Thursday, 31 January 2019

पृथ्वी र चन्द्रमा

म पृथ्वी हुँ
तिमी चन्द्रमा हौ।

चाहे औंशीको पल होस्
चाहे पूर्णेको पल होस्
मेरै वरिपरि परिक्रमा गरिरहनु तिमी!

म त आफ्नै गोरेटोमा हिंडेको छु
मेरो लाख बिन्ती छ,
सूर्यको परिक्रमा गरेको नठान।

Tuesday, 29 January 2019

प्रेमको उचाइ

पश्चातापको ज्वालामा जल्छन् बिछोडको बलेसीमा रुझ्नेहरु
कोही सफल कोही विफल हुन्छन् प्रेमको लागि डटेर जुझ्नेहरु
धोका र छलकपट सम्झी दोषारोपण गर्छन् प्रेमका ती अज्ञानी
त्याग र तपस्यामा लीन हुन्छन् गहिरो प्रेमको उचाई बुझ्नेहरु।

भोज

            अचानक मेरो नजर एउटा भयावह दृश्य माथि पुग्छ।चार जना मुखौटाधारीहरुले कालो धोक्रोले शीर छोपिएको एउटी नारीलाई चारतिर बाट हातखुट्टा पक्डेर फाँसीको डोरीमा चढाउँदैछन्।ती निरीह नारी न्वारानदेखिको उर्जा खर्चेर फुत्किन खोज्दैछिन्।
उम्म!उम्म! भन्दैछिन्।लाग्छ-उनको मुख टेपले बाँधिएको छ।

           तत्कालै उनको शीर गोलाकार डोरीमा पर्छ ती नर-पिशाचहरुले।उनलाई तुर्लुङ्ग झुन्ड्याउँछन्।हात-पाउहरु निकैबेरसम्म चल्छन् लाख यत्नको बाबजुद पनि।एकैछिनमा शरीर अचल हुन्छ।

            म हायलकायल हुन्छु।चिट-चिट पसिना आउँछ।मुटुको गति तेज भएर ढुकढुकीको आवाज आफैंले सुन्छु।

            केहीबेरको इशारा र संकेत पश्चात् धारिलो हतियारले काटेर शवलाई तल झारिन्छ।हातपाउमा समाएर
घना जंगलको बाटो जान्छन्।म भयभीत हुँदै
उनीहरुको पदचापलाई पछ्याउँछु।

             निर्जन स्थानमा पुगेपछि अर्को दृश्य देखिन्छ,जहाँ केही मुखौटाधारीहरु फलामको चौकासमा दनदनी आगो बालेर व्यग्र प्रतिक्षारत छन्।

            एउटा ठूलो डेक्चीमा किसमिस,काजु र बदाम हालिएका छन्।खाउँ-खाउँ लाग्ने पुलाउ हुन्छ।

            नारीको शव देखेर प्रतिक्षारत राक्षसहरु ताली बजाउँदै नाच्छन्।

             हरे शिव!शवलाई चौकासमा राखेर
निर्वस्त्र पारिरहेका छन्,जुन दृश्य म हेर्नै सक्दिन।शीरको कालो धोक्रो पनि हटाइन्छ।म ठम्याउने कोसिस गर्छु।निकै दूर भएकोले चिन्न सक्दिन।

            सुकोमल शरीर क्रमशः कुरुप हुँदै जान्छ।फलामका भाला लिएर कोही गुप्ताङ्गहरुलाई घोच्दैछन्।कोही अट्टहास गर्दैछन्।

           मेरा आँखाहरु रसाउँछन्।मुटु फुट्नेगरी दुख्छ।हृदयघात होला झैं हुन्छ।

            मासु पाक्दै जान्छ।बोसो तप्प-तप्प चुहिन्छ।सबैको नजर त्यतै छ।लाग्छ-मुख रसाइरहेका छन्।र्याल काढिरहेका छन्।

            भटाभट नयाँ पाहुना थपिंदैछन्।भेटघाट र सत्कारमा तल्लीन छन्।लाग्छ-ठूलै भोज हुनेवाला छ।

            मासुलाई आकर्षक टुक्राहरुमा टुक्र्याइन्छ।पुलाउ र मासुलाई दुई-चार भाँडामा विभक्त गरी टेबलमाथि सजाइन्छ।

             लगभग पाहुना आइसकेका छन्।भोज खानाको लागि तम्तयार हुन्छन्।सबैले मुखुण्डा उतार्न थाल्छन्।मेरो होसहवास उड्छ।ती त सबै जान-पहिचानका छन्।उच्च पदस्थ अधिकारीहरू!प्रधानमन्त्री,मन्त्री र राजनेताहरु!सेना-प्रहरीका प्रमुखहरु!वाफ्रे!वाफ्रे!वाफ्रे!छिमेकी राष्ट्रका राष्ट्र-प्रमुखहरू!

