Sunday, 29 October 2017

सेल्फी खिच्छन्

गाडी भीरबाट झरेको बेला,सेल्फी खिच्छन् कोही
ठूलो दुर्घटनामा परेको बेला,सेल्फी खिच्छन् कोही
घाइतेहरूलाई बचाउन छोडी,लाजै पचाएर पनि
दर्जनौं मानिस मरेको बेला,सेल्फी खिच्छन् कोही।

स्थिर शरीर/अस्थिर मन

"ए भन-भन भाइ हो-देउसिरे!"
"ए स्वर मिलाइकन-देउसिरे!"
"यो घर कत्रो-देउसिरे!"
"दरबार जत्रो-देउसिरे!"

झुपडी बाहिरको कोलाहलले
अनायासै उ झस्कियो
"दरबार" भन्ने शब्द
उसको लागि व्यंग्य सावित भयो।

"केको झिलिमिली-देउसिरे"
"बत्तीको झिलिमिली-देउसिरे"
तर उसलाई संसार अँध्यारो लाग्यो
उसको मुटुमै
अर्को व्यंग्यवाण लागेर
शख्त घाइते भयो।

उसकी अर्धाङ्गिनीले दैलो उघारिन्
सबै भित्र प्रवेश गरे
मच्ची-मच्ची गाए
उफ्री-उफ्री नाचे।

देउसीको टोलीले आज
उसको अतीत बल्झायो
बर्षौं अघि उ पनि
यस्तै मनोरञ्जन गर्थ्यो
हरेक कुरामा सक्षम थियो
उतिबेला टोलीनेतै थियो उ।

तर समयको मागले
अभावको खाडलमा जाक्यो
गरिबीको भारले
दिनदहाडै थिच्न थाल्यो
सुनौलो भविष्य निर्माणार्थ
सात समुद्र पार गरेर
परदेशतिर भास्यो।

अजंगको मेसिनमा खटिंदा
घर-परिवारको यादमा
चुर्लुम्म डुब्दै गर्दा
एक्कासी होस हरायो
जब होस आयो
उसले आफूलाई दृष्टीबिहीन पायो
आफूलाई अपांग पायो।

अतीतले रुझायो उसलाई
नराम्ररी बिझायो उसलाई

उसको मन जुरुक्क उठ्यो
खुरुरु दौड्यो
साथीभाइको हुलमुलमा
धीत मरुन्जेल नाच्यो
तर उसको शरीर
पलाङमाथिनै थियो।



मिनिरल वाटर

मिनिरल वाटरको नाममा अशुद्ध जल पाइन्छ बजारमा
माटोको गुणस्तर लाई घटाइदिने मल पाइन्छ बजारमा
आजको यो कलियुगमा शुद्ध सामान केही पनि पाइँदैन
नाफा खान कमसल सामन बेच्ने पसल पाइन्छ बजारमा

कुन चुन्छौ

माया-प्रेम र धनमा,कुन चुन्छौ तिमी
पराया,आफ्नोपनमा,कुन चुन्छौ तिमी
चुन्नुपर्ने हुन्छ आज दुईमा एक पक्कै
दिमाग अनि मनमा,कुन चुन्छौ तिमी?

दंग पर्ने म

सानोतिनो बिषयमा दंग पर्दै हिंड्ने मान्छे म
आफ्नै नियम समेत भंग गर्दै हिंड्ने मान्छे म
दु:ख-पीडालाई पनि खुशीमा रुपान्तरण गर्न
मनको क्यानभासमा रंग भर्दै हिंड्ने मान्छे म।

Saturday, 28 October 2017

बुझ्ने भेटिंदैनन्

मलम लाउने अनि आँसु पुछ्ने भेटिंदैनन्
दीनहरुको आवाज लिई उठ्ने भेटिंदैनन्
हालखबर सोध्नेहरु त धेरै भेटिन्छन् यहाँ
तर यथार्थ,व्यथा र मर्म बुझ्ने भेटिंदैनन्।

धेरै छन्

दादागिरी गरी मान्छे कुट्नेहरु धेरै छन्
चेलीबेटीको इज्जत ~लुट्नेहरु धेरै छन्
दोषीलाई कडा भन्दा कडा सजाय खै त?
आज जेल पसी भोलि छुट्नेहरु धेरै छन्।

आकाश रुन थाल्छ

आकाश गर्जी-गर्जी रुन थाल्छ
वर्षाले पनि जमिन धुन थाल्छ
हाम्रो केही पल बिछोड भएमा
धर्तीमा उथलपुथल हुन थाल्छ।

