नानीहरु मन पर्ने 
आफ्नै उमेरको खोज भन्छन् नानीहरु।


परिवर्तन

हुन सकिन सोचे जस्तो सफल,दु:ख लाग्छ
छैन अचेल पहिलेको जस्तो बल,दु:ख लाग्छ
परिवर्तन हुन्छ र हुनु जरुरी छ,स्वभाविक हो
तर एक्कासी भैसकेछु अंकल,दु:ख लाग्छ।

Friday, 16 December 2022

पत्तै भएन

तन-मन थाकेको पत्तै भएन
कपाल पाकेको पत्तै भएन
पत्तै नहुँदोरहेछ धेरैजसो कुरा 
कालले ताकेको पत्तै भएन।

Sunday, 13 November 2022

हस्तमैथुन

मनको  पाथी आफैंले भरेर बस्छु म
कसले भन्छ कसैको भर परेर बस्छु म
महंगीमा आफ्नो पेट पाल्न त गाह्रो छ
बिहे गर्नु भन्दा हस्तमैथुन गरेर बस्छु म।

Wednesday, 28 September 2022

राजसंस्था र गणतन्त्र

राजसंस्था भनेको गोरेटो हो।गणतन्त्र भनेको फराकिलो कच्ची सडक हो।फराकिलो सडकलाई व्यवस्थित र पक्की बनाउने जिम्मेवारी हाम्रो हो।

Sunday, 25 September 2022

चर्चा

क्षमता र प्रतिष्ठाको नभई नोटकै चर्चा छ यहाँ 
दौरा-सुरुवात छायाँमा रही कोटकै चर्चा छ यहाँ 
यो दुनियाँमा कला र गलाको त कुनै चर्चा छैन
केवल कल्कलाउँदो गाला र ओठकै चर्चा छ यहाँ।

Saturday, 17 September 2022

हारजीत

गोहीको आँशु झार्न थालेको धेरै भयो
चुनाबमा ठिक्क पार्न थालेको धेरै भयो 
देश,जनताको जित पो हो असली जित
नेता जितेर जनले हार्न थालेको धेरै भयो।


Thursday, 15 September 2022

गर्व

आडम्बरको झोली भर्न सकेकोमा गर्व गर्छन् 
रणभूमिमा मार्न र मर्न सकेकोमा गर्व गर्छन् 
जसले हिजो आफ्नो राजा बचाउन सकेनन्
आज दरबारको रक्षा गर्न सकेकोमा गर्व गर्छन्।

Friday, 2 September 2022

डेरा

घामपानीमा ओत दिने चौघेरा हुन् 
भन्नु बेकार छ-सब सम्पत्ति मेरा हुन् 
जाँदा लैजाने केही हैन-ध्रुवसत्य हो
अन्ततः महल पनि अस्थायी डेरा हुन्।


Friday, 19 August 2022

प्रेमको भाषा

समाजको विध्न,बाधासंग जुझ्दिनौ तिमी
पिरतीको झरीमा चुर्लुम्म रुझ्दिनौ तिमी
तिमी आफैं भन कसरी सम्झाउँ तिमीलाई 
प्रेमको प्रेमिल भाषा समेत बुझ्दिनौ तिमी।


               (Mang Dorje Sherpa)

Saturday, 6 August 2022

गयो जिन्दगी

समयले भाग्य किच्दाकिच्दै गयो जिन्दगी 
बिहानै आँखा मिच्दामिच्दै गयो जिन्दगी।

सपना देख्नुपरेपछि सानो त के देख्नु र
महलको फोटो खिच्दाखिच्दै गयो जिन्दगी।

कसैको जिन्दगीमा एक छाक खान धौ छ 
घुसियाको घुस घिच्दाघिच्दै गयो जिन्दगी।






Wednesday, 3 August 2022

गल्लीवुड

गल्लीबाटै शुरु भयो मेरो जिन्दगी 
गल्लीमै अन्त हुनेछ सायद।

खास लाग्छन् मलाई-गल्लीको 
चिया 
पानीपुरी 
चट्पटे 
पान
चुरोट।
खास लाग्छ मलाई-गल्लीको जिन्दगी।

यी गल्लीका ईँटाहरुले मलाई राम्ररी चिन्छन्
यी गल्लीका ठिटाहरुले मलाई राम्ररी चिन्छन्।

यी गल्लीले मलाई स्वीकार्छन् थोत्रा चप्पलमा पनि
यी गल्लीले स्वीकार्छन् मलाई पुराना गन्जीमा पनि।

यी गल्लीमा 
पिज्जा-बर्गरले गिज्याउँला भन्ने डर छैन
रेड-लेभल,ब्ल्याक लेभलको मात लाग्छ भन्ने पीर छैन
न त आफ्नो लेभल गिर्ने त्रास छ।

यही गल्लीमा 
हाम्रा आँखा जुधेका थिए 
हाम्रो पहिलो प्रेमको अंकुरण भएको थियो 
नवीन जीवनको श्रीगणेश गरेका थियौं।

यही गल्लीले 
हाँस्न सिकायो 
रुने अभिनय गरायो 
बाँच्ने कला सिकायो। 
गल्ली नै मेरो संसार हो
यही संसारलाई नाम दिएको छु-"गल्लीवुड"
गल्लीवुड नै मेरो संसार हो।

              (माङ दोर्जे शेर्पा)

Tuesday, 26 July 2022

बाटो

घाउ निको भए पनि घाउको टाटो बाँकी छ
साथ दिने कोही नभए तापनि माटो बाँकी छ
पूर्व,पश्चिम,उत्तर,दक्षिण सबै बाटा बन्द भैसके
अन्तिम गन्तव्यको माथि जाने बाटो बाँकी छ।

Wednesday, 20 July 2022

कवि र पाठक

नामी कविहरुको लागि ऊ वरिष्ठ कवि हो
तर मेरो लागि ऊ कवि हुँदै-होइन
कारण-म उसको कविता बुझ्दिन
एउटा कुरा-म उसको पाठक पनि होइन।

