दुई बर्षको लामो बिछोडले बनाएको बिक्षिप्त घाउलाई मिलनको शित्तल मल्हमले पुर्ने आकांक्षा बोकेर रोयल नेपाल एयरलाइन्स चढी दुबईबाट काठमाडौसम्मको यात्रा थालें।कप्तान तथा नेपाली चलचित्रका सदाबहार अभिनेता बिजय लामाको उद्गोषणबाट शुरु भएको यात्रा निकै उत्साहजनक हुँदै थियो।अर्कोतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइने अनावश्यक दु:ख र झन्झट सम्झेर एकप्रकारको तनाव छँदै थियो।स-साना कुरामा कचिंगल खडा गरेर खान खोज्ने कर्मचारीबाट कसरी संयमित र सतर्क भएर जोगिने भनेर निकैबेर सोचें।नाइट ड्युटी सकेर सरसामान मिलाउँदा दिउँसो सुत्न भ्याएकै थिएन।जहाजमा निंदाउने यत्न गरें तर सफल भईन।विहानको ३:३० बजे उडान शुरु भएकोले अंध्यारो उज्यालोको तीव्र पर्खाइमा थियो।
अरु भन्दा त्यो जहाजमा खुशी र ढुक्क थिएँ।सुरक्षित भएको आभास भैरहेको थियो।कप्तान बिजय लामाको लामो अनुभव र दक्षताको बारेमा एउटा अन्तर्वातामा थाहा पाएको थिएँ।अर्को कुरा जहाजमा होस्टेजहरुको युनिफर्म शेर्पा समुदायको पोशाक बख्खु राखिएको रहेछ।जुन कुराले मनलाई दोब्बर खुशी बनायो।
घरीघरी आँखा जिपिएस तिर जान्थे।जतिखेर पनि जहाज एकै बिन्दुमा देख्दा पट्यार पनि लाग्यो।जहाज भारतीय आकाशमा उडिरहेको थियो।तर मेरो मनको जहाज नेपालमा अवतरण भैसकेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पश्चात् पनि निकैबेर लाग्ने भएकोले मैले श्रीमतीलाई १०:३० को समय दिएको थिएँ।तोकिएको समय भन्दा ३० मिनेट छिटो नेपालमा पुगियो।बिजय लामाको कप्तानीलाई मनमनै सलाम गरें।उहाँलाई एकपटक भेटेर सेल्फी लिने चाह भयो।तर सेलिब्रेटीलाई अनावश्यक दु:ख दिनुहुन्न भन्ने पनि लाग्यो।ईच्छालाई मनमै दबाएर आगमन कक्षतिर लागें।सिस्टम सोचेको भन्दा निकै फरक भएछ।नेपाली नागरिकहरुले अब फारम भर्नु नपर्ने रहेछ।अनावश्यक दु:खबाट छुटकारा पाएको महसुस गरें।लगेज अलि ढिलो आयो।करीब १ घण्टा पर्खिनु पर्यो।बल्लतल्ल लगेज लिएर बाहिर निस्किन खोज्दा ३२ इन्चे टिभी चेक गरेर छोडिदिए।पैसा खान खोजेनन्।कर्मचारीहरुको नियत फेरिएछ जस्तो लाग्यो।हरेक क्षेत्रमा यस्तै सुधार हुँदै जाने हो भने विकास हुन कति पनि लाग्दैन।मनले यस्तै भन्दै थियो।
बाहिर निस्केर फोन गरें।श्रीमती त बल्ल ट्याक्सी लिएर घरबाट प्रस्थान गर्न लागेकी रहिछे।भन्दैथिई-
"तपाईं छिटो कि म ढिलो?"
No comments:
Post a Comment