दु:ख लाग्यो

हाम्रो पुरानो मित्रता छिनेपछि दु:ख लाग्यो
नदेखे झैं गरी तर्केर हिनेपछि दु:ख लाग्यो
दु:ख लाग्थेन तर संगै गुच्चा खेलेको साथीले
जानी-जानीकन पनि नचिनेपछि दु:ख लाग्यो।

Friday, 27 October 2017

गाजल लाएसी

झुक्किएर पनि कहीं कतै अंगालोमा बेरेनन् कसैले
साँचो माया गर्छु भनें तर पिटिक्कै टेरेनन् कसैले
कसैको आँखा नलागोस् भनी तिम्ले गाजल लाएसी
फुटेको आँखाले पनि मलाई फर्केर हेरेनन् कसैले।

नदेखे झैं

नहराएको चीज पनि हराएर नभेटेझैं गर्नुपर्छ
नआउने कुरा पनि पोख्त भएर केरेझैं गर्नुपर्छ
धेरै नाटक हुन्छ र गरिन्छ रंगमञ्च दुनियाँमा
प्रत्यक्ष आँखाले देखेर पनि नदेखेझैं गर्नुपर्छ।

Thursday, 26 October 2017

माया मार्न

जति माया गरेपनि खुशी पार्न सकिन
उनले झैं मैले माया अन्तै सार्न सकिन
मेरो लागि मर्छु भनी पछि पर्ने धेरै छन्
तर निष्ठुरीलाई मैले माया मार्न सकिन।

कुकुरको पूच्छर

परिस्थिति फेरिन्छ,समय पनि बद्लिन्छ
महामुर्ख पनि कुनै दिन सज्जन भइदिन्छ
तर कुकुरको पूच्छर जति ढुंग्रोमा राखेपनि
पूच्छर सीधा हुन्न,बरु उल्टै ढुंग्रो बांगिन्छ।

Wednesday, 25 October 2017

तिमी कसैको

तिमी कसैको भएर केभो,माया मेरो उस्तैछ
मनि कसैको भएर केभो,माया तिम्रो उस्तैछ
चोखो माया गर्नु के पाप हो र?
माया गरेपछि पाउनै पर्छ र?

स्वार्थ थिएन,वासना थिएन
खराब चाहने कामना थिएन
धोका दिने त आशय थिएन
हाम्रो पक्षमा समय थिएन।
बेग्लै अहिले भएर केभो,अतीत हाम्रो उस्तैथ्यो
बेग्लै हैसियत भएर केभो,प्रीत हाम्रो उस्तैथ्यो
चोखो माया गर्नु के पाप हो र?
माया गरेपछि पाउनै पर्छ र?

फेरि भेटौंला भनेर भन्दिन
भेट्ने दिनहरु गनेर बस्दिन
कुनै योजना बनाउन चाहन्न
कतै भेटिए मौन म रहन्न।
फरक गन्तव्य भएर केभो,हिंड्ने बाटो उस्तैछ
फरक बसाइँ भएर केभो ,बस्ने माटो उस्तैछ
चोखो माया गर्नु के पाप हो र?
माया गरेपछि पाउनै पर्छ र?

मन पर्यो

आँखा,नाक,मुख सारा मन पर्यो
नशालु यौवनको पारा मन पर्यो।

उनीले बोलेको बोली मीठो लाग्छ
उनीले लाएको चोली राम्रो लाग्छ
माथिल्लो ओठको कोठी मन पर्यो
देख्दैमा पहिलो~ चोटी मन पर्यो।

उनको हिंडाइको चाल नै गज्जबको
अरु भन्दा जीउ-डाल नै गज्जबको
शिखरझैं उठेको छाती मन पर्यो
सर्लक्क मिलेको घाँटी मन पर्यो।

Saturday, 21 October 2017

घाउहरु

खिएर पनि पार लाग्दैनन् जिन्दगीका नाउहरु
सुक्दै सुक्दैनन् यी नयनमा अश्रुका तलाउहरु
देख्नेहरुको नजरमा त ठिकठाकै देखिन्छु होला
तथापि अदृश्य छन् मुटुमा अनगिन्ती घाउहरु।

Friday, 20 October 2017

यसैपाली

केटा
अलिकति गोरी तिमी,अलिकति काली
ठिकै भयो सिउँदो रैछ,अझैपनि खाली
दियौ भने यदि तिम्ले हरियो इशारा
झ्याइँ पारी लगिदिन्छु पक्का यसैपाली।