Tuesday, 19 July 2022

राजनीति

संगै हुँदा मीठो तर छुट्टिएपछि कोक्याउने रहेछ
यहाँ त गाई मात्र हैन गोरु पनि पो ब्याउने रहेछ 
भिन्नै खालको छ अरु देश भन्दा यहाँको शास्त्र 
राजनीतिमा एकले अर्कोलाई खुइल्याउने रहेछ।

Monday, 18 July 2022

मौनता

सबै कुरा कहाँ देख्छन् र आँखाले?
आँखाले नदेखेका देख्छन् अन्धाले
हाम्रो कानले त बोलेको मात्र सुन्छन्
तर अथाह बोलिरहेको हुन्छ मौनताले।

Thursday, 14 July 2022

अधुरा

सुनको चुरा
मनको कुरा
बुझेर चुरो
सम्बन्ध अधुरा।

Tuesday, 12 July 2022

कारण

यो मनमा पीर बढेको छ
यो मुटुमा तीर गढेको छ
छर्लङ्ग छ यसको कारण 
महङ्गीले भीर चढेको छ।

Monday, 11 July 2022

यात्रा

जिन्दगी एक यात्रा।म एउटा यात्री।यात्राको क्रममा म तिम्रो मनमा आएर बसेछु।थकाइ मारेर गएछु।मलाई थाहै भएन।तिम्रो मन भाँच्चिएछ।सायद तिम्रो मन कमजोर हुनुपर्छ।

Sunday, 3 July 2022

खबर

पढाउन छोडेर राजनीतिमा लागे सरहरु
जाँच्न छोडी आन्दोलनमा लागे डाक्टरहरु
कुन दिशामा जाँदैछ यार हाम्रो देश,समाज 
सबैतिर यस्तै सुनिन्छन् नराम्रा खबरहरु। 

Wednesday, 29 June 2022

मायालु साथमा भैदिंदा यो मन शित्तल हुन्छ
मायालु साथमा नहुँदा जीवन पित्तल हुन्छ 

Tuesday, 28 June 2022

घर र खेत

मान्छेहरु सुखसयलमा बसेको देखेर अचम्म लाग्छ
समाजको गति खाल्डोमा फसेको देखेर अचम्म लाग्छ
रोपाहरहरु धान रोप्न खेत पसेको त देखेकै हो पहिले
घरहरु भटाभट खेतमा पसेको देखेर अचम्म लाग्छ।


Monday, 27 June 2022

रोपाइँ

लेक र पहाडको कठिनाइ छोडेर 
मान्छेहरु बेशी झर्न थालेका छन् 
बेशीलाई नै गन्तव्य मानेर बसाइँ सर्न थालेका छन्।

रोपाहर उभिने गराहरुमा पिल्लरहरु उभिन थालेका छन्।

हराभरा धान फल्ने खेतहरुमा 
सपना रोप्न थालेका छन् 
धान भन्दा धेरै घरहरु रोप्न थालेका छन्।

साँच्चिकै रोपाइँ कति रमाइलो छ अचेल।

Thursday, 23 June 2022

विवेक

लाछीहरु समस्या देखी तनाव लिएर बस्छन्
धुरू-धुरू रोएर बस्छन्,आँसु पिएर बस्छन् 
जिन्दगी बुझ्दछन् हिम्मत र विवेक हुनेहरु 
दु:ख र अप्ठ्यारोमा पनि शानले जिएर बस्छन्।


दाउ

बाघको पनि बिरालोको जस्तै म्याउ हुन सक्छ है 
मित्र नभए पनि मित्रको झैं हाउभाउ हुन सक्छ है
हरपल,हरक्षण चनाखो हुनुपर्ने नितान्त जरुरी छ 
शत्रुको सिध्याउने खाले अनेक दाउ हुन सक्छ है।

बिनास

जस्तो बीउ रोप्यो उस्तै फल्छ माटोमा पनि
व्यवहार गरे अनुसार फर्कन्छ साटोमा पनि
सही शिक्षा हासिल गरे विकासतिर डोर्याउँछ
नत्र डोर्याउन सक्छ विनाशको बाटोमा पनि।


Friday, 17 June 2022

लुट

फुट्छन्
जुट्छन्
अन्तमा
लुट्छन्।

ज्यानमारा

पानी पिउन नसकिने धाराहरु धेरै छन् यहाँ 
हेरेर मात्र रमाउन सकिने ताराहरु धेरै छन् यहाँ 
कसलाई सुनाउँ मेरो ज्यान धरापमा परेको छ
रुपैले जिउँदै मार्ने ज्यानमाराहरु धेरै छन् यहाँ।

Sunday, 12 June 2022

सकस

मदिराको ठसठस छ 
यताउता लसपस छ
आधुनिक युवालाई 
धेरै ठूलो सकस छ।

Monday, 30 May 2022

लत

परिश्रम नै जीवनको छत लागेको छ मलाई 
पसिनाको कथा खुब घत लागेको छ मलाई 
फिरन्ते जीवन खासै मजा लाग्दै लाग्दैन अचेल
पत्याउनु हुन्छ?कामको लत लागेको छ मलाई।


Sunday, 29 May 2022

स्वर्गको सिंढी

जब उमेर बढे झैं लाग्छ 
मुटुमा खिल गढे झैं लाग्छ 
प्राकृतिक नियम हो भन्ठानेर 
स्वर्गको सिंढी चढे झैं लाग्छ।

Saturday, 21 May 2022

भनाइ र गराइ

हिमाल र तराईमा कति अन्तर छ
आफन्त र पराईमा जति अन्तर छ
सबैले देखेकै कुरा,बुझेकै कुरा हो
भनाइ र गराइमा त्यति अन्तर छ।

Friday, 20 May 2022

इमानदार चोर

पक्डिएपछि चोरले भन्यो-"साहुजी!हजुरको दराजमा मैले पैसा र गहना भेट्टाएँ नि!"

