Monday, 27 December 2021

nile

Full of eyes,again & again,comes her smile,its very difficult 
Chest is destroyed coming the remembrance'S missile,its very difficult 
its easy for her who goes easily,went & finished 
He,who is left,must live with the memory's nile,its very difficult.

जोड

सोचे अनुरुप सहजता भेटिन्न जिन्दगीको मोडमा पनि
हार पनि भेटिन्छ,जीत पनि भेटिन्छ,जीतको होडमा पनि
तेरो-मेरो भन्नु केवल मुखको स्वाद फेर्नु मात्र हो,यति बुझ्नु 
अन्ततः हातमा लाग्ने शून्य नै हो करोडौंको जोडमा पनि।

Friday, 24 December 2021

प्यारो

आज म 
बाबुको-आमाको छोरा हुँ 
दिदी/दाजुको भाइ हुँ
भाइ/बहिनीको दाइ हुँ
श्रीमतीको श्रीमान् हुँ
कसैको छिमेकी हुँ
कसैको शत्रु हुँ
कसैको मित्र हुँ।

आज म 
कोही-कसैको हुन नसकेको प्रेमी हुँ
कोही-कसैको हुन नसकेको श्रीमान् हुँ।
त्यसैले त कसैको आँखाको नानी छु 
कसैको आँखाको कसिंगर छु।

भोलि म जुन दिन,
माटोको हुनेछु
हावा-पानीको हुनेछु
समग्रमा प्रकृतिको हुनेछु
त्यो दिन सबैको प्यारो हुनेछु।

Thursday, 23 December 2021

थोपा

माला बनाउन अक्षरहरुको थुँगा संगाल्न सकुँ
अन्धकारलाई चिर्न ज्ञानको दीप बाल्न सकुँ
संसारलाई बदल्न नसकुँला,मेरो औकात छैन
साहित्यको सागरमा एक थोपा खसाल्न सकुँ।

Monday, 20 December 2021

अवसरवादी

जीतको मात्र कथा लेख्छन्,हारको लेख्दैनन्,पक्षपाती हुन्छन् 
चाहिने बेला लेख्दैनन्,सबैको प्यारो भैरहन्छन्,लाक्षी हुन्छन् 
केही अनिष्ट होला,घात होला र भयंकरै लेखुँला भनी पर्खिन्छन्
अधिकांश लेखक,साहित्यकारहरु पक्कै अवसरवादी हुन्छन्।

Sunday, 19 December 2021

आफू भलो

जमाना यस्तो आयो,कसै माथि कसैको हुन्न भर
सके सबैको भलो गर,नसके कसैको कुभलो नगर
आफू भलो त जगतै भलो भन्ने कुरा बुझ्न छाडे
आफू माथि देखाउन अरुलाई तल देखाउनै पर्छ र?

Friday, 10 December 2021

प्लास्टिक

सिध्याउन खोज्दा पनि सिद्धिएन
जलाउन खोज्दा पनि स्वरुप मात्र बदल्यो
असर मात्र गरिरह्यो...गरिरह्यो।
तिम्रो याद त प्लास्टिक जस्तै रहेछ।

Tuesday, 7 December 2021

यादको नाइल

आँखाभरी आउँछ घरीघरी तिम्रै स्माइल,गाह्रो पर्छ
छाती छेड्छ आएर संझनाको मिसाइल,गाह्रो पर्छ
छोडी जानेलाई त सजिलो छ,चट्टै छोडी गयो,सक्यो
छोडिने त बस्नुपर्छ बनाई यादको नाइल,गाह्रो पर्छ।


Saturday, 27 November 2021

उसको लागि

उनको लागि म त मरिसकें अरे
उनको नजर बाट झरिसकें अरे 
उनीसँग बोल्ने बहानै भएन
अब मेरो बाँच्ने चाहनै रहेन।

Tuesday, 23 November 2021

तन्त्र

गोरालाई काला बनाउने कुन यन्त्र हो साथी?
सत्यलाई झूट देखाउने कुन  मन्त्र हो साथी
प्रतिस्पर्धाले त खारिन्छ र सक्षम बनाउँछ 
प्रतिस्पर्धीलाई दुश्मन देख्ने कुन तन्त्र हो साथी?

Sunday, 21 November 2021

तिमी

ढल्न खोज्दा मेरो जिन्दगी थामिराख्ने थाम हौ 
हजारौं पल्ट जपेपनि ओठ नथाक्ने प्यारो नाम हौ 
अरुले जसरी बुझून् तिम्रो बारेमा,तर मेरो लागि 
कहिल्यै नअस्ताउने गरी उदाएको प्रेमको घाम हौ

Sunday, 31 October 2021

बुलेट

भटङटङ बुलेट लिएर हिंड्छन्
जथाभावी धम्की दिएर हिंड्छन्
अचेलका युवा-युवती रक्सी पिई
सडकको बीच हुइँकिएर हिंड्छन्।

Saturday, 30 October 2021

बचाउ

कसैको एकदुई कप चिया बचाइदिएँ
कसैको एकदुई बोतल तीनपाने बचाइदिएँ
कसैको एकदुई लोकल भाले बचाइदिएँ
कसैको एकदुई छाक भात बचाइदिएँ
गाउँ पुगेर सुटुक्क फर्किनुको पनि छुट्टै मजा छ।

ह्याक

लागेको छ मनमा ठूलै ठेस,कसले चलाउँदैछ 
अचानक फेरिंदैछ परिवेश,कसले चलाउँदैछ 
सारा गोपनियता भंग भए,देखियो अनौठो दृश्य 
ह्याक भएको छ  मेरो देश,कसले चलाउँदैछ?

