Wednesday, 25 December 2024

पैसा पैसा

पैसा पैसा भन्दा भन्दै बित्छ कुनै दिन
हजार लाख गन्दा गन्दै बित्छ कुनै दिन।

छट्पटाउँछ कुनै घाउ मलम नपाएर
छुट्छन् कति अक्षरहरु कलम नपाएर
हरेक पल गन्दा गन्दै बित्छ कुनै दिन
ऐया ऐया भन्दा भन्दै बित्छ कुनै दिन।

घटाउने त नामै लिन्न अनगिन्ती जोड्छन्
कसैलाई काम लाग्दैन,आखिरीमा छोड्छन्
पुँजिपति बन्दा बन्दै बित्छ कुनै दिन
तेरो-मेरो भन्दा भन्दै बित्छ कुनै दिन।





Tuesday, 24 December 2024

तिम्रो लागि

तिम्रो लागि आकाशको जुनतारा झार्न पनि सक्दिन म
मुटुभित्र राखिसकें अब माया मार्न पनि सक्दिन म।

सुन चाँदी हीरा मोती नचाहने को होला यो दुनियाँमा 
थाहा छैन कतिसम्म योगदान दिन सक्छु यो मायामा 
जित्छु भन्ने यकिन छैन प्रेमको खेलमा हार्न पनि सक्दिन म
मुटुभित्र राखिसकें अब माया मार्न पनि सक्दिन म।

माया भन्ने कुरा यहाँ हुन्छ भन्छन् अमूल्य धन भन्दा 
अचम्म त तब लाग्छ जब हुन्छ ठूलो धन मन भन्दा
शीरमाथि सजाइसकें  तिमीलाई झार्न पनि सक्दिन म 
मुटुभित्र राखिसकें अब माया मार्न पनि सक्दिन म।

Tuesday, 17 December 2024

भेट्ने कसरी

मन जोड्ने पुल छैन भेट्ने हो कसरी 
तीर्खा लाग्दा मुल छैन मेट्ने हो कसरी।

अतीतको माया बोकी छाती भरी भरी 
बिछोडको घाउ बोकी रुन्छु घरी घरी।
कहाँ होलिन् कस्ती होलिन् देख्ने हो कसरी 
तीर्खा लाग्दा मुल छैन मेट्ने हो कसरी।

मलाई जस्तै उनलाई पनि हो कि छ्टपटी
एकदिन हैन दुईदिन हैन सहने हो कति
छातीमा घाउ आलै हुन्छ सेक्ने हो कसरी 
तीर्खा लाग्दा मुल छैन मेट्ने हो कसरी।


Monday, 25 November 2024

सिर्माङ सुरुप्पै

बख्खु त लाउँदा सुहाको क्या दामी 
पाङ्देन लाउँदा सुहाको वाह दामी 
सिर्माङ सुरुप्पै!होssसिर्माङ सुरुप्पै
शेर्पीनी देखेर भएँ हुरुक्कै।

G
ढाँट्या हो कि आच्युले साँचै हो
लुगा हो कि मनपर्ने मान्छे हो?
सोल्च्या सुरुप्पै!हो$$ सोल्च्या सुरुप्पै
शेर्पालाई देखेर भएँ हुरुक्कै।

B
यसै राम्री उसै नि राम्री 
शेर्पा पोशाक लगाउँदा झन् राम्री 
स्योसुम् सुरुप्पै!होssस्योस्युम् सुरुप्पै
शेर्पीनी देखेर भएँ हुरुक्कै।

G
यो आज्युले नजरै हान्यो
शेर्पा भाषा बोलेर मन तान्यो 
आराक् सुरुप्पै!हो$$ आराक् सुरुप्पै
शेर्पालाई देखेर भएँ हुरुक्कै।

श्यार्वा ताम ङिङ्नाङ्ला देतु वाइ
दी पुमफेजा सेम्नाङ्ला देतु वाइ 
तोङ्बा सुरुप्पै,हो$$$ तोङ्बा सुरुप्पै
शेर्पीनी देखेर भएँ हुरुक्कै।

डाम्ङ्याङ टुल्नी कस्स्यानी छेम्नीनाङ
श्यार्वा लु ल ल्यामक्यानी छेम्नीनाङ 
थुक्पा सुरुप्पै!हो$$ थुक्पा सुरुप्पै
शेर्पालाई देखेर भएँ हुरुक्कै।





Thursday, 19 September 2024

पीआर वाला

B
थाहै नपाई महिना दिन कति चाँडो बितेछ 
बस्ने इच्छा भए नि छुट्टिने बेला भएछ 
पुरानै झोला बोकेर, हातमा पासपोर्ट लिएर
बिरानो मुलुक जाँदैछु,आँखामा आँशु लिएर।