Thursday, 12 May 2022

कार्यकर्ता

मिठो-मिठो खाएकै छन् 
राम्रो-राम्रो लाएकै छन् 
बेरोजगार छैनन् कोही
कार्यकर्ता बन्न पाएकै छन्।

Saturday, 7 May 2022

अनिकाल

अनिकाल लागेको छ।

यो समय खुब तिर्खाएको छ
यसले पिउन सक्छ-दुईचार जना राष्ट्रघातीको रगत।

यो समय खुब भोकाएको छ
यसले खान सक्छ-केही गद्धारहरु।

समयले भोक-प्यास मेट्टाउन जस्तोसुकै कदम चाल्न सक्छ-
होसियार!!!

Sunday, 1 May 2022

पर्दाफास

मान्छे खराब प्रवृतिहरुको दास भएपछि 
चरित्रमा खडेरी,नैतिकतामा ह्रास भएपछि 
हाइ भोल्टेजको झड्का लागे झैं झस्कन्छ 
दलालको कालो कर्तुत पर्दाफास भएपछि।

Thursday, 28 April 2022

घोषणापत्र

यतिखेर म शहरमा 
आफ्नै कामको दौडानमा छु। 

सार्वजनिक चर्पी छैन
भए पनि पानी छैन
तिम्रो घोषणापत्र खुब काम लागेको छ यतिखेर - गुहु पुछेर फाल्न।

इज्जत

एउटाले जे गर्यो,त्यसैको अनुसरण गर्ने समाज हो यो
शक्तिको आडमा नारीको चीरहरण गर्ने समाज हो यो
फलाम कुट्नेलाई कामी भने,जुत्ता सिउनेलाई सार्की
पेशाको आधारमा इज्जत वर्गीकरण गर्ने समाज हो यो।



Tuesday, 26 April 2022

खुल्ला

कामकुरो कतातिर कुम्लो बोकी ठिमीतिर डुलेको पनि देखियो
क्याम्पस हिंडेका ठिटा-ठिटी जिगलतिर भुलेको पनि देखियो 
फूल फुलेकै सुहाउँछ,डाली नुँगेकै सुहाउँछ,फल झुलेकै सुहाउँछ 
छोपिएर रहँदै सुहाउने कतिपय कुरा खुलेको पनि देखियो।

Monday, 25 April 2022

त्याग

छोड्न कोही राजी छैनन्,सबलाई आ-आफ्नो भाग हुनैपर्छ यहाँ 
कोइली हुन चाहदैनन् ,सबलाई टाठोबाठो काग हुनैपर्छ यहाँ 
हारेर जित्न भन्दा पनि जितेर जित्न चाहन्छन् जोकोही मान्छे  
वास्तवमा सबैको भलाइको लागि कसैबाट त्याग हुनैपर्छ यहाँ।

Sunday, 24 April 2022

माग्न

आफ्नो जिम्मेवारीबाट भाग्न कति सजिलो छ है?
उचाइबाट ओरालोमा लाग्न कति सजिलो छ है?
दु:ख गर्न,पसिना बगाउन पो धेरै गाह्रो छ त यहाँ 
इज्जतको ख्यालै नगरी माग्न कति सजिलो छ है?


Monday, 18 April 2022

गोविन्द

घर मेरो झलमल्ल देखिन्छ झाडीबाट हेर्दा त
मात्र कुरुप देखिएको हुँ म अगाडीबाट हेर्दा त
सबै कुरामा पूर्ण को नै हुन्छ र,मान्छेको जात 
मान्छे त म गोविन्द हुँ नि पछाडीबाट हेर्दा त।

गल्ती

आफ्नो प्यास मेट्न अरुको मूल सुकाउँछौं हामी
आफ्नो शीर ठाडो पार्न अरुको झुकाउँछौं हामी
अहिलेसम्म हामीले सिकेको पाठै यति र यस्तै छ 
अरुको गल्ती देखाउन आफ्नो लुकाउँछौं हामी।

जन्मदाता

भावनाको कुनै विन्दुसम्म डुबेर 
मन र मस्तिष्कको मिलनबाट
कापी र कलमको घर्षणबाट
गर्भवती भएर 
प्रसवपीडा भोगिरहेको छ एउटा सर्वनामले।
उसले एउटा कवितालाई जन्माएको क्षण,
कविताले पनि कविलाई जन्म दिन्छ 
एक-अर्काको जन्मदाता "कवि र कविता"।




Friday, 15 April 2022

स्वार्थ

हर कोही मान्छे फाइदाको मार्ग चुन्छ यहाँ 
घाटा लागेपछि व्यापारी धुरुधुरु रुन्छ यहाँ 
विना स्वार्थको मान्छे कतै देख्नुभएको छ र?
सन्यासीको पनि निस्वार्थी हुने स्वार्थ हुन्छ यहाँ।

Thursday, 7 April 2022

सम्पत्ति

विदेशीलाई सुम्पिसके पानी,अरु के नै बाँकी छ र
उत्खनन गर्न सकेनन् खानी,अरु के नै बाँकी छ र
बौद्धिक,भौतिक सम्पत्ति सबै बेचेर खाइसकेपछि 
सम्पत्ति भनेकै छ राहदानी,अरु के नै बाँकी छ र?

Wednesday, 6 April 2022

तला गन्दागन्दै

ठूलै प्रगति गर्छु भन्दाभन्दै जिन्दगी जाने भो
सपनाको जग खन्दाखन्दै जिन्दगी जाने भो
मनको लड्डु घिउसित खाँदा टन्न अघाइसकें
राजधानीमा तला गन्दागन्दै जिन्दगी जाने भो।

उदाहरणको साँघु

उदाहरणको साँघु तरेर देखाइदेऊ
भकारीमा अन्नज भरेर देखाइदेऊ
नेपाल कृषिप्रधान देश हो भन्छौ
सरकार!आफैं खेती गरेर देखाइदेऊ।

Tuesday, 5 April 2022

चालक

ढल्नेहरु ढल्छन्,नढल्नेहरु ढलाउँछन्,यसैगरी चलेको छ 
जल्नेहरु जल्छन्,नजल्नेहरु जलाउँछन्,यसैगरी चलेको छ
प्रश्न छ"सबैजना देशको लागि मरे देश कसले चलाउँने?" 
मर्ने शहिद हुन्छन्,मार्नेले देश चलाउँछन्,यसैगरी चलेको छ।