Tuesday, 19 October 2021

एक सेकेन्ड

एउटा गोलीको चालले 
छातीको पहाडलाई छिचोल्दै 
जीवनको ढोकाबाट मृत्युको मुखमा धकेल्न सक्छ
एक सेकेन्डमा।

एउटा टालाको बल जत्रो बमको धमाकाले
हजारौं मानिसलाई चीरनिद्रामा सुताउन सक्छ
एकै सेकेन्डमा।

अनन्तको दूरीसम्म यात्रा गर्न सक्छ
एउटा अन्तर्मनको यात्रीले
एकै सेकेन्डमा।

एकै सेकेन्डमा लिएको गलत निर्णयले
गम्भीर मोडमा पुर्याउन सक्छ
या त सही निर्णयले
सफलताको चुलीमा चढाउन सक्छ।

एकै सेकेन्डको आँखा झिम्क्याइले
कोही कसैको प्रेमको गहिराइमा 
डुबुल्की मार्न बाध्य पार्न सक्दैन भन्ने के ग्यारेन्टी छ?

Saturday, 2 October 2021

ठाउँ

आवारा,पागल,दिवाना नाउँ दिए हुन्छ
प्रेमको संसारमा एउटा गाउँ दिए हुन्छ
तिमीसंग सर्वस्व माग्ने त हैसियत छैन 
मुटुको कुनामा सा...नो ठाउँ दिए हुन्छ।

Sunday, 26 September 2021

बगैंचा

बस्छौ भने छातीलाई
गलैंचा बनाइदिन्छु म
बगैंचा बनाइदिन्छु म।

Thursday, 23 September 2021

देश

आँखामा देश छ
नसामा देश छ
कहाँ छैन देश?  
कलामा देश छ।

कसले बिगारे

कल्ले बिगारे भन्नुहोला 
भरौटेले देश बिगारे 
धरौटेले देश बिगारे।

Tuesday, 21 September 2021

तिरस्कार

सधैं आफैं माथि पर्दा समस्या भएको हो
हद भन्दा तल  झर्दा समस्या भएको हो 
प्रेमको वीउ छरे पो संसार सुन्दर हुन्छ त
अरुलाई तिरस्कार गर्दा समस्या भएको हो।

Sunday, 19 September 2021

पदक

ओहदामा बसेकाले आफ्नैलाई पदक दिलाउँछन्
हरे !देख्नेलाई लाज भयो,किन चटक देखाउँछन्?

उडेर कहाँ सफलताको सगरमाथामा टेकिन्छ र
कृकेटरहरु १ रन,२ रन जोड्दै शतक बनाउँछन्।

माया मात्र गर्नेलाई पनि खासै माया लाग्दैन 
उही प्यारो लाग्छ,जो पटकपटक सताउँछन्।

Wednesday, 15 September 2021

अचेल

भावनाको पखेटा हाली कहाँ-कहाँ जान मन लाग्छ अचेल
कोही मेरो कुरालाई साँचो मान या नमान,मन लाग्छ अचेल 
सक्ने भए काव्यको रम,भोड्का,वियर,व्हिस्की पनि बनाउँथें
काव्यकै ब्रेकफास्ट,लन्च र डिनर खान मन लाग्छ अचेल।

Tuesday, 14 September 2021

एनिहाउ

पैसावालाहरुको गला थिच्न सके माथि पुगिन्छ
साना-मसिनाहरुलाई किच्न सके माथि पुगिन्छ
"एनिहाउ धन कमाउ"उखानलाई ध्यानमा राखी
ठूला-बडाहरुको गोडा मिच्न सके माथि पुगिन्छ।

लग-इन

कल्पनाको आकाशबाट यथार्थताको धरातलमा झर्न मन छ मलाई 
तिम्रो जिन्दगीको खाली पानामा प्रेमको इन्द्रेणी भर्न मन छ मलाई 
जमाना डिजिटल भैसक्यो साथी,समयले ठूलो फड्को मारिसक्यो
कुनै वेबसाईट जस्तै तिम्रो दिलमा सुटुक्क लगइन गर्न मन छ मलाई।

Monday, 13 September 2021

तँ को होस्?

के गरिबको
स्वाभिमान हुन्न र?
इज्जत हुन्न र?
स्वविवेक हुन्न र?
स्वेच्छा हुन्न र?
स्वतन्त्रता हुन्न र?

के  गरिबले  
लाचार हुनैपर्ने?
झुक्नैपर्ने?
थिच्चिनैपर्ने?
मिच्चिनैपर्ने?

हामी चाहन्छौं 
आफ्नै पौरख र पसिनामा बाँच्न
आफ्नै घरमा गौरवका साथ हाँस्न 
एक-अर्कामा प्रेमपूर्वक रम्न 
द्वन्दलाई बहिस्कार गर्न 
अमनचैनका साथ जिउन।

भन्न पाईन्छ कि पाईन्न?
हामीलाई 
कसैको सहयोग चाहिन्न 
कसैको दया चाहिन्न 
कसैको भीख चाहिन्न।

तैंले दिएको दान लिनैपर्ने के छ र?
खान्न भन्दा पनि मुखमा कोच्ने तँ को होस् र?

सहयोगको बहानामा मेरो घरमा घुस्ने तँ  होस्?
घरमा घुसेर चलखेल गर्न खोज्ने को होस्?
शोषण गर्न खोज्ने को होस्?
लुट्न खोज्ने को होस्?
छिमेकी या दुश्मन?
शान्तिवादी कि आतंकवादी?

तैंले  रिस देखाएर धम्क्याउनुपर्दैन
हामीसँग हिम्मत छ
तैंले बिष देखाएर अँत्याउनुपर्दैन
हामीसंग अमृत छ
तैंले हतियार देखाएर तर्साउनुपर्दैन
हामीसँग यार छ
हामीसँग प्यार छ
हामीसँग बिचार छ।

हाम्रो तागतलाई नजरअन्दाज गर्ने तँ को होस्?
हामीलाई कम्जोर देख्ने तँ को होस्?
हामीले त चिनिसक्यौं-तँ को होस् 
तैंले आफूलाई चिन्न बाँकी रहेछ-तँ को होस्?










