Thursday, 10 December 2020

मुखुण्डो

जानी-जानी असली परिचय लुकाएको हुँ
तिमी हिंड्ने बाटो छोडी अर्कै समाएको हुँं
भेट हुँदा पनि तिमीले चिनेको नचिनेझैं गर्दा  
सहज पार्न तिमीलाई मुखुण्डो लगाएको हुँ।




Saturday, 5 December 2020

मेरो घाम

मेरो घाम 
सबेरै उठ्छ
अन्धकार मेरो मुहारमा उज्यालो छर्छ
सेप्जिलो पेट सेकाउँछ।

मेरो घाम
त्यो घाम जस्तो एकास्थानमा बस्दैन
चक्कर मारिरहन्छ मेरै वरिपरि 
खुशी राख्छ मलाई।

मेरो घाम 
त्यो घामको सुस्ताइसंगै सुस्ताउँछ
दु:ख बिसाउँछ
भोलि फेरी शुरु हुन्छ उस्तै परिक्रमा।

मेरो घाम 
आज चाउरिएको समय बोकेर बाँचिरहेछ।

मेरो घाम 
सदाको लागि अस्ताएको दिन 
मेरो हविगत कस्तो होला!


Friday, 27 November 2020

ननभेज

मान्छेलाई कुनै न कुनै रुपमा क्रेज चाहिन्छ 
राम्रो नराम्रो जे गरोस्,दिमाग तेज चाहिन्छ
दिनभरी हत्या-हिंसाको पाठ पढाउनेलाई नै
साँझ परेपछि मदिरासंग ननभेज चाहिन्छ।

Wednesday, 18 November 2020

इतिहास

सुन ए धर्ती!सुन ए आकास
यौटा कुरा सुनाउँछु म खास
मेरो रगत दिन तयार छु म 
यदि बद्लिन्छ भने इतिहास।

सिमाना

कहिले थिचियो
कहिले मिचियो
मेरो जवानीको 
सीमा मिचियो।

कहिले खिचियो
कहिले पिसियो
मेरो जवानीको
सीमा मिचियो।

Wednesday, 11 November 2020

अलपत्र

म यौटा ट्याक्सी चालक,
अहिलेसम्म हरेक यात्रुलाई 
गन्तव्यमा पुर्याएर छोडेको छु।

खराब नेतृत्वले देशलाई...........

मैले पनि..........।

यौटा मुक्तक

धेरैको आँखा नलागेर थोरैले मनपराए पनि 
डराए पनि,कराए पनि,आफैंसंग बर्बराए पनि
हराए पनि हजारौंको भीडमा म यौटा मुक्तक 
अघि बढ्न कदम चाल्छु खुट्टा लर्खराए पनि।

Tuesday, 10 November 2020

स्वर्ग जाने टिकट

बरु सस्तो लाग्छ हाम्रो खोला,सोचेकै थिईन
नबोके पनि सुट्केश र झोला,सोचेकै थिईन
जाने बेला सिध्याएर गयो पुर्ख्यौली सम्पत्ति 
स्वर्ग जाने टिकट महंगो होला,सोचेकै थिईन।

लाज

स्वतन्त्रताको टुँडिखेलमा 
यो युग नग्न नाचिरहेको छ
कसैले लाज छोपिदेऊ।

Friday, 6 November 2020

तिहार

हरेक प्राणीले सम्मानपूर्वक जिउन सकोस् 
चाडबाडको नाममा कुनैको बली नचढोस्
भाइचारा स्थापित गर्दै काला दिनरात चिर्न 
बर्षको ३६५ दिनै धरामा दिपावली होस्।

Monday, 12 October 2020

गन्तव्य

नौ-महिने गुप्तबास तोड्दै
"च्याँ-च्याँ"को सुमधुर ध्वनिसंगै 
श्रीगणेश गर्यो उसले पाइला।

संघर्षको मैदानमा रनभुल्ल पार्ने कैयौं मार्गहरुबाट 
चुन्दै सही मार्ग 
धेरै आरोहण गरे सफलताका 'माउन्ट के-२' र 'सगरमाथाहरु'।

बीचमा स्मरणीय/विस्मरणीय अनेकन घटना भए
तीता-मीठा अनुभव/अनुभूतिहरुको चाङ लाग्यो।

आज उसको यात्राले निचोड पाएको छ
सबैथोक छोडेर 
सेतो बर्को ओढेर 
अन्तत: ऊ खास गन्तव्यमा पुगेको छ।





Monday, 5 October 2020

क्वारेन्टाइन

दिमागहरुले सिध्याइसके-प्रकृतिको शुद्धतालाई 
दिमागहरुले खाइसके-पृथ्वीको गुदीलाई।

दिमागहरुले बिषालु दुर्गन्धलाई फैलाइसके
मंगलमा
चन्द्रमामा।

सुरक्षित छैनन् यहाँ 
ग्रह,उपग्रह र ताराहरु।

खतरनाक दिमागहरुले महामारीको रुप लिइसके 
करोडौं टाउकाहरु संक्रमित भैसके
शंकास्पदलाई क्वारेन्टाइनमा राखिनुपर्छ 
संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिनुपर्छ।

