Tuesday, 5 February 2019

पहिचान(परिस्कृत)

           संसारको सबैभन्दा धनी,विकसित,सुविधासम्पन्न र वैभवशाली देश कुन हो भनेर प्रश्न गरे जोकोहीको मुखबाट सजिलै उत्तर आउँछ-अमेरिका।सायद बयान गरिरहनु नपर्ला।जति बयान गर्दा पनि कम नै होला।म जस्तो मान्छेले बयानै गरेपनि अमेरिका र यहाँको बिषयबस्तुमाथि उचित न्याय गर्न नसकिएला।बयान नगरी पनि त्यसै बस्न मान्दैन यो मन।कारण-यो देशले मलाई रोजीरोटी दिएको छ।बाँच्ने आधार दिएको छ।हिम्मत बढाएको छ।सबैभन्दा ठूलो कुरा मलाई मेरो पहिचान दिएको छ।पहिचान गुमाएको मान्छेको हालत कस्तो हुन्छ?सबैले अनुभूत गर्न र सोच्न सक्ने कुरा हो।पहिचान बिनाको मान्छे वास्तवमा मान्छे नै नहुँदोरहेछ।बरु पशु भएर जिउन सजिलो होला,पहिचान बिना जिउन गाह्रो हुँदोरहेछ।अझ भन्नुपर्दा बाँच्न नसकिंदोरहेछ।बिक्रान्त राई मेरो परिचय मात्र हो,पहिचान हैन।पहिचानको मर्म हल्का र सतहमा नभई धेरै गह्रौं र गहिराइमा हुन्छ।यसलाई अर्थ्याउन एक मिनेटको समय काफी छैन।एक दिन पनि काफी छैन।मेरो परिचय र पहिचान अमेरिकासंग जोडिएको छ।म यहींको बासिन्दा हुँ।यहाँकै ग्रीनकार्ड छ मेरो गोजीमा।जीवनशैली पनि उच्चस्तरीय र हाइफाइ नै छ।मसंग इज्जतदार काम पनि छ।उसो त जुनसुकै काम मेरो लागि इज्जतकै लाग्छ।कारण-श्रमको इज्जत गर्न जानेको छु।श्रम गर्न जानेको छु।श्रम त के बाँच्नको लागि लड्दा-लड्दै यहाँसम्म आइपुगेको मान्छे हुँ।सय हैन हजारौं हन्डर खाएको मान्छे हुँ।बिगतको तुलनामा वर्तमानमा त स्वर्गमै छु।हुन पनि अहिले मसंग सबथोक छ।घर,गाडी,धनसम्पति,परिवार,साथीभाइ र इज्जत।सबै-सबै।

         न्युयोर्कको भव्य शहर।रमझम,ब्यस्त,झिलमिल र रमाइलो शहर।जीवनशैली जतिसुकै आधुनिक भएपनि,सुखमा जिएपनि यो मनको घाउ भने पूर्णरूपमा निको भैसकेको छैन।बेलाबेलामा चस्किरहन्छ।कता-कता के गुमाए जस्तो।के हराए जस्तो।मुटु नै कतै छुट्टिए जस्तो।जतिसुकै मिष्ठान्न भोजन ग्रहन गरेपनि केही नपुगे जस्तो।नुन नलागेको जस्तो।खल्लो।बिल्कुल खल्लो।झन कहिलेकाही बिगतको तीतो यथार्थले झस्काइदिंदा त मरेतुल्य हुन्छु।मनको ताल फुटेर नयनबाट नदी बहन थाल्छन्।सकेसम्म नियन्त्रण गर्छु।तर कहिलेकाही त पटक्कै सक्दिन र सम्झनै सम्झनाहरुको डोरीले घाँटी कस्सिन थाल्छ।उकुसमुकुस हुन्छु।सास फेर्न गाह्रो हुन्छ।बेचैनी बढ्छ।एक्कासी बोतलका बोतल सोमरस रित्याउँछु।मन शान्त पार्ने दुस्साहस गर्छु।बल्झिएको घाउमा मलम लाउन त आज फेरि टन्न पिएको छु साथी।माइन्ड नगर न ल!

        खासै गहिरो व्यथा छैन के यार।ढिपी नगर न।मैले यत्तिकै भनेको तिमीलाई।नाइ, भन्दिन के।रक्सी खाएको मान्छेको कुरा के सुन्छौ र?ए,सुन्ने नै हो र?जिद्दी नगर न।ठूलो पल्टेको हैन यार।ल ल ठिक छ,उसो भए चुपचाप सुनिराख है?

         उत्तरमा चीन र दक्षिणमा भारत छिमेकी देश भएको एउटा सानो देश-भुटान।मेरो जन्म देश भुटान।पूर्खौली घर भारतको आसाम भएपनि पछि मेरो बाजे बसाइँ सरेर भुटानको सर्भाङमा बसोबास गर्न थालेपछि बाबाको जन्म पनि त्यतै भएको रहेछ।आसाममा नागरिकता नपाएकोले भुटान बसाइँ सर्नुभएको अरे उहाँ।बाबाले भुटानकै नेपाली भाषीसंग प्रेम विवाह गरेपछि मेरो जन्म भएको रहेछ।उहाँहरुले भुटानकै नागरिकता पनि प्राप्त गर्नुभएछ।मेरो बाल्यकाल सर्भाङकै प्राकृतिक सुन्दताको काखमा खेल्दै,उफ्रिदै र लडिबडी गर्दै बित्यो।मलाई अझै पनि राम्ररी याद छ -त्यहाँको हरियाली वनजंगलमा घुमेको,गाएको र नाचेको।नदीमा हाम्फालेर डुबुल्की मार्दै पानीसित स्पर्श गरेको।पानीसितै प्रेम गरेको।लगातार घण्टौंसम्म पौडिंदै-पौडिंदै धेरै तल-तलसम्म पुगेको।कहिलेकाही सखाहरुसंग मिलेर बल्छी हानी माछा मारेर आगोमा पोलेर खाएको।सम्झिंदा अझै मेरो मुख रसाउँछ।अनि कहिले आँखा रुझिन्छन् अनायासै।भक्कानो फुटेर आउँछ।कसम यार!देशको माया त बिछट्टै थियो नि सानैदेखि।
"हो र बिक्रान्त?तिमीले आज रुवाएरै छाड्ने भयौ यार!तिम्रो कथा-ब्यथा पूरै सुन्न सक्तिन क्यारे यार।अहिल्यै हुरुक्कै पार्यौ त!"
"यो त एउटा सानो झिल्का मात्र हो साथी।दनदनी बलेको ज्वाला त सुन्न बाँकी नै छ।"
"लु एक-एक पेग रक्सी थपौं अनि निरन्तरता दिउँ।"