             बफे सिस्टमको लागि सबै लाइनमा उभिएका छन्।पालै-पालो प्लेटमा खाना राखेर कुर्सीतिर जान्छन्।

              मुख मिठ्याई-मिठ्याई खाँदैछन्।कोही फेरि थपी-थपी खाँदैछन्।कोही डकारिरहेकाछन् कोही पादिरहेका छन्।

             त्यो तमासा देखेर मलाई भने बान्ता हुँदैछ।पेट निचारिन्छ।आन्द्रा बटारिन्छन्।

             भोज भव्य हुँदैछ।सोमरस धोकेर टिल्ल-टिल्ल हुँदैछन्।ठूलो साउन्ड-सिस्टम घन्किन थाल्छ।गीत-संगीतमा झुम्मिन्छन्।

            नाचगान समाप्त हुँदैछ।बिदाइको तयारी चल्दैछ।बिदेशी पाहुनाहरु हात मिलाएर बिदा हुँदैछन्।म तीखो कान बनाएर सुन्न खोज्दैछु।

"भोजको लागि धन्यवाद।"
"यो त हाम्रो धर्म नै हो नि।"
"यो भोज कहिल्यै बिर्सने छैन।"
"कस्तो लाग्यो त हजुरलाई हाम्रो भोज?"
"एकदम रमाइलो।"
"कस्तो लाग्यो त नेपाल आमाको सेकुवा?"

           म बेहोस हुन्छु।होस आउँदा आफ्नै बेडमा पाउँछु।कस्तो खतरनाक सपना!!!

Sunday, 27 January 2019

चाउरी

दाँत झरेको मात्र हो
बैश मरेको मात्र हो
बूढो भएको काँ हुनु
चाउरी परेको मात्र हो।

Friday, 25 January 2019

मिलन


कि प्रभातको मिर्मिरेको पल हुनुपर्छ
कि साँझको झिस्मिसेको पल हुनुपर्छ
कसले भन्छ दिन रातको मिलन हुन्न?
छुटेपछि कतै त मिलेको पल हुनुपर्छ।

Saturday, 19 January 2019

प्रतिक्षा

देवी-देवताको प्रतिक्षामा बस्दा
केशको रङ नै परिवर्तन हुन्छ धूलोले
आए त हातमुख जोडिन्छ
नत्र भोकै परिन्छ।

प्रतिक्षाको कार्य बहुत कठिन हुन्छ,
यौटा ट्याक्सी चालकलाई।

Friday, 18 January 2019

रोगी

टोकरी थाप्दै मागी हिंड्छ,साँच्चिकै जोगी छ
खोक्रो बनाई देशको ढुकुटी,सुविधा भोगी छ
मानसिक अस्पतालमा भर्ना गर्न पनि नमिल्ने
तर कुन्नि के कस्तो रोगले हो,सरकार रोगी छ।

गर्भवती

थाहा छैन,सज्जनहरुको जनसंख्या कति छ
दुर्जनहरुको जनसंख्या त सात अर्व जति छ
कुकुरले छाउरा-छाउरी निकालेझैं निकाल्दैछ
के कस्तो पाउने हुन्,फेरि पृथ्वी गर्भवती छ।

Sunday, 13 January 2019

एउटा जिन्दगीको प्रश्नोत्तर

ऊ किन हरायो?
विकल्पहरुको महासागरभित्र खोजे-अनगिन्ती विकल्पहरु
परन्तु भेटेनन् कुनै झिनो विकल्प।

किन सम्झेन उसले कसैलाई?
नसम्झेको हैन,धेरै सम्झ्यो
तर विवशताले सम्झनाको डोरी छोटो
बिर्सनाको डोरी लामो बनाइदियो।