बेलैमा खतरनाक दिमागहरुलाई अंकुश नलाए 
स्थिति थप जटिल हुनेछ।




अनुशासनको लडाइँ

बिचारहरुको सभा
अनुशासनहरुको लडाइँ 
नैतिकताको मेरुदण्ड भाँचियो।

सिंहदरबार र भ्रम

सिंहदरबारलाई 
आश्वासनले रंग्याएको छ 
प्रतिज्ञाले टालटुल पारिएको छ
झ्यालहरुमा अपारदर्शी पर्दाहरु झुन्ड्याएका छन् 
ढोकामा "जनतालाई स्वागत छ"लेखिएको छ।

भित्र के हुँदैछ-देख्न सकिएको छैन
पर्दाले छेकिएको छ।

ढोकाबाट यथार्थमा जनता छिर्न सकेका छैनन्।

सिंगदरबारमा
न त परिवर्तनको टायर हाल्न सकियो
न त सफलताको पखेटा हाल्न सकियो
न त कार्यन्वायनको इन्जिन हाल्न सकियो।
त्यसैले सिंहदरबार 
न त गुडेर सर्न सक्यो
न उडेर दुर्गममा पुग्यो।

भन्न त भन्थे-
"सिंहदरबार गाउँ-गाउँमा पुग्छ"
के पुग्थ्यो र!
सब भ्रम रहेछ
जहाँको तही पो छ त!

Sunday, 4 October 2020

थोपाहरु

च्यात्तिएको भए मुटु,म सियो हुँ,आउ सिलाऊ 
ए पीडित गोपिनीहरु!म कृष्ण हुँ,गला मिलाऊ 
ब्रह्माण्ड भन्दा विशाल दिल,अनन्त छ छाती 
प्रेमको समुद्र हुँ म,ए थोपाहरु!म संगै बिलाऊ।

Saturday, 3 October 2020

कर्कलाको पानी -२

मेरो प्रेमको धरातलमा फस्यौ र गयौ
यो मुटुमा तिरस्कारले धस्यौ र गयौ
म कर्कलाको पात,तिमी भयौ पानी
जिन्दगीमा एकैछिन खस्यौ र गयौ।


टस

सफलता पछ्याउने दौडमा छु,माया मारेको छैन
समस्या त शिक्षक हुन् जसलाई मैले बारेको छैन 
ठेस लागे पनि,पछारिए पनि,उठ्ने चेष्टा गरिरहेछु
यो सम्झेर कि - टस हारेको छु,खेल हारेको छैन।

Friday, 2 October 2020

कर्कलाको पानी

समयको जाँतो मुनि पिल्सिन सक्छ
एकमुट्ठी सास जाबो सिद्धिन सक्छ 
कर्कलाको पानी जस्तो यो जिन्दगानी 
केही पलभरमै पनि चिप्लिन सक्छ।

Sunday, 27 September 2020

चट्याङ

कसैको मनमा बस्न बेर छैन
कसैको मनमा डस्न बेर छैन
चट्याङ भएर कसैको मुक्तक 
सत्ताको मुटुमा खस्न बेर छैन।

चोर

आँखामा प्रेमिल शब्द कोरेकै हो
दिमागमा अमिट छाप छोडेकै हो
कुन जेलमा हाल्छौ,हाल मलाई 
तिम्रो दिल मैले पक्कै चोरेकै हो।

जिन्दगीको गीत

प्रिय पाठकवृन्द!
मैले मनको गुगलमा 
प्रकाशित गरेको छु-यथार्थताको अनगिन्ती कविताहरु
पढिदिनुहुन्छ?

प्रिय श्रोता/दर्शकवृन्द!
जिन्दगीको मञ्चमा म गाइरहेछु-प्रेमका सुरहरु 
बजाइरहेछु-मुटुका धुनहरु 
सुनिदिनुहुन्छ?


Saturday, 26 September 2020

यो बाटो कहाँ जाने हो?

पुरानो ड्राइभरलाई नयाँ बाटो।
ट्याक्सी नं.२२९ को द्रुत गति।
हुस्सु र बर्षाको संयुक्त आन्दोलन।।

अन्यौलता!

यो बाटो कहाँ जाने हो दाइ?
खाडी चौर।
यो बाटो कहाँ जाने हो दाइ?
मुडे।

बिडम्बना!
खुँडे बाटोले तल लग्यो
ट्याक्सी तल खस्यो
यात्रु माथि पुगे।

तपाईं को ?
यमराज।
यो बाटो कहाँ जाने हो?
यमलोक!