             सर्भाङका मानिसहरुको मुख्य पेशा कृषि थियो।खेतीपाती र बस्तुभाउ पालेरै जीवन निर्बाह गर्थे।हाम्रो पनि ५ वटा जर्सी गाई र १५ वटा लामकाने बाख्रा थिए।मेरो दायित्व गाई र भाइको बाख्रा चराउने थियो।चरम गरिबीको कारण स्कुल पढ्न जाने अवसर हामीलाई जुरेन।खान-लाउन त धौधौ भएको बेला अरु कुरा सोच्नु त टाढाको कुरा थियो।त्यहींको प्रकृतिले मलाई पढायो,सिकायो र हुर्कायो।साथीहरु स्कुल गएर फर्किंदा म भने गाईसित घर फर्कन्थें।साथीहरुसित भेट हुँदा सकेसम्म तर्किन्थें,भाग्थें।उनीहरू त अंग्रेजीमा कुरा गर्थे।कहिलेकाही मतिर हेरेर भटङटङ कुरा गर्दै हाँस्थे।मलाई उल्लु बनाउँथे।त्यही भएर उनीहरुसंग भेट्नु अगावै म गाई छोडेर लुक्ने गर्थें।
"ए पाखे कता गयो आज?"
"साला ग्वाला कता गायब भयो?जिस्क्याउन खुब मज्जा आउँथ्यो।"
"गाइको दुध चुस्दै होला मोरो।"
"हा हा हा हा हा हा हा......।"
म हार मानेर बस्थें।उनीहरू टाढिएपछि निस्केर गाईको पछि लाग्थें।उनीहरूको अपमान सहन नसकेर ग्वाँ-ग्वाँ रुन्थें।अश्रुधारा पिउँथें।तर उनीहरुको स्कुल छुट्टी हुँदा भने मलाई खोज्दै आउँथे।संगै मिलेर माछा मार्थ्यौं।माछा मार्न उनीहरू भन्दा म धेरै पोख्त थिएँ।त्यसैले छुट्टीमा माया गर्थे।नत्र अरु दिन देखी सहन्नथे।जे भएपनि पढेलेखेका साथीहरुसंग भेटेर हप्तामा एकदिन हदै खुशी हुन्थें।नत्र हप्तामा छ दिन त गाईलाई घाँस झारेर ख्वाउन,गुलेलीले भ्याकुर र कालिज मार्नमै ब्यस्त हुन्थें।करीब १६ बर्षको भएदेखि त वनजंगलका सबै जीवजन्तु र चराचुरुङ्गी देखी पनि माया लाग्न थाल्यो।मार्न छोडिदिएँ।तिनीहरु नै मेरा दु:ख,सुख र नजिकका साथी भए।तिनीहरुका चिर्बिर गानासंगै गाउन र नाच्न थालें।तर साथीहरुको जिद्दीको कारण माछा मार्न भने छोडिन।

              समयको चक्रसंगै ममा जवानीका रेखीहरु बस्न थाले।केटीहरु देखेर अनौठो खाले अनुभूतिहरु उब्जिन थाले।उनीहरूको मुस्कान र रुप मन पर्न थाले।एकान्तमा एक्लै हुँदा यौवनका पहाडहरु चढेको अनुभूत गर्न थालें।एकदिन हाम्रो गाउँमा एउटा नयाँ परिवार बसाइँ सरेर आए।त्यो परिवार पनि राईकै थियो।हाम्रो बीचमा बिहेवारी चल्थ्यो।त्यो परिवारमा एउटी कल्कलाउँदी फूल जस्ती राम्री छोरी पनि रहिछे।उनीहरू पनि हाम्रो घर नजिकै बस्न थालेका थिए।एकदिन त्यो घरको छोरीसित धारामा जम्काभेट भयो।त्यो भन्दा पहिले कहिल्यै केटीसित आमनेसामने परेको र बोलेको समेत थिईन।
"हाइ!के छ ?तिम्रो घर त्यहीं हो?कलेज जाँदैनौ तिमी?"-उनैले श्रीगणेश गरिन्।
"हो।जान्न।"-छोटो उत्तर दिएँ।
"म त ११ मा पढ्छु।स्कुल त पढेको होला नि?"
"छैन।"
"बिचरा!"
"मेरो सट्टामा तिमीहरु नै पढ।"
"किन यस्तो भन्दैछौ तिमी?कति सम्म पढेका छौ तिमी?"
"पढेकै छैन।"
"भरे साँझमा मेरो घरमा आऊ,म सिकाउँछु।"
"पढ्नु छैन मलाई।"
"ल,तिम्रै मर्जी।बाई।"
यति भनेर पानीको गाग्री कम्मरमा राखेर लचक्क-लचक्क लच्किँदै घरतिर लागिन्।म निकै बेरसम्म ट्वाल्ल परेर पछाडिबाट हेरिरहें।एकैछिनमा अदृश्य भईन्।आँखाले भने अझै उनैलाई खोज्दै थिए।निकैबेर सम्म उनको घरतिर हेरिरहें तर पुन:आईनन्।गाई फुकाएर वनतिर लाने बेला भएकोले म पनि त्यहाँबाट ओझेलमा परें। 