Monday, 4 April 2022

दलाली

गाली खान नपरोस्,गाली छर्न नपरोस् 
अरुको गाँस काटेर थाली भर्न नपरोस् 
मिहिनेत गरेर दुई छाक टार्न सके पुग्छ
दुई दिन बाँच्नलाई दलाली गर्न नपरोस्।


Sunday, 3 April 2022

टीका

देश बाली आगो तापेर आउँछन् उतैबाट 
सत्ताको लम्बाइ नापेर आउँछन् उतैबाट 
खुब फापेको छ पल्लो प्रभुको आशीर्वाद 
राजाहरु टीका थापेर आउँछन् उतैबाट।

आँखा खुल्नुपर्छ

चेतनाको सुनाखरी अब दुर्गममा फुल्नुपर्छ
शिक्षाको दियो बालेर अंधकारमा डुल्नुपर्छ
कहिलेसम्म सुतिबस्ने हामी कुम्भकर्ण भएर
धेरै अबेर भैसक्यो,अब त आँखा खुल्नुपर्छ।

डंगुर

गुलियोलाई अमिलो अंगुर बनाउने यिनै नेता हुन् 
कार्यकर्तालाई खाते बंगुर बनाउने यिनै नेता हुन् 
"राजनीति"शब्द त आफैंमा शुद्ध छ,कुनै दोष छैन
यसलाई फोहोरको डंगुर बनाउने यिनै नेता हुन्।



कारण

कामले शून्य र मौखिक मात्र भएर हो
व्यवहारिक हैन,काल्पनिक मात्र भएर हो
विकासले गति लिन नसक्नुको कारण 
प्रयोगात्मक नभई सैद्धान्तिक मात्र भएर हो।

Friday, 1 April 2022

बिकाउ

यो देशमा
जो बिक्दैन
त्यो टिक्दैन।

अवशेष

भन्न पनि कहाँ सकियो र अब "पानी मात्र बाँकी छ"
हामीसंग सम्पत्तिको नाउँमा राहदानी मात्र बाँकी छ
देश त उहिल्यै बेचिसक्यो,पोलेर सेकुवा खाइसक्यो
छ त केवल अवशेष एकमुठी खरानी मात्र बाँकी छ।


Tuesday, 29 March 2022

सवारी

भिआइपीको सवारी हुँदैछ।

यो समय
यो बाटो
यो माहोल
भिआइपीको हो।

तिमीहरू झारपात हौ
झारपातहरुले यतिखेर 
बीचबाट छेउतिर साइड लाग्ने हो
छेउमा भएकाहरु जहाँको तही रहने हो
चुपचाप 
निशब्द
पिनड्रप साइलेन्ट हुने हो।

भिआइपीको सवारी हुँदैछ।

झारपातहरु!
खान बन्द गर
पिउन बन्द गर
सास रोकेर बस।

भिआइपीतिर नहेर
आँखा बन्द गर।

भीडभाडमा कोचिएर बस 
हलचल नगर
नत्र••••••••(लाठी प्रदर्शन)

(साइरनको आवाज......वाउवाउवाउवाउवाउ..............)





Friday, 25 March 2022

कथा

कसैले देला र खाउँला भनी पर्खनुपरेको छ
यस्तै छ हजुर मेरो देशको उधारोको कथा।

उसको रङ देखेर दङ्ग पर्नुको औचित्य छैन
सबैलाई अवगत भएकै हो छेपारोको कथा।

परेपछि फसिन्छ फसिन्छ,१००% पक्का हो
प्रेमसंग तुलना गरे हुन्छ भड्खारोको कथा।



स्वार्थ

विरुवाको ज्यान लिएर आगो ताप्न पछि पर्दैनन् मान्छे
आफ्नो सुरक्षार्थ अरुलाई पासो थाप्न पछि पर्दैनन् मान्छे 
यो भन्दा ठूलो स्वार्थको उदाहरण के नै दिन सकिएला र
धूलोबाट बच्न अरुलाई हिलो छ्याप्न पछि पर्दैनन् मान्छे।

Tuesday, 22 March 2022

विभेद

मानिस सफल छन्-थप्नमा अमानवीय तलाहरु
रेटिंदै छन् क्षण-क्षणमा मानवताका गलाहरु
अराजक हुन सकेकोमा बहुत गर्व गर्छन् आफ्नै
दिनप्रतिदिन बढिरहेछन् विभेदका शृंखलाहरु।


Monday, 21 March 2022

नवीन

भएको मात्र हो सौखिन,के नै छ र
प्रायः जसो भए प्राचीन,के नै छ र
नलेखिएको,नबोलिएको के छ बाँकी
लेखिनुपर्ने खासै नवीन के नै छ र?

Sunday, 20 March 2022

म्यादी मायालु

मेरो जीवनमा ल्यायौ बाढी मायालु
पूर्ण भईनौ तिमी मेरो आधी मायालु
निश्चित अवधिको लागि मात्र प्रेम गर्यौ
कसरी सम्बोधन गरुँ म्यादी मायालु?

कर्मचारी

कहाँ बिसाउने हो र दु:खका भारीहरु
सुबिधा भोग्न लिप्त छन् अधिकारीहरु
सुखी र समृद्धशाली कहिले हौंला हामी
सबै भ्रष्ट छन् हाम्रा प्यारा कर्मचारीहरु।


बहाना

माली बनी प्रेमबाग गोड्न आएको साँचो हो
लाउरे सोचेर गला जोड्न आएको साँचो हो
जब यथार्थ छर्लङ्ग भयो र मेरो औकात बुझ्यौ
सय बहानामा सम्बन्ध तोड्न आएको साँचो हो।

Saturday, 19 March 2022

भेडा

आलुको पनि,पेडाको पनि आफ्नै महत्व छ 
अभावमा एक-गेडाको पनि आफ्नै महत्व छ
गणेशमानले जनतालाई गज्जबको संज्ञा दिए
साँच्चै चुनावमा भेडाको पनि आफ्नै महत्व छ।

पेशा

मेरो बारेमा गफको बीउ छर्छौ,गुनासो छैन
मसंग हिंड्नु परे लाजले मर्छौ,गुनासो छैन 
यहाँ श्रमको पनि वर्ग र औकात हुनेरहेछ
पेशा देखी मलाई नदेखेझैं गर्छौ,गुनासो छैन।

