ऊ किन हरायो?
विकल्पहरुको महासागरभित्र खोजे-अनगिन्ती विकल्पहरु
परन्तु भेटेनन् कुनै झिनो विकल्प।
किन सम्झेन उसले कसैलाई?
नसम्झेको हैन,धेरै सम्झ्यो
तर विवशताले सम्झनाको डोरी छोटो
बिर्सनाको डोरी लामो बनाइदियो।
विपन्न हुँदै किन गएन?
लिएर जानु थिएन उसलाई-ऋणको भारी
लिएर जानु थिएन संगै-गालीहरुको बर्षा
निमोठ्नु थिएन-आफ्नै इज्जतको मुना
छाड्नु थिएन चल्लाहरुलाई माउविहीन बनाएर
बनाउनु थिएन उनीहरुको भविष्य अन्धकार
बन्नु थियो निरीह बचेराहरुको वैशाखी
पापै पापको भारी बोकेर झर्नु थिएन ओरालो।
केही साल अघि मात्र पुनर्जीवन पाएको मान्छे,
किन जीवनको मोह जीवित रहेन?
शारीरिक रुपले त मरेतुल्य नै थियो
मानसिक रुपले मात्र जीवित थियो
कसैलाई लागेको थिएन-ऊ बाँच्छ
धामीझाँक्री र डाक्टरले निर्धारण गरेका थिए-
उसले बाँच्न सक्ने दिनहरुको परिधि र सीमा
तोकिसकेका थिए-उसको आयु
तर जिजीविषा जीवितै थियो
बाँचिरहने हुटहुटी थियो
भन्थ्यो-"म मरिहाले ऋण कसले तिर्ने?"
"यत्तिकै मरे थुक्लान् हगि सबले?"
"कृपया,मलाई बचाउनु।"
"म बाँच्न चाहन्छु।"
र भाग्यवश बाँचिहाल्यो पनि।
किन जागेन सम्पन्नताको मोह?
विपन्नताको भूमरीमा बाँचेको मान्छे,
सम्पन्नता उसको सपनै थिएन,
उसको एउटै सपना थियो-ऋणमुक्त हुने
र भयो
अरु कुनै महान लक्ष्य/अभिलाषा रहेन
पश्चातापको कुनै विन्दु/बिषय भएन।
त्यसो भए किन आफैंसित हार्यो?
उसलाई आफ्नोसंग जित्ने रहर जागेन
आफ्नो प्रेमलाई दबाउन सकेन
आफ्नीलाई नीलडाम बनाउने इच्छा भएन
संगै भएर पनि आफ्नै मान्छेको साथ पाएन
अन्न भएर पनि पकाइदिने हात भएन
घाँस काटेर आउँदा पस्किदिने साथी भएन
दिनदिनै भोकहरुको अराजकता सहन सकेन
असहयोगहरुको हडताल सहन सकेन
तिर्खाहरुको ज्यादती सहन सकेन
पल-पल मरेर जिउने आशा बाँचेन
मनै मरेपछि तनको के मूल्य?अस्तित्व?
संसारबाट किन विदा भए?
विदा भएनन्,
ऊ त सबैका मनमा बाँचिनैरहे
मानसपटलको वृक्षमा झुन्डिनैरहे।
No comments:
Post a Comment