         एकै नजरमा उनको प्रेमको भड्खारोमा फसिसकेको थिएँ।जाज्वल्यमान रुप,मन्द मुस्कान र मधुर बोलीले मोहनी लाइसकेको थियो।कम्मरको लचकताले पागल बनाइसकेको थियो।दिनभरी उनकै छवि झलझली सामू आइरह्यो।गाई भन्दा उनको याद बढी चराएँ।म एकोहोरो जस्तै भएको थिएँ।कहिले साँझ पर्ला र उनको घरमा पढ्न जाउँला झैं लाग्यो।हातमा घडी नभएकोले कति बज्यो होला भनेर कौतुहल भइरहें।घरी-घरी घाम कहाँ पुग्यो भनेर चियाइरहें।कहिलेकाही पापी कालो बादल आएर गगन ढाकिदिन्थ्यो।घामलाई छेकिदिन्थ्यो।बादललाई कहिल्यै नउठेको रिस उठ्थ्यो।मुश्किलले घाम डाँडामाथि पुगेको थियो।
"स्याबास घाम!तँ बल्ल डुब्न लागिस्।"
फुरुङ्ग हुँदै कराउँदै गाई लिएर घरतिर लम्कन थालें।मृग झैं बुरुक-बुरुक उफ्रिदै गाईको पछि-पछि लागें।भुँइमा खुट्टा नै थिएनन्।घर पुग्दा पश्चिमी क्षितिज गोधुलीमय भैसकेको थियो।त्यो दृश्य खुब प्रेमिल लागिरहेको थियो।गाई गोठमा बाँधेर हतार-हतार उनको घरतिर प्रस्थान गरें।
"उनको नाम के होला?"
आफैंलाई प्रश्न गर्दै उनको घरभित्र प्रबेश गरें।उनका बा-आमा र उनी घरमै थिए।
"ए,आयौ?आऊ-आऊ बस।मम्मी!यो मेरो साथी।बिचरा स्कुल पढ्न पाएको रहेनछ र मलाई पढाइदेउ भनेर अनुरोध गरेको थियो।अलिअलि सिकाइदिनुपर्यो यसलाई।आऊ मेरो कोठामा।"
शयनकक्षमा लिएर गईन्।बालक झैं खुरुखुरु पछि लागें।
"ए,तिम्रो नाम के रे?सोध्नै बिर्सेछु त।"
"म बिक्रान्त।"
"ए कति राम्रो नाम।म सन्ध्या।मेरो कलेज यहाँ देखि टाढा पर्छ।घरैमा बसेर पढ्छु।जाँच दिन मात्र जाने बिचार गर्दैछु।"
"अनि किन यता आयौ त?"
"म यहाँ आएको तिमीलाई मन पर्दैन र?"
उनले मुसुक्क हाँस्दै प्रतिप्रश्न गरिन्।
"हैन सन्ध्या,मैले त्यस्तो भन्न खोजेको हैन।"
"थाहा छ।मजाक गरेकी।अनि तिमीलाई अलिअलि त पढ्न-लेख्न आउँछ होला नि?"
"अलिअलि आएर के गर्नु?धेरै आए पो।"
"चिन्ता नगर बिक्रान्त।अब म आएकी छु नि तिम्रो लागि।"
"मेरो लागि आएको भए मलाई माया गर्छ्यौ त?"
यस्तै प्रश्न सोध्न मन लागेको थियो तर सकिन।
"तिमीले केही भन्न खोज्दैथियौ हो?"
"हैन,हैन।"
झसङ्ग हुँदै भनें।
एउटा पुस्तक देखाएर पढ्न लगाईन्।जानी-नजानी पढेर सुनाएँ।उनी छक्क परिन्।
"अरे!तिमीलाई त निकै आउनेरहेछ।कहाँ र कहिले सिक्यौ र?स्कुल त गएको छैन भन्छौ।"
"साथीहरुको छुट्टीको दिन उनीहरुलाई माछा मारिदिएर बदलामा सिकाइ माग्थें।त्यसरी नै हो अलिअलि सिकेको।नत्र कसरी सिक्न सक्थें र मैले?"
"ल ल धेरै राम्रो।इच्छाशक्ति भए असम्भव केही छैन।अब म धेरै सिकाउँछु तिमीलाई।तिमीले सोचेको भन्दा धेरै।"
बदलामा मैले शीर हल्लाएँ।उनले आफ्नै कापीकलम निकालेर लेख्दै र लेखाउँदै सिकाउन थालिन्।म भने पढाइलेखाइ भन्दा उनको मुहार,उनको बक्षस्थल र शरीर बढी पढ्थें।उनले आफूलाई हेरेको थाहा पाउँथिन् तर थाहा नपाए झैं गर्थिन्।पालैपालो नेपाली,अंग्रेजी र गणित सम्बन्धी पाठहरु पढाईन्।सिकाएको कुरा एकदम छिटो सिक्थें।उनी अचम्म मान्थिन्।खुशी पनि हुन्थिन्।त्यसरी नै सिक्ने सिकाउने क्रम जारीरह्यो।एक महिना जति भैसकेको थियो उनले सिकाउन थालेको।उनीबाट धेरै कुराहरु सिकें।कहिलेकाहीं एक्लै लगातार घण्टौंसम्म बोलेर अनेक बिषयमा ज्ञान दिन्थिन्।म एकोहोरो सुनिरहन्थें।स्कुलमा सिकेर नसकिने कतिपय कुराहरु सिकाईन्।
"किताबको पाठ त धेरै सिकायौ सन्ध्या तर मायाको पाठ कहिले सिकाउँछ्यौ?"
कहिलेकाहीं यस्तै प्रश्न गर्न मन लाग्थ्यो तर उनी बिच्किने डरले चुप बस्थें।मेरो लागि उनी शिक्षिका जस्तै थिईन् तर हाम्रो उमेर लगभग उस्तै थियो।हाम्रो जवानी उकालो लाग्ने क्रममा थियो।उनको शारीरिक बनौट हेरेर थुक घुटुक्क निल्थें।कुनै फिल्मको नायिका भन्दा कम सुन्दर थिईनन् उनी।

       सधैं झैं त्यो दिन पनि उनकोमा पढ्न गएको थिएँ।त्यो दिन मलाई उनीसँग जिस्किन मन लाग्यो।उनले पनि जिस्किउन् भन्ने लाग्यो।
"सन्ध्या,आज मलाई अलि सञ्चो छैन।टाउको दुखेको छ।आज नपढ्ने ल?"
"ए हो र?के भयो तिमीलाई?धेरै दुखेको छ?"
यति भन्दै उनले मेरो निधारमा स्पर्श गरेर ज्वरो जाँचिन्।मायालु स्पर्शले मलाई अत्याधिक आनन्द आयो।हातमा च्याप्प समाएँ।
"धेरै त दुखेको छैन के सन्ध्या।अलि अल्छी पनि लागेको छ आज,त्यसैले।"
सुस्तरी-सुस्तरी दुबै हातमा सुम्सुम्याउन थालें।उनको मुहारको रंग परिवर्तन हुँदै थियो।उनले पनि मेरो हात सुम्सुम्याउन थालिन्।मैले उनलाई मात्र हैन,उनले पनि मलाई मन पराउँदिरहिछे।शनै-शनै उनको मुहार लाल हुँदै गयो।एउटा हात लिएर ओठको नजिक-नजिक लगें।केही नभनीकन हेरिरहिन्।मेरो ओठ र उनको हातको मिलन भयो।उनको मनमा बेग्लै तरंग आएझैं लाग्यो।दुबै हात समाएर आफूतिर खिच्दै गएँ।हाम्रा शीरहरुको दूरी कम-कम हुँदै थियो। निमेषमै हाम्रा ओठहरुका मिलन भैसकेका थिए।शरीरमा करेन्ट प्रवाह हुन थाल्यो।निकैबेर हामी अर्कै प्रेमिल संसारमा हराएछौं।पहिलोपटक स्त्रीको चुम्बनको अनुभूत गरें।हाम्रो प्रेमले सिमा पार गर्न खोज्दै थियो।
"सन्ध्या नानी!खाना खान आऊ।"
सन्ध्याको आमाको आवाजले हामी माहोलबाट ब्युँझियौं।उनका नजर अझै शरमले झुकिरहेका थिए।मतिर हेर्ने आँट गरिरहेकी थिईनन्।हातमा समाएर खाना खान लगिन्।सबैले खाना खाँदै थियौं।तर बेला-बेलामा हाम्रा आँखाहरु जुध्न छोडेका थिएनन्।
"बाबु!खाना सेलाइसक्यो।पहिले खाऊ।"
सन्ध्याको आमाको कुराले म छाँगाबाट खसे झैं भएँ।खाना त दुई गाँस पनि खाएको रहेनछु।
"ध्यान कता थियो बिक्रान्त?"
सन्ध्याले पनि त्यहीमाथि जिस्क्याएर आलो घाउमा नुनचुक थपिन्।लाजले भुत्तुक्कै भएँ।फटाफट खाना खाएर सिध्याएँ।सन्ध्याको पनि हालत उस्तै थियो।सबैभन्दा अन्तिममा खाएर सकिन् उनले।
"भोलि साँझमा अलि छिटो आऊ है बिक्रान्त।"
म निस्किने बेला सन्ध्याले सम्झाईन्।उनले नसम्झाए पनि सम्झिने वालामै थिएँ।कसरी ढिलो आउन सक्थें र?बल्ल त हाम्रो प्रेमको टुसा पलाउन थालेको थियो।त्यो रातको १२ बजेसम्म निद्रा लागेन।उनकै बारेमा अनेक कल्पना गर्दै अबेर भैसकेको रहेछ।करीब १ बजेतिर मात्र आँखा लागे होला।