Monday, 14 March 2022

पिटाइ

कहिले यथास्थितिमा रहन सक्नुपर्छ 
कहिले परिस्थितिसंगै बहन सक्नुपर्छ 
सफलता र निखारता पाउन गाह्रो छ
फलामले जस्तै पिटाइ सहन सक्नुपर्छ।

पूरामा

चुरामा खुब सुहाउँछ महिलालाई 
कुरामा खुब सुहाउँछ महिलालाई 
आधामा बिल्कुल अश्लील देखिन्छ 
पूरामा खुब सुहाउँछ महिलालाई।

Tuesday, 8 March 2022

झापट

छोराछोरीले गल्ती गरेमा तर्साउनु पनि पर्छ
गल्ती सुधारी सुध्रने तरीका दर्शाउनु पनि पर्छ
डिभोर्स नै अन्तिम अस्त्र होइन भन्ने कुरा बुझी
छोरी-ज्वाइँ झगडा गरे झापट बर्षाउनु पनि पर्छ।

तिमी हराएको सूचना

बाटो हिन्दै गर्दा
कतै अपृय/अश्लील/अभद्र शब्द सुने
केही नसुनेझैं गरी 
कुकुरले पूच्छर टाङमुनि लुकाएर हिनेझैं गरी 
लुखुर-लुखुर आफ्नो बाटो तताउनुपर्छ
जान्ने-बुझ्ने भएर गुरु भइटोपलेर 
शिक्षा/उपदेश दिन खोजे 
गुरु-दक्षिणाको रुपमा 
कानको जाली च्यात्तिन सक्छ 
भरपूर गोदाइ खान सकिन्छ।

कसैको ज्यान काटिएको देखे
ती हतियार बोकेका हातहरुलाई शक्तिको नाम दिनु 
कसैको अस्मिता लुटिएको देखे
लुट्ने लिंगलाई पुरुषार्थको संज्ञा दिनु 
साक्षी बनेर बयान दिने दुस्साहस नगर्नु
नत्र तिम्रो ज्यान काटिएको साक्षी नपाइएला।

ए कानहरु!
सुनेको नसुनेझैं गर्नु
नसुनेको सुनेझैं गर्नु।

ए आँखाहरु!
देखेको नदेखेझैं गर्नु
नदेखेको देखेझैं गर्नु।

सकेसम्म 
हेर्ने  जिम्मा अन्धाहरुलाई छोडिदिनु।

भित्ताको पनि कान हुन्छ नि
सुन्ने जिम्मा भित्ताहरुलाई छोडिदिनु।

कसैले थिचोमिचो गरे सहेर हिनिदिनु
कसैले एक लात दिए अर्को लात खाएर जानु 
प्रतिवाद गर्दै-नगर्नु
कलहमा भाग लिँदै-नलिनु
द्वन्द हाम्रो समाजमा अपाच्य हुन्छ 
निरीहले निरीहै भएर भाग्नु।

बाहिरबाट आएकाहरु 
लोकल बासिन्दाबाट टाढै रहनु
त्यहाँको माटो तिम्रो होइन
त्यहाँको बाटो तिम्रो  होइन 
टाढै रहनु 
नत्र भोलिको पत्रीकामा तिमी हराएको सूचना आउनेछ।

Friday, 4 March 2022

फसाउन सक्छन्

प्रेम गरी ढिकीमा ओखल पसाउन पनि सक्छन् है 
तिमीलाई रुवाई दुनियाँ हँसाउन पनि सक्छन् है
कदम कदममा सतर्क हुन जरुरी छ यो बेलामा
सेक्स गर्नु पहिले सोच्नु,फसाउन पनि सक्छन् है।



Monday, 28 February 2022

भिखारी

एउटा घरमा भात माग्छु
अर्को घरमा दाल माग्छु
अर्को घरमा तरकारी माग्छु
अर्को घरमा अचार माग्छु
मस्तले खान्छु
खुशी हुन्छु 
सुखी हुन्छु।

तर यो कथा मेरो होइन
एउटा भिखारीको हो 
मेरो देशको हो।

धितो

फाल्नसम्म इज्जत फाले गद्धारहरुले
राष्टघाती कदम चाले गद्धारहरुले
अन्तमा गएर लिलाम नहोला भन्न सकिन्न
देश धितो राखी ऋण निकाले गद्धारहरुले।

Saturday, 26 February 2022

बच्चाहरु

उफ्रेका छन्,नाचेका छन्,डुलेका छन् बच्चाहरु
कसैको बन्द मुट्ठीभित्र खुब खुलेका छन् बच्चाहरु
सुगा जस्तै रटाइएका नारा फुरुङ्ग भएर फलाक्दै
ललिपपको रसमा लपक्कै भुलेका छन् बच्चाहरु।


Friday, 25 February 2022

ओखती

बनेपछि मान्छे रोडपति,के होला हजुर
नियतिले थिचेपछि गति के होला हजुर
रोग लागेपछि त जेनतेन उपचार गरौंला 
भन्न्नुस्,गरिबीको ओखती के होला हजुर।

Thursday, 24 February 2022

प्रचार

सत्यतथ्य छर्न छोडी भ्रम छरेर बस्छन् साथीहरू 
उकालो चढ्नुस् भन्छु तल झरेर बस्छन् साथीहरू 
शिक्षकको काम त ज्ञान,सीप र उज्यालो दिने हो
पढाउन छोडी पार्टीको प्रचार गरेर बस्छन् साथीहरू।

Saturday, 19 February 2022

उपदेश

व्यर्थमा समय खेर फाल्नु जस्तै हो
सर्पको दुलोमा हात हाल्नु जस्तै हो
अहिलेको मान्छेलाई उपदेश दिनु त
आफ्नै चाकमा आगो बाल्नु जस्तै हो।

तालमेल

जित्नुपर्ने पनि हारिन्छ,खेल नमिलेपछि 
गाडी पनि कहाँ चल्दछ तेल नमिलेपछि 
कस्तो हुन्छ भत्किएको रोड?सोच्नुस् त!
त्यस्तै हुन्छ जिन्दगी,तालमेल नमिलेपछि।
 

