आजको मौसम खराब छ।
नयनको क्षितिजमा
मडारिरहेछ-स्मृतिको श्याम मेघ
गड्याङगुडुङ गर्जिरहेछ-बिछोडको चट्याङ
चम्किरहेछ मुटुमा बज्रपातको बिजुली
गहको गगनबाट बर्सिरहेछ-वेदनाको बर्षा।
आजको मौसम खराब छ।
चलिरहेछ आँधीबेहरी
जसरी तिमी चलेका थियौ मेरो जिन्दगीमा
उडाइरहेछ धुला र पात-पतिङ्गर
पछारिरहेछ भुइँ,भित्ता र पहरामा
जसरी तिमीले पछारेका थियौ मेरो मनलाई-
तिरस्कारको पटाङ्गिनीमा।
आजको मौसम खराब छ।
मेरै छेउमा बटारिरहेछ भूमरी
पुनः याद दिलायो त्यो क्षण
जब परेको थिएँ म तिम्रो प्रेमको भूमरीमा
र कठपुतली भएर नाचेको थिएँ तिम्रै इशारामा।
आजको मौसम खराब छ।
क्रूरता प्रदर्शन गर्दै हुन्डरीले
उडाइरहेछ घरको छानो
फुटाइरहेछ झ्यालका शिशाहरु
झारिरहेछ वाटिकाका फलहरु
लडाइरहेछ जीर्ण बृद्ध वृक्षहरु
भाँचिरहेछ कमजोर हाँगाहरु।
तिमीले पनि त मेरा जीवनका अवयवहरु
उसैगरी भताभुङ्ग पारेर गएका थियौ।
No comments:
Post a Comment