           बिहान पनि अरुबेला ७ बजेसम्म सुत्ने मान्छे ४ बजे नै ब्युँझिएँ।एकपटक बाहिर निस्केर सन्ध्याको घरतिर नजर लाएँ तर सबै सुतेकै भएर चकमन्न थियो।फेरि गएर पल्टें।
"आमा!आज धारामा पानी थाप्न म जान्छु।"
"आज के भएछ यो केटालाई?कहिल्यै पानी ल्याउन नमान्ने केटो एक्कासी कसरी परिवर्तन भयो हँ?"
आमा छक्क मान्दै हुनुहुन्थ्यो।सन्ध्याको आगमनको आशामा धारामा पानी थाप्न थालें।पानी भरिएर पनि निकैबेर प्रतिक्षा गरें तर उनी आईनन्।उनकी आमा गाग्री लिएर यतै आउन लागिन्।टाप कसिहालें।ए बाबु!के भयो?किन हिंडिहालेको?"
"केही हैन आन्टी।हतार छ घरमा।"

              त्यो दिन मैले खाना पनि पूरा खाईन।सन्ध्याकै मायाले भरपूर अघाएको थिएँ।दिनभरी वर्षा भयो।घाम पनि देख्न पाईन।समयको आँकलन पनि गर्न सकिन।गाईहरु टनाटन अघाइसकेका थिए।मेरो अन्दाजमा त्यतिबेला करीब साँझको ५ बजेको हुनुपर्छ।माछा पनि नमारिकन गाई लिएर गोठमा बाँधेर घर गएँ।
"बाबु!आज किन छिटो आईस्?गाई कहाँ छन्?"
"गोठमा बाँधिसकें आमा।"
"बौलाईस् कि क्या हो?घडी हेर त कति बज्यो?बल्ल दिउँसोको एक बज्दैछ।"
"आज मलाई सञ्चो भएन आमा।त्यही भएर छिटो बाँधें।बरु सुकेको घाँस हाल्दिन्छु।"
सन्ध्याको मायाले तानेर दिउँसै गाई बाँधेको कुरा आमालाई कसरी भन्न सक्थें र?बिरामी भएँ भनेपछि कुनचाहिँ आमाले कराउँलिन् र?
"सन्ध्याको घरमा औषधि छ रे आमा,उतै गएँ।"
"अचेल यो केटालाई के भाको छ हँ!खाली सन्ध्या-सन्ध्या मात्र भनेको छ!"

              दुई पाइलामै उनको घर पुगें।घरमा एक्लै रहिछे।मलाई दिउँसै आफ्नो घरमा देखेर उनी बहुत खुशी भईन्।मुहारको आलोक बढाउँदै मेरो स्वागत गरिन्।गफैगफमा खाजा खाएर उनको कोठामा छिर्यौं।त्यो दिन उनले दिउँसै देखि मलाई किताब नभई मायाका पाठहरु कण्ठस्थ हुनेगरी पढाईन्।उनले त्यहीँ मायाको गृहकार्य दिईन् र मैले पनि तत्कालै गरेर देखाइदिएँ।मैले १०० मा १०० पूर्णाङ्क पाएँ।हामी दुबै सन्तुष्ट भयौं।यौवनको नौलो,पहिलो अनुभव बटुलें।सायद उनले पनि।रंगीन ओछ्यान नै काफी थियो सबै कुराको।उनले हतार-हतार तन्ना परिवर्तन गरिन्।म हेरेको हेर्यै भएँ।त्यो दिनदेखि हामी एक-अर्काका परिपूरक भयौं।जिउने आधार भयौं।त्यसपछि हामीले दिनप्रतिदिन त्यस्तै यौवनका फलहरु मिलिजुली टिपेर खायौं।कहिलेकाहीं उनी मसंगै गाई चराउन वनमा आउन थालिन्।प्राकृतिक सुन्दर दृश्यको बीचमा हामी चुम्बकका बिपरित ध्रुव जस्तै टाँसिएका हुन्थ्यौं।गाई चराउनु भन्दा हामी एक अर्कालाई चराउँथ्यौं।दिनहरु बडो रोमाञ्चक पाराले ब्यतीत हुँदै थिए।