ड्राइपर

खानाको सट्टा चक्की खाने-खुवाउने बेला आयो 
बिना शारीरिक सम्पर्क बच्चा पाउने बेला आयो 
झन्झटिला कार्य गर्ने फुर्सदै हुन छाडिसक्यो ऐले 
चर्पी जाने समय छैन,ड्राइपर लाउने बेला आयो।

Friday, 18 February 2022

समृद्धि

हामी अनभिज्ञ छौं,
उनी को हुन् 
उनी के हुन्।

अन्जानवश हामीले न्वारान गर्यौं-
उनको नाम-"समृद्धि।

दुर्भाग्यवश उनी त
देख्नै पो नसक्ने रहिछे
हिंड्नै पो नसक्ने रहिछे।

समृद्धि त अपांग पो रहिछे।

कमिलाको गति

नानाभाती कुरा गरी,आकाश छुन्छ
गफैले यहाँ लट्ठ पार्ने जाल बुन्छ
समयको गति तीब्र भएको बेला
कमिलाको गतिले विकास हुन्छ?


Thursday, 17 February 2022

अभ्यास

हो,हुन्छ,नमरेसम्म मान्छेमा सास हुन्छ
सबैको आफूलाई फाइदाको आस हुन्छ 
धेरै जसो छिटो र छोटो बाटो नै रोज्छन्
लामो बाटोले शारीरिक अभ्यास हुन्छ।

कुकुरको काम

बाघको गर्जन सुनेर लुक्न दिनुस्
खानाको लागि मालिक ढुक्न दिनुस् 
जसको औकात जे हो,त्यही गर्ने हो
कुकुरको काम भुक्ने हो,भुक्न दिनुस्।

दुश्मन

मनले उसलाई सहयात्री मानिरहेको छ
तर उसले मलाई दुश्मन ठानिरहेको छ
म भने ऊ संगसंगै दौडिने प्रयत्न गर्छु
समय चाहिँ मलाई पछाडि तानिरहेको छ।

कुकुरको काम

पूच्छर हल्लाउँदै मालिकको सामू झुकिरहन्छ
मालिकले के देला र खाउँला भनी ढुकिरहन्छ
बाघको गर्जन सुनेर लत्र्याक्क परेर लुक्छन् 
यद्यपि कुकुरको काम भुक्ने हो भुकिरहन्छन्।


शव

कोपिलाहरु अनायसै रेटिन थालेका छन्
हत्याराद्धारा प्रमाण मेटिन थालेका छन्
को हुन्?कसले गरे?केही अत्तोपत्तो छैन
शीर बिनाका शवहरु भेटिन थालेका छन्।

Wednesday, 16 February 2022

भीर

स्वार्थको पापड बेल्न सक्छन्,होसियार!
खतरनाक खेल खेल्न सक्छन्,होसियार!
हुन सक्छन् घर भित्र या बाहिर दुश्मनहरु
समस्याको भीरमा ठेल्न सक्छन्,होसियार!

बोल्न छाड्छन्

रुखो बोलीमा गुलियो मह घोल्न छोड्छन्
पहिले जस्तो मनको कुरा खोल्न छोड्छन्
जल्दारहेछन् मान्छेको जात यति नराम्रोसंग
कोही कसैको उचाइ देखेर बोल्न छोड्छन्।

Tuesday, 15 February 2022

दिनुमै मज्जा

खोलिन् प्रेमको ढोका,दिनुमै मज्जा भन्थिन्
खर्चिन् पैसाको पोका,दिनुमै मज्जा भन्थिन्
भन्थिन् सधैं-"लिनु भन्दा दिनुमै मज्जा हुन्छ"
अन्तमा दिइन् धोका,दिनुमै मज्जा भन्थिन्।

Monday, 14 February 2022

दर्शन

जति चरा हुन्छ खजुरको दर्शन पाएर
भाले मजुर पोथी मजुरको दर्शन पाएर
सायद त्यो भन्दा बढ्ता खुशी हुन्छु म
बयानै गर्न नसकिने हजुरको दर्शन पाएर।

भिख

खल्लो लागिरहेको छ,दु:ख लागिरहेको छ
सुख-समृद्धि हामीबाट टाढा भागिरहेको छ
कोही गरिब,आसक्त गाना गाएर मागिरहँदा
लाग्छ सिंगो देशले नै भिख मागिरहेको छ।

Sunday, 13 February 2022

झ्याउ लागेर

लेउ लागेर हो
लेउ लागेर हो!
दिमागमा लेउ लागेर हो२
म साह्रै बिग्रेको
पिरिममा फसेको
पढ्न लेख्न झ्याउ लागेर हो
दिमागमा लेउ लागेर हो
पढ्न लेख्न झ्याउ लागेर हो। 

डाक्टर पाइलट भैसके धेरै साथीहरू 
साम्सद मन्त्री भैसके धेरै साथीहरु
अमेरिका गैसके कति साथीहरू 
बेलायतै गैसके कति साथीहरू।

पाको जागीर नखाएर हो२
म साह्रै बिग्रेको
पिरिममा फसेको
पढ्न लेख्न झ्याउ लागेर हो
दिमागमा लेउ लागेर हो
पढ्न लेख्न झ्याउ लागेर हो। 

तँ त खेरै गैसकिस् भन्छन् साथीहरू 
घरबार गरिहाल् भन्छन् साथीहरू 
बे'को भोज ख्वाइहाल् भन्छन् साथीहरू 
भन्टाङ भुन्टुङ पाइहाल् भन्छन् साथीहरू।

लखर  लखर डुलेर हो२
म साह्रै बिग्रेको
पिरिममा फसेको
पढ्न लेख्न झ्याउ लागेर हो
दिमागमा लेउ लागेर हो
पढ्न लेख्न झ्याउ लागेर हो। 



औकात

उजाडिएको रुख रहेछ,पात पनि रहेनछ
एकलकाँटे रहेछ,साथ-जमात पनि रहेनछ 
आफूलाई सागर अनि मलाई गागर भन्थ्यो
प्रेम-मामलामा थोपाको औकात पनि रहेनछ।