केटी
अलिकति सिधा तिमी,अलिकति जाली
यदि म त फूल भए,तिमी हुनु माली
तिमीलाई पर्खिबसें आजको दिनसम्म
सक्छौ भने सिउँदो भरी लैजाउ यसैपाली।

केटा
चौतारीको वर म त,तिमी चाहिँ पिपल
पिरतीको बिषयमा गरौं हामी छलफल
केटी
ठोस हैन मायामा त हुनुपर्छ तरल
अनि मात्र भईदिन्छ जिन्दगी यो सफल
केटा
मेरो घर आयौ भने राख्नेछु सम्हाली
केटी
प्रेम-यात्रा शुरु गरौं आजै कदम चाली
केटा
दियौ भने यदि तिम्ले हरियो इशारा
झ्याईं पारी लगिदिन्छु पक्का यसैपाली
केटी
तिमीलाई पर्खिबसें आजको दिनसम्म सक्छौ भने सिउँदो भरी लैजाउ यसैपाली।

तिहारको शुभकामना

धेरैको घर-आँगन झिलिमिली हुँदा
अन्धकार झुपडीको संघारमा
सल्लाको खोटो बटुलेर
आफ्नो खोटी कर्मबाट सृजित
दु:ख-पीडा जलाउने
ती फुस्रा हातहरुलाई
तिहारको शुभकामना!

अभाव र दरिद्रताका बाबजुद पनि
महिनौं-दिन देखि
आफ्नो पेट काटेर
आना,सुकी,रुपियाँ जमाएर
आँसु लुकाएर हाँसी-हाँसी
भाइपूजाको सामग्री खरिद गर्ने
आम दिदी-बहिनीलाई
तिहारको शुभकामना!

दिल्ली,मुम्बई र ठमेलका कोठीहरुबाट
यौन-शोषण र उत्पीडनमा तड्पिएरै पनि
तिहारको पावन अवसरमा
आफ्नो दाजु-भाइ सम्झेर
चीरायुको कामना गर्ने
शोषित,पीडित,दमित
विवश र अबला दिदी-बहिनीहरुलाई
तिहारको शुभकामना!

सुनौलो भविष्य निर्माणार्थ
प्रवासिने क्रममा
कुख्यात दलालहरुबाट
बेचिएका/फसाइएका
दिन-रात खटिरहेका,
पसिनाका धारा बगाइरहेका
तमाम प्रवासी दिदी-बहिनीहरुलाई
तिहारको शुभकामना!

दाजु-भाइको आगमन होला भनी
अपूर्ण आशा लिएर
सयपत्री/मखमली उनेर
पानी समेत नपिइकन
नयनमा गंगा-जमूना र
मनमा माया/स्नेह लिएर
नयनहरु गोरेटोमा बिछ्याएर
प्रतिक्षारत आम दिदी-बहिनीहरुलाई
आम परदेशी दाजु/भाइको तर्फबाट
तिहारको शुभकामना!!!

परिचित/अपरिचित दिदी-बहिनीहरु
आफ्ना/पराइका दिदी-बहिनीहरु
साथी-भाइका दिदी-बहिनीहरु
साथीका पनि साथीका दिदी-बहिनीहरु
बा-आमा,काका-काकीका दिदी-बहिनीहरु
सबै-सबैका दिदी-बहिनीहरुलाई
तिहारको लाखौं-लाख शुभकामना!!!

Wednesday, 18 October 2017

साहित्य संगम" लाई पत्र

हातेमालो साहित्य संगम ओखलढुंगा शाखा परिवार प्रति साहित्यिक नमन!

