Wednesday, 2 January 2019

थ्रेटनिङ

           मध्यरातको समय।आकाशबाट ताराका टुक्राहरु खस्दैछन्।रात पनि दिन जत्तिकै जाज्वल्यमान देखिन्छ।पृथ्वीमा तापक्रम बढेर बसिसक्नु हुँदैन।ताराका टुक्राहरु समुद्रमा खस्दा पानी बाफ बनेर हावासंगै बहेको कारण तापमान उच्च भएको ठहर।

          एक्कासी आकाशवाणी सुनिन्छ।
"ए पापीहरु!म सृष्टिकर्ता हुँ।पापको पराकाष्ठा नाघेकोले आज बाध्य भएर अन्तिम अस्त्र प्रयोग गर्दैछु।ज्यान जोगाउनुछ भने बस्ती छोडेर भाग!तर कहाँसम्म भाग्न सक्छौ?क्रमशः घना बस्तीहरु ध्वस्त पार्दैछु।"

           धर्तीमा त्रासदीले हाहाकार मच्चिन्छ।कोलाहल र क्रन्दनले कानको जाली फुटाउन खोज्दैछ।पुनः धम्कीको भाषा गुञ्जिन्छ।
"म तारा काटेर टुक्राटुक्रा पारेर फाल्दैछु।तिमीहरुले त दूरबाट ताराहरुको सुन्दरता र शित्तलता मात्र अनुभूत गरेका छौ।अब उग्र रुप पनि महसुस गर।"

           हिन्द महासागरमा  ताराको एउटा ठूलो टुक्रा खस्छ।पानीले आगोको रुप धारण गरेर क्षितिजतिर छचल्किन्छ।हावा जलेको गन्धले नाक आजित हुन्छ।पुनः ध्वनि गुञ्जिन्छ।
"यो त सूक्ष्म दृष्टान्त मात्र हो।मेरो सामर्थ्यको आँकलन तिमीहरुले गरेकै छैनौ।"
नेपथ्यबाट मसिना स्वरहरुको आर्तनाद सुनिन थाल्छन्।
"हे भगवान!हामीबाट गल्ती भयो।क्षमा गर्नुहोस्।आईन्दा हामीबाट कुनै कुकर्म हुनेछैन।विश्वास गर्नुहोस्।"

"कसरी विश्वास गरुँ तिमीहरुलाई?तिमीहरुको आचरण मलाई थाहा छैन?बोल्छौ एक,गर्छौ अर्को।अत:, पुरानो संरचना ध्वस्त पारेर नवीन निर्माण गर्न चाहन्छु।तिमीहरुले गर्दा निर्दोष जीव-जन्तुहरुको पनि अकालमै ज्यान जाने भयो।धिक्कार छ पापका पोकाहरुलाई!"

यति भनेर सृष्टिकर्ताले सूर्य काटेर एउटा टुक्रा प्रशान्त महासागरमा फाल्छ।आगोको लप्का आकाशमा उड्न थाल्छ।वरिपरिका मनुवाहरु भयभीत भएर भागदौड गर्छन्।सिंगो पृथ्वीमै आगो लागेको भान भैरहेकोछ।चिसा मुटुहरु समेत अन्तरबाटै भकभक उम्लिन्छन्।पंक्तिकार पनि चिच्याउन खोज्छ तर अवाक हुन्छ।सबै विह्वल भई याचना गर्छन्।

"हे भगवान!हामीलाई अन्तिम यौटा मौका दिनुस्।हामी तपाईंले तोकिदिएकै नियमानुसार चल्छौं।"
"पक्का?"
"पक्का।"
"नियम तोड्यौ भने?"
"जे सजाय दिनुहुन्छ,दिनुस्।भोग्न तयार छौं।"
"लौ गरिदिएँ माफ।"

         माथिबाट यस्तो वचन आउने बित्तिकै खसेका सूर्य र ताराका टुक्राहरु माथितिरै उड्न थाल्छन्।पृथ्वी शित्तल हुँदैछ।नभन्दै ती टुक्राहरु पूर्वस्थानमै गएर जोडिन्छन्।मनुवाहरु खुशीयाली मनाउन थाल्छन्।पुनर्जीवन पाएको उपलक्ष्यमा ठाउँ-ठाउँमा भोजको आयोजना हुँदैछ।नाचगानमा सरिक हुन्छन्।सुराले उन्मत्त भएर अट्टहास गर्न थाल्छन्।

नेपथ्यबाट आवाज आउँछ।
"वाह यार,क्या च्वाँक केटी!यसलाई ठीक पार्नुपर्छ केटा हो!"

       

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...