प्रहार

भैदियो गलत प्रचार,नहुनुपर्थ्यो त्यहाँबाट 
गरिन मैले तिरस्कार,नहुनुपर्थ्यो त्यहाँबाट 
मेरो मुटु ढुंगाको भन्ने कुरा त म स्वीकार्छु
तर हतौडाको प्रहार नहुनुपर्थ्यो त्यहाँबाट।

भाषण

शासनले देश बिगारे हजुर
आसनले देश बिगारे हजुर
काम गरे पो देश बन्थ्यो त
भाषणले देश बिगारे हजुर।

Wednesday, 9 February 2022

प्रेमको ज्वाला

सोचेको थिएँ-प्रेमले
मेरो जिन्दगीको रुखमा सिचाइ गर्नेछ
रहरका पालुवा पलाउनेछन् 
सपनाका फूलहरु फुल्नेछन्
हराभरा हुनेछ
रंगीन हुनेछ
मग-मग बसाउनेछ।

तर जब प्रेम बर्स्यो,
छलकपटको अम्लले भिजायो
पीडाको थोपाहरुले गलाए मुटुको जरा।

खुशीका पातहरु झरे
खङ्ग्रङ्ग भयो सिंगो रुख
बिस्तारै सुक्न थाल्यो
उमंगका बोक्राहरु खुइलिए।

बिस्तारै प्रेमले आगोको रुप लियो
दनदनी ज्वाला दन्किन थाल्यो
झनझन तिरस्कारको इन्धन थपियो
घृणाको हावाले झन् दन्किन मद्धत गर्यो
अन्ततः रुख खरानी बन्यो।

आज त्यही खरानीलाई मलको रुपमा प्रयोग गरी
उनले आफ्नो जिन्दगी सपार्दैछिन्।




धन

सन्तुष्टि नै ठूलो कुरा हो,मनै त हो
जति सुखी,उत्तिनै रोगी,तनै त हो
दु:ख,सुख आदि-इत्यादि अस्थायी हुन् 
आज छ,भोलि नहुन सक्छ,धनै त हो।




Tuesday, 8 February 2022

घर जलाउनु भन्दा

आफ्नै कन्चटमा हान्नु,अरुको छातीमा गोली चलाउनु भन्दा
आफैं सही बाटोमा हिंड्नु पहिले,अरुलाई तह-लाउनु भन्दा
आफू मरेर अरुलाई बचाउने पो महान कहलिन्छ यो संसारमा 
बरु घरै छोडेर हिंड्नु उत्तम हुन्छ,आफ्नै घर जलाउनु भन्दा। 


Monday, 7 February 2022

फस्ट इन टिकटक

कुराले त सगरमाथा छुन पनि सक्छन् 
अभिनयमा आँशुले आँखा धुन पनि सक्छन् 
सधैं लास्ट मात्र हुन्छन् जो पढाइमा
टिकटकमा फस्ट हुन पनि सक्छन्।

Saturday, 5 February 2022

मोटर दुर्घटना

फेदबाट पलाउन छोडी टुप्पोबाट पलाएपछि 
अहंताको आगोले संस्कारको घर जलाएपछि 
कतिखेर कहाँ पुगेर दुर्घटना हुन्छ,भन्न सकिन्न 
जिन्दगीको मोटर गलत तरिकाले चलाएपछि।



भिखारी

रोबर्ट वारि छ 
रिमोट पारी छ 
ऋण पाउँदा दङ्ग
संस्कार भिखारी छ।

Friday, 4 February 2022

राजनीति

चुनावको बखत मात्र पुग्छन् गाम,राजनीति हो
जनताको लागि गर्दैनन् कुनै काम,राजनीति हो
पद र कुर्सीको लागि जे पनि गर्न तयार हुन्छन् 
छलकपट र धोकाको अर्को नाम,राजनीति हो।

Wednesday, 2 February 2022

खुकुरी

बढिसक्यो राष्ट्रघातीको चुरीफुरी,ब्युँझेर आउनुस्
ल्याउनुछ आन्दोलनको आँधीहुरी,दौडेर आउनुस्
देश छिट्टै बेचिने-वालामा छ है देशभक्त साथीहरू!
हातमा तरवार,भाला र खुकुरी बोकेर आउनुस्।

देश बेच्ने तरखर

ऊ देशको राजधानी शहरमा छ
उसैको चर्चा पत्रिका-खबरमा छ 
गाउँ-गाउँबाट खुकुरी लिई आउनु 
सुन्नुस्!ऊ देश बेच्ने तरखरमा छ।

Tuesday, 1 February 2022

जागीर

राष्ट्रघातीको अगाडि झुकाउनुपर्ने,पाएछु कस्तो शीर मैले
दु:ख पर्दा पनि आफ्नै परिवारको लिन नपाउने पीर मैले 
इच्छा,चाहनाहरु बन्धकी राखेर जिउँदो लास भइ बाँच्नुपर्ने 
विसंगतिको विरोध गर्न नपाउने खाएछु कस्तो जागीर मैले।

Sunday, 30 January 2022

छेपारो

महंगो छैन,सस्तै छ
किनबेच प्रशस्तै छ
रंग फेरिरहन्छ यसले
माया छेपारो जस्तै छ।

Saturday, 29 January 2022

आन्दोलन

जति गर्यौ,जति लड्यौ,भन-आन्दोलन थिएन त्यो
आफ्नै लागि मरिमेट्यौ,जन-आन्दोलन थिएन त्यो

पीडा मात्र दियो,समस्याको सम्बोधन हुन सकेन
केवल दुखाइदियो सबैको मन,आन्दोलन थिएन त्यो।


याद

नबिराई नबिर्साई हर-दिन आयो  
मायालुको यति धेरै याद किन आयो?

धोका दिएँ धेरैलाई,धोका दिएँ तिमीलाई 
कोहीबाट धोका पाएँ,आज सम्झें तिमीलाई 
अतीतको सम्झनाले पीर दिन आयो 
मायालुको यति धेरै याद किन आयो?

