Friday, 31 August 2018

दारुको मोहले

दारुको मोहले बिगार्यो कतै
भारुको मोहले बिगार्यो कतै
धेरैले बिगारे,बिगारें धेरै
पारुको मोहले बिगार्यो कतै।

गाउँमा बस्न लाग्दैन मन,बिग्रेर बानी
लाग्दछ मन,पट्याई हिंड्न,पातली नानी
पल्केर खान,ह्विस्की र ब्रान्डी,खाँदिन पानी
डिस्कोमा गई,नाचिन्छ दह्रो,एउटी तानी।

व्हिस्कीको मोहले बिगार्यो कतै
ब्रान्डीको मोहले बिगार्यो कतै
धेरैले बिगारे,बिगारें धेरै
सानीको मोहले बिगार्यो कतै।

गईन्छ दुबई,गईन्छ कतार,कमाउन पैसा
प्रेमिका बनाई,गर्ने हो मोज,हुन्जेल बैश
छुट्टीमा आई,टाईसुट लाई,दोहोरी जाने
जिन्दगी यस्तै रहेछ साथी,गाउने खाने।

खानाको मोहले बिगार्यो कतै
नानाको मोहले बिगार्यो कतै
धेरैले बिगारे,बिगारें धेरै
गानाको मोहले बिगार्यो कतै।

सुख लेख्ने पेन्सिल

सुख लेख्ने पेन्सिल कहाँ पाईन्छ होला
दु:ख मेट्ने इरेजर कहाँ पाईन्छ होला
धेरै खोजें भेटिन,धेरै हेरें देखिन
भाग्य हेर्ने दूरविन कहाँ पाईन्छ होला।

अभावको झ्यालबाट गरिबीले चियाउँछ
मृत्यु हुन्छ पिरतीको,बाध्यताले जलाउँछ।
खुशी किन्ने पसल कहाँ पाईन्छ होला
दु:ख धुने साबुन कहाँ पाईन्छ होला
धेरै खोजें भेटिन,धेरै हेरें देखिन
भाग्य हेर्ने दूरविन कहाँ पाईन्छ होला।

आत्महत्या गर्छ आँसु आँखाबाट हाम्फालेर
हातमुख नजोरिंदा कैयौं भारी उचालेर
चोट् नदिने पत्थर कहाँ पाईन्छ होला
नडुबाउने सागर कहाँ पाईन्छ होला
धेरै खोजें भेटिन,धेरै हेरें देखिन
भाग्य हेर्ने दूरविन कहाँ पाईन्छ होला।



Wednesday, 29 August 2018

मैले बसाइँ सरेपछि

मैले बसाइँ सरेपछि
आँगनैभरी दुबो मौलाए होला
नजिकैको वनमा
चोयाका सन्तानहरु
पवनको सुस्केरासंगै
नाचेर खुशी मनाउँदै होलान्
पैयूँका डालीहरुले काँचुली फेरे होलान्
मैले रोपेका आरु र आरुबखडाका रुखहरु
मलजलको अभावमा तड्पिरहेका होलान्
फलहरुको रस्वादन अरुले लिँदा हुन्।

मैले बसाइँ सरेपछि
महाभुकम्पले ध्वस्त पारेको घरको ढुंगाहरु
असरल्ल छरिएका होलान्
दलिनको ढाड भाँच्चिएर सख्त घाइते होला
आँखा जस्ता झ्यालहरु फुटिसके होलान्
अभागीको भाग्य जस्तै
छानोका ढुंगाहरु चिरा-चिरा परे होलान्
सकुशल भएकाहरु पनि अलपत्र होलान्
असफल प्रेमी/प्रेमिकाको याद बाँकी भएझैं
चार-पुस्ता हुर्काउने घरको
अवशेष मात्र होला।

मैले बसाइँ सरेपछि
कतिपय गाउँलेहरु खुशी होलान्
खुशी यो अर्थमा कि
गाउँबाट एउटा आरुचोर हराएको थियो
उनीहरू दु:खी पनि होलान्
दु:खी यो अर्थमा कि
म भन्दा खुंखार आरुचोर जन्मे होलान्
कमसेकम मैले हाँगा त भाँच्ने थिईन।

मैले बसाइँ सरेपछि
म पौडिने खोलामा अरुनै पौडिंदा हुन्
मैले लखेट्ने कालिजहरु अरुले लेखेट्दा हुन्
अथवा लेखेट्नै छाडिए होलान्
म र साथीहरू मिलेर पिङ थाप्ने ठाउँमा
नयाँ पिंढीले धूम मच्चाउँदै होलान्।

मैले बसाइँ सरेपछि
त्यहाँका हावापानी,डाँडाकाँडाहरुले
सम्झिरहेका होलान् कि बिर्से होलान्?
कति पानी मलाई खोज्दै बगे होला?
कति हावा मेरो खोजीमा बहे होला?

मैले बसाइँ सरेपछि
अनि म जस्तै धेरैले बसाइँ सरेपछि
धेरैजसो शहरमुखी भएर
गाईभैंसी पाल्न छोडे होलान्
अधिकांश खेतबारी बाँझै होलान्
घाँसचोरहरुको जनसंख्या घट्दा
घाँसहरु विजयोत्सव मनाउँदै होलान्
यार्पाङ र थप्खर्कहरु वनजंगलले ढाकिए होलान्
दिनदहाडै भालु र स्यालहरु जुहारी खेल्दै होलान्
मृगहरु सिकारीको अनुपस्थितीमा रजाइँ गर्दै होलान्।

मैले बसाइँ सरेपछि
मैले बसाइँ सर्नु अघि
कट्टु समेत नलाई हिंड्ने भान्टाङ-भुन्टुङहरु
माया पिरती साट्न उद्धत होलान्
मेरो काखमा सु गरेका नानीहरू
२/३ वटा नानीको आमा भए होलान्।

मैले बसाइँ सरेपछि
हामी लुकी-लुकी तास खेल्ने
ठाउँहरु कस्ता भए होलान्?
बौद्धटार र क्लवटारमा
किट्टी/ओटी खेल्नेहरुको जमघट
उस्तै होला कि नहोला?

तर मैले बसाइँ सरेपछि
चेर्दुङ,ताँबे,दूधकुण्ड,गौरीशंकर र हनुमन्ते
सायद उसैगरी मुस्कुराइरहेका होलान्
म र म जस्ता हजारौंले बसाइँ सरेर
उनीहरुलाई के फरक पर्ला र?

शान्ति सेना

अभाव र दरिद्रताले लादेको
अधिनायकवाद र अराजकतालाई सकाउन
पेटमा भोकले गरेको क्रान्ति/हडताल रोकेर
शान्ति स्थापनार्थ खटिएको
एक शान्ति सेना हुँ म।

यादको भारी

यादको भारी बोकेर मनमा धर्धरी रुँदैछु
नभेट्दा खेरी तिमीलाई कतै पागल हुँदैछु
एक्कासी कता हरायौ प्यारी नभनी मलाई
बसेको हुन्छु हरेक पल यो मुटु जलाई।

शून्य छ गाउँ,शून्य छ घर,शून्य छ गगन
भेट्यौ कि कोही,हात् थाम्ने मान्छे,जुर्यो कि लगन
बिछ्याई बस्छु नयनहरु गोरेटो नियाल्दै
मितेरी गाँसी पवनसंग,आफूलाई सम्हाल्दै।

बिर्सन खोज्छु,बिगतका दिन,देउराली सम्झाउँछ
मुटुनै दुख्ने गरेर फेरि चौतारी जिस्क्याउँछ
कालले निम्तो दिएर आँखा मधुरो हुन्छ कि
तिमीलाई देख्ने चाहना मेरो अधुरो हुन्छ कि।

झटारोले आँप झार्ने

केटा
झटारोले आँप झार्ने
मै हुँ त भन्ने केटीलाई
फकाएरै लब पार्ने।

केटी
हराको पैसो नभेट्ने
केटीलाई जिस्क्याई नहिंड
टुप्पीमा समाई लखेट्ने।

केटा
कम्मर बान्ने पटुकी
टाउको त बान्ने फेटाले
मनपरेको कान्छीलाई
उडाइलान्छ केटाले।

दूधको तर मै खान्छु
फकाउँदा पनि नमाने
घिस्याएर लैजान्छु।

केटी
धागो त बाट्ने चर्खाले
डालो त बुन्ने चोयाले
धेरै निहु खोजेमा
हिर्काइदिन्छु खोयाले।

कम्मर कस्ने पेटीले
कम्जोर ठान्यौ भने त
चप्पलले हान्छ केटीले।

केटा
सजिलो हुन्छ काटनलाई
खुकुरी भन्दा कर्दाले
मनले खाको केटीलाई
लगेरै छाड्छ मर्दले

लहरा भन्दा रुख सानु
तैले त देख्यो म सानु
मैले आँट्यो तँ लानु।

केटी
घिस्याउने चलन गइसक्यो
नयाँ त चलन आइसक्यो
कुराको शैली सुनेर
औकात थाहा पाइसक्यो।

तारा टिपेर देखाइदेउ
जबर्जस्तीले हुँदैन
मन जितेर देखाइदेउ।

केटा
मैले भनेको मानेमा
त्यो ज्यान भए राजीमा
के गर्नुपर्यो भन त
यो ज्यानै राख्छु बाजीमा।

नाम्चेको भारी बोकेर
तिमीलाई मीठो खुवाउँला
मै बरु भोकै बसेर।

केटी
बाहिर बाट हेर्दा त
यो केटा साह्रै चाम्रो छ
भित्रै पसेर हेर्दा पो
यो केटा साह्रै राम्रो छ।

रोशी खोलाको बगर
साँच्चै बिहे गर्ने भए
घरज्वाईँ बस्न आउ घर।

केटा
शिवालयको बजार
यलुङ,लिखुको दोभान
इज्जत भएको केटा हो
बेच्दैन कहिल्यै ईमान।

चौंरी त गाई नगन
त्यो कुरा मान्दै मान्दिन
मलाई त्यसरी नभन।

केटी
गौरीशंकर हिमाललाई
बादलु घुम्टोले बेरेको
यो केटा मलाई मनपर्यो
मैले त मन पो हेरेको।

मलाई माग्न घर आउ
लाने हतारै हो भने
भगाएरै लैजाउ।

Tuesday, 28 August 2018

देख्दै देख्दैनौं

चालकले मान्छे किचेको,हामी देख्दै देख्दैनौं
पिपासुले चेली थिचेको,हामी देख्दै देख्दैनौं
हामीले त केही देख्दैनौं,अन्धा भैसकेका छौं
छिमेकीले सिमा मिचेको,हामी देख्दै देख्दैनौं

व्यक्ति चल्छ

कला,प्रतिभा हैन व्यक्ति चल्छ यहाँ
निर्बलता नभएर शक्ति चल्छ यहाँ
पाउ मोल्न सके,तेल घस्न सके त
मिहिनेत चल्दैन,भक्ति चल्छ यहाँ।

भट्टी छिरेपछि

भट्टी छिरेपछि रोङ्बाहरु
धेरै शहिद भए तोङ्बाहरु।

शेर्पालाई साथी बनाएदेखि
'लाङ स्या'मा पल्के डोङ्बाहरु।

अस्वीकार गर्दा दिलमा बास बस्न
व्यर्थै खेर गए मेरा गोङ्बाहरु।

हरियो वन,नेपालको धन भन्थे
अचेल देखिंदैनन् दोङ्बाहरु।

तन्नेरीहरु लागे परदेश तिर
बाँकी रहे गाउँमा सोङ्बाहरु।

Monday, 27 August 2018

माया अमृत

माया अमृत भन्ने त केवल कुरा रहेछ
बिष हाली उध्याएको तीखो छुरा रहेछ।

कहिलेसम्म पिरतीको चंगा उड्न सक्छ
मक्किएको धागो भए च्वाट्टै टुट्न सक्छ
उन्दा-उन्दै फुट्न सक्ने कच्चा चुरा रहेछ
बिष हाली उध्याएको तीखो छुरा रहेछ।

दीप जस्तो रैछ माया,हुरीले निभाउने
काँडा जस्तो रैछ माया,मनमा बिझाउने
थोरै पिउँदै रन्थनिने कडा सुरा रहेछ
बिष हाली उध्याएको तीखो छुरा रहेछ।

ए फूलहरु!

ए लालीगुराँस!
पहाडको काखमा लुट्पुटिएर
मुसुक्क मुस्कुराई
वनपाखालाई रंगीन बनाउनु हुन्न तिमीले
सुन्दरताको अर्थ कामुकता लगाइदेलान्।

ए सुनाखरी!
भीर,पहरा,कन्दरा र हाँगाहरुबाट
गमक्क गम्किंदै
चमक्क चम्किंदै
वैशालु सुवास छर्दै
खित्का छोडेर बिन्दास नहाँस
वैशले कुत्कुत्याएर मात्तिएको भन्लान्।

ए चाँप!
बादलुको बर्को ओढेर
हावाको धूनसंगै
मोहकता पस्किंदै
चञ्चल भएर ननाच
आफ्नो जवानीको बिज्ञापन गरेको ठानी
पंक्षीहरुले ठुंगिदेलान्
बिछ्यूँहरुले चुसिदेलान्।

ए सयपत्री!
ए मखमली!
ए चमेली!
ए गुलाफ!
सकेसम्म बगैंचामा नआऊ
कलुषित नजरमा पर्न सक्छौ
तिमीहरू उजाडिन सक्छौ
तिमीहरू लुछिन सक्छौ
अस्मिता लुटिन सक्छ
आफ्नै मालीबाट!

ए फूलहरु!
भमराहरुको जीवनलाई सुसज्जित गर्न
संसारलाई सुशोभित पार्न
किन फुल्छौ तिमीहरू?
फुल्नु यहाँ अभिशाप हो
फक्रनु यहाँ पाप हो
सकेसम्म तिमीहरुले फूल भएरै जन्म नलिनु
यदि जन्मिनै परे पत्थर भएर जन्मनु
यदि फुल्नै परे बिष भएर फुल्नु।

ग्रीन सिग्नल

धेरै चाहिन्न तिम्रो एकपल दिए पुग्छ
फोन गर्नुपर्दैन,मिसकल दिए पुग्छ
अहिलेको लागि स्पर्श पनि गर्नुपर्दैन
स्वीकृतिको ग्रीन सिग्नल दिए पुग्छ।

भन्दिन तिम्रो लागि

प्राण लिन्छु भनेर भन्दिन म तिम्रो लागि
यान किन्छु भनेर भन्दिन म तिम्रो लागि
जेलमा भए या मरे कसले हेर्छ तिमीलाई
ज्यान दिन्छु भनेर भन्दिन म तिम्रो लागि।

मदिरा

मदिरा भन्दा गाढा मात तिमी नै हौ
सागर भन्दा गहिरो ताल तिमी नै हौ
लाखौं गजल,कविता छन् तिम्रा आँखामा
र त साहित्यको सम्राट तिमी नै हौ।

फुट कि जुट

फुटले हुन्छ कि जुटले संगठित हुन्छ समाज?
हरेक क्षेत्रमा लुटले प्रताडित हुन्छ समाज
एकताको मालामा उनिए पो विकास हुन्छ त
अनेक गुट,उपगुटले विभाजित हुन्छ समाज।

प्युसा

दूलो खन्ने ल्याकत हुन्छ मुसाको पनि
वृद्धि हुने क्षमता हुन्छ टुसाको पनि
सबैलाई समान सोची व्यवहार गरौं
चेसमा महत्व हुन्छ प्युसाको पनि।

साइकलमा हिंड

त्यत्तिकै खोइरो खनेका कहाँ छौं र
नेताप्रति आक्रमक बनेका कहाँ छौं र
सस्तो हैन करोडौंको गाडी चढेर पो त
साइकलमा हिंड भनेका कहाँ छौं र?

Sunday, 26 August 2018

उठौं

अज्ञानताको मदिराले लट्ठिएर
सदियौंदेखि आजसम्म
पराधिनताको बिछ्यौनामा
चाकडीको सिरक ओढेर
हामी त चीरनिद्रमा मस्त निंदाएका रहेछौं
समयले स्वाधिनताको अलार्म बजाइसक्यो
अब त उठौं साथी!

पिङ

चाडपर्वको रौनकताले
जन-मनमा इन्द्रेणी छाएको बेला
देउसी/भैलीको धूनमा बादल नाचेको बेला
मादलुको तालमा पवन सुस्ताएको बेला
संकटको हाँगाबाट
अभावको पासोमा तुर्लुङ्ग झुन्डिएर
देश पिङ खेलिरहेको छ।

सिंह

गाँस खोस्दै
बास खोस्दै
त्रासदी बढाउँदै
सिंह जंगलबाट गाउँ पसेको छ
खबरदार भेडाहरु!
ज्यान जोगाउनतिर लाग!

यसपल्ट ती सिंहहरु
"कर"को नकाव लाएर
घर-दैलामा पुगेको खबर छ!

किस खाउ भन्दा

किस खाउ भन्दा खेरी विष खाउ भन्छ्यौ
यता आउ भन्दा खेरी उता जाउ भन्छ्यौ।

म साथको कुरा गर्छु,तिमी गर्छ्यौ घातको
म मायाको कुरा गर्छु,तिमी गर्छ्यौ लातको
म दिनको कुरा गर्छु,तिमी गर्छ्यौ रातको
समानताको कुरा गर्छु,तिमी गर्छ्यौ जातको

सुन प्यारी भन्दा खेरी तेरो बाउ भन्छ्यौ
यता आउ भन्दा खेरी उति जाउ भन्छ्यौ।

मैले मीठो बोल्दा पनि तिमी बोल्छ्यौ तीतो
उमेरको ख्याल नगरी खोजी हिन्छ्यौ ठिटो
तिमीलाई भात चाहिने,मलाई चाहिने ढिंडो
तिमीलाई म:म: चाहिने,मलाई चाहिने पिठो।

माया गरी छुँदा पनि नचलाउ भन्छ्यौ
यता आउ भन्दा खेरी उति जाउ भन्छ्यौ।

चश्मा उपहार

भएर काँडेतार,उभिन खोज्छन्
पारेर लम्पसार,लम्किन खोज्छन्
शत्रुहरु मेरो आँखा फुटाएर
कालो चश्मा उपहार दिन खोज्छन्।

Saturday, 25 August 2018

मुटुको संघारमा

फर्कियौ किन पुगेर पनि मुटुको संघारमा
डढेलो कस्ले लगायो हाम्रो मायाको संसारमा।
अधुरो कथा लेखेर राखें त्यो ठूलो ढुंगोमा
उडान भरी प्रेमको जहाज पुगेन टुंगोमा।

अल्झियो मन,तिमीले देको,फूलको थुँगामा
सफर पूरा भएन हाम्रो प्रेमको डुंगामा
बल्झियो चोट,लेखेको तिम्ले,पत्रको पानामा
डुबेको हुन्छु अचेल तिम्ले गाएको गानामा।

पाईला दुई,हिंडियो संगै,बीचैमा छोड्दियौ
खोट् देखी ममा,छुटियो बाटो,गन्तव्य मोड्दियौ
नानाथरीको लान्छना लगाई कसैले सुनायो
कोपिला हुँदै प्रेमको फूल वैरीले चुँडायो।

Friday, 24 August 2018

जान्ने भएछौं

आहा! हामी धेरै जान्ने भएछौं!
नेतालाई राजनीति सिकाउँछौं
प्रहरीलाई अनुसन्धान गर्न सिकाउँछौं
वकिललाई वहस गर्न सिकाउँछौं
न्यायधीशलाई नियम/कानून सिकाउँछौं
खेलाडीलाई खेल सिकाउँछौं
शिक्षकलाई शिक्षण विधि सिकाउँछौं
अभिनेतालाई अभिनय सिकाउँछौं
तर बिडम्बना आफू चाहिँ फेसबुकमा २/४ लाइक/कमेन्ट बटुलेर बस्छौं
हामी धेरै जान्ने भएछौं।

खडेरी

क्रान्तिकारीहरु बन्दुक समाएर बस्छन्
सत्तामुखी जुगाहरु मुख बाएर बस्छन्
खडेरी परेको छ यहाँ देश चलाउनेको
प्रगतिशील हात फेसबुक चलाएर बस्छन्।

बोकेदाह्री पाल्नेलाई

बोकेदाह्री पाल्नेलाई
बाउको इज्जत फाल्नेलाई
सद्दे पाइन्ट काट्नेलाई
शीरमा चुल्ठो बाट्नेलाई
मनपराउँछन् केटीहरु...२

सोझालाई पाखे भन्छन्
गाँजा,चरेस खा'के भन्छन्
हुन्न,खान्न भन्दिएमा
फूर्ति लाउँछस् नाथे भन्छन्।
कानमा मुन्द्री लाउनेलाई
भट्टीतिर धाउनेलाई
चाकमा ट्याटु खोप्नेलाई
राती छुरा रोप्नेलाई
मनपराउँछन् केटीहरु...२

पढ्नेलाई नपढ् भन्छन्
नत्र खान्छस् झापड भन्छन्
मदिराले झ्याप भएर
चढे पनि ल चढ् भन्छन्।
केटीहरु चाल्नेलाई
मुखमा खैनी हाल्नेलाई
महंगो चुरोट बाल्नेलाई
फुर्र धुवाँ फाल्नेलाई
मनपराउँछन् केटीहरु...२

सुनाखरी

सुनाखरी तिमी मेरी,मनमा फुलिदेउ
आउ-आउ अंगालोमा,संसार भुलिदेउ।

यो मुटुको पाखाभरी सुवास छरेर
निर्जीव मेरो जीवनमा सास भरेर
कोपिला त्यो फुले सरी अब खुलिदेउ
आउ-आउ अंगालोमा,संसार भुलिदेउ।

उजाड यो जिन्दगीमा बहार ल्याएर
सजाइदेउ बाग मेरो तिमी आएर
मनैभरी/ तनैभरी मस्त डुलिदेउ
आउ-आउ अंगालोमा,संसार भुलिदेउ।

रोमान्स

पहुँचवाला नै कलाकार/साहित्यकार बन्दारहेछन्
धनीहरुलाई दुनियाँले असल मान्छे गन्दारहेछन्
गरिबहरुको प्रेमलाई भन्छन् रासलिला/चर्तिकला
सेलिब्रेटीले गरे त्यसैलाई रोमान्स भन्दारहेछन्।

Wednesday, 22 August 2018

आँखाभित्र लुक्छु

पापी यो दुनियाँ छली तिम्रो आँखाभित्र लुक्छु
विशाल त्यो सागरको वारि देखि पारी पुग्छु।

दु:ख पाएपनि दु:खी नहुनु है प्यारी तिमी
रुँदा मलाई बगाउँछ नरुनु है प्यारी तिमी
बरु म नै झरिदिन्छु,ओइलिएर म नै सुक्छु
विशाल त्यो सागरको वारि देखि पारी पुग्छु।

परेलीको भर्याङ चढी क्षितिज हेर्न चाहन्छु म
गाजलुको सुवास लिंदै सास फेर्न चाहन्छु म
पराईको प्रवेश रोक्न बर्षौंसम्म यहीं ढुक्छु
विशाल त्यो सागरको वारि देखि पारी पुग्छु।

तयार हुन्छन्

पदसंग जवानी साट्न तयार हुन्छन्
मान्छेको टाउको काट्न तयार हुन्छन्
स्वार्थ पूर्ति गर्न अचेल सज्जन-बृन्द
जुत्ताको तलुवा चाट्न तयार हुन्छन्।

पिरतीको हत्कडीले

पिरतीको हत्कडीले बाँधी लग्यौ मलाई
त्यो मुटुको कारागारमा थुनिदियौ मलाई
कति बर्ष जेलखानामा बस्नुपर्छ मैले
भन कस्तो के सजाय भोग्नुपर्छ मैले?

एक चुम्मा घुस दिन्छु छोडीदेउ बिन्ती
कसरी म बस्न सक्छु गरी दिन गिन्ती
मायाको अदालतमा मुद्दा लड्छु बरु
जाउँ कि त बसुँ अब भन म के गरुँ?

छातीको सयौं बिगाहा जग्गा तिमीलाई
बर्षौंदेखि साँच्या जोवन पक्का तिमीलाई
अब भने छोड्छ्यौ होला यति गरेपछि 
धेरै गाह्रो हुँदोरहेछ जेलमा परेपछि।

पिरतीको सागरमा

पिरतीको सागरमा डुबुल्की मार्दैछु म
किनारसम्म पुग्न भनी आफैंलाई तार्दैछु म।

लक्ष्य चुम्न सहज हुन्थ्यो सुनामी नआएमा
मैले दे'को फूल उनले शीरैमा सजाएमा
हृदयको बगैंचामा प्रेमबृक्ष सार्दैछु म
किनारसम्म पुग्न भनी आफैंलाई तार्दैछु म।

विना स्वार्थ,विना शर्त माया म गर्छु धेरै
मूल्यवान यो समय गए नी जाओस् खेरै
उनको मन जित्नलाई फेरि पनि हार्दैछु म
किनारसम्म पुग्न भनी आफैंलाई तार्दैछु म।

Tuesday, 21 August 2018

भ्रष्टाचारीको बीउ

झारिएछ कि अन्जानमा झरेछ?
कि कोही विदेशी आएर छरेछ?
कुनाकाप्चासम्म टम्म फैलिसक्यो
भ्रष्टाचारीको वीउ कसरी परेछ?

नांगिन्छन्

सोझाहरु पनि बांगिन्छन्,आर्थिक मैदानमा खेल्न पाएपछि
झूटका पर्दाहरु टांगिन्छन्,सत्यले लखेट्दै पछ्याएपछि
अनेकौं लेपनले रंङ्गाएर यथार्थता लुकाउन खोजे पनि
अन्ततः अवश्य नांगिन्छन्,असली अनुहार सामू आएपछि।

२४ कक्षा

२+२=४ पाइला बढेका छौं
डाँडा+डाँडा=हिमाल चढेका छौं
चोर+फटाहा=बहुमत हुने भए
हामीले १२+१२=२४ पढेका छौं।

Monday, 20 August 2018

आधुनिक प्रेम

ठूलो घर र बैंक ब्यालेन्स अपार चाहिने रहेछ
घुम्न/घुमाउन बाइक,स्कुटर,कार चाहिने रहेछ
त्याग,तपस्या र समर्पणको मूल्य छैन अचेल
प्रेम गर्न त महंगा-महंगा उपहार चाहिने रहेछ।

महंगो उपहार

बादलले छेकेर हो मधूरो देखिने,जून चम्किन नसकेर कहाँ हो र
त्यस्तै मेरो प्रेमिका नहुनु प्रस्तावको लागि उभिन नसकेर कहाँ हो र
उनलाई त आइफोन,ल्यापटप,रोलेक्स घडी जस्तो महंगो चाहिन्थ्यो
चिया/कफी पिलाउन,सस्तो दामको उपहार दिन नसकेर कहाँ हो र?

Saturday, 18 August 2018

सम्झनाका पानाहरु

सम्झनाका पानाहरु पल्टिएर सकिंदैनन्
जलाए'नी यादहरु सल्किएर सकिंदैनन्।

जिन्दगानी भन्नु यहाँ कहानीको खात रैछ
केही पनि होइन रै'छ,झरिजाने पात रैछ
धेरै भए घाउहरु,बल्झिएर सकिंदैनन्
जलाए'नी यादहरु सल्किएर सकिंदैनन्।

रगतले लेखी राख्छु जिन्दगीको कथा मेरो
जति लेखे पनि हुन्छ पिरतीकै सेरोफेरो
स्मृतिका जालीरुमाल अल्झिएर सकिंदैनन्
जलाए'नी यादहरु सल्किएर सकिंदैनन्।

देश

दुश्मनहरु
मलाई लखेट्दै-लखेट्दै
बीच-बजारको खम्बामा बाँधेर
मेरो आँखा फुटाएर
औंलाहरु काटेर
जिव्रो थुतेर
अन्तमा छातीमा गोली ठोक्न चाहन्छन्
किनकि म छातीमा देश बोकेर हिंड्छु।

गतिलो नभए

यात्रुहरूले सास्ती खेप्छन् चालक गतिलो नभए
सही मापन गर्न सकिन्न मापक गतिलो नभए
वीर सपूतहरुले ज्यान आहुति दिएर के गर्नु
जनताले दु:ख पाउँछन् शासक गतिलो नभए।

हरामखोर

भत्किनेनै भयो घर,जग कमजोर भएपछि
दोष कसलाई दिनु घरकै मान्छे चोर भएपछि
देश कसरी समृद्धिको पथमा गुड्न सक्छ र
देशका चालक भनौंदा नै हरामखोर भएपछि।

Friday, 17 August 2018

पसिनाको स्वाद

केश फुलेको
गाला चाउरिएको
जीर्ण शरीर भएको
बूढो मान्छे
खेत खनिरहेछ
तर्तरी पसिना आइरहेछ
टक्क उभिएर सवाल गर्छु-
"तपाईंको मुखमा पसिना पसिरहेको छ,नुनिलो हुन्न?"
जवाफ आउँछ-
"बाबु!पसिना नुनिलो हुन्न,मीठो हुन्छ।"

Tuesday, 14 August 2018

गमला

धेरै फूलहरु अटाउन सक्ने
मेरो मुटु बगैंचा होइन
मेरो मुटु त मनले खाको
एउटै मात्र फूल अटाउने गमला हो,
जसमा तिमीलाई सजाएको थिएँ
तर तिमीले त
गमला नै फुटाएर चकनाचुर पारिदियौ।

Monday, 13 August 2018

लोभी आँखा झिम्क्याउँदा

लोभी आँखा झिम्क्याउँदा गोली ठोके जस्तो लाग्छ
सिधै बोल्न नसकेका कुरा बोले जस्तो लाग्छ।

दन्ते मोती चम्किन्छन् मस्किएर बोलिदिंदा
अँध्यारोले ठाउँ छोड्छ मुहारको दीप बल्दा
अनायासै यो मुटुको भित्ता फोडे जस्तो लाग्छ
मस्तिष्कमा पिरतीको चित्र कोरे जस्तो लाग्छ।

तातो सासको तुफानले मनमा लाग्छ ठूलै आगो
त्यसै त्यसै पग्लिदिन्छ चिसो हिउँ जवानीको
चाहनाका पोकाहरु खोले खोले जस्तो लाग्छ
तिर्खाएको नजरले केही खोजे जस्तो लाग्छ।

Sunday, 12 August 2018

विशेषता

सहकारी समुदायले गर्ने व्यवसाय हो।शेयर सदस्यहरू सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन्।सहकारीमा पूँजीको हैन सदस्यको महत्व हुन्छ।सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ।संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरू स्थानिय व्यक्ति नै हुन्छन् ।संस्थाले विनियमका साथै विभिन्न निति नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू संचालन गरिएका हुन्छन् ।संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बाँकी रकम आफ्ना सदस्यहरूलाई नै ऋण लगानि गरिएको हुन्छ।संस्थापक र संचालकहरूको लगानि नाम मात्रको (अन्यन्त थोरै) नभई स्वभाविक हुन्छ।प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुनपर्छ।संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ।संस्थामा पर्याप्त शेयर पूँजि तथा अन्य कोष भएको हुनुपर्छ ।नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत संकलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्रमात्र ऋण लगानि गर्नुपर्ने हुन्छ।

उदेश्य

यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ।[५] सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ:

न्यायिक उद्देश्यसम्पादन

उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।

आर्थिक उद्देश्यसम्पादन

सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरुको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो। सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरु सञ्चालन गरी त्यसमा उनीहरुलाई सहभागी गराउने गर्दछन। कुनै पनि सदस्यलाईजात-जातिधर्मलिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरुपले आर्थिक कारोवार गर्ने, जस्तो (बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने), व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररुपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।

सामाजिक उद्देश्यसम्पादन

समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्गठन भएकोले यसले मानिसहरुमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्दछ । समाजका पछडीएका महिलादलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ । सहकारीले आफ्ना सदस्यहरुलाई सामुहिक रुपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ।

शैक्षिक उद्देश्यसम्पादन

आफ्ना सदस्यहरुको चेतना विकासका लागि सहकारी शिक्षातालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार,गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...