Friday, 25 September 2020

प्रेमको दलदल

डाकौं अब दुई मुटुलाई,राखौं छलफलमा 
तिमीलाई खोज्छ मनले हरेक पलपलमा
बिछ्याएर त्यो मनै,पार लगाइदेउ सुरक्षित 
अनायासै भासिएछु तिम्रै प्रेमको दलदलमा।

शंका

आँखा सुते पनि अनौठो सपना जाग्न थालेको छ
पुरानो भावना आफैं बाट टाढा भाग्न थालेको छ 
तिमीलाई देखेपछि अनायासै परिवर्तन आयो ममा
म "म" हो कि होइन भनी शंका लाग्न थालेको छ।

मायाको सीमा

दुई-आक्षरी यो शब्द मुश्किलले परिभाषित हुन्छ 
मनको धरातलमा अंकुरित भएर पल्लवित हुन्छ
ब्रह्माण्डको आयतन पनि पराजित हुन्छ यो संग 
उमेरले छेक्न नसक्ने साँचो-माया असीमित हुन्छ।

Thursday, 24 September 2020

जय लकडाउन

जय लकडाउन!
जय लकडाउन!!

गाडी छैनन् 
प्रदुषण छैन
स्वच्छ हावा फेर्न पाइएको छ।

चिर्बिर्र चिर्र!
चिर्बिर्र चिर्र!!

डियर उज्ज्वलमान

तिमी गएसंगै उज्यालो पनि गएको छ
उज्यालो गएसंगै अँध्यारो आएको छ।

डियर उज्ज्वलमान!
तिमी कहिले आउँछौ?

अब तिमीलाई कसैले ल्याउनु पर्दैन 
आफैं आउनुपर्छ।

भूत

तिमी-मैले गरेको रोमान्सको सबूत नपठाउ
भिजाइरहने सम्झनाको नदी बहूत नपठाउ
निदाउन गाह्रो हुन्छ,जीवन विताउन गाह्राे 
वर्तमान तर्साइदिने डरलाग्दो भूत नपठाउ।

Friday, 18 September 2020

बाटो बन्द छ

बाटो खनेर बिगार्छ
अनि सजिलै लेख्छ-"बाटो बन्द छ"।

Monday, 14 September 2020

भुत्तुक्क

लुकी-छिपी खुसुक्क छुने दिन गैसके 
रातो-पिरो भई धुरुक्क रुने दिन गैसके 
आजभोलि केटा-केटी हाकाहाकी भए
लाज मानेर भुत्तुक्क हुने दिन गैसके।

Friday, 11 September 2020

लडाइँ

गुटबन्दी बिरुद्धको लडाइँ हो यो 
जंगे प्रवृत्ति बिरुद्धको लडाइँ हो यो
खराब नियत बिरुद्धको लडाइँ हो यो 
दमित पात्रको बुलन्द आवाज हो यो।

तिमी माया

तिमी माया गर 
या त माया मार
म त तिम्रै हुन्छु
म त तिम्रै हुन्छु।

जति भाग तिमी,पछ्याइरहन्छु
बेवास्ता गरे नि,पट्याइरहन्छु 
गाली गरे पनि सही नै रहन्छु 
तिम्रै छायाँ बनी संसंगै रहन्छु।

ढुंगाले हाने नि फूल सम्झी दिन्छु
घृणा गरे पनि माया सम्झी दिन्छु
टाढा सम्झ तिमी,म त नजिक ठान्छु
पराई सम्झे पनि म त आफ्नो मान्छु।

Monday, 7 September 2020

प्रत्यक्ष-प्रसारण

म खुशी थिएँ त केवल त्यहाँ मात्र थिएँ
म सुखी थिएँ त केवल त्यहाँ मात्र थिएँ
जीवन थियो त केवल ९ महिना मात्र थियो।

जब यो धर्तीमा आएँ,दु:ख मात्र पाएँ।

अहिले त मेरो मृत्यूको प्रत्यक्ष-प्रसारण भैरहेको छ।

Friday, 4 September 2020

प्रेमीको माग

यो मागको नियम कति विचित्र छ
उता कामदारको माग बढ्यो
यता प्रेमीको माग बढ्यो।

ममता

उनको शब्दकोषमा छैन अहमताको नाम 
आमा हो करङ धितो राख्ने क्षमताको नाम 
आफ्नो ज्यानै जाओस् बरु,पस्किन्छिन् माम 
त्यसै कहाँ चुलिएको छ यहाँ ममताको नाम?


Wednesday, 2 September 2020

सिस्नुपानी

सेतो पानामा कालो मसीले पोतिएको होइन
सिस्नुमा पानी छ्यापिएको हो।
त्यसैले,
यो कविता होइन
सिस्नु-पानी हो।
होसियार शासक हो,
अवश्य पोल्नेछ।

Tuesday, 1 September 2020

चिहान

बलि दिंदै आएको छु समयदेवलाई कति कति चाहनाहरुको
चाङ लाग्दै गएको छ अविस्मरणीय तीता-तीता सम्झनाहरुको
अतीतका भूतहरु जुर्मुराउँछन् जब रातले विजयोत्सव मनाउँछ 
यो छाती होइन,डरलाग्दो चिहान हो- हजारौं मृत सपनाहरुको। 

सपनाहरुको चिहान

यो छाती होइन,मृत सपनाहरुको चिहान हो।

Friday, 28 August 2020

मुख सिलाउनु

सत्य भन्दा परको माहोलमा बिलाउनुमै भलाइ हुन्छ
बिजातीय कुनै तथ्यसंग हात मिलाउनुमै भलाइ हुन्छ 
देखे पनि आँखा बन्द गर्नु ,सुने अर्को कानले उडाउनु  
खोल्नु भन्दा कहिलेकाही मुख सिलाउनुमै भलाइ हुन्छ।

Thursday, 27 August 2020

कुलमानको कथा


जनता पसेको भड्खारोको कथा 
अति दर्दनाक छ अँध्यारोको कथा 
तर कसैले लेखे या लेखेनन् कुन्नि 
कुलमान अनि उज्यालोको कथा।
 

Wednesday, 26 August 2020

दिवस

कतै दिवस छ 
कतै विवश छ
कतै रहर छ
कतै कहर छ
संसार अनौठो 
संसार अनौठो।

यता झिलीमिली,उता अँध्यारो छ,एउटै देशमा पनि 
कैले कस्तो रुप,कैले कस्तो रुप,एउटै भेषमा पनि 
दु:खको पनि गीत,सुखको पनि गीत,अचम्मको गीत
कहीँ बादल लाग्ने,कहीं घाम लाग्ने संसारको रीत।

कतै दिवस.......


यो पनि रोइदिन्छ,त्यो पनि रोइदिन्छ,हसाउँने कसले
यो मन पनि चिसो,त्यो मन पनि चिसो,तताउने कसले
समस्याको पोका,बोकी हिंड्छन् सबै,सुल्झाउने कसले
फुत्की हिंड्छन् सबै,एक अर्का बाट ,अल्झाउने कसले।

कतै विवश ...
 


लेखान्तमा

लेखान्तमा,लेखान्तमा,भए यदि लेखान्तमा
अवश्य भेट हुनेनैछ,गए पनि एकान्तमा।

तर्की हिंड आँखा तरी,या त घृणा गर 
चाहे भिसा लगाएर समुद्र नै तर 
भागी भागी गए पनि फर्किनेछ मन 
मनै फर्की आए पछि कहाँ बस्ला तन।
लेखान्तमा..........

अरुलाई चिन्नु अघि आफैंलाई चिन
संसारलाई चिन्नेछौ तब एकै छिन 
आफू भलो जगत भलो,थाहा छ कि छैन
हेर्ने आँखा सुन्दर भए,सबै तिर चैन।
लेखान्तमा....



Thursday, 20 August 2020

बचपन

दौंतरी भन्दा पनि असल अरु के हुन सक्ला
अन्धकारमा पनि झलमल अरु के हुन सक्ला
स्मृतिका पानामा कैद भएका,फर्किन नसक्ने 
बचपन भन्दा स्वर्णिम पल अरु के हुन सक्ला?

Wednesday, 19 August 2020

खम्बा

खम्बालाई तोड्नु अघि सोच्नुपर्थ्यो-
खम्बा बिना घर ढल्छ भनेर।

Saturday, 15 August 2020

माटोको

बाटो हाम्रो हैन,हामी बाटोको रहेछ
न बाठोको रहेछ,न त लाटोको रहेछ
जाँदा जस्तो आयो त्यस्तै जाने त हो
आखिर जीवन भन्नुनै माटोको रहेछ।

Tuesday, 11 August 2020

खुत्रुके

मस्तिष्कको खुत्रुकेमा
ज्ञानका सिक्काहरु खसालिरहें
तर कहिल्यै भरिएन।

Thursday, 6 August 2020

आरामपन्थीहरु

आफ्नो नामको ख्याल गर्दैनन् दामपन्थीहरु 
संघर्ष-मैदानमा तल्लीन हुन्छन् कामपन्थीहरु 
सही के,गलत के,छुट्याउन सके हुन्थ्यो सबैले 
कामको खिल्ली उडाउँछन् आरामपन्थीहरु।



विश्वास कि अन्धविश्वास

            म चोकमा टहलिरहेको थिएँ।केही मानिसहरु रित्तो जर्किन लिएर पानी थाप्न जाँदै थिए।साइत बिग्रेको सम्झी खिन्न भएँ।

           केहीबेरमै ती मानिसहरु पानी लिएर फर्के।साइत सप्रेको सम्झी पुलकित भएँ।

Wednesday, 5 August 2020

सफल असफल

असफल भए केन्द्रीय कारागार जस्तो
सफल भए खुल्ला गगन जस्तो
प्रेमको लीला अपरम्पार!

जून र तिमी

जूनको उपमा दिएर तिमीलाई 
तिम्रो महिमाको अवमूल्यन गर्न चाहन्न 
जूनले त आफ्नो रुप बदलिरहन्छ
तर तिमी तटस्थ छ्यौ
जून त टाढा छ
तर तिमी त मसंगै छ्यौ
मेरै छातीभित्र बिराजमान छ्यौ।

अप्राप्ती

आज मेरो मनको आकाशमा एउटा जून उदाएको छ
डर लाग्छ
कतै परिवर्तनको बादल छाएर
अप्राप्तीको झरी बर्सने हो कि।

Saturday, 1 August 2020

महासंग्राम

अराजक बादल र विद्रोही किरणका बीच
सदियौंदेखि अनन्तकालसम्म 
महासंग्राम चलिरह्यो,रहनेछ।

बिचारको संघर्ष

अतिक्रमण गर्न खोजिए पनि बिचारहरु 
अप्ठ्याराहरु चिर्दै
विवेकले जरा फिंजाइरहन्छ   
पालुवाहरु पलाइरहन्छन्।

Friday, 31 July 2020

रित्तो हात

संघर्षको मैदानमा निस्केको म रित्तो हात घर फर्कें।

ठेस

तिम्रो प्रेममा ठेस लागेर पछारिएँ।

Thursday, 30 July 2020

युद्ध

युद्धको लागि
मैदान छ
अस्त्र छ 
योद्धा छ 
तर दुश्मन छैन।

Friday, 24 July 2020

दुनियाँको पुस्तक

म चुपचाप-चुपचाप यो दुनियाँ पढिरहेछु,
जुन कुनै पुस्तक भन्दा कम रोचक छैन।

Monday, 20 July 2020

कसको

रोडमा क्रमशः कार,ट्याक्सी र भ्यानहरु राखिएका छन्।
ट्राफिक प्रहरीको प्रवेश हुन्छ।
"ओई!यो ट्याक्सी कसको?"

दरबार त्याग

अन्न फल्ने खेतमा इँटा,सिमेन्ट र फलाम रोपेर
अर्गानिक सुख फलाउन खोज्छन् मान्छे।

रुखहरु बेचेर भेन्टीलेटर किन्छन् मान्छे।

मिहिनेतलाई शत्रु ठानी रोगसँग मितेरी गाँस्छन् मान्छे।

बुद्धले दरबार त्याग्नुको मतलव आज बुझिरहेछु।

Thursday, 16 July 2020

गन्हाएको वर्तमान

बिचारहरुको लास कुहिएर डुङ्डुङ्ती गन्हाएको छ -वर्तमान।

Wednesday, 15 July 2020

खलनायक

हुन त तिमी मेरो नायक हौ
दुनियाँको नजरमा लायक छौ 
तर कहिलेकाही यो मन खलनायक भैदिन्छ।

Tuesday, 14 July 2020

२०५८

बर्सिन्छन् गोलीहरु छातीमा 
हर रात घटिरहन्छन् यहाँ २०५८हरु
खोसिन्छन् देशका मुकुटहरु।

अरबसागर

युवाहरुको सपना आर्यघाट पुगेपछि 
पसिनाको नदी बग्दै-बग्दै अरब-सागरमा मिसिन्छ।

गर्भवती

कति कुहिए
कति तुहिए-
जन्मन नपाउँदै अनगिन्ती नवजात बिचारहरु।
फेरि गर्भवती छ मेरो दिमाग।

Thursday, 9 July 2020

भाषा

मेरो मनको भाषा पटक्कै बुझ्दिनौ तिमी।
तिमी नै भन,कुन भाषामा अनुवाद गरुँ?

Tuesday, 7 July 2020

कदम

केही कदम पछि हटी 
दौडेर छलाङ मार्नुछ 
विभेदको खाडल नाघ्न।

Tuesday, 30 June 2020

आत्महत्या

कलाहरु ग्रीनकार्डमा झुन्डिएर आत्महत्या गर्छन्।

Saturday, 27 June 2020

सुझाव

भारी बर्षाले ताल जमेर सडक अवरुद्ध छ।
म गाडी फर्काउन खोज्छु।
एकजनाले सुझाव दिन्छ-
"जान्छ-जान्छ।"

सीधा

कच्ची रोडमा गाडी चलाउँदै थिएँ।अगाडी खाल्डो देखेर संयमित हुन्छु।नजिकको एकजनाले भन्छ-"सीधा जानू।"

Friday, 26 June 2020

हाँसो

उसको नजरमा कुनै षडयन्त्रको दृष्टी छैन।
उसको मुस्कान अपूर्ण छैन।
उसको वास्नामा कुनै स्वार्थको गन्ध छैन।

फूलको जस्तो प्राकृतिक हाँसो लाग्दैन मान्छेको।

बाटो

धमिलो भएपनि रोशी-खोला
बिर्सेको छैन उसले आफ्नो लय र गति।
सुस्ताइरहेछ निरन्तर-निरन्तर।

मन अमिलो हुँदैमा हामीले चाहिँ किन बाटो बिराउने ?

Tuesday, 23 June 2020

आशाको मुना

एउटाले सुकाएर गयो,थाहा छैन-कसले जलाउँला 
सजिलैसँग जल्ला,नजले पनि घरी-घरी चलाउँला 
यदि कोही माली आई प्रेमको जलले सिञ्चित गरे
निर्जीव यो दिलमा फेरी आशाको मुना पलाउँला।

Saturday, 20 June 2020

परिवार नियोजन

सम्मानित ओहदामा आसिन व्यक्ति 
अविछिन्न जन्माइरहेछ-अनियंत्रित अभिव्यक्तिहरु।

कसैले सल्लाह दिनुस् -परिवार नियोजन गर्न!

मैदान

जोडेर टुक्का-उखान,खान नपाएपछि 
के गर्छन् मेरा जहान?खान नपाएपछि 
बाँच्न असम्भव भएपछि कविता कोरी 
चुनिदिएँ मैले मैदान,खान नपाएपछि।

उल्लंघन

लक्ष्यमा संशोधन गरिदिएँ
संघर्षको बिमोचन गरिदिएँ
भोको पेटले धान्न नसक्दा
नियमको उल्लंघन गरिदिएँ।


भोको पेट

चलाएर चोरीको नेट,घरमै बस्नुपर्छ रे
नगरी कसैसँग भेट,घरमै बस्नुपर्छ रे
महामारीको बेला केही काम गर्न हुन्न 
लिएर भोको पेट,घरमै बस्नुपर्छ रे।

Tuesday, 9 June 2020

झूटको खेती

कुसंस्कृतिको चन्द्रमा उदाएको छ
मानवताको सुरज अस्ताएको छ
जरैदेखि मलजल गरी हुर्किएर
झूटको खेती खुब फस्टाएको छ।

Friday, 5 June 2020

खाली पेटहरु

निरीह मात्र हुँदैनन् खाली पेटहरु
आत्महत्या मात्र रोज्दैनन्
आक्रमक पनि हुन्छन् खाली पेटहरु।

बेलैमा बुझ्ने की
कोठामा थुनेर घाँटी अँठ्याउँदा
कति हिंस्रक हुन्छ बिरालो!

होमोस्यापिन्स

होमोस्यापिन्सको आकांक्षा
दुई खुट्टाले उभिंदै,
हिंड्दै,दौडिंदै
आज उड्ने तर्खरमा छ।

ढुंगे युगबाट छलाङ मार्दै
अत्याधुनिक सुसम्पन्न युगमा पाइला टेकेको छ।

ऊ यति रफ्तारमा छ की 
उसैको अस्त्रले खनेको अगाडीको खाल्डोमा
ऊ आफैं फसेको पत्तै पाउने छैन।

Thursday, 4 June 2020

काल

मान्छेहरु,
अन्धाधुन्ध गोली बर्षाउँदैछन् आकाशतिर।
उनीहरुलाई के थाहा,
तिनै गोलीहरु काल बनेर
बर्षिनेछन् -आफैंतिर।

अन्त्य

  हरेक शुरुवातको अन्त्य नहुन पनि सक्छ 
हरेक शुरुवात सुखद नहुन पनि सक्छ
हरेक अन्त्य दु:खद नहुन पनि सक्छ।

तर,
अनन्त आशाका किरणहरु बोकेर-
उदाएको मानव सभ्यता
आज अस्ताइरहेछ
निराशाको बादल बोकेर।

Monday, 1 June 2020

सिकार

एकहुल भेडाहरु
ज्यान जोगाउने होडमा
कहिले भीरतिर दौडेका छन् 
कहिले जंगलतिर भागेका छन् 
कहिले कता लागेका छन्।

यस्तै पाराले कुनै दिन
बाघको सिकार हुने निश्चित छ।

पत्थर

परिवेशका दृश्यहरुले घोचिरहे
आश्वासनका आवाजहरुले हानिरहे
छलछामका पत्थरहरुले थिचिरहे।

नदेखाऊ अब केही
नसुनाऊ अब केही
नछोऊ अब दिलमा।

म अन्धो भैसकें
म बहिरो भैसकें
म पत्थर भैसकें।

विनाशको जड

खडेरी लागेर नैतिकताको 
इमानका गराहरुमा
सुक्न थालेका छन्-अनुशासनका बीजहरु।

हिटलरी बिचारहरुले
उमारिरहेछन्-विषालु बृक्षहरु
उपदेश बाँडिरहेछन्-बुद्धलाई।

आदर्शका गुरु-गुरुआमाहरु
पस्किरहेछन् शिक्षा 
जहाँ सिकाईन्छ-नाम वा सर्वनाम बन्न
कहिल्यै सिकाईन्न-मान्छे बन्न।

जब मान्छे अरु नै केही/कोही बन्छ
उसको बिनाश अवश्यम्भावी छ।

जिन्दगीको इन्जिन

बाहिर जान नि:षेध गरिएको अवस्था।

गाडीरुपी जिन्दगी 
गेट भित्रको पार्किङमा थन्किएको छ।

टायर पञ्चर छ
हावा भर्ने ठाउँ छैन
टाल्ने वर्कशप छैन।

ब्याट्री पूरै डाउन छ
स्टार्ट हुन्न
किन्ने पसल बन्द छ।

महिनौं यसैगरी थन्किंदा
भोकको खियाले खाएर
कतै जिन्दगीको इन्जिन सिज त हुन्न?

जिउँदो मानसिकता

नवराज वि.क.को शव जलिसक्यो
तर विकृत मानसिकता जिउँदै छ
सिञ्चित हुँदै
फकृरहेको छ-झन-झन।

बाँझो भविष्य

मानसिकतामा दुबो उमृएको छ
जोश जाँगर पलायन भए
वर्तमान खण्डहर छ
भविष्य बाँझो।

कारागारको कैदी

कतैबाट 
परिचालित सिद्धान्त 
नियोजित उदेश्य
प्रायोजित कार्यक्रम।

सुगा रटाई-नाराहरु!

स्वतन्त्रता र स्वाधिनताको अभियान्ता
स्वयं स्वतन्त्र छैन
माकुरी जालमा छ
कसैको स्वार्थको कारागारमा छ।

अरुकै स्क्रीप्टमा अभिनय
अरुकै गीत गायन
सीमा र सिमितता छन्।

चोरिएको वास्नामा रमाएको छ
सापटिएको रंगमा हाँसेको छ।

आफ्नै सुवास र रंगले निर्वाध फकृएको
फूल हुन कहिल्यै सकेन।

Saturday, 30 May 2020

नशा

प्यालाहरु रित्याएरै सकुशल चलेको छु
हजारौं निराशाहरुमा धपक्क बलेको छु
पौडिएरै सागर समेत तर्ने साहस थियो 
तर आज तिम्रो आँखाको नशाले ढलेको छु।

श्रद्धाञ्जली

ब्वाँसाहरुले भनेछन् -:
"स्वर्गीय बाख्रा प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली!"

अधुरो कहानी

पिरतीको यात्रा हाम्रो जातमा टुंगियो
सपनाहरु पूरा हुने आशमा पुरियो
कहाँबाट उठ्यो आज षड्यन्त्रको छाल
गन्तव्यमा पुग्न खोज्दा घाटमा टुंगियो।

आपसमा फुट्न छोडी कहिले जुट्ने होला
जात-भात भन्दा माथि कहिले उठ्ने होला
मान्छे बीचको विभेदले पिल्सिंदैछन् मान्छे
अहमताले मानवता नै बिर्सिंदैछन् मान्छे।

विवेक र चेतहरु धारामै थुनिए
धर्महरु खोल ओढी मन्दिरमै अड्किए
नैतिकताले दिनानुदिन बसाइँ सर्न थाल्यो
अमृतले स्वयं आज बिष छर्न थाल्यो।

गिज्याउँदैछ समाजलाई जल्दै मेरो लासले
परिवर्तन ल्याउन सकोस् यौटा मेरो त्यागले
ठूलो उर्जा बन्न सकोस् हाम्रो प्रेम कहानी
कोही कसैको नहोस् अब अधुरो कहानी।



Thursday, 28 May 2020

दासढुंगा-२

जनताको आँखामा
कलंकित आश्वासनको पट्टी बाँधेर 
कायापलटको सपना देखाएर
कथित परिवर्तनको नशा पिलाएर
लामो कोमामा पठाई
रातारात गरिनेछ एउटा भूलको सम्झौता।

संसदीय वाण प्रहार गरी
हान्नेछन् आमाको कोखमा।

अरवौं डलर कुम्ल्याएर
बेचिनेछ मातृभूमि।

राष्ट्रियताको छातीमा लात हानी
चीरकालसम्म बन्धक बनाईनेछ-
स्वतन्त्रताको पंक्षीलाई।

पुनर्जन्म त हुनेछ मदन भण्डारीको
"नोट अफ डिसेन्ट"को राँको बालेर
बचाउन खोज्नेछ दुर्घटनोन्मुख देशलाई।

अन्ततः पुनः रचिनेछ भयंकर षडयन्त्र 
घटाइनेछ-"दासढुंगा-२"।

अणु-बम

अहमताका पिल्लरहरु हालेर
असमानताका ईँटाहरु जोडेर
खडा गरिदिएको छ समाजले हामी-बीच
जातिय वर्लिन-पर्खाल।

सँग-सँगै रोपिदिएका छन् 
घृणाका अनगिन्ती विरुवाहरु।

नजिकैबाट बहन्छ नरसंहारको नदी।

वरिपरि दन्किरहन्छ विभेदको आगो।

प्रेमको बीउ नछरेसम्म-
मर्लान् त बिरुवा?

सद्भावको सूर्य नउदाएसम्म-
सुक्ला त नदी?

परिवर्तनको वर्षा नभएसम्म,
निभ्ला र आगो?

अब पर्खाल ध्वस्त पार्न
बनाउनैपर्छ चेतनाको अणु-बम!

राष्ट्रियताको ट्रान्जिट

जवसम्म,
तेन्जीङ नोर्गेहरुले सम्मान पाउँदैनन् 
श्रमिकहरुले श्रम बराबरको मूल्य पाउँदैनन् 
कलाहरुले बजार पाउँदैनन् 
जवसम्म,
पसिनाको कदर हुँदैन 
श्रमको इज्जत गरिंदैन
तवसम्म,
राष्ट्रियता खल्तीमा बोकेर मुग्लान पुर्याईन्छ।

Wednesday, 27 May 2020

समयको माग

राष्ट्रप्रेमको भावना आज खै कता भागेको छ?
वैरीको घाँटी छिनाल्ने खुकुरीमा खिया लागेको छ 
सेलाएर गयो ऐतिहासिक वीरताको गाथा
समयले फेरी उस्तै वीर योद्धाहरु मागेको छ।

अमर प्रेम

सागर सुकेर जाला,यद्यपि बगर रहन्छ
सागरले बगरमा ल्याएको असर रहन्छ
देह बरु नासिएला,धर्ती पनि भासिएला
युगौं-युगसम्म सच्चा प्रेम अमर रहन्छ।

घाइते चितुवा

विकृति र विसंगतिको डढेलोलाई
आमूल परिवर्तनको मसीले निभाउन खोज्दा
अराजकताको पाइलालाई
अक्षरको पहाडले छेक्न खोज्दा
एउटा निरंकुश घाइते चितुवा 
झम्टिरहेछ कलम माथि।

धमाका

अदृश्य विकाउ शक्तिहरु
फ्याँकिरहेका छन् ममतालाई नरपिपासुहरुको भीडमा 
अस्मिता लुटिन बाध्य पारिएको छ।

घचेटिएको छ स्नेहलाई अनकन्टारमा
जहाँ गिद्धाहरु मिलेर 
लुछिरहेछन् अंग-प्रत्यंग।

अनगिन्ती दिनका औंसीहरुले
अन्धकारका पट्टि बाँधेका छन्-
सुन्दर आँखाहरुमा।

समाचार आएको सुन्ने रहर छ-
"एउटा ठूलो धमाका,
देशद्रोहीहरुको एउटै चिहान"।

यो देश कसको

हामीलाई,
उसैले हिंडाउनुपर्ने
उसैले दौडाउनुपर्ने
उसैले चढाउनुपर्ने
उसैले ओराल्नुपर्ने।

कतै हामीमा,
उसैको श्वास त छैन?
उसैको रगत त छैन?

राणा-शासन उसैले सिध्याइदिनुपर्ने
प्रजातन्त्र उसैले ल्याइदिनुपर्ने
राजतन्त्र उसैले ढालिदिनुपर्ने
गणतन्त्र उसैले ठड्याइदिनुपर्ने।

हामी स्वयंले गर्नुपर्ने चाहिँ के रहेछ?

हुँदा-हुँदा,हाम्रै भूमिमा
सडक पनि उसैले बनाइदिनुपर्ने।
कतै हाम्रो देश उसैको देश त हैन?

अणु-बम

अहमताका पिल्लरहरु हालेर
असमानताका ईँटाहरु जोडेर
खडा गरिदिएको छ समाजले हामी-बीच
जातिय वर्लिन-पर्खाल।

सँग-सँगै रोपिदिएका छन् 
घृणाका अनगिन्ती विरुवाहरु।

नजिकैबाट बहन्छ नरसंहारको नदी।

वरिपरि दन्किरहन्छ विभेदको आगो।

प्रेमको बीउ नछरेसम्म-
मर्लान् त बिरुवा?

सद्भावको सूर्य नउदाएसम्म-
सुक्ला त नदी?

परिवर्तनको वर्षा नभएसम्म,
निभ्ला र आगो?

अब पर्खाल ध्वस्त पार्न
बनाउनैपर्छ चेतनाको अणु-बम!

Friday, 27 March 2020

ज्यान

जसरी रुखको ज्यान पातमा हुन्छ 

मेरो भाग्यरेखा तिम्रो हातमा हुन्छ 

तिमी मेरो साथमा भएको बेला

झिलिमिली उज्यालो रातमा हुन्छ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...