       सर्वप्रथम त "साहित्य संगम" जस्तो बिशुद्ध साहित्यिक पुस्तकमा समाबिष्ट खुराकहरुको आस्वादन गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्दछु।साथै संगम परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।शुरुमा जब यो पुस्तक मेरो हातमा परेको थियो,मलाई लागेको थियो कि आकर्षक कभर हात्तीको देखाउने दाँत मात्र होला।यस्तो पनि लागेको थियो कि व्यापरिक दृष्टिकोणले बाहिरी कभर मात्र सुन्दर बनाएको होला र भित्री गुदीको चरम अभाव होला।तर जब पानाहरु पल्टिँदै गए,मेरा नयनहरुले "आइ ड्र्प" पाए झैं शितलताको अनुभूत गरे।मेरो मस्तिष्क चलायमान भयो।मन पुलकित,रोमाञ्चित,चञ्चल र प्रभावित हुँदै गयो।मेरो पूर्वानुमान गलत र मिथ्या सावित भयो।आफैं लज्जित भएँ।सबै साहित्यकारका कलमहरु निख्खारिएका र तिखारिएका थिए।सबै रचना उस्तै स्वादिला,रसिला र कस्सिला पाएँ।कुनै लेख,रचनामा आफ्नै कथा-व्यथा पाएँ।आफ्नै समाज,देश र परिवेशका घटना,परिस्थिति र यथार्थता उजागर भएको/गरिएको देखें।ती सिर्जनाहरु फगत कल्पनाका बकवास नतिजा पक्कै थिएनन्।बरु सामाजिक बिकृति,विसंगति र कुसंस्कृतिहरु प्रति तीखो व्यंग्यबाण प्रहार गर्दै उन्नत,प्रगतिशील,अग्रगामी र सुसंस्कृत समाजको निर्माणका लागि पाठकहरुलाई जग्जगाउन सफल थिए।लामा-लामा कथाहरु समेत शुरु गरिसकेपछि अन्त्य नभएसम्म कौतुहलता जगाउने,अध्ययन गरिरहन बाध्य र उत्सुक बनाउने खालका थिए।पुस्तकका सबै रचनाहरु कुनै दोहोर्‍याएर त कुनै तेर्याएर समेत अध्ययन गरेको छु।जतिपल्ट अध्ययन गरेपनि उस्तै मज्जा र स्वाद आयो।तर पट्यार कहिल्यै लागेन।समग्रमा पुस्तकले चौरासी ब्यञ्जनयुक्त साहित्यिक खुराक पस्केर साहित्यानुरागी मनहरुको तृष्णा मेट्न सफल भएको ठानेको छु।साहित्य संगमको पहिलो अंकले यतिसम्म सन्तुष्टि दियो कि म जस्तो पाठकले अर्को अंकको व्यग्र प्रतिक्षामा बस्नुपर्यो।प्रतिक्षाको बाँध फुट्न लागिसकेकोले यो पत्र लेख्न बाध्य भएँ।यथाशीघ्र अर्को अंक प्रकाशन गरेर म जस्ता लाखौं प्यासी मनहरुको प्यास मेटाइदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।साहित्य संगमको आगामी पाइलाहरु उस्तै तीव्र र चुस्त होस्,यही कामना गर्दछु।

(माङ संग्राम
जिरी-२,दोलखा)

Sunday, 15 October 2017

त्रसित फूलहरु

कुनै बेला।हनुमान जत्तिकै बलियो ठानिन्थ्यो आफूलाई।५०/१००किलोको वजन त केही जस्तो लाग्दैनथ्यो।खरायोको गतिमा दौडिन्थ्यो।बसमा भन्दा हिंडेर छिटो पुगिन्छ भनेर हिंडिन्थ्यो।गोरेटोमा हिंड्दा-हिंड्दै रंगीचंगी फूलहरुको बर्षात हुन्थ्यो😀😁😁😁।समयको द्रुत गतिसंगै अब ती दिनहरु रहेनन्।यादहरुका भग्नावशेष मात्र बाँकी छन्।समयसंगको लामो म्याराथन दौडमा कतिखेर पछाडि धकेलियो,अवगतै भएन।ती दिनहरु फर्केर हेर्दा आफूलाई धेरै अगाडि पाउँछु।तर समयले भने आफूलाई धेरै पछाडि छोडिसकेको रहेछ।साँच्चै,अब त ती फूलहरु पनि मुर्झाउने तयारीमा छन्।तर नयाँ फूलहरु भने मलाई देखेर भयभीत भएर दूर-दू्र भाग्छन्।साँच्चिकै,हनुमान जी!यो केको संकेत होला?😀😁😁

Thursday, 12 October 2017

बिग्रेका हौं

धेरै भन्दा धेरै चाड मनाएर बिग्रेका हौं
तिललाई नि पहाड जनाएर बिग्रेका हौं
चढिसक्ने थियौं सफलताको शिखरमा
अन्नहरु बाट जाँड बनाएर बिग्रेका हौं।

कानुन

जो कोही फिदा अनि पागल हुन्छ
नारीका ती संवेदनशील अंग छुन्छ
उच्च हुन्छ मनोबल बलात्कारीको
जहिलेसम्म यहाँ अन्धो कानुन छ।

बेरोजगार-६

दृश्य चित्रण
कमाउँछ केही,रामेले पैसा,बालुवा चालेर
चलाई हात,गरेर दु:ख,शरीर गालेर
उसको लागि,आउँदैन दशैं,आउँदैन तिहार
सानीको लागि,पठाउँछ पैसा,एघार हजार।