विपन्न हुँदै किन गएन?
लिएर जानु थिएन उसलाई-ऋणको भारी
लिएर जानु थिएन संगै-गालीहरुको बर्षा
निमोठ्नु थिएन-आफ्नै इज्जतको मुना
छाड्नु थिएन चल्लाहरुलाई माउविहीन बनाएर
बनाउनु थिएन उनीहरुको भविष्य अन्धकार
बन्नु थियो निरीह बचेराहरुको वैशाखी
पापै पापको भारी बोकेर झर्नु थिएन ओरालो।

केही साल अघि मात्र पुनर्जीवन पाएको मान्छे,
किन जीवनको मोह जीवित रहेन?
शारीरिक रुपले त मरेतुल्य नै थियो
मानसिक रुपले मात्र जीवित थियो
कसैलाई लागेको थिएन-ऊ बाँच्छ
धामीझाँक्री र डाक्टरले निर्धारण गरेका थिए-
उसले बाँच्न सक्ने दिनहरुको परिधि र सीमा
तोकिसकेका थिए-उसको आयु
तर जिजीविषा जीवितै थियो
बाँचिरहने हुटहुटी थियो
भन्थ्यो-"म मरिहाले ऋण कसले तिर्ने?"
            "यत्तिकै मरे थुक्लान् हगि सबले?"
            "कृपया,मलाई बचाउनु।"
            "म बाँच्न चाहन्छु।"
र भाग्यवश बाँचिहाल्यो पनि।

किन जागेन सम्पन्नताको मोह?
विपन्नताको भूमरीमा बाँचेको मान्छे,
सम्पन्नता उसको सपनै थिएन,
उसको एउटै सपना थियो-ऋणमुक्त हुने
र भयो
अरु कुनै महान लक्ष्य/अभिलाषा रहेन
पश्चातापको कुनै विन्दु/बिषय भएन।

त्यसो भए किन आफैंसित हार्यो?
उसलाई आफ्नोसंग जित्ने रहर जागेन
आफ्नो प्रेमलाई दबाउन सकेन
आफ्नीलाई नीलडाम बनाउने इच्छा भएन
संगै भएर पनि आफ्नै मान्छेको साथ पाएन
अन्न भएर पनि पकाइदिने हात भएन
घाँस काटेर आउँदा पस्किदिने साथी भएन
दिनदिनै भोकहरुको अराजकता सहन सकेन
असहयोगहरुको हडताल सहन सकेन
तिर्खाहरुको ज्यादती सहन सकेन
पल-पल मरेर जिउने आशा बाँचेन
मनै मरेपछि तनको के मूल्य?अस्तित्व?

संसारबाट किन विदा भए?
विदा भएनन्,
ऊ त सबैका मनमा बाँचिनैरहे
मानसपटलको वृक्षमा झुन्डिनैरहे।

Tuesday, 8 January 2019

रवि लामिछानेलाई पत्र

आदरणीय पत्रकार रवि लामिछाने ज्यु!

             आज मनले नचाहँदा-नचाहँदै पनि तपाईंको बारेमा दुई शब्द लेख्ने धृष्टता गर्दैछु।हुन त तपाईंको व्यक्तिगत जीवनको बारेमा लेख्ने मेरो कुनै नैतिक अधिकार र हैसियत छैन।तर तपाईं अहिले तीन करोड नेपालीको लागि सेलिब्रेटी नै बन्नुभएको छ।पब्लिक फिगर भैसकेपछि तपाईंको बारेमा चासो बढ्नु अन्यथा नहोला।

            सर्वप्रथम त म तपाईंले गर्नुभएको सकारात्मक कामको बारेमा केही भन्न चाहन्छु।तपाईं आवाजविहीनहरुको आवाज बन्नुभएको छ।समाजका विकृति र विसंगतिहरुको भण्डाफोर तथा उजागर गर्नुभएको छ।भ्रष्टचारी,घुसखोरी र दलालहरुको टुप्पीबाट धुवाँ निकाल्न सक्षम हुनुभएको छ।बिदेशमा फसेका दिदीबहिनी तथा दाजुभाइहरुको उद्धारकार्यमा जुट्नुभएको छ।कतिलाई नयाँ जीवन दिनुभएको छ।समग्रमा तपाईं समाजसेवी भएर पत्रकारितामा ठूलो छलाङ मार्न सफल हुनुभएको छ।आम नेपालीहरुको मन जितेर नायक हुनुभएको छ।तपाईंले गर्नुभएको असल कार्यको लागि हृदयदेखि नै सल्यूट गर्न चाहन्छु।तपाईंले गर्नुभएको असल कार्यको मूल्यांकन गरेर तपाईंलाई अधिकांश नेपालीहरुले एउटा आदर्श पत्रकारको रुपमा चिन्दै आएका छन्।देवता जस्तै मान्दै आएका छन्।यो भन्दा खुशीको कुरा तपाईं र हाम्रो लागि के हुनसक्ला र? र त्यो सम्मान पाउनु तपाईंको हक पनि हो।ब्यक्तिगत रुपमा म पनि तपाईंको शुभकार्यको लागि सलाम गर्छु।