Saturday, 11 September 2021

जेल

थाहा छैन,तिमीलाई के र कति दिन सक्छु
तिम्रो लागि त काँडामा समेत उभिन सक्छु
स्वतन्त्रता भन्दा बरु बन्धक नै प्यारो लाग्छ 
तिम्रो दिलको जेलमा पनि आनन्द लिन सक्छु।

Tuesday, 31 August 2021

स्वार्थको भाषा

स्वार्थको भाषामा
मह घोल्छन् 
मीठो बोल्छन्।

कुकुर

कुकुरझैं डुल्छन् 
काम नहुनेहरु
दाम नहुनेहरु।

Friday, 27 August 2021

अनुगमन

अचानक हुन सक्छु परिवर्तन ,गरिराख 
कुनै सि.आई.डी.परिचालन गरिराख 
जतिखेर पनि घुस खान सक्छु मायाको
बेला-बेला आफैं अनुगमन गरिराख।

Thursday, 26 August 2021

शवयात्रा

रातो प्रतीकको दुरुपयोग गर्दै
एक हुल क्रान्तिका जलपधारीहरु 
"लाल"शब्दलाई सलामसंग जोड्दै
रङको बेइज्जत गरिरहेका छन्।

वायु-प्रदुषित गर्दैछन् 
ध्वनि-प्रदुषित गर्दैछन् 
आफ्नो ब्लडप्रेसर बढाउँदैछन्
बल-बुद्धि खर्चिरहेकाछन्।

त्यो बल र बुद्धि पढाइमा खर्चेको भए
बिज्ञान र प्रयोगमा खर्चेको भए
धेरै बैज्ञानिक र शिक्षाविदहरु जन्मिसक्थे
नामी शिक्षकहरु कहलिन्थे
धेरैका नाम विश्वमा चम्किसक्थे
स्वर्णाक्षरले इतिहास कोरिन्थे।

यिनीहरुले भविष्य यसैमा सुरक्षित देखिसकेका छन् 
यसो सोर्स-फोर्स लाएर जागिर पक्का हुने 
ग्याङ-फाइट वा रेप-केसमा जेल परे छुट्टिने
भनसुन गरेर काम सजिलो/छिटो/फत्ते हुने।

महंगीले आकाश छोएको बुझिसकेका छन्।
बाइकमा तेल हाल्न
रेड-लेभलसंग सुकुटी चपाउन  
आफ्नो पकेटबाट सुक्को नजाने।

तर 
नबुझ्नेले पनि बुझिसके-
यो कुनै क्रान्ति होइन
यो कुनै जुलुस होइन।

धेरैले बुझिसके-
शान्तिको हत्या भैसक्यो
हत्याराहरु शान्तिको शवयात्रामा छन्।











Saturday, 21 August 2021

जलन

अरुको प्रगतिमा मान्छे
जल्दै जल्दै जान्छन् 
गल्दै गल्दै जान्छन्।

Thursday, 19 August 2021

जतिखेर पनि

नेपालको राजनैतिक दल
जतिखेर पनि जुट्न सक्छ 
जतिखेर पनि फुट्न सक्छ।

अव्यवहारिक

अव्यवहारिक,असम्भव कुरा अचेल कसले सुन्छ?
हरेक व्यक्ति अरुलाई तान्न अनेक शब्दजाल बुन्छ
मायाप्रेम बिना जमिन भास्ने,नभ खस्ने हुन्न क्यारे 
"तिमी बिना बाँच्न सक्दिन"भन्दैमा यहाँ के हुन्छ?



राजनैतिक दल

बेलून हो राजनैतिक दल
जतिखेर पनि उड्न सक्छ
जतिखेर पनि फुट्न सक्छ।

जिन्दगी

यो जिन्दगी हो साथी!
कहिले रंगीन हुन्छ 
कहिले रंगहीन हुन्छ। 

Saturday, 7 August 2021

सेनापति

सहयात्रीको तेश्रो आँखा फुटाएको अलि मजा आएन
राजाकै विरुद्धमा हतियार उठाएको अलि मजा आएन
शासन-बागडोर हातमा लिई अधिकारको दुरुपयोग गरी 
रानीले सेनाहरुसंग आँखा जुधाएको अलि मजा आएन।

Monday, 26 July 2021

पासवर्ड

टाढा राख्यौ या छेउ मलाई 
भएन केही पनि भेउ मलाई 
कसरी छिर्ने हो तिम्रो दिलमा
सुटुक्क पासवर्ड देउ मलाई।

Friday, 23 July 2021

मूल्य

जिउन जाने जीवन अर्थपूर्ण सफर हुन्छ
महत्त्व बुझेपछि मात्र अत्तर पनि अत्तर हुन्छ 
चीज अमूल्य तब हुन्छ,जब सकिन्छ चिन्न
बहुमूल्य हीरा पनि चिन्न नसके पत्थर हुन्छ।
 

थुकिएको थुक

पदसंग ईमान साट्नेहरु पनि देखें
भित्रभित्रै जरा काट्नेहरु पनि देखें
मान्छेहरु बोल्छन् अर्कै,गर्छन् अर्कै
थुकिएको थुक चाट्नेहरु पनि देखें।

भाउजू देवर

गल्ती लुकाउने कि स्वीकार्ने हजूर?
समाजलाई सपार्ने कि बिगार्ने हजूर?
भेनालाई साली जस्तै भाउजूलाई देवर चाहियो रे
विकृति सुधार्ने कि थुपार्ने हजूर?

Sunday, 18 July 2021

चुच्चे

चुच्चे बनाउने पनि तिनै हुन् 
बुच्चे बनाउने पनि तिनै हुन् 
शान्त भएर बसेका जनलाई 
छुच्चे बनाउने पनि तिनै हुन्।

गोलाप्रथा

आँखा चिम्मा गरेर एउटालाई तान्नुपर्ला जस्तो छ 
भाग्यले जुरा'कोलाई आफ्नो मान्नुपर्ला जस्तो छ
जो देख्यो उस्तै लाग्छ,सबैले मलाई उस्तै चाहन्छन्
गोला-प्रथाबाट जीवनसाथी छान्नुपर्ला जस्तो छ।


औषधालय

प्राकृतिक विविधताले भरिएको विशाल पुस्तकालय हो
पशुपंक्षीहरुको सुमधुर ध्वनि आफैंमा संगीत या लय हो
यहाँका हरेक चीज औषधि हुन् किन आयात गर्नु व्यर्थै
नियालेर हेर्ने हो भने नेपाल एउटा ठूलो औषधालय हो।

Saturday, 17 July 2021

प्रेमको सत्ता

कोही टाँसिएर त कोही कक्षमा बस्न खोज्छन्
प्रायः गुमाउने भन्दा पाउने लक्षमा बस्न खोज्छन् 
यहाँ प्रेमलाई पनि राजनीति र सत्ता बनाइसके हरे!
कोही सत्तामा र कोही प्रतिपक्षमा बस्न खोज्छन्।



सहयात्री

कसको नियत के भनेर तत्काल गरिने मायामा नदेखिन पनि सक्छ 
को सही/गलत ठाउँमा भनी बुझ्न दायाँबायाँमा नदेखिन पनि सक्छ 
जे देखिन्छ,त्यो नहुन पनि सक्छ र त्यो हुन पनि सक्छ जो देखिन्न 
सहयात्रीको पींठमा तरवार भएपनि छायाँमा नदेखिन पनि सक्छ। 
 

प्रेमपथ

दुई पाङ्ग्रा भई एउटै रथमा चम्कनुपर्छ हामीले
दु:खको गर्मीमा साथको पंख हम्कनुपर्छ हामीले  
देख्नेले जेसुकै देखून् र भन्नेले पनि जेसुकै भनून्
घृणा छोडेर प्रेमको पथमा लम्कनुपर्छ हामीले।


Wednesday, 14 July 2021

जून

रुपको चहकिलो किरण छरेको देख्दा अचम्म लागेको छ
त्यै किरणले मान्छे मूर्छा परेको देख्दा अचम्म लागेको छ
माथिको जून त रातमा मात्र चम्किन्छ,हर रात पनि होइन
सधैं चम्किने जून छेउमै झरेको देख्दा अचम्म लागेको छ। 




मुर्कुटा

टाउको नभएकोलाई मुर्कुटा भनिन्छ हाम्रोतिर।

उसो त बुद्धि नभए टाउको हुनुको अर्थ छैन,
अर्थात टाउको नभए बराबर हो।

आज एउटा मुर्कुटा 
एउटा आयाताकारको वरिपरि फनफनी घुमिरहेछ
कहिले कताबाट,कहिले कताबाट कोट्याउँदैछ।

अचम्म त यस कुरामा छ-
मुर्कुटाले देश चलाउँदैछ।



औकात

गोड्से तब हुन्छ,जब गान्धीको जस्तो मारिनेको पहिचान हुन्छ 
सुदामा सुदामा जस्तै थियो र त कृष्णासंगै उसको पनि बयान हुन्छ 
सबैको आ-आफ्नो औकात हुन्छ,देखाउँछ र त्यस्तै रहन दिनुपर्छ,
झोले/पूच्छरहरुलाई हनुमान भन्दा रामचन्द्रजीको अपमान हुन्छ।


स्थल

जल बनेको छ
भल बनेको छ
आँखा पीडा पोख्ने
स्थल बनेको छ।

Sunday, 11 July 2021

कालो चश्मा

कमजोर छ आँखा समाजको,बिषय छ खेदको
व्यवहारमा लागू गर्दैन,परन्तु गर्छ कुरा वेदको
समानताको सागसब्जी खुवाउनुपर्ने नै देखिन्छ 
अझैपनि लगाएकै छ कालो चश्मा विभेदको।


उत्सव

आफन्तहरुले मीठा-मीठा परिकार बनाउनुहोला
मित्र मात्र नभई शत्रुले पनि हाजिरी जनाउनुहोला
मेरा सबै दु:ख,पीर र समस्या दूर हुनेछन् त्यो क्षण
मेरो मृत्यूको दिन भव्यरुपमा उत्सव मनाउनुहोला।

Tuesday, 6 July 2021

बाँदर र मान्छे

          बाँदरको आफ्नो घर हुन्छ।जहाँ बस्यो त्यहीँ घर हो।त्यसैले जंगल बाँदरको घर हो।रुख उसको घर हो।भीर,पाखा र पहरा खेल्ने-डुल्ने मैदान हुन्।प्रकृतिले नै उसलाई बस्ने घर बनाइदिएको छ।उसले घर बनाइरहनु जरुरी छैन।

         त्यसो त धेरैजसो वन्यजन्तुहरुले आफ्नो घर बनाउँदैनन्।एकाधले आफ्नो सुविधाको लागि अस्थायी बासस्थान बनाउँछन्।पुरानो र बस्न नालायकको भएपछि छोडेर जान्छन्।उनीहरुको पनि घर भनेकै वनजंगल हुन्।वनजंगलमा उनीहरू स्वेच्छापूर्वक जहाँ पनि जान सक्छन्।बस्न सक्छन्।सुत्न सक्छन्।घर बनाउनेले पनि उपलब्ध श्रोतबाटै बनाउँछन्।केही परिश्रम अवश्य लगानी हुन्छ तर महंगो पर्दैन।पैसा लाग्दैन।बाँदरहरु खेल्दा,उफ्रिदा अरुका घर भत्किन सक्छन् तर घर भत्किएकाहरु गुनासो गर्दैनन्।गुनासो त सिर्फ मान्छेहरू गर्छन्।त्यसैले बाँदरलाई हेयको दृष्टिले हेर्छन्।घृणा गर्छन्,मानौं उनीहरुको घरै बाँदरले भत्काइदिएका छन्।त्यसो हुँदो हो त काठमाडौं शहरै हुन्थेन।अनाकन्टार जंगल हुन्थ्यो।अथवा कंकृट घरहरुका अवशेष मात्र हुन्थे।बरु कुनै बेला काठमाडौ जंगल थियो।त्यहाँ बाँदर थिए।सनैसनै मासिंदै गए।यहाँका बाँदरहरु लोपोन्मुख हुँदै गए।पशुपति र स्वयंभूका बाँदरहरु कुनै टाढाको जंगलबाट यहाँ बसाइँ सरेर आएका होइनन्।उनीहरू त आदिवासी हुन्।त्यसैले 'बाँदर शहरमा पसेका हुन् कि मान्छे जंगल पसेका हुन्?' भन्ने सवालको जवाफ खोज्नुपर्ने दिन आएको छ।

           वनजंगलमा फल्ने फलफूल नै उसको खानेकुरा हो।उसले खेती गर्नुपर्ने जरुरत छैन।जसरी अरु वन्यजन्तु र पंक्षीहरु स्वतन्त्र चाहन्छन्,उनीहरू पनि चाहन्छन्।दमित र अतिक्रमित भएको मनपराउँदैनन्।तर अचेल वनफँडानी भैरहेको छ।उनीहरूको क्षेत्र अतिक्रमण भैरहेको छ।वन फाँडेर मानिसहरु खेती गरिरहेका छन्। बाँदरहरुले आफ्नो क्षेत्रमा फलेको अन्नबाली खानु स्वभाविक हो।त्यसैले "बादरले खेती पनि गर्दैन र मानिसले गरेको खेती पनि बर्बाद बनाउँछ" भन्ने तर्क न्यायसंगत हुँदैन

           आदिमकालमा त झन गाउँ र शहर नै थिएन।जंगल मात्र थियो।सबै वन्यजन्तु थिए।अर्थात मान्छे र बाँदर जंगली थिए।जंगलमै बसोबास गर्थे।औकात एउटै थियो।यसर्थ मान्छे र वन्यजन्तुको पृथ्वीमा अधिकार बराबर हुन्छ।

           मानिस आफूलाई उच्च र बाँदरलाई निच ठान्छन्।यो उनीहरुको भ्रम मात्र हो।अहिलेका कतिपय मान्छे बाँदर जत्तिको असल पनि हुन सकेका छैनन्।खासमा बाँदरले मान्छेको केही बिगारेको छैन,बिगार्दैन र बिगार्न सक्दैन पनि।बरु बाँदर भन्दा त मान्छे धेरै तल गिर्छन्।त्यसैले मान्छेलाई बाँदरसंग तुलना गरेर बाँदरको अपमान नगरेकै बेश।

           अर्को कुरा बाँदरको देश भनेको सिंगो पृथ्वी हो।उनीहरुको लागि कुनै भौगोलिक सिमाना हुँदैन।बाँदरहरु इमानदार हुन्छन्।आफ्नो देशको लागि बफादार हुन्छन्।राष्ट्रघाती हुँदैनन्।मान्छेले जस्तो नदीनाला बेच्दैनन्।आफ्नो देश बेच्दैनन्।

Friday, 2 July 2021

सुन्दर भविष्य

विवेकको छिना,श्रमको घन लिई संघर्षमा हाजिरी जनाउनुपर्छ 
सुखमा मात्र होइन अब हरेक दु:खमा समेत उत्सव मनाउनुपर्छ 
घैटोमा पनि घाम लाग्ला भनेर हातमा दही जमाएर बस्न हुन्न 
अरु कसैले बनाउँदैन,आफ्नो सुन्दर भविष्य आफैंले बनाउनुपर्छ।

Wednesday, 30 June 2021

लोडसेडिङ

तिम्रो नाम सुन्दा पनि दिलको घण्टी टिङ टिङ हुन्छ 
तिम्रो हल्का स्पर्षले पनि यो मन सिरिङ सिरिङ हुन्छ
तिम्रो उपस्थितिमा आफूलाई रंगीन संसारमा पाउँछु 
तिमी बिना मेरो जिन्दगीमा कालो लोडसेडिङ हुन्छ।

Monday, 28 June 2021

अभिनय

किनेर पेट भर्नु र अन्नले भकारी भर्नुमा फरक त भैहाल्छ
स्वावलम्बी हुनु र अर्काको भर पर्नुमा फरक त भैहाल्छ 
भनाइ र गराइ बीच आकाश र पाताल जस्तै फरक भएझैं 
कृषक हुनु र कृषकको अभिनय गर्नुमा फरक त भैहाल्छ।



Sunday, 27 June 2021

फ्लाट

थाकिसकें,दु:ख बिसाउने खाट मिलाइदेऊ
घृणा लागे सधैं बिसाउने घाट मिलाइदेऊ
प्रेमको दुनियाँमा शरणार्थी भैसकें है सानू! 
तिम्रो दिलमा तीनकोठे फ्लाट मिलाइदेऊ।

भाले

धेरैलाई थाहा छैन,म मान्छे कस्तो खाले हो
कसैले भन्लान् यो नाथे मात्र एउटा पाले हो
भन्न त जे भन्दा पनि हुन्छ,उसको हो मर्जी
थोरैलाई थाहा छ,लडाइँमा जितेको भाले हो।


Friday, 25 June 2021

अभियान्ता

         जातले गैर दलित भएपनि ऊ दलितहरूको हक,हित र अधिकारका लड्ने खुंखार सामाजिक अभियान्ता थिए।सेलिब्रेटी नै भयो।

         फाउन्डेसन खोल्यो।समाजसेवाको लागि बिदेशबाट पनि रकम ओइरिन थाल्यो उसको खातामा।नाम कमायो।दाम कमायो।

       छुवाछूत र भेदभाव हटाउने उदेश्यले दलितसंग विहे समेत गर्यो।तर दुर्भाग्यवश अन्ततः वहुविवाहको मुद्दामा जेल चलान भयो।

पानी-मूलको

म पानी हुँ-मूलको
बग्दै- बग्दै
खोला हुँदै 
नदी हुँदै
यात्रा तय गर्नुछ
तर अन्तिम गन्तव्य महासागर हुँदै-हैन
बाफिएर गगन चुम्नुछ 
र बर्षनुछ वर्षा बनेर।
बचाउनुछ जीव-जगतलाई।

Monday, 21 June 2021

प्रेमको बाढी

हिजो 
उनी टाढा थिइन् 
निकै प..........र 
आफ्नो बाटो हिंडिरहन्थिन्
आफ्नै धुनमा
आफ्नै लयमा
सुस्ताइरहन्थिन्
गुनगुनाउँथिन्-आफ्नै जिन्दगीको गीत।

म पनि टाढा थिएँ
निकै व...........र
म हेरिरहन्थें एकनास 
रमाइरहेथें परको दृश्य देखेर
मीठो लाग्थ्यो उनको गीत।

मेरो आफ्नै जिन्दगी थियो
जे थिएँ,जस्तो थिएँ,खुशी थिएँ
शान्त थिएँ
सन्तुष्ट थिएँ।

एक्कासी उनले आफ्नो स्वभाव बद्लिन्
उनको प्रेमको आयतन ह्वात्तै बढ्यो
बाढी जस्तै!
बढ्दै-बढ्दै आइपुगिन् मेरो जिन्दगीमा
म पनि बग्दै-बग्दै गएँ उनीसंगै
के बगें भनुँ?बगाईन् उनैले।

निकै तल पुगें
फर्कनै नसक्ने ठाउँमा पुगें।

मैले आफ्नो अस्तित्व गुमाएँ
म म रहिन
मेरो म भित्रको म उनीसंग बहँदा खुइलियो।

पुन: उनको स्वभावले परिवर्तनको मार्ग चुन्यो
उनको प्रेमको आयतन स्वात्तै घट्यो
उनको प्रेम सुक्दै-सुक्दै गयो
उनी खुम्चिंदै खुम्चिंदै गईन्
टाढिंदै-टाढिंदै गईन्
निकै प.....र पुगिन्।

म निकै व....र पुगें
तर म ढलिसकेको थिएँ-उठ्नै नसक्ने गरी
कसैले उठाए पनि म सिंगो उठ्ने थिइन 
आधा मात्र उठ्ने भएँ
म भित्रको विश्वासको घर ढलिसकेको थियो
उम्मीदका झ्याल-ढोकाहरु भत्किसकेका थिए।

आज 
म उनलाई हेरिरहेको छु
म उनलाई देखिरहेको छु
ऊ आफ्नै बाटोमा हिंडिरहेकी छिन् 
आफ्नै लयमा
आफ्नै धुनमा
उस्तै गरी 
सुस्ताइरहन्छिन्
गुनगुनाउँछिन् आफ्नै जिन्दगीको गीत
तर यसपटक म रमाउन सक्दिन 
कर्कश लाग्छ उनको गीत
सायद यसपटक उनको गीत,अरु कसैलाई 
मीठो लागिरहेको छ।

बश.. उनको याद बगर बनेर
मेरो छातीको फाँटमा लमतन्न सुतिरहेको छ।



Sunday, 20 June 2021

एक्सरे

संवेदनाको अदृश्य पुल तरेर देखाइदेऊ
पुल मुनिको गहिरो खाडल भरेर देखाइदेऊ
साँच्चै एकाइसौं शताब्दीमा छौ भने ए डाक्टर 
मान्छेको मनको एक्सरे पनि गरेर देखाइदेऊ।

Friday, 18 June 2021

कथा

आँखाहरु आँशुले भिजेको कथा
समयबाट धेरै कुरा सिकेको कथा
सुन्नुस्,सुनाउँछु आज दिल खोलेर
मैले महामारीलाई जितेको कथा।

Thursday, 17 June 2021

पानी

जीवनको अन्तिम श्वास फेरिरहेको बीउले
एकथोपा पानी पाएपछि अंकुराउन थाल्छ।

मरुभूमिमा काकाकुल पंक्षीले एकथोपा पानी पाए
ज्यान बचाउन सक्छ।

बिषसंग मिलेर एकथोपा पानीले
कसैको जीवन सिध्याउन सक्छ।

अमृतसंग मिलेर एकथोपा पानीले
कसैको जीवन बचाउन सक्छ।

घामसंग मिलेर पानीले
सप्तरंगी इन्द्रेणीको सिर्जना गर्छ।

शुक्रकीटको सहकार्य पानीसंग हुन्छ,
डिम्बसंग मिलेर भ्रुण बनाउँछ।

दुईथोपा पानी आँखाबाट खस्दा
मनको वेदना पनि संगै खस्छ।

दुधसंग मिलेर पानीले शिशुलाई बचाउँछ।
हामी पानी पिउँछौं र त जिउँछौं।

पानीले जीवन र चक्र चलाउँछ।

पानीको कुनै निश्चित आकार हुँदैन 
निश्चित रुप हुँदैन 
कुनै रङ्ग हुँदैन।

जब पानीले उग्र रुप लिन्छ,
तब
समस्याको आकार ठूलो हुन्छ 
बाढी जान्छ
पहिरो जान्छ
ज्यान लिन्छ
जिन्दगीको रङ फिका पार्छ
जायजेथा लान्छ
पसिनाको कमाइ लान्छ
सपना बगाई लान्छ
मन गलाउँछ
मुटु जलाउँछ 
पानी भन्नु आगो पनि त रहेछ।



Monday, 14 June 2021

म्याराथन

छिचोल्दै जाँदा बाधा-अड्चन जिन्दगीको
गर्दै जाँदा गन्थन् अनि मनन् जिन्दगीको 
एउटा यस्तो महत्त्वपूर्ण निचोडमा पुगें म 
समाधिमै टुंगिने र'छ म्याराथन जिन्दगीको।

Monday, 7 June 2021

क्रान्तिकारी

ऊ फोहोरी छ
थोत्रो लगाउँछ
बस्तुभाउ चराउँछ 
गोबर सोहोर्छ 
परैबाट गन्हाउँछ।

ऊ खन्छ 
जोत्छ 
डल्ला फोर्छ  
सपनाको बीज रोप्छ 
मलजल गर्छ 
आशाको बिरुवा उमार्छ 
विश्वासको फल फलाउँछ।

मेरो दृष्टिकोणमा 
उसले कृषि क्रान्ति गरेको छ
ऊ जत्तिको क्रान्तिकारी मलाई कोही लाग्दैन।

Sunday, 16 May 2021

सिरप

कलुषित छ समय
बिषाक्त छ वर्तमान 
दुषित छ परिवेश।

क्षयरोगले ग्रस्त छ यो पृथ्वी 
चस्केको छ उसको छाती
खोक्दैछ निरन्तर 
फ्याँक्दैछ अस्लिलताको कार्बनडाइअक्साइड
ओकल्दैछ कुरुपताको किटाणु।

अब उसलाई 
बुद्धत्वको सिरप पिलाएर
निष्कासित गर्नुछ विकार चेतलाई।

Friday, 30 April 2021

कापी कलम

संगै बाँचम्,मरम्,एउटै चितामा जलम् भन्छौ त के गरुँ?
आफूलाई चहराउने घाउ,मलाई महलम भन्छौ त के गरुँ
म त एक अर्कालाई एउटै रथको दुई पाङ्ग्रा ठान्छु तर
तिमी आफूलाई कापी र मलाई कलम भन्छौ त के गरुँ?



Saturday, 24 April 2021

मन

कहिले सपनाको हत्यारा सम्झेर मार्न मन लाग्छ
कहिले कवै नफुत्किने गरी गाँठो पार्न मन लाग्छ
असिमित इच्छा र चाहना बोक्ने स्वतन्त्र मन लाई 
कहिले धरहराको टुप्पोमा लगेर झार्न मन लाग्छ।


Tuesday, 20 April 2021

गाली ताली

दुई अर्थले बुझ्ने गर्छु म तालीलाई पनि
सुगन्धको मुहान देख्छु नालीलाई पनि 
तिमी तालीलाई ताली,गालीलाई गाली मात्र देख्छौ
म त असीम प्यार पनि देख्छु गालीलाई पनि।

Monday, 12 April 2021

गन्तव्य

ए दाल्जा हो!
ए दावा!
ए पासाङ!
चाहे जतिसुकै दौडधुप गर
चाहे अमेरिका जाऊ
चाहे युरोप जाऊ
चाहे जतिसुकै सम्पत्ति कमाउ
चाहे जतिसुकै इज्जत कमाउ
चाहे राजधानीको महलमा मोज गर
चाहे जत्तिनै घमण्ड गर 
अन्ततः जाने भनेको रित्तै हो
खाली हात हो
र अन्तिम गन्तव्य भनेको "जम्बु-डाँडा" नै हो।

Wednesday, 7 April 2021

असम्भव छैन

दु:खको पानी भित्र सुखको रङ घोल्न असम्भव छैन
गरेर देखाउन असम्भव छैन जसरी बोल्न असम्भव छैन
किन छैन? छ,अवश्य सम्भव छ, क्यै पनि छैन असम्भव 
यही संसारमा खुशीको फ्याक्ट्री खोल्न असम्भव छैन।
 

पुनर्वहाली

आत्मसमिक्षा गरौं,आफूलाई गाली गरौं 
मायाले भरौं,रीसको झोली  खाली गरौं 
अन्तिम विकल्प बिछोड हैन,मिलन हो
आउ,मिली हाम्रो प्रेमको पुनर्वहाली गरौं।

Saturday, 27 March 2021

विजयोत्सव

राजनीतिको धरातलमा डुङ्डुङ्ती गन्हाउनेको नाम के हो?
आफ्नो इज्जतलाई लुतो बनाई कन्याउनेको नाम के हो?
यी तीनै प्रश्नको जवाफ एउटै हो,मिलाउनेलाई सलाम छ
जनतालाई हराएर विजयोत्सव मनाउनेको नाम के हो?

Wednesday, 24 March 2021

भ्यू-टावर

विकास र समृद्धिको सूचक-तिम्रो भ्यू-टावर।

तर तिम्रो भ्यू-टावर मलाई -
लाचार लाग्छ
निकम्मा लाग्छ 
निरर्थक लाग्छ
व्यर्थ लाग्छ।

आकारले ठूलो होला
अग्लो होला
तर उचाइ धेरै कम लाग्छ मलाई।

तिम्रो भ्यू-टावरले 
गाउँवस्तीको कथा बुझ्न सक्दैन 
चुल्हाहरुको व्यथा महसुस गर्न सक्दैन
लाटो छ तिम्रो भ्यू-टावर।

तिम्रो भ्यू-टावरले
टावर जस्तै महलहरु मात्र देख्छ
ठम्याउन सक्दैन-स-साना झुपडीहरु
देख्न सक्दैन जीर्ण संरचनाहरु 
कमजोर छन् तिम्रो भ्यू-टावरका आँखाहरु।

तिम्रो भ्यू-टावरले 
सुन्न सक्छ महंगा गाडीका हर्नहरु मात्र
सुन्न सक्दैन करुणामय ध्वनिहरु
कमजोर छन् तिम्रा भ्यू-टावरका कानहरु।

तिम्रो भ्यू-टावरले 
सुघ्न खोज्छ विदेशी पर्फ्युमका वास्नाहरु मात्र
थाहा पाउनै खोज्दैन पसिनाको गन्ध
पक्षपाती छ तिम्रो भ्यू-टावरको नाक।

ए!लाटो त म पो रहेछु
निर्जीव तिम्रो भ्यू-टावरलाई तथानाम गाली गरेछु!!!







Wednesday, 17 March 2021

उचाइ

अक्षरहरुको नशा पिएर झुम्ने रहर छ मलाई 
साहित्यको रंगीन संसारमा घुम्ने रहर छ मलाई 
कहिले उकाली चढ्दै,कहिले ओराली झर्दै निर्वाध
सफलताको सर्बोच्च उचाइ चुम्ने रहर छ मलाई।

Tuesday, 16 March 2021

घाउ

यी आँखामा तिमीले गरेको षड्यन्त्रको जालो छ अझै
यो मुटुमा तिमीले ल्याएको धोकाको भुईँचालो छ अझै
तिमी आफैं भन ए निष्ठुरी मायालु, कुन औषधि लगाउँ?
तनको घाउ निको भए पनि मनको घाउ आलो छ अझै।



Sunday, 7 March 2021

बिक्रीमा

टुक्रा-टुक्रा पारी सजाइएको छ ...लाई शोरुम भित्र
सेल्सम्यानहरु कमिसनको होडमा-
तछाड-मछाड गर्दै बार्गेनिङ गर्दैछन् 
महाकालीले दिएको मुनाफा पश्चात् -
थप हौसिएका हुन् सेयरहोल्डरहरु!
बिक्रीमा छ यो देश।

Saturday, 6 March 2021

नीति निर्माता

बिर्सिदिंदा काम,कर्तव्य,अविभारा,..पारो तातेर आउँछ 
लाउन त लाउँछन्,ठूलाठूला नारा,...पारो तातेर आउँछ 
पुग्नुपर्ने बिज्ञ,प्राज्ञ त कुनै हालतमा पुग्नै सक्दैनन् त्यहाँ
नीति-नियम बनाउन पुग्छन् हत्यारा,पारो तातेर आउँछ। 


गीत

बेला-बेला महंगो रक्सी बोकेर धाउन नसकेर 
'जी-हजुर' भन्दै झोला बोकी सघाउन नसकेर
योग्य हुँदाहुँदै पनि जागिर पाउन सकिन यहाँ 
जाली,भ्रष्ट नेताको गुणगान गाउन नसकेर।

Friday, 5 March 2021

यो देश

भीमसेन थापाहरुले सेरिएर मरेको देश हो यो
निष्ठा,सुशासन र न्याय छायाँमा परेको देश हो यो 
भन्नलाई सुन्दर,शान्त,विशाल भनेर चिनिए पनि 
जाली,फटाहा,ज्यानमाराले राज गरेको देश हो यो।

Saturday, 27 February 2021

मिसावट

जमानै मिसावटको छ 
तर मलाई टेन्सन छैन।

सामान्य लाग्छ 
दूधमा पानी मिसिनु
महमा सख्खर मिसिनु
तेलमा तेल मिसिनु
तर मलाई टेन्सन छैन।

सामान्यै लाग्छ
दालमा ढुंगा मिसिनु
घिउमा डाल्टा मिसिनु
सुनमा पित्तल मिसिनु 
तर मलाई टेन्सन छैन।

सामान्य लागेको हो
एमाले माओवादीमा मिसिंदा
या भनौं
माओवादी एमालेमा मिसिंदा।

तर एउटा महाटेन्सनको मिसावट छ मेरो लागि
वागमतीमा मान्छेको ढल जस्तो दिमागको मिसावट!



Tuesday, 23 February 2021

जुलुस

हो म जुलुसमा जान्छु।

सबेरै जागेर 
नाम्लोको झन्डा फहराउँदै
हँसिया/हतौडा बोकेर
कहिले घाँसतिर झम्टन्छु
कहिले ढुँगातिर लम्कन्छु
म संघर्ष गर्छु।

हो म जुलुसमा जान्छु।

"प्रतिकूल समय-मुर्दावाद!"
"मेरो गरिबी-मुर्दावाद!"
"मेरो पेट-जिन्दावाद!"
म नारा लाउँछु।

हो म जुलुसमा जान्छु।

कहिले भेडा-बाख्राहरुलाई सम्बोधन गर्छु
कहिले रुखहरुलाई भाषण दिन्छु  
म सम्मेलन गर्छु।

हो म जुलुसमा जान्छु।

हिम्मत र मिहिनेतको राँको बालेर 
जलाउन जान्छु-समस्याको पुत्ला
तोडफोड गर्न चाहन्छु-अभावको पर्खाल
म क्रान्ति गर्छु।

हो म जुलुसमा जान्छु।

जिन्दगीको दु:ख-सागर तर्न 
म जुलुसमा जान्छु।

आउनुस् ,संगै मिलेर जुलुसमा जाऔं।




Wednesday, 17 February 2021

वस्ती

यहाँ 
सुन्दरतालाई बिगारेर कुरुप बनाईन्छ  
उज्यालोको मुहारमा हिलो छ्यापेर बर्बाद बनाईन्छ 
लाग्छ-यो मानव-वस्ती हैन।

यहाँ 
असललाई खराब हुन बाध्य पारिन्छ 
इमानलाई  मारिन्छ  
 लाग्छ-यो मनाव-वस्ती हैन।

यहाँ 
प्रेमको पालुवा निमोठिन्छ  
घृणाको बिरुवा रोपिन्छ  
लाग्छ- यो मानव-वस्ती हैन 
यो दानव-वस्ती हो
दानव वस्ती।


Thursday, 14 January 2021

कविता

कविताहरुका कविता खुब बिक्छन् अचेल।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...