G
जानुनैपर्ने के छ र?नगए पनि हुन्न र?
निष्ठुरी रहेछौ तिमी त,मेरो मायाले छुन्न र ?
दुई हात जोडी बिन्ती छ,छोडेर मलाई नजानु
साहरा मेरो को छ र,नजानु प्यारा नजानु।

B
अनगिन्ती पीर छ,दु:खै-दु:खको भीर छ
के गर्नु र मायालु,बिदेशिने तक्दीर छ
जानैपर्ने बाध्यता ,यहीं हाम्रो यथार्थ 
यस्तै यस्तै कथा छ,यस्तै यस्तै व्यथा छ।

G
गरिबीसंग लडौंला,दु:खको सागर तरौंला 
दु:ख पनि बाँडौंला,सुख पनि बाँडौंला
जहाज चढ्नु पर्दैन,विदेश जानु पर्दैन
साथमा तिमी नभए यो मन खुशी हुँदैन।


B
रगत बिना चल्दैन मुटुको धड्कन् जसरी
मायालु बिना जिन्दगी चलाउनु मैले कसरी 
पाउ मेरो मोल्नु पर्दैन,सम्मान धेरै चाहिँदैन 
बिदेश नगई के गर्नु,हातमुख जोर्न पाइँदैन।

बिछोड्को वर्षा दर्किंदा तर्कन म सक्दिन
दुईचार बर्ष भासिन्छौ, पर्खन म सक्दिन
ठूल्ठूलो महल चाहिदैन,सुख र सयल चाहिंदैन 
साथमा रम्न चाहन्छु ,तड्पेर बस्न सक्दिन।

B
बाँझो यो बारी जोतेर पसिना यतै रोप्नेछु
अँगालो मारी तिमीलाई प्रीतिको संसार खोज्नेछु
परी त जस्ती चाहिँदैन,अप्सरा पनि चाहिंदैन 
मनकी रानी भए हुन्छ,जीवनसारथी भए हुन्छ।

G
पाखा र पखेरी गएर टिपेर सिस्नु पकाउँला 
सासले साथ दिएसम्म हरेक पलमा सघाउँला
सुन र चाँदी चाहिंदैन ,हीरा र मोती चाहिंदैन 
सपना सानो राजी छ,प्रेमको गहना काफी छ।


खाडी नि गएँ युरोप नि गएँ,मन त खुशी भएन 
दिनरात जत्तिनै खटे नि  धन त झुसी भएन
चौरासी व्यन्जन चाहिदैन,महँगो पलाङ चाहिदैन 
खुशीको निंद्र सुतिन्छ,आफ्नै पाराले उठिन्छ।

G
मायाको थाली पस्केर खुशीको भोक मेटौंला  
गर्नुछ जे जे  हामीले यहींको माटोमा गरौंला।
पीआर वाला चाहिदैन,ग्रीनकार्ड वाला चाहिदैन 
पिरती ताजा भए हुन्छ,मनको राजा भए हुन्छ।

B
आफ्नै माटोमा फलाउँछु,आको छ यस्तै चेतना 
हातमा हात गाँसेर ,साटेर मनको बेदना  
आम्दानी लाखौं चाहिदैन,टाइसुट पनि लाईँदैन  
जीवन सादा भए हुन्छ,कृष्ण र राधा भए हुन्छ।

----------------------------------------------***--------
नादिङ भाका गाउँदा दु:खको संसार बिर्सिन्छ
टुङनाको टङ्टङ बजाउंदा शेर्पा-संगीत झल्किन्छ


सेब्रुको तालमा नाच्दिंदा सबै दु:ख बिलाउँछ
बाछ्यै बाजा बजाउँदा मरेको आशा पलाउँछ

धर्मलाई भुल्नु हुँदैन,संस्कृति भुल्नु हुँदैन
भाषालाई बोलीदिए हुन्छ,गाउँघर सम्झीदिए हुन्छ।

मिलेर अघि बढौं न दु:ख र सुखको यात्रामा
भेटघाट गरिराखौं है साकदावा छेज्यु जात्रामा

झगडा गर्नु हुँदैन,विवाद गर्नु हुँदैन 
मिलेर हाँस्न पाए हुन्छ,मिलेर नाच्न पाए हुन्छ।






-----------------------------------------------------------













Monday, 16 September 2024

सेर्पिनी देख्दा

शेर्पिनी देख्दा शित्तल हुन्छ मेरो आँखालाई
छातीमा मेरो चसक्क हुन्छ नदेख्दा मायालाई
आराक पोङ लिएर आउँछु यसपालि माग्नलाई
सम्झाई बुझाई राख है कान्छी पालु र मम्मालाई।