        सन १९८८ तिरको कुरा हो।भुटानमा जनगणना तीव्र रुपमा चलिरहेको थियो।समयले पनि काँचुली फेर्दै थियो।देशमा कठिन मोड आउँदै थियो।जनगणनाको नतिजालाई त्यहाँका भोटे शासकले तीन थरीमा बिभाजन गरे।बंशज नागरिक,बसाइँ सरेका नागरिक र गैर-भुटानी नागरिक।सर्भाङ लगायत भुटानको दक्षिणी भागमा बसोबास गर्ने नेपाली भाषीहरु सबै गैर-भुटानीमा परे।सन्ध्या र मेरो परिवार पनि अछुतो रहेन।भुटानका भोटेहरु भन्दा अन्य जातिहरुको जनसंख्या अत्याधिक देखिएकोले त्यहाँका शासकहरुले अरु जाति माथि कडा कानून बनाए।त्यहाँको राजा जिग्मे सिंगेले जोङ्खा भाषालाई राष्ट्रिय भाषा घोषणा गरे।स्कुलहरुमा जोङ्खा भाषा र भोटेहरुको भेषभूषालाई अनिवार्य बनाइए।नेपाली भाषालाई प्रतिबन्ध लगाइयो।नेपाली भाषीहरुमाथि उनीहरुको संस्कृति लादिए।हक,हित र अधिकार कुण्ठित भए।सन १९९० तिर त्यहाँका नेपालीहरूले प्रजातन्त्रको स्थापनार्थ आन्दोलन चर्काए।राज्यले दमन गरे।राजा झनझन अराजक र तानाशाही हुँदै गयो।स्थिति तनावग्रस्त हुन थाल्यो।नेपालीहरु उसै पनि बहादुरी र साहसी भएकाले देशमा आगो बल्यो।आन्दोलन उत्कर्षमा पुग्यो।धेरै जनाले ज्यान उत्सर्ग गरेर वीरगति प्राप्त गरे।उदेश्य प्राप्ति बिना आन्दोलन बीचैमा रोक्नु कायरताको प्रतीक ठानेका आन्दोलनकारीले घुँडा टेक्न उचित ठानेनन्।

            यतातिर हाम्रो प्रेम पनि चरमचुलीमा पुगिसकेको थियो।घरका सबै सदस्यहरुले हाम्रो सम्बन्धको बारेमा सुँइको पाइसकेका थिए।एक-अर्थमा हाम्रो प्रेमलाई लगभग स्वीकारिसकेका थिए।धुमधाम सित बिहे गर्ने योजना मुताबिक साईत जुराइयो।बाजागाजा सहित नेपाली परम्परानुसार बिहे गर्ने तयारी चलिरहेको थियो।हाम्रो सपना साकारको नजिक थियो।बिहेपछि छोराछोरीको नाम समेत सोचिसकेका थियौं।त्यो दिनको घटना अझै मेरो मानसपटलमा ताजा बनेर घुमिरहन्छ।कहाँ बिर्सन सक्छु र?गाईलाई वनमा छोडेर सन्ध्या र म वार्तालापमै ब्यस्त थियौं।एक्कासी हजारौं संख्यामा रहेका भुटानी सेनाहरु देखिए।उनीहरुले जाङ्खा भाषामा के-के सोधे।बुझे पनि प्रष्ट बोल्न सक्तिनथें।सन्ध्यालाई पनि खासै बोल्न आउन्थेन।ती सेनाका कमान्डरले मेरी सन्ध्यालाई च्याप्प समाएर संवेदनशील अंगमा स्पर्श गर्न थाल्यो।उनी चिच्याउँदै फुत्कने चेष्टा गर्न थालिन्।बाघको पञ्जाबाट सिकार उम्कन सक्ने कुरै थिएन।म क्रोधले आगो भैसकेको थिएँ।कराउँदै मेरी सन्ध्यालाई छुट्याउन गएँ।तर ४/५ जना सेनाहरुले मलाई बीचमै रोके,समाए र एउटा रुखमा बाँधे।
"साले गधा,कुकुर हो!मेरी सन्ध्यालाई छोड।"
नेपाली भाषामै गाली दिएँ।ती पशुहरुले सन्ध्याको कपडा च्यातच्युत पारेर नग्न बनाए।उनको मुखमा टाला खाँदेर टेपले टाँसिदिए।लगेर हातखुट्टा रुखमा बाँधे।उनी कराउने कोसिस गर्दै थिईन् तर बोली आउने कुरै भएन।
"साला रण्डीका बान!मेरी सन्ध्यालाई छोड।ए गधा!कुकुर!ए पशु!मेरी सन्ध्यालाई नछोऊ।"
एकजना सेनाले मेरो मुखमा पनि थाङ्ना खाँदेर टेपले टालिदियो।केही चलमल गर्नै सकिन।बोल्नै सकिन।कमान्डरका दुष्ट हातहरु सन्ध्याका गोप्य अंगहरुतिर सल्बलाइरहेका थिए।हेर्दाहेर्दै उसले आफ्नो पाइन्ट खोलेर मनोमानी गर्न थाले।मेरो मुटुमा छुरीले रेटिएको भन्दा बढ्ता पीडा हुन थाल्यो।फुत्किने कोसिस गरें।बोल्ने कोसिस गरें।मेरो केही लागेन।सन्ध्या मतिर हेरेर अश्रुभेल बगाउँदै थिईन्।मेरो आँखा पनि उस्तै रुझिएका थिए।कमान्डरले आफ्नो काम सकेर हिंडिहाल्यो।पालो अर्को सेनाको थियो।क्रमिकरुपले धेरै जनाले आफ्नो प्यास मेटे।धेरैबेर पछि मेरी सन्ध्या बेहोस भईन्।म उस्तै लाचार थिएँ।हालत खराब देखेर सेनाहरु सन्ध्यालाई छोडेर गए।जाने बेलामा सेनाहरुले धम्कीको भाषा बोले।
"ए नेपाली!हाम्रो देश छोडेर जा!तेरो देश कहाँ हो,त्यतै जा!नत्र मार्दिन्छु।"

           सन्ध्याको हालत देखेर म जिउँदै मरें।बाँचेर केही फाइदा देखिन।फुत्किने प्रयास गर्दागर्दै मेरो पनि होस हराएछ।मलाई होस आउँदा मेरो अगाडि राँको बालेर बाबा-आमा उपस्थित भएका थिए।मलाई रुखबाट खोलेर स्वतन्त्र पारिसकेका थिए।सन्ध्याका बाबा-आमा भक्कानो छोडेर रुँदै थिए।दौडेर सन्ध्यालाई भेट्न गएँ।सन्ध्याले संसार त्यागिसकेकी थिइन्।मेरी बेहुली हुने उनको रहर रहरमै सिमित भैसकेको थियो।
"मेरी सन्ध्या!तिमी मलाई छोडेर जान पाउँदिनौ।जाने भए मलाई पनि संगै लिएर जाऊ सन्ध्या!एक्लै जान पाउँदिनौ।"
उनलाई अंगालेर कहालिन थालें।बाबा-आमाले सम्झाउनुभयो।
"हामी नेपालीको बाँच्ने अधिकार पनि छैन बाबै!"
सन्ध्याका बाबा-आमा बिलौना गर्न थाले।एउटा धारिलो सिंकाले कोतारेर दाहिने हातको बुढीऔंलामा रगत निकालेर उनको सिउँदो भरिदिएँ।बाबा-आमाहरु हिक्क-हिक्क गर्दै रुन थाले।उनका बाबा-आमा पनि आएर अंगाले।काँधमा बोकेर सन्ध्यालाई मेरो घरमा पुर्याएँ।किन भने उनी मेरी भैसकेकी थिइन्-मेरी श्रीमती।राती नै उनको दाहसंस्कार गरियो।उनको चितामा हाम्फालेर सती जान खोज्दै थिएँ।सबैले रोके,सम्झाए।तैपनि जिउने मन त छँदै थिएन।मलाई उनीसंगै जानु थियो।तर साईत जुरेन।