पाएर पैसा,सानीको आँखा बर्सन्छन् तरर
कल्पना गर्छिन्,घुमेको संगै,बजार सरर
दिंदैछे जुत्ता,कपडा थोरै किनेर सानीले
रोजेको कुरा,पाएर हर्ष, पोख्दैछे छोरीले।

बलेर आफू सकिए सकोस्,मैनको बत्ती झैं
रामेको कुनै गुनासो छैन,छोरीको लागि नै
रोएर आफू,हाँसेको देख्न चाहन्छ निर्मला
बोकेको हुन्छ,हियामा धेरै दु:खको शृंखला।

राखेर साक्षी,घुमेर अग्नि कसम खाएको
झल्झली आउँछ उनैको याद,पिरती लाएको
लाग्दछ खेद,बाध्यताबश,टाढिनु परेर
जाउँ झैं लाग्छ,बनेर चरी,भुरुरु उडेर।

नजाऊ बिन्ती भनेर पाउ सानीले छोएको
भर्खर जस्तै लाग्दैछ तर,महिनौं बितिगो
दीनको लागि,प्रशस्त अन्न,घरमा हुँदैन
त्यसैले पनि घरैमा बस्ने कर्ममा हुँदैन।

जिन्दगी बाँच्न कठिन हुन्छ,महंगी शहर
हुँदैन पूर्ण सपना अनि मनको रहर
आभास हुन्छ,भएको एक्लै मान्छेको भीडमा
भरोसा दिने हुँदैन कोही उसको पीरमा।

रहेछ स्वार्थी शहर भव्य,छैन छ मानव
गिद्धा नै उड्छन्,रहेछ कालो,फोहोरी यो नभ
मान्छेले मान्छे नचिन्ने कस्तो अचम्म यो ठाउँ
पर्खन्छन् सर्व,पाउ नै तान्ने,जसरी त्यो दाउ।

धुवाँ र धूलो खाएर बाँच्न विवश छँदैछ
फोहोर फ्याँकी यता र उता शिक्षित भन्दैछ
रोगको खानी बनाई स्वयं,हुँदैछन् रोगी नै
बाहिर भने मानव जाति अधिक ढोंगी नै।

निर्दोषी मन पाउन गार्हो,कलिको युगमा
तथापि श्रेष्ठ,सजीव भन्छन्,आफैंले उपमा
सम्झेर स्वयं उत्कृष्ट प्राणी,ज्ञानी र तगडा
मानव धर्म भुलेर यहाँ गर्दैछन् झगडा।

उदेक लाग्छ,मायवी मञ्च, देखेर नाटक
लगाई कोट,बाँधेर टाई नाच्दैछ ताण्डव
गरीबलाई,छ्यापेर हिलो,हिंड्दछन् अमीर
कुरुप मन भएर भित्र, सुन्दर बाहिर।

रामेले जस्तो सोचेको थियो, पाएन संसार
घमण्डी मान्छे,दैवले किन रचेको धिक्कार!
रचेका थियौ तिमीले धरा, सबैको निवास
सिमित भयो धनीको लागि,गर्दिनु विनाश।

लडेको मान्छे देखेर कोही खिच्दछ तस्वीर
मद्दत गर्ने,गएछ दिन,कस्तो यो नजीर
सीटमा बस्छन् तन्नेरीहरु,उभिन्छन् ती बृद्ध
देखाई अहं,अचेल मान्छे गर्दैछन् के सिद्ध?

घरमा आफ्नै,हुँदैनन् चेली ढुक्क र सुरक्षित्
आफन्त बाटै भईन्छ नारी सदैव भयभित्
पुरुषहरु मातेर हिंड्छन्,कानून तोडेर
पाएन भने रोजेको केटी,एसिड छरेर।

यथार्थ दृश्य,पर्दामा यस्तो छर्लङ्ग देखेर
शहर बस्ने रहर पनि,आउँछ मरेर
निरीह पात्र निर्णय गर्छ मुलुक नबस्ने
सोचेको थियो रामेले तर मुग्लान नपस्ने।

श्रीमतीलाई,नदिई थाहा,पासपोर्ट बनायो
काढेर ऋण,बिदेश जाने योजना बनायो
पर्खन्छ रामे,एजेन्टलाई पासपोर्ट बुझाई
सट्टामा केही नगद पैसा हातमा थमाई।