              हुन त म कुनै पत्रकार/लेखक हैन।तपाईंसंग मेरो कुनै ब्यक्तिगत रिसिपी र दुश्मनी छैन।तथापि तपाईंको व्यक्तिगत जीवन भित्र पसेर दुई शब्द कोर्ने अनुमति चाहन्छु।

             इतिहास केलाउँदा तपाईं शुरुवाती चरणमा रेडियोकर्मी भएर पत्रकारितामा प्रवेश गर्नुभएको रहेछ।चर्चित पनि हुनुभएको रहेछ।तर त्यतिखेर मैले भने चिनेको थिईन।त्यो कुनै ठूलो/अनौठो कुरा पनि भएन।रेडियो हुँदै टेलिभिजनमा पनि पकड जमाउनुभएको रहेछ।तर त्यसपछि आफ्नो पारिवारिक कारणले अमेरिका भासिनुभएछ।उतै सेटल हुनुभएछ।परिवार पनि उतै लानुभएछ।एक दशक पछि नेपाल फर्केर पुनः पत्रकारितालाई सुचारु गर्नुभएछ।

             नेपाल फर्के लगत्तै तपाईंले लगातार ६२ घण्टा अन्तर्वार्ता लिएर गिनिजबुकमा रेकर्ड राख्नुभएछ।आखिर केको लागि?चर्चाको लागि थिएन त्यो?गिनिजबुकमा नाम लेखाउनुपर्ने आवश्यकता के थियो र ?यदि तपाईं इमानदार र लगनशील हुनुहुन्छ भने ती सब बेकार हुन्।त्यसपछि "सीधा कुरा प्रधानमन्त्रीसंग"कार्यक्रम चलाउनुभएछ।यदि तपाईं सच्चा नेपाली हो र नेपालीको भलाइको लागि काम गर्न चाहनुहुन्थ्यो भने किन शुरुमै "सीधा कुरा जनतासंग"चलाउनु भएन?किन कि तपाईंलाई सिधै चर्चाको शिखरमा पुग्नु थियो।प्रधानमन्त्रीको गुणगान गाएर प्रशंसा र चर्चा बटुल्नु थियो।जब प्रधानमन्त्री फेरिए संगै कार्यक्रमको संचालक फेरियो,अनि बल्ल चेत आयो कि प्रधानमन्त्री हैन जनताको कार्यक्रम चलाए मात्र टिक्न सकिंदोरहेछ भनेर।

            जनताको मन जित्न "सिधा कुरा जनतासंग"चलाउनुभयो र चर्चाको शिखरमा उक्लिनुभयो।कामको मूल्यांकन गर्दा त्यो स्थान हासिल गर्नु तपाईंको हक/अधिकार पनि थियो।तर जब पासपोर्ट काण्डमा मुछिनुभयो,तब तपाईं जस्तो मार्ग निर्देशक स्वयंले मार्ग भुल्नुभयो।त्यो मामिलामा तपाईं चुक्नुभयो।कसरी भन्नुहोला।कुनै पनि कार्यक्रम चलाउँदा त्यहाँ तपाईं आफ्नो व्यक्तिगत प्रसंगलाई जोड्न पाउनुहुन्न,आफ्नो परिचय शिवाय।तर तपाईंले त आफ्नो दशबर्से कथालाई कार्यक्रमको शुरूवातमै उठान गर्नुभयो।त्यहाँ तपाईं जनताको आवाज लिएर जानुभएको थियो/हो।किन आफ्नो निजी आवाज ओकल्नुभयो?कसैको जीवनी सुन्ने रहर जोकोहीलाई नहोला।मलाई पनि छैन।त्यही दिनदेखि म तपाईंको फ्यान रहिन र तपाईंको कार्यक्रम हेर्न छोडिदिएँ।तर त्यसो भन्दैमा तपाईंलाई पूर्णरूपमा गलत भन्दिन।राम्रो काम गर्दै हुनुहुन्थ्यो।मेरो पनि नैतिक समर्थन छँदैथियो,अरुको जस्तै।तपाईंको सफलता,चर्चा र लोकप्रियताबाट जलेको थिईन/हैन।

