Monday, 27 August 2018

ए फूलहरु!

ए लालीगुराँस!
पहाडको काखमा लुट्पुटिएर
मुसुक्क मुस्कुराई
वनपाखालाई रंगीन बनाउनु हुन्न तिमीले
सुन्दरताको अर्थ कामुकता लगाइदेलान्।

ए सुनाखरी!
भीर,पहरा,कन्दरा र हाँगाहरुबाट
गमक्क गम्किंदै
चमक्क चम्किंदै
वैशालु सुवास छर्दै
खित्का छोडेर बिन्दास नहाँस
वैशले कुत्कुत्याएर मात्तिएको भन्लान्।

ए चाँप!
बादलुको बर्को ओढेर
हावाको धूनसंगै
मोहकता पस्किंदै
चञ्चल भएर ननाच
आफ्नो जवानीको बिज्ञापन गरेको ठानी
पंक्षीहरुले ठुंगिदेलान्
बिछ्यूँहरुले चुसिदेलान्।

ए सयपत्री!
ए मखमली!
ए चमेली!
ए गुलाफ!
सकेसम्म बगैंचामा नआऊ
कलुषित नजरमा पर्न सक्छौ
तिमीहरू उजाडिन सक्छौ
तिमीहरू लुछिन सक्छौ
अस्मिता लुटिन सक्छ
आफ्नै मालीबाट!

ए फूलहरु!
भमराहरुको जीवनलाई सुसज्जित गर्न
संसारलाई सुशोभित पार्न
किन फुल्छौ तिमीहरू?
फुल्नु यहाँ अभिशाप हो
फक्रनु यहाँ पाप हो
सकेसम्म तिमीहरुले फूल भएरै जन्म नलिनु
यदि जन्मिनै परे पत्थर भएर जन्मनु
यदि फुल्नै परे बिष भएर फुल्नु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...