Wednesday, 11 October 2017

कुकुर-बिराला

कहिले खुशी,कहिले रीसले चूर हुँदैछन्
इतिहासमा कोही नभएको झूर हुँदैछन्
सत्ता नामको हड्डी देखेपछि नेताहरू
लुछाचुँडी गर्ने बिराला र कुकुर हुँदैछन्।

ऐले लाग्छ

दु:ख,पीडा दूर भाग्छ
अचम्मको सुर जाग्छ
दूध खाई कै'ले लाग्नु
जाँड खाए ऐ'ले लाग्छ।

दाँत टुट्नेगरी

दाँतै टुट्ने गरी दिए फरक नपर्ला
गालै फुट्ने गरी दिए फरक नपर्ला
अर्धनग्न भएर हिंड्नेलाई चड्कन
मूत्र छुट्ने गरी दिए फरक नपर्ला।

Monday, 9 October 2017

बलिदान

फगतमा पलपल आँसु पिएर के फाइदा
गोली-बारुदको सामू उभिएर के फाइदा
शहिदका सालिक समेत बाँकी नरहेपछि
राष्ट्रको लागि बलिदान दिएर के फाइदा?

Sunday, 8 October 2017

बेरोजगार-५

दृश्य चित्रण
उषाको लाली किरण आई चुम्दछ बस्तीमा
हुँदैछ विहे,कसैको त्यहाँ,सबै छन् मस्तीमा
नहुँदा रामे जहानलाई निम्तो नै आउँदैन
गरीब भनी गरिन्छ हेला,इज्जत पाउँदैन।

सानी(आमा)
निर्मला नानु!गरीबलाई कसैले गनेनन्
नहुँदा बाबा,बिहेमा पनि आउ नै भनेनन्
सम्पन्न वर्ग गाएर नाचे,भोजमा रमाए
सम्मान हुन्थ्यो अमीर भए,सम्पत्ति कमाए।

निर्मला(छोरी)
खाएर खोले,बसौंला आमा,नजाने भोजमा
पर्दैन नाच्न,चराऔं बस्तु,गएर गोठमा
हामीले पनि गरौंला केही,मर्दैनौं यत्तिकै
म ठूलो भई,प्रगति गर्छु,अरुको जत्तिकै।

सानी(आमा)
उमेर सानो भएर पनि दिमाग पाको छ
जायज कुरा सुनेर मन प्रफुल्ल भा'को छ
मनमा राखी आजको दिन,शत्रुको हेपाइ
भविष्य तिम्रो उज्ज्वल पार्न गर्नुछ पढाइ।

निर्मला(छोरी)
पढेर लेखी सक्षम बन्न दिमाग खार्नेछु
निश्चिन्त हुनु,थाहा छ सबै,म सेखी झार्नेछु
अवश्य पनि सुखको दिन आउँछ सबैको
कम्जोर बनी आमाले डर नमान्नु कसैको।

सानी(आमा)
नानुले उर्जा दिएर यति बलियो बनायौ
असली छोरी भएर अति सन्तुष्टि दिलायौ
सिकायौ हाँस्न,दु:खको आँसु तिमीले पुछेर
गर्दछु गर्व,निर्मला जस्ती साहसी पाएर।

निर्मला(छोरी)
साँच्चिकै भोलि,नमूना छोरी बनेकी हुनेछु
यो दिन सम्झी सफलताको शिखर छुनेछु
समाज खाने धमिरालाई ज्ञानले मार्नेछु
कुरीतिलाई हटाई देश झलल पार्नेछु।

सानी(आमा)
आँटेको पुगोस्,निर्मला तिम्रो,हात छ शीरमा
अहिले आफ्नो हालत सम्झी नबसौं पीरमा
बाबाको पनि मद्धत पक्कै पाउँछौं हामीले
संघर्ष गर्दै होला नै उहाँ,बुझ्यौ नि तिमीले?

निर्मला(छोरी)
चस्कियो मुटु,बाबाको याद,सम्झना आएर
कसरी दिन बितेको होला,के खाना खाएर
देशमा सही,गतिलो नीति,आउँला कहिले
योग्यले काम,गाउँमै बसी,पाउँला कहिले?