आज तिम्रो पिरतीले दु:ख दिन्छु भन्छ 
हुँदा-हुँदा आखिरीमा ज्यानै लिन्छु भन्छ 
माया पनि ऋणै रैछ आज लिन आयो 
मायालुको यति धेरै याद किन आयो?


मोबाइल

युट्यूब हेरेर पकाउने दिन आयो कठै 
मौलिकता सकाउने दिन आयो कठै 
केही गरी बच्चाले लिटो खान नमाने 
मोबाइल दिई फकाउने दिन आयो कठै।

Friday, 28 January 2022

संयोग

धर्मपत्नी छोडी परस्त्रीलाई रोजे पितृसत्ताको रोग पनि हुनसक्छ
धेरै खाएर नअघाए शारीरिक भोक नभई भोग पनि हुनसक्छ 
उन्मादको भारी रंगीचंगी फूलहरुको चौतारीहरुमा बिसाएपछि 
कसैसँग कसैको डि.एन.ए.मिल्न गएमा संयोग पनि हुनसक्छ।

Thursday, 27 January 2022

रोड नाप्दै

बदाम खाँदै,घाम ताप्दै बस्छन् मेरा साथीहरु
नानाथरी सरकारलाई सराप्दै बस्छन् मेरा साथीहरू 
म भने घरबार चलाउन पसिना बगाइरहन्छु
मेरो कुरा काट्दै,रोड नाप्दै बस्छन् मेरा साथीहरू। 

Friday, 21 January 2022

बलेको आगो

जसको गोजी गरम् छ,उसैलाई काखी च्याप्छन् सबैले 
नदिए तर्केर जान्छन् ,दिन सके हात थाप्छन् सबैले
निभेको आगो बाल्ने कसले,झन् कुल्चेर हिंडिदिन्छन्
देखिएको तीतो सत्य हो,बलेकै आगो ताप्छन् सबैले।

Tuesday, 18 January 2022

साली देवर

नारीले विहे पश्चात् थर बदल्ने समाज यही हो
कुरीतिको विरोध गर्नेको घर जल्ने समाज यही हो
"जसको शक्ति,उसैको भक्ति" चरितार्थ छ यहाँ 
साली चल्ने,तर देवर नचल्ने समाज  यही हो।

Sunday, 9 January 2022

एकान्त

रहन मनलाग्छ चुपचाप र शान्त,मेरै लागि होला
लेखिएको यो बिचित्रको लेखान्त,मेरै लागि होला
भीड,कोलाहल र अस्तव्यस्तताबाट धेरै पर जानुछ
लाग्न थालेको छ- प्रत्येक एकान्त मेरै लागि होला।

Saturday, 8 January 2022

हार-जीत

मान्छेको जात न हो,नबुझी सार,सशंकित हुन्छ कहिलेकाही 
निराशाको मरुभूमिमा आशाको बिज अंकुरित हुन्छ कहिलेकाही 
क्षणिक परिणाम जेसुकै होस्,दूरगामी सोचले अघि बढ्नु जरुरी छ 
सहन मात्र सक्नुपर्छ,हारमा पनि जीत हुन्छ कहिलेकाही। 


Friday, 7 January 2022

भोकै

चलाएर आफ्नै पाखुरी,पेट भरिन्छ बरु
दु:ख-सुख,उकाली-ओराली गरिन्छ बरु 
स्वाभिमानले शीर ठाडो पारेरै बाँचिन्छ
हात फैलाउनु भन्दा भोकै मरिन्छ बरु।

आरोप-प्रत्यारोप

जसरी बन्दुक/तोपले कसैलाई फाइदा गर्दैन
आरोप र प्रत्यारोपले कसैलाई फाइदा गर्दैन।

सैद्धान्तिक,बैचारिक रुपमा पतन हुनु के हो?
यो प्रकोप हो,प्रकोपले कसैलाई फाइदा गर्दैन।

केलाउनुपर्छ,स्वीकार्नुपर्छ,गल्ती,कमी-कमजोरी नलुकाउनु,ढाकछोपले कसैलाई फाइदा गर्दैन ।

Wednesday, 5 January 2022

मेरो मान्छे

तिमी रुँदा म रुन नपाए नि
आफ्नो भनेर छुन नपाए नि
तिमीलाई उस्तै माया गर्नेछु
तिमी मेरो मान्छे हुन नपाए नि।

Monday, 3 January 2022

बाजको पञ्जा

आतंकवादको नङ्ग्राले डसिसक्यो
समस्याको दलदलमा फसिसक्यो
कुखुरा जत्रो छ सुन्दर हाम्रो देश
क्रूर बाजको पञ्जामा पसिसक्यो।




समृद्ध

त्यो शक्तिको मूल्य हुन्न,जुन सञ्चित मात्र हुन्छ,खपत हुँदैन 
कमाएको धन सबै खर्च गरियो भने त्यहाँ कुनै बचत हुँदैन 
एउटा सिन्को नभाँची हुंकार र गफ दिने त हजारौं छन् यहाँ 
त्यो देश कहिल्यै समृद्धशाली हुन्न,जहाँ श्रमको इज्जत हुँदैन।

टुँडिखेल

म रुँदा खुशी लाग्ने भए आँखामा भेल बनाइदिन्छु
तिम्रो खुशीको लागि मेरै खुशी थुन्ने जेल बनाइदिन्छु 
तिम्रो लागि धेरै गर्न सक्दिन,ज्यान दिन सक्दिन,तर 
नाच,उफ्र,खेल,म छातीलाई टुँडिखेल बनाइदिन्छु।

Sunday, 2 January 2022

कौडीमा

बाँच्नु भन्दा बरु बिष पिए हुन्छ
कालको मुखमा उभिए हुन्छ 
देशलाई माथि उठाउन नसके
कौडीको भाउमा बेच्दिए हुन्छ।

ढाँट्न जान्नु

छाँट्न पनि जान्नुपर्ने रहेछ
काट्न पनि जान्नुपर्ने रहेछ
आखिर त्यही कुरा नै त हो,
ढाँट्न पनि जान्नुपर्ने रहेछ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...