            एकैपलमा मेरो जीवनमा भीमकाय परिवर्तन आइसकेको थियो।हुरीको एकै झोक्कामा दीप निभे झैं मेरो जीवनको दीप निभिसकेको थियो।मैले आँखाको नानी गुमाइसकेको थिएँ।मेरो मुटु मबाट अलग भैसकेको थियो।बाँच्ने कुनै आधार रहेन।सास टुटिसकेको थियो।जिउँदो लास बोकेर जबर्जस्ती जिइरहेको थिएँ।त्यो नै मेरो जीवनको सबैभन्दा उराठलाग्दो कालरात्री थियो।आँखा झिमिक्क नगरी रात बित्यो।आँखा सुन्निएर हेर्नै नहुने भैसकेका थिए।बिहानीको उषाले धर्तीलाई झलमल्ल पारिसकेको थियो तर मेरो जीवन निस्पट्ट थियो।विहानै होहल्ला भयो-
"सेनाहरु गाउँ पसेर सबै नेपाली भाषीहरुको नागरिकता खोसे।कसैलाई गोली ठोके।कसैलाई अभद्र व्यवहार गरे।"
मेरी सन्ध्या जस्तै सयौं चेलीहरु यौनपिपासुका सिकार भएछन्।कतिका झुपडी जलाइदिएका थिए।चारैतिर सनसनी फैलियो।हाम्रो गाउँ मात्र नभई धेरै गाउँहरु आतंकित भएका रहेछन्।देश छोडेर जाने मानिसहरुको लर्को लाग्यो।आफ्नै देशको नागरिक भएर पनि राज्यबाट बेइज्जती सहेर बस्न सक्ने स्थिति थिएन।अन्याय सहेर चुपचाप बाटो तताउनुको विकल्प रहेन।उसो त हामीले सबथोक गुमाइसकेका थियौं।मैले मेरी सन्ध्या गुमाइसकेको थिएँ।

          गाउँलेहरुले गर-गहना र भाँडाकुँडा लगायतका महत्वपूर्ण सरसामानहरु पोको पारेर साथमा गाईबस्तु समेत लिएर देश छोड्न थाले।हामी पनि मातृभूमि छोडेर जान बाध्य भयौं।बाबा-आमा,भाइ,सन्ध्याका बाबा-आमा लगायत धेरै जना जम्मा भएर संगै हिंड्न थाल्यौं।बोर्डरमा भारतको असाम राज्य पर्थ्यो।हामी त्यतै लाग्यौं।मैले मेरा गाई पनि छोड्न सकिन।भाइले बाख्रा लिएर हिंड्न थाल्यो।मानिस र गाईबस्तुको लस्कर देखेर मन थाम्नै सकिन।सबैजना गाउँतिर फर्केर हेर्दै थिए।आखिर आफ्नो मातृभूमिको माया लाग्ने नै रहेछ।तर हामी साह्रै अभागी रहेछौं।आफ्नै राज्यले देश निकाला गरेको थियो।यस्तो पीडा कमैले सहन सक्थे होलान्।सकेसम्म हामी एकजुट भएर हिंड्न थाल्यौं।छुट्टिएर हिंड्नु कसैको लागि लाभदायक थिएन।३/४ घण्टा हिंडेपछि असाममा पुग्यौं।एउटा ठूलो चौरमा बास बस्यौं।उचित बास र खानाको चरम अभाव थियो।भुटेर ल्याइएका मकै,भटमास खाएर छाक टार्यौं।गाईबस्तु र भेडाबाख्रा पनि एकै ठाउँमा जम्मा थिए।कुनै फिल्मको दृश्य झैं लाग्थ्यो त्यो कहालीलाग्दो दृश्य।आइमाई,केटाकेटी,बूढाबुढी,सुत्केरी र दुई जीउका आइमाईहरुको बिजोग हेरी सकिने थिएन।कसैका आँखा ओभानो थिएनन्।जमिन बिछ्याई आकाश ओढेर दु:ख-पीडा सिरानी लाएर निंदाउने प्रयत्न गर्यौं।त्यस्तो परिस्थितिमा निंदाउन सक्ने कोही थिएनन्।आक्रोश र पीडाको समिश्रण बोकेर रात छर्लङ्ग काट्यौं।सबैजना दाउरा र पानीको जोहो गरेर खाना पकाउन तिर लागे।गाइबस्तु चौरमा चरिरहेका थिए।भारत सरकारले शरण दिने झिनो आशामा समय बित्दै थियो।दिउँसोको २ बजेतिर थुप्रै भ्यान र कार लिएर सेना-प्रहरी एकसाथ आए।आ-आफ्ना सामान र झोला बोक्न लगाइयो।
"तुम लोग जहाँ से आया,उदर ही जाओ।नही तो नेपाल जाओ।भारत छोडो।समझमे आया?"

           भुटान फर्किने कुरै भएन।भावनात्मक,साँस्कृतिक र भाषिक सम्बन्ध नेपालसित भएकोले नेपालै जाने निर्णय गर्यौं।भ्यान,कारहरु अगि-अगि र हामी पछि-पछि लाग्यौं।मान्छेको ज्यानकै टुंगो नभएको बेला गाईबस्तु साथ लिएर जान सकिने सम्भावना न्यून रह्यो।बाटोमा भेटिएका असामका नेपाली भाषीहरुलाई पछि लिन आउने शर्तमा गाईबस्तु जिम्मा दियौं।भुटानबाट लेखेटिएको अर्को दिनै भारतबाट पनि लेखेटियौं।हाम्रो खराब हालत देखेर असामका नेपालीहरु भावुक भए।
"हामीले भनेर हुने भए त यतै बस्न दिन्थ्यौं नि सबलाई।तर यो हाम्रो बशको कुरा भए पो।"
धेरै जनाले यस्तै भनेर दया देखाए।हुन पनि साँच्चिकै त्यो दर्दनाक दृश्य देख्नेको मन नरुने कुरै थिएन।हामी त रोएर थाकिसकेका थियौं।हाँस्नको लागि हाँसो बाँकी थिएन।रुनको लागि आँसु थिएन,रित्तिइसकेको थियो।निकैबेर हिंडिसकेपछि एउटा घना जंगल आयो।भारतीय सैनिकले हामीलाई त्यहीँ छोडेर गए।जानेबेलामा उनीहरुले धम्कीको भाषामा चेतावनी दिए।
"यहाँ से सीधा आगे जाओ।पिछे मोड्के भी नही देखना!"