             नेपाली नागरिकता परित्याग गरेर अमेरिकी ग्रीनकार्ड पाउनुभएको रहेछ।विना कानूनी प्रक्रिया कार्यक्रम चलाउनुभएको रहेछ।तपाईं नेपाली हुनुहुन्थ्यो र हुनुहुन्छ।त्यसमा दुईमत थिएन/छैन।तर कानूनको खिल्ली पनि त उडाउनुभएन नि।कानून सिकाउनेले नै कानूनको पालन नगरे कसले गर्ने?तर त्यसो भन्दैमा ठूलै गल्ती गरेको म मान्दिन।तर सानो भएपनि गल्ती नै हो।स-सानो गल्तीले नै ठूलो रुप लिने हो।शुरुदेखि नै सजगता र संयमता अपनाए आफैंलाई सहज हुने कुरा हो।त्यो कुरा तपाईं जस्तो वरिष्ठ व्यक्तित्वलाई सिकाइरहनुपर्दैन।तर त्यो मामिलामा पनि तपाईं जस्तो मान्छे चुक्नुभयो।तर नेपाल र नेपालीकै हकहितमा काम गर्नुभएकोले नेपालीको सपोर्ट पाउनुभयो।त्यो स्वभाविक थियो।तर तपाईंको खुट्टा तान्नेहरुको लागि एउटा ठाउँ त दिनुभयो नि।

            यदि तपाईंको नियत शुद्ध थियो भने कि त अनुमति लिएर काम गर्नुपर्थ्यो कि त ग्रीनकार्ड परित्यागको लागि पहल गरिसक्नुपर्थ्यो।तर त्यसो गर्नुभएन।कानूनी र कागजीरुपमा त तपाईं नेपाली नभएर अमेरिकी हुनुहुन्थ्यो नि!दोहोरो परिचय बनाएर बस्न त भएन नि।नेपालमा असफलता हात लागे पुनः अमेरिका पलायन हुने सम्भावनालाई ज्युँदै राखिएकै कारण विरोध खेप्नुपरेको थियो।व्यस्त सडकमा गाडी रोकेर जेब्रा क्रसिङ नभएको ठाउँबाट पैदलले सडक पार गर्ने मन्त्री वामदेव गौतम र तपाईंमा के नै अन्तर देखियो र?

             विरोधीहरुले विरोध गरिसकेपछि बल्ल ग्रीनकार्ड त्यागेर नेपाली नागरिकता/पासपोर्ट लिनुभयो।यो त लज्जास्पद भयो नि।सही मार्गमा ल्याउन विरोध नै किन आवश्यक?नेपाली पासपोर्ट लिएर समाजिक सञ्जालमा देखाइरहनुको के औचित्य?यदि तपाईंले कानूनी उपचार गरिसक्नुभयो भने अरुलाई देखाइरहनुपर्ने आवश्यकता थिएन।कागजले मात्र नेपाली हुने हो र?यदि मनैदेखि नेपालीपन भए।फेरि प्रश्न गर्न सक्नुहुन्छ-त्यसो भए किन नेपाली नागरिकता/पासपोर्ट खोजियो?उत्तर सहजै छ-कानूनी औपचारिकता वा प्रक्रियाको लागि।तपाईंले जस्तै सबैले कानून मिच्दै जाने हो भने हालत के होला?

           अझ तपाईंले त अमेरिकी पासपोर्टको बारेमा समाचार बनाउने पत्रकार दिल निशानी मगरको नाम पनि "सिधा कुरा जनतासंग" कार्यक्रममा लिनुभयो।ऊ पनि एउटा पत्रकार हो र उसले आफ्नो काम गरेको थियो होला।तपाईं आफ्नै काममा दत्तचित्त नभएर किन अरुको बारेमा बोलिरहनुपर्यो?के आवश्यक थियोे उसको नाम लिन?यसो भन्दैमा तपाइँका समर्थक/शुभचिन्तकले मलाई दिल निशानी मगरको पक्षधर ठान्न सक्छन्।म कदापि हैन।

            अर्को कुरा।तपाईं जस्तो पत्रकार किन भूतकाण्डमा फस्नुभयो?पत्रकारिता अरु कसैले सिकाउनुपर्ने त हैन नि तपाईंलाई?पहिले सत्य-तथ्य कुरा अध्ययन/अनुसन्धान गरेर बल्ल कार्यक्रममा प्रस्तुत गर्नुभएको भए अझ तपाईंको परिपक्वता झल्किन्थ्यो।कसैले बारम्बार फोन गरेर समस्यामा छु भन्दैमा पत्याएर हाल्फाल्नु त भएन नि।एकाइसौं शताब्दीमा आएर भूतको अस्तित्वलाई विश्वास गरेर त्यो काण्डमा हात हाल्नुभयो।हात त हाल्नुभयो-त्यो ठिकै होला।तर भूत हुनेरहेछ भन्ने पाराले आफू पनि लागिपर्नुभो र जनताको सेन्टिमेन्टमाथि पनि खेल्नुभयो।सामान्य मान्छेले पनि अनुमान गर्न सकिने यथार्थतालाई तपाईंले चिन्तन/मनन गर्न सक्नुभएन।तपाईं अभिनेता नभएर पत्रकार हुनुहुन्छ।त्यो कुरा चटक्कै बिर्सिनुभयो।अभिनय गरेर मन जित्ने त सौगात मल्ल,दयाहाङ राई,पल शाह,अनमोल आदि इत्यादि पनि छन् नि।तर तपाईं त रियल हिरो भैसक्नुभएको मान्छे झिनो मसिनो काण्डमा त फसिरहनुभएन नि।त्यो भूतघरमा गएर प्रत्यक्षप्रसारण गर्नुभएको भए कुरो अर्कै हुन्थ्यो।तर तपाईंले त त्यहाँको अनेक दृश्य खिचेर स्टुडियोमा लगेर बल्ल प्रसारण गर्नुभयो।ती दृश्यहरु हेर्दा यस्तो लाग्थ्यो-मानौं त्यो घरमा साँच्चिकै भूतले तहल्का मच्चाएको रहेछ।जनतालाई  भ्रममा राख्न त भएन नी महोदय।अन्तमा वास्तविकता अर्कै भैदिंदा तपाईं आफैं जिल्ल पर्नुभयो।

           रविज्यु!हालसालै फेरि आफ्नै श्रीमतीसंगको डिभोर्सको विवादमा मुछिनुभएको छ।अहिलेको यो डिजिटल युगमा पनि तपाईं निकै कच्चा देखिनुभयो।फेक आइडी बनाएर चेलीबेटीलाई ठगेका,ब्लाकमेलिङ गरेका कति जनालाई झपार्नुभयो,कठघरामा उभ्याउनुभयो र समस्याको समाधान पनि गरिदिनुभयो।त्यस्ता सह्रानीय कार्यको लागि म पुनः सलाम गर्छु।तर तपाईंको पूर्व श्रीमती इशा लामिछानेजीले बाहिर ल्याएको भनिएको कुरामा कसरी विश्वास गर्नुभयो?त्यो च्याटमा कुरा गर्ने इशाजी नै हुन् भनेर कसरी यकिनका साथ भन्न सक्नुहुन्छ?तपाइँका विपक्षी पत्रकारहरुले नक्कली फेसबुक आइडी बनाएर तपाईंको गल्ती/कमी/कमजोरीलाई बाहिर ल्याएका होलान् भनेर अलिकति पनि सोच्नुभयो?यसको बारेमा सत्य-तथ्य कुरा बुझ्न इशाजीलाई फोन गरेर बुझ्ने कोशिस गर्नुभयो?पक्कै पनि भएन होला।त्यो आइडी सक्कली/नक्कली के थियो,त्यसको बारेमा त म पनि अनभिज्ञ नै छु।तर यति भन्छु कि-जे पनि हुनसक्छ।म जस्तो सामान्य मान्छेको दिमागमा यस्तो आइडिया फुर्छ भने तपाईं किन चुक्नुभयो?अन्ततः तपाईंले आफ्नो असली रुप देखाएरै छाड्नुभयो हैन?इशाजी र उहाँको ब्याइफ्रेन्डको वार्तालापलाई आफ्नो फेसबुकमा सार्वजनिक गर्नुभयो हैन?तपाईंको वाल चेक गर्दा त मैले देखिन।तर अरु फेसबुक मित्रहरुले सार्वजनिक गरेका छन्।कि तपाईंको पनि अरु कसैले फेक आइडी बनाएर सार्वजनिक गरे?खास कुरा म जान्दिन।यदि तपाईंले नै गर्नुभएको हो भने तपाईंको यो घिनलाग्दो हर्कतलाई म घोर निन्दा गर्छु।आपत्ति जनाउन चाहन्छु।यसो भन्दैमा इशाजीको समर्थनमा बोलेको हैन।उहाँको पनि गल्तीहरु होलान्।तर उहाँको बारेमा लेख्ने मेरो नैतिक अधिकार छैन।तपाईं आफैंले भन्नुभयो-
"कानूनीरुपमा पारपाचुके भएपछि च्याप्टर नै बन्द।"
हुन पनि हो।तर अध्याय नै खत्तम भएको कहानीलाई फेरि कोट्याउने तपाइँको पनि कुनै नैतिक अधिकार छैन।तपाईं र इशाजीको बीचमा अब कुनै सम्बन्ध बाँकी रहेन।अरु चेलीबेटी/दिदीबहिनी जस्तै उनी पनि एउटी नारी पात्र मात्र हुन्।अझ तपाईंको धर्म र सिद्धान्त त अप्ठ्यारोमा परेको जोकोहीलाई पनि उद्धार गर्ने हो।न कि अप्ठ्यारोमा पार्ने?तर तपाईंले त उल्टै कुनै सम्बन्ध नभएको इशाजीको च्याटलाई बाहिर ल्याएर बेइज्जत गर्नुभयो।उहाँलाई पनि अरु जस्तै नारीको रुपमा लिन नसक्नु तपाईंको गम्भीर भूल हो।अब कसरी विश्वास गर्ने तपाईंलाई?द्रोपदीको इज्जत हरण गर्ने कौरव र रवि लामिछानेमा के अन्तर रह्यो?भन्नुस् त?बरु रावणले सीतालाई हरण गरेपनि इज्जत लुटेको थिएन।मान-प्रतिष्ठा भएको व्यक्तिले अर्काको इज्जत उतार्दैनन्।कमसेकम सार्वजनिक पदमा बसेको व्यक्तित्व र नैतिकताले त्यसो गर्न दिंदैन।किन आफ्नो स्थानलाई चिन्नुभएन?किन आफूलाई चिन्नुभएन?सवाल तेर्सिएको छ तपाईंको सामू।अचम्म लागेको छ।हिरो मान्छे कसरी एकाएक भिलेन भएर निस्किनुभयो?

            आफ्नो अतीतको बारेमा कुनै पत्रकारले पब्लिस गर्ने थाहा पाएर अरुले पर्दाफास गर्नुपूर्व स्वयंले गर्नुभयो।अमेरिकामा आफ्नी श्रीमतीबाट मनको दूरी बढेपछि बिदेशी प्रेमिकासंग बस्न थाल्नुभएछ।त्यो प्रति मेरो कुनै आपत्ति छैन।किन भने तपाईं त्यतिबेला नेपाली नभई अमेरिकी हुनुहुन्थ्यो।त्यहाँ श्रीमतीसंग डिभोर्स नगरीकन प्रेमिका राखेर बच्चा जन्माउन सकिने प्रावधान होला।म त्यतातिर जान्न।तर अहिले त तपाईं बिदेशी पासपोर्ट र ग्रीनकार्ड त्यागेर शुद्ध नेपाली हुनुभएको छ नि!एउटा सच्चा नेपालीको मनले सोच्दा कतै अलिकति आत्मग्लानी भएन कि "मैले केही गल्ती गरें"? पक्कै लागेन।तपाईंको भनाइको आशय जोकोहीले सजिलै बुझ्न सक्छन्।तपाइँको बोल्ने शैलीले प्रष्ट्याएको छ।"मैले जे गरें,सही गरें।कसले के गर्न सक्छ?"भन्ने खालको अभिमानपूर्ण शैलीमा खरो बोल्नुभएको छ।
"उनको बिचारमा मैले गरेको गल्ती र मेरो बिचारमा उनले गरेको गल्ती"भन्नुभएको छ।यसको मतलव के?कुरालाई यसरी घुमाउन एउटा पत्रकारले सक्लान् तर एउटा श्रीमान/पुरुष भएर कहिल्यै सोच्नुभयो?
"मैले गरेको गल्ती" भनेर किन भन्न सक्नुभएन?
"गल्ती भएको होला"
यसको मतलव के हो?आफूलाई यकिन हुँदैन र गल्ती भए नभएको?होलान्"भनेर टार्न पाइन्छ?गल्ती भयो भनेर किन भन्न सक्नुभएन?गल्ती तपाईंको मात्र छैन र इशाजीको मात्र पनि छैन होला।कुनै सम्बन्ध सप्रनु/बिग्रनुमा दुवै उत्तिकै जिम्मेवार हुन्छन्।तपाईंको भनाइमा प्रशस्त दम्भ र अहंकार मिसिएको छर्लङ्ग हुन्छ।एउटा इमानदार पत्रकारको यो रुप बुझिसक्नु छैन।फलामको दुश्मन खिया भए झैं मान्छेको दुश्मन अहंकार हो।यस्तो अहंकार पाल्नुभयो भने तपाईंको पतन क्रमशः हुँदै जानेछ।जो तपाईंका शुभचिन्तक चाहँदैनन्।म पनि चाहन्न।

           अनि एउटा कुरा-अनलाइनबाट प्रकाशित समाचार अनुसार तपाईंले राख्नुभएको स्ट्याटस देखेपछि बल्ल इशाजी मिडियामा आउनुभएको रहेछ।समाचारमा भनिए अनुसार त उहाँले तपाईंको बारेमा खासै नराम्रो भन्नुभएको रहेनछ।तपाईंकै प्रगति चाहनुभएछ।तर तपाइँले के गर्नुभयो?इशाजी र उनको ब्वाइफ्रेन्डको वार्तालाप भनेर सार्वजनिक गर्नुभयो।यस्तो काम पनि एउटा सच्चा पत्रकारले गर्न सक्छ?एकछिन पनि,अलिकति पनि सोच्नुभएन कुनैबेला उनी आफ्नी प्रेमिका थिइन् भनेर?"आफ्नी श्रीमती थिइन् भनेर?मलाई अझै पनि विश्वास भैरहेको छैन-त्यो काम तपाईंले गर्नुभयो भनेर।वालमा त देखिन।सायद हटाइसक्नुभएको होला।हटाउने नै भए किन सोचेर राख्नुभएन?फेरि पनि म ब्यक्तिगत रुपमा भन्न चाहन्छु-यदि यस्तो काम तपाईं बाटै भएको हो भने राम्रो गर्नुभएन।म तपाईंको शुभचिन्तककै नाताले भन्दैछु।राम जस्तो मान्छे रावण जस्तो हुनुभएन।कौरव जस्तो हुनुभएन।

           अन्तमा,
तपाईं जस्तो होनहार तथा जुझारु पत्रकार नेपाल र नेपालीलाई अत्यावश्यक छ।यस्ता झिनामसिना काण्डमा नफसेर आफ्नो काममा लागिपर्नुस्।चर्चाको पछि नदौड्नुस्।व्यक्तिगत कुरालाई राख्नुनैछ भने आफ्नो फेसबुक वालमा राख्नुस्।लाइभमा आएर भन्नुस्।तर टेलिभिजन शो मा आफ्नो व्यक्तिगत कुरा कदापि नराख्नुस्।धेरैको साथ र समर्थन छ भन्दैमा नफुर्किनुस्,नमात्तिनुस्।"मैले जे भनेपनि/ जे गरेपनि सही हो/हुन्छ भन्ने भ्रमबाट बाहिर निस्किनुस्।सरकारले दुई तिहाइको अंकगणितीय दम्भ बोकेर मनोमानी गरे जस्तै जनमतको खिल्ली नउडाउनुस्।नेपालीको साथ हमेसा तपाईंलाई छ,हुनेछ।धन्यवाद!!!
                            तपाईंको शुभचिन्तक
                            माङ संग्राम

       

          

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...