सानी(आमा)
देशमा हाम्रो,भएन यहाँ,शिक्षाको कदर
नपढे पनि,पहुँच भए,उसैको सदर
नवीन तिम्रो पिंढीले अब,गरेर देखाऊ
दीनको पक्ष,लिएर ध्वनि,बुलन्द बनाऊ।

निर्मला(छोरी)
अबेर भयो,भोकाए गाई,गएर फुकाऔं
भएका पीडा,वेदना सबै,मनैमा लुकाऔं
ब्याउन लागे,भैंसी र बाख्रा,राम्ररी चराऔं
कसैले कुटे,ब्याउने माथि,थर्काऔं-कराऔं।

सानी(आमा)
गफैमा भुली निर्मला नानु स्कुलमा गईनौ
बेलैमा जानु पर्ने हो,किन सचेत भईनौ
मोडियो ध्यान,आमाको पनि,वेदना कहँदा
प्रगति गर्न सकिन्छ कहाँ,गयल रहँदा।

निर्मला(छोरी)
त्यो डाँडा पारी लगेर बस्तु,जाउँला गौशाला
किताब बोकी,साथैमा आज,गईन्छ गोठाला
स्कुलमा पढ्ने बिषय जति कण्ठस्थ पार्नेछु
बुझिन भने कठिन पाठ,साथीको सार्नेछु।

दृश्य चित्रण
गएर गोठ,लिएर बस्तु,आमा र ती छोरी
पुगेर टाढा,किञ्चित ध्यान,बिहेमा नमोडी
मनमा ईख लिएर हिंड्छिन्,सानीकी छोरीले
सिनिक्क हान्दै धपाउँछिन् गाई,हानेर लौरीले।

Saturday, 7 October 2017

बेरोजगार-४

दृश्य चित्रण
प्रमाणपत्र,लाग्दैन काम,थन्काई झोलामा
बालुवा झिक्न थालनी गर्छ,रामेले खोलामा
साउने भेल उर्लिए सरी पसिना बग्दछ
बिरानो ठाउँ,अभागीलाई साहुले ठग्दछ।

रामे
हजार दिन्छु भनेर आएँ,पाईन त्यतिनै
दिनुभो आधा,हाजिर मेरो,काम भो अतिनै
श्रमिकलाई,शोषण गर्न पाईन्न यसरी
ठगियो भने साहुजीबाट बाँचिन्छ कसरी।

साहुजी
हजार भनें दिनको मैले,हेर्न नै बाँकी छ
हेरेर काम,तलब तिम्रो फेर्न नै बाँकी छ
नमान चिन्ता,ठगेर खाने मानिस परिन
अरुले जस्तो मैले त केही खराब गरिन।

रामे
पढेको मान्छे भएर पनि,भएर बाध्यता
गरेको काम,योग्यता अनि बिर्सेर क्षमता
काममा ठग्ने चलन छैन हजुर कहिल्यै
भनेको जति पाईन भने जानेछु अहिल्यै।

साहुजी
नबुझे चित्त,तलब यति,अधिक खोजेर
आउँछ अरु,गए नि हुन्छ,यो काम छोडेर
लागेर दया,गरेर खान,दिएको मैले त
बोल्दैछस् हेर,बिर्सेर आफ्नो,औकात तैंले त।

रामे
गर्दिनु माफ,भैदियो गल्ती,साहुजी मबाट
पाएर काम,भुसुक्कै मैले,भुलेछु औकात
नगरी काम,कसरी पाल्नु,गाउँको जहान
सहज हुन्न,जिउन यहाँ,लाउन र खान।

साहुजी
लागेर चुप,आउने भोलि,काममा खुरुक्क
हेर्नेछु तिम्रो पौरख पनि,आएर सुटुक्क
नगरी दु:ख,सजिलैसँग,पाईन्न नगद
अमीर हुन,बगाउनु पर्छ,पसिना रगत।

दृश्य चित्रण
क्रमशः बित्छन् ती दिनहरु,महिना बित्दछ
रामेको काम नदेखे जस्तो,साहुले गर्दछ
तलब थोरै खाएरै रामे,बस्दछ मौन भै
उसको ध्यान हमेसा हुन्छ,केवल काममै।

Friday, 6 October 2017

सयपत्री

दशैं-तिहारको रमझम
साथीभाइहरुको भीडभाड
चार खम्बाहरुको संगम
एउटै फलेकमा
चार पाउहरुको मिलन
एउटै डोरीमा
चार हातहरुको कस्साइ
मेरी सखी र म आमनेसामने भएर
एकैपटक संगै खेल्दैछौं लिङ्गे पीङ
"चचहुई!चचहुई!!"

माथिबाट उनले मच्चाउँछिन्
न्वारान देखिको बल लगाएर
तलबाट मैले मच्चाउँछु
साथी-संगी कोही हाँस्दैछन्
कोही ताली पिट्दै कोकोहोलो मच्चाउँछन्
हामी पनि उस्तै तरंगित हुन्छौं
भावनाका तरंगहरुसंगै
उमंगका छालहरुसंगै।

सबैको हुटिङले हामी
नचाहिंदो पाराले उत्साहित छौं
शरीरलाई सन्तुलित पार्दै
कुर्कुचाको सहायताले अझ हुत्तिन्छौं
लिङ्गे पीङको टुप्पोबाट सुर्किएर
आत्माहत्या गरिरहेझैं लाग्ने
सयपत्रीका थुंगाहरुलाई
स्पर्श गर्ने होडबाजी चलेको छ
"छोयो-छोयो"
"ए! छोएन"
छोए जस्तो गर्छौं तर छुँदैनौं
उडेर आकाश छोएको भान हुन्छ
तथापि फूल टिप्न सक्दैनौं
अन्ततः हामी थकित हुन्छौं
उर्जा सबै समाप्त हुन्छ।

साथीभाइ कराउन थाल्छन्
"अब हाम्रो पालो"
"हामीले पनि खेल्न पाउनुपर्छ"
नैतिकताले दिँदैन खेलिरहने
सहर्षरुपमा हामी उत्रन्छौं
सयपत्री चुम्ने सपना शहिद हुन्छ
उत्तेजित हुँदै मनमनै भन्छु
"नाइँ यो हुन सक्दैन"
"झेली भयो!"

ध्यान भंग हुन्छ
एकाग्रता खत्तम हुन्छ
आफूलाई अरबको भूमीमा पाउँछु
खुल्लै आँखाले सपना देखेको हुन्छु।

आकांक्षाको शिखर चढ्न
त्यस्तै सयपत्रीरुपी लक्ष्य चुम्न
बर्षौं पहिले खाडी आए पनि
लक्ष्यको पछि-पछि दौडिँदा-दौडिंदै
पूर्णरूपमा असफल भैसकेको रहेछु।

आफूलाई प्रतिविम्बित गर्न
ऐनाको अगाडि ठिङ्ग उभिन्छु
गाला चाउरिसकेका रहेछन्
केश फुलिसकेका रहेछन्
तर लक्ष्य चुम्नै सकेको रहिनछु
जसरी कल्पनाको लिङ्गे-पीङ खेल्दा
सयपत्रीको थुंगा छुन सकेको थिइन।

बेरोजगार-३

दृश्य चित्रण
यता र उता भौतारी हिंड्छ खोजेर जागिर
पाउन्न कतै,धाएर पनि, गल्दछ शरीर
प्रमाणपत्र,लागेन काम,खोजियो चिन्जान
योग्यता हेरी,कसैले पनि,दिएन सम्मान।

रामे
नमस्ते सर,जसरी पनि,जागिर चाहियो
चहारें धेरै अफिसहरु,दु:खनै पाईयो
मास्टर डिग्री गरेको मैले,अंग्रेजी लिएर
परिन कतै,आँखामा म त,परीक्षा दिएर।

कम्पनीको मेनेजर
चिनेको भए सजिलो हुन्छ,उतीर्ण भईन्छ
मन्त्रीको फोन आएको भए जागिर पाईन्छ
गर्नुहोस् माफ,अहिलेलाई हजुर गैदिनु
चाहियो भने गर्नेछु फोन,ओझेल भैदिनु।

रामे
नभन्नु त्यसो,पर्दछु पाउ,राख्दिनु काममा
तलब आए,रकम आधा,सरकै नाममा
बुझ्दिनु कुरा,मलाई काम अत्यन्तै जरुरी
दिउँला बरु,महंगो रक्सी,रम त्यो खुकुरी।

म्यानेजर
चाहिन्छ लाख,दिनेनै भए,हुँदैन हजार
कौडीको हैन,यहाँको ठाउँ,महंगी बजार
बिमति भए शर्तमा मेरो,आफन्त मेरै छन्
थमाई लाखौं,जागिर खोजी,धाउने धेरै छन्।

रामे
गरीब परें,लाखौंको पैसा,कसरी तिरुँ म
त्यो भन्दा बरु,गाउँमा गई कोदाली खन्छु म
तपाईं जस्तो मान्छेले गर्दा बिग्रेको नेपाल
घुस म दिन्न,मरे नि भोकै,भए नि बेहाल।

म्यानेजर
प्रमाणपत्र बोकेर अब अन्यत्रै जानुहोस्
नदिई घुस,जागिर पाए,त्यहींनै खानुहोस्
आउँछन् कस्ता मानिसहरु,भएन फाइदा
तपाईं गए अवश्य पनