ओई गामो!
विदामा घर आएको मित्रलाई
अक्षरहरुको कोशेली पठाइदेऊ।
अतीतका पानाहरुभित्र कोचिएका
इतिहासहरुको गुन्द्रुक पठाइदेऊ।
भविष्यको खुराक
वर्तमानको तेलमा खारिएको
काव्यको सुकुटी पठाइदेऊ
हरबखत मनको दाँतले कुटु-कुटु चपाउन सकुँ।
भ्रष्टहरुको टुप्पीबाट धुवाँ निकाल्न सक्षम
पीरो डल्ले खुर्सानी जस्ता,
मुक्तकहरुको संग्रह पठाइदेऊ।
होई नाना!
तीनपाने चाहिएन बरु
तीन-पुस्तक पठाइदेऊ
जो पढेर झनन दिमागमा लागोस्।
ओ आजी!
सबै परिकार यस्तै पाईन्छन् अचेल
नपाइने भनेको ज्ञानको सातु हो
बरु त्यही पठाइदेऊ
भोको मस्तिष्कलाई सन्ध्या-प्रभातमा
चाहनाको चियामा एक-एक मुठी भिजाएर
खुवाइदिउँला।
ओई दल्जा!
अस्ति मेरो मित्र छुट्टी काटेर आउँदा
ल्याएको सबै कोशेली दराजमा लुकाइ-लुकाइ
महिनौंसम्म एक्लै-एक्लै खायो
त्यस्तो कप्टी बनाउने कोशेली भन्दा
बाँडेर खान सिकाउने
सिर्जनाको मीठो कोशेली पठाइदेऊ।
No comments:
Post a Comment