             अगाडि जाँदा-जाँदै साँझ झमक्कै पर्यो।निमेषमै वरिपरि चारैतिर कालो बादल छायो।आँखाको ज्योती नै गुम्ने गरी बिजुली चम्किन थाल्यो।आकाश गर्जिन थाल्यो।बिजुली चम्किँदा मात्र वरिपरि ठूल्ठूला रुखहरु देखिन्थे।जिन्दगीको अगाडिको बाटो अन्धकार सिवाय उज्यालोको त नमूना सम्म थिएन।हरे दैव!पलभरमै घनाघोर वर्षा हुनथाल्यो।सबैजना मुसा पानीमा चोबाले जस्ता भैसकेका थियौं।सुत्केरी र गर्भवती आईमाई,केटाकेटी र बृद्ध-बृद्धाहरु बिजोग भए।सबैजना रुखको ओत लाग्न थाले।कोही कता कोही कता गएर तित्तरबित्तर भए।रुवाबासीले जंगल गुन्जायमान भयो।बाबा-आमा,भाइ र म एकै रुखमुनि ओत लाएर बस्यौं।त्यो अवस्थामा अगाडि बढ्ने हिम्मत कसैको भएन।सबैजना त्यतै बास बसेको अनुमान लगाएँ।पूरै रात बर्षा रोकिएन।चिसोले शरीर लुगलुग काम्न थाल्यो।एक-आपसमा टाँसिएर बस्यौं।मुश्किलले विहानीपख बल्लतल्ल बर्षा रोकियो।प्रष्ट आँखा देख्न सक्ने भएपछि यताउता नजर लायौं।हरे शिव!नजिकैको रुखमा एउटै पासो लाएका दुई बूढाबुढी तुर्लुङ्ग झुन्डिएका थिए।उनीहरू अरु कोही नभएर सन्ध्याका बाबा-आमा थिए।एकातिर छोरीले संसार छोड्नु।अर्को तिर देश निकाला हुनु।दोहोरो पीडा र तिरस्कार सहन नसकेर आत्महत्या गरेका थिए।मेरो मुटुले ठाउँ छोडिसकेको थियो।खेद प्रकट गर्नु बाहेक हाम्रो औकात के नै थियो र!निकै परतिर होहल्ला मच्चिँदै थियो।कौतुहल हुँदै दौडेर त्यतैतिर गएँ।
"त्यो रुखमा पनि एकजना झुन्डिएको रहेछ।"
"उहाँ पनि भीरमुनि मान्छेहरु हाम्फालेका रहेछन्।"
"उ त्यो रुखमा हेर्नु त कठैबरा!"
"सुत्केरी आईमाई बितेछन्।"
"बिचरी!दुई जीउकी थिई!"
"आमा-छोरा दुबैले संसार छोडेछन्।"
कोही चिच्याइरहेका।कोही गुहार मागिरएका।गन्तीमा १७ जनाको शव मात्र आए।कति जना हराइरहेका थिए।कति जना सिकिस्त थिए।कति जना जीवन र मृत्युसंग लड्दै छट्पटाइरहेका।सबै शवहरुको दाहसंस्कार गरेर साध्य थिएन।फेरि भारतको भूभागमा उक्त घटना घटेकोले प्रहरीको उपस्थिति बिना शवलाई चलाउन सकिन्नथ्यो।शवहरु अलपत्र अवस्थामा छोडेर हामी अगाडि बढ्यौं।त्यतिबेला माया,दया र मानवता देखाउनु भन्दा ज्यान जोगाउनु ठूलो कुरा थियो।कहालीलाग्दो र नाजुक अवस्था जस्ताको त्यस्तै छोडेर प्रस्थान गर्यौं।जिउँदो लास लिएर घस्रँदै-घस्रँदै बाटो ततायौं।झुन्डिएका शवहरुले टुलुटुलु हामीलाई नै हेरेझैं लाग्थे।जंगलदेखि परबाट तीनवटा ट्रकहरु यतै आए।हामी झन भयभीत हुँदै छिट्छिटो पाइला चाल्न थाल्यौं।डराएर भागेको देखेर होला-ट्रकहरु उतै रोकिए।केही मानिसहरुले गाडीबाट बोरा र भाँडाकुँडा देखाउँदै थिए।
"खानेकुरा ल्याइदिएका छौं,भाग्नुपर्दैन।त्यहीँ पर्ख।"
उनीहरूले चिच्याएर भनेपछि बल्ल हामी त्यहीँ विश्राम गर्न लाग्यौं।साथमा ल्याइएका सातु,सामल सबै भिजिएर खराब भैसकेका थिए।अजिङ्गरको आहारा दैवले जुराउँछ भन्थे।तर हाम्रा लागि ती असामका नेपालीभाषीहरु भगवान भएर आए।पकाएका खानेकुरा खाएपछि बल्ल हाम्रो सास आयो।उसिनेका आलु-पिंडालु र सेलरोटी रातीको लागि बोक्यौं।उनीहरूको दया-माया देखेर थाहा भयो-नेपालीहरु जहाँ छन्,महान छन्,खुल्ला हृदयका छन्।नेपालीहरु बहादुर मात्र हुँदैनन्,उतिकै दिलदार पनि हुन्छन् भन्ने कुराको थप पुष्टि त्यतिबेला भयो।
"राम्ररी जानु ल दाजुभाइ,दिदीबहिनी र बा-आमाहरु!हामीले गर्न सक्ने भनेको यतिनै हो।"
छुट्टिने बेला यस्तो भन्दै आँखामा आँसु लिएर खेद प्रकट गरिरहेका थिए।हाम्रो लागि त्यति गर्नु र भन्नु नै काफी थियो।

             खोला,नदी,जंगल,पहाड,समथर भूभाग,खेत,गाउँबस्ती आदि हुँदै हामी अगाडि बढ्यौं।असामका नेपालीहरुले ल्याइदिएका खानेकुरा सकिएपछि त्यही भिजेका सातु,सामल खाएर ज्यान जोगाउने तिर लाग्यौं।हजारौंको संख्यामा भएकाले ठाउँ-ठाउँमा भेट्टिएका गाउँघरमा न त बास पाइयो न खाना नै।एकमुठी सातु खाँदै खोलाको पानी पिउँदै गयौं।बाटोमा भेट्टिनेहरुसंग नेपाल जाने बाटो सोध्दै हिंड्यौं।कसैले बाटो देखाउदिन्थे र कसैले "थाहा छैन"भन्थे।जीर्ण शरीर लिएर लगातार सात दिन हिंडेपछि नेपालको झापा जिल्लामा पुग्यौं।हामीले झापाका बासिन्दालाई यथार्थ कुरा भन्यौं।नेपालीभाषी भएकोले उनीहरुले मद्धत गरे।खानापिउन दिए र एउटा ठूलो खाली चौर पनि देखाइदिए।टिमाइ भन्ने ठाउँमा गोठ बनाएर बस्न थाल्यौं।हामी बस्न थालेको केही दिनमै त्यहीँ पचासौं हजार मानिस उपस्थित भए।दिनप्रतिदिन थपिंदै गए।लगभग एक लाख नेपालीभाषी भुटानीहरु शरणार्थी भएर बस्न थाले।आहा!नेपालका नेपालीहरु कति दिलदार,सहयोगी र मिहिनेती!

            केही दिनमै नेपाल सरकारले युनाइटेड नेसनको सहयोगमा खानेबस्नेको व्यवस्था गरे।देश निकाला गरिएका हामी जस्ता अभागीहरुको लागि त्यति खान-बस्न पाउनु नै अहोभाग्य थियो।संसारमा भगवान देखेको थिईन।तर नेपालमा आएर मैले साक्षात् भगवान देखें।नेपालीहरुको मनमा नै भगवानले बास गरेको हुनेरहेछ।

        त्यसपछि हामी युवाहरु काम खोजेर गर्न थाल्यौं।कसैले सिलाइबुनाइ सिकेर स्वरोजगार पाए।केटाकेटीहरुले स्कुल पढ्न पाए।हामीले पुनर्जन्म पायौं।नवीन जीवन पायौं।पूर्णरूपमा खुशी फिर्ता नआएपनि केही खुशी भने फिर्ता आयो।आफ्नै देशबाट लखेटिंदाको पीडा केही हदसम्म कम भयो।नेपालले हाम्रो घाउमा मलमको काम गर्यो।जति भुटानको माया थियो,उतिनै नेपालको माया लाग्न थाल्यो।भुटानमा फिर्ता जान नपाएपनि मातृभूमिको अभाव नेपालले पूरा गर्यो।वास्तवमा नेपाल पुगेर जीवनदान पाएकोले नेपाल नै एक अर्थमा हाम्रो मातृभूमि सरह प्यारो हुनपुग्यो।त्यहाँ पुगेर खासै कुनै कुराको अभाव महसुस भएन।सबै आफ्नै दाजुभाइ,दिदीबहिनी,बाबा-आमा,इष्टमित्र र आफन्त जस्तै लाग्न थाले।तर एउटै कुराको अभाव खड्कियो-सन्ध्या।उनलाई कहिल्यै मनबाट निकाल्न सकिन।निकाल्ने पनि छैन।नेपाल र नेपालीको अगाध सद्भावले दुई दशक बितेको पनि पत्तै भएन।नेपाल र नेपालीले नै हामीलाई जिउन सिकाए।संघर्ष गर्न सिकाए।कर्मशील हुन सिकाए।यो गुन कसरी बिर्सन सक्छु र?कसरी बिर्सन सक्छौं र हामीले?

             भुटानी शरणार्थीलाई अन्तरास्ट्रियस्तरमै कसरी पुनर्स्थापना गर्ने भन्ने कुरामा बहस चल्यो।परिणामस्वरूप सन २००८ देखि अमेरिका लगायत विभिन्न मुलुकमा पुनर्स्थापित हुने मौका मिल्यो।हुन त नेपाल छोडेर जान मन थिएन।तर सुनौलो भविश्यको लागि जानै पर्ने भयो।हाम्रो परिवारले अमेरिका जाने अवसर पायो।त्यो अठार बर्षको अवधिमा म नेपालकै बासिन्दा सरह भैसकेको थिएँ।धेरै साथीभाइ र इष्टमित्र कमाइसकेको थिएँ।नेपालबाट बिदाइको क्रममा आँशुको धारा यति बग्यो भनेर साध्य थिएन।एकपटक त म मुर्छा नै परें।भगवान र भगवानको देश छोडेर जानुपर्दा कसलाई दु:ख लाग्दैन र?हो मित्र!यदि अमेरिका छोडेर अर्को मुलुक कहाँ जान्छस् भनेर कसैले सोधे मेरो उत्तर हुनेछ-नेपाल।नेपाल मेरो मन-मुटुमा बसेको छ।कसरी बिर्सन सक्छु र?अमेरिकाको बसाइँ पनि करीब एक दशक नै भैसकेछ।हिजै जस्तो लाग्छ,नेपालबाट बिदाइ भएको।यो अवधिमा म तीनपटक नेपाल गएर आइसकेको छु।गइरहनेछु।आमा-बाबा पछिको सबैभन्दा प्यारो भनेकै नेपाल हो।सिर्फ नेपाल।हो मित्र!आज मसंग सबैथोक छ।मेरो अवस्था फेरिएको छ।गरीब थिएँ।धनी भएको छु।अमेरिका जस्तो देशको नागरिक भएको छु।धेरै ज्ञान बटुलेको छु।भौतिक रुपमा सुखी छु।तर मानसिक रुपमा पूर्णरूपमा खुसी छैन।आफ्नै देश भुटानबाट निर्ममतापूर्वक लखेटिएको त्यो क्षण कसरी मस्तिष्क बाट बाहिर निकाल्न सकिएला र?अहँ,म सक्तिन।मेरै आँखा अगाडि मेरी सन्ध्यालाई बलात्कार गरेर हत्या गरेको दृश्य कसरी मेट्न सक्छु र?सायद अर्को जूनीमा पनि हैन।त्यसैले त मेरो जीवन बिहे नै नगरी बितिरहेछ।
"ए!अनि यो बाबु को हो त?कसको छोरा हो त?"
"यो कसैको नासो हो मित्र!नेपालबाट ल्याएको।यसको बाबा-आमा कोही छैनन्।अनाथालयबाट छोरा बनाएर लिएर आएको।"
"तिमी महान छौ यार बिक्रान्त।अनि बाबा-आमा त आफ्नै होलान् नि?हा हा हा..।"
"तिमी यो के भन्दैछौ यार?उहाँहरु मेरा आफ्नै बाबा-आमा हुन्।"
"अनि त्यो फ्रेममा भएको तस्वीर कसको हो नि?"
"मित्र!उनी मेरी सन्ध्या हुन्।"
श्यामश्वेत तस्वीरले भित्ता सजाइरहन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...