फकिर भई बिग्रेर हिन्छौ कसले पो पत्याउंछ
आराक छ्याङ खाएर हिन्छौ कसले पो पत्याउँछ
साँच्चिकै मलाई लैजाने भए ट्रेकिङ गर न
छुर्पी र घिउ मनपर्छ मलाई कि चौंरी पाल न।

गुम्बामा छ्योमे बालेर हामी ॐमाने जपौंला
दु:ख र कष्ट झेलेर पनि संगसंगै बाँचौंला
शेर ताङ ङुल केही पनि होइन मायानै काफी छ
फल्गी ताङ रिल्दोक खाएर पनि खुशीले बाँचौंला।

च्योमो त लोङ्मो चढेर देखाउ भनेर भन्दिन
करोड रुपैयाँ कमाइ देखाउ भनेर भन्दिन
पालुको छोरा हो भने मन जितेर देखाउ
समाज सामू इज्जत हुने गरेर देखाउ।

तानेर पनि लैजान्छु म त नदिए मागेर
हातले होइन मायाले हो नि तनन तानेर
रिसको बेला बाउआमाले दुइदिन कराउँछ
तीनदिन पछि लागेर कर ज्वाइँ भनी बोलाउँछ।

के भन्छ कान्छा मायाले मात्र जिन्दगी चल्दैन
सजिलो छैन मायाले मात्र चुल्हो त बल्दैन
लखर लखर लखर लखर डुलेर हुँदैन
पत्तर पत्तर पत्तर पत्तर बोलेर हुँदैन।


Wednesday, 20 March 2024

कार्यकर्ता

कछुवाले आकाश छोयो,चराले थोरै उचाइ छुन सकिरहेको छैन 
मझधारमा अल्झिरहेछु,न हाँस्न न त रुन सकिरहेको छैन 
तुलनात्मक रुपमा उनले धेरै फड्को मारिसक्यो,मैले सकिन
उनी कसैको गृहमन्त्री भैसकिन्,म कार्यकता हुन सकिरहेको छैन।

Wednesday, 24 January 2024

बानेश्वर

मुख्य कुरा त यहाँ श्रमको सम्मान छैन।एउटा बेरोजगार जो भट्टी धाउँछ र त्यही मान्छे अर्को  श्रम गर्ने श्रमिकलाई हेप्छ।अर्को कुरा श्रमको वातावरण छैन।हरेक तह र तप्काले श्रम गर्नेलाई दु:ख दिन्छ।हामी यतिसम्म स्वार्थी भयौं कि अरुको बारेमा सोच्ने फुर्सदै छैन।आफ्नो स्वार्थ सिद्ध गर्न मात्र तल्लीन भयौं।हामी ठूलो मान्छे बन्ने दौडमा जिम्मेवार हुन सम्म सकेका छैनौं।यहाँ सबैले नेता र सरकारलाई मात्र दोष दिन्छौं तर आफूले के गरिरहेका छौं भन्ने बारे कहिल्यै सोच्दैनौं।यो चार बर्षको काठमाडौ बसाइँले धेरै कुरा सिकायो।लेख्यो भने एउटा ठूलै पुस्तक बन्छ होला।हाम्रै करले जागीर खाएका कर्मचारी हामीलाई नै दु:ख दिन्छन् ,सताउँछन्।वास्तवमा यो देश गरिखाने ठाउँ होइन रहेछ।यस्तै सोचेर गरिखान खोज्नेहरु पलायन हुन्छन्।तीतो सत्य यही हो।मनन गर्ने कसले?बानेश्वरको घटना त एउटा प्रतिनिधि घटना मात्र हो।जलेर मर्न नसके पनि अधिक संख्यामा मान्छेहरु पलपल मरेर बाँचिरहेका छन्।

Friday, 12 January 2024

नयनी ताल

B: मेरो नयनी तालैमा डुंगा ख्याउनु तिमी
G: ताल तरी सुटुक्क मनमा आउनु तिमी।

B: जिन्दगीको गहिराइमा संगै डुब्न जाऔंला
G: पिरतीको हिरा-मोती टिपीकन आऔंला
B: जवानीको आगो बाल्छु,दाउरा ल्याउनु तिमी
G: भित्ता म नै सजाउँछु,छाना छाउनु तिमी।

B: यौवनको फूलबारीमा तिमी फूल हुनु
G: फूलको रस चुसिदिने भमरा हुनु 
B: रोएको त सुहाउँदैन,मुस्कुराउनु तिमी 
G: ढुकढुकीको संगीतमा गीत गाउनु तिमी।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...