Tuesday, 29 January 2019

भोज

            अचानक मेरो नजर एउटा भयावह दृश्य माथि पुग्छ।चार जना मुखौटाधारीहरुले कालो धोक्रोले शीर छोपिएको एउटी नारीलाई चारतिर बाट हातखुट्टा पक्डेर फाँसीको डोरीमा चढाउँदैछन्।ती निरीह नारी न्वारानदेखिको उर्जा खर्चेर फुत्किन खोज्दैछिन्।
उम्म!उम्म! भन्दैछिन्।लाग्छ-उनको मुख टेपले बाँधिएको छ।

           तत्कालै उनको शीर गोलाकार डोरीमा पर्छ ती नर-पिशाचहरुले।उनलाई तुर्लुङ्ग झुन्ड्याउँछन्।हात-पाउहरु निकैबेरसम्म चल्छन् लाख यत्नको बाबजुद पनि।एकैछिनमा शरीर अचल हुन्छ।

            म हायलकायल हुन्छु।चिट-चिट पसिना आउँछ।मुटुको गति तेज भएर ढुकढुकीको आवाज आफैंले सुन्छु।

            केहीबेरको इशारा र संकेत पश्चात् धारिलो हतियारले काटेर शवलाई तल झारिन्छ।हातपाउमा समाएर
घना जंगलको बाटो जान्छन्।म भयभीत हुँदै
उनीहरुको पदचापलाई पछ्याउँछु।

             निर्जन स्थानमा पुगेपछि अर्को दृश्य देखिन्छ,जहाँ केही मुखौटाधारीहरु फलामको चौकासमा दनदनी आगो बालेर व्यग्र प्रतिक्षारत छन्।

            एउटा ठूलो डेक्चीमा किसमिस,काजु र बदाम हालिएका छन्।खाउँ-खाउँ लाग्ने पुलाउ हुन्छ।

            नारीको शव देखेर प्रतिक्षारत राक्षसहरु ताली बजाउँदै नाच्छन्।

             हरे शिव!शवलाई चौकासमा राखेर
निर्वस्त्र पारिरहेका छन्,जुन दृश्य म हेर्नै सक्दिन।शीरको कालो धोक्रो पनि हटाइन्छ।म ठम्याउने कोसिस गर्छु।निकै दूर भएकोले चिन्न सक्दिन।

            सुकोमल शरीर क्रमशः कुरुप हुँदै जान्छ।फलामका भाला लिएर कोही गुप्ताङ्गहरुलाई घोच्दैछन्।कोही अट्टहास गर्दैछन्।

           मेरा आँखाहरु रसाउँछन्।मुटु फुट्नेगरी दुख्छ।हृदयघात होला झैं हुन्छ।

            मासु पाक्दै जान्छ।बोसो तप्प-तप्प चुहिन्छ।सबैको नजर त्यतै छ।लाग्छ-मुख रसाइरहेका छन्।र्याल काढिरहेका छन्।

            भटाभट नयाँ पाहुना थपिंदैछन्।भेटघाट र सत्कारमा तल्लीन छन्।लाग्छ-ठूलै भोज हुनेवाला छ।

            मासुलाई आकर्षक टुक्राहरुमा टुक्र्याइन्छ।पुलाउ र मासुलाई दुई-चार भाँडामा विभक्त गरी टेबलमाथि सजाइन्छ।

             लगभग पाहुना आइसकेका छन्।भोज खानाको लागि तम्तयार हुन्छन्।सबैले मुखुण्डा उतार्न थाल्छन्।मेरो होसहवास उड्छ।ती त सबै जान-पहिचानका छन्।उच्च पदस्थ अधिकारीहरू!प्रधानमन्त्री,मन्त्री र राजनेताहरु!सेना-प्रहरीका प्रमुखहरु!वाफ्रे!वाफ्रे!वाफ्रे!छिमेकी राष्ट्रका राष्ट्र-प्रमुखहरू!

             बफे सिस्टमको लागि सबै लाइनमा उभिएका छन्।पालै-पालो प्लेटमा खाना राखेर कुर्सीतिर जान्छन्।

              मुख मिठ्याई-मिठ्याई खाँदैछन्।कोही फेरि थपी-थपी खाँदैछन्।कोही डकारिरहेकाछन् कोही पादिरहेका छन्।

             त्यो तमासा देखेर मलाई भने बान्ता हुँदैछ।पेट निचारिन्छ।आन्द्रा बटारिन्छन्।

             भोज भव्य हुँदैछ।सोमरस धोकेर टिल्ल-टिल्ल हुँदैछन्।ठूलो साउन्ड-सिस्टम घन्किन थाल्छ।गीत-संगीतमा झुम्मिन्छन्।

            नाचगान समाप्त हुँदैछ।बिदाइको तयारी चल्दैछ।बिदेशी पाहुनाहरु हात मिलाएर बिदा हुँदैछन्।म तीखो कान बनाएर सुन्न खोज्दैछु।

"भोजको लागि धन्यवाद।"
"यो त हाम्रो धर्म नै हो नि।"
"यो भोज कहिल्यै बिर्सने छैन।"
"कस्तो लाग्यो त हजुरलाई हाम्रो भोज?"
"एकदम रमाइलो।"
"कस्तो लाग्यो त नेपाल आमाको सेकुवा?"

           म बेहोस हुन्छु।होस आउँदा आफ्नै बेडमा पाउँछु।कस्तो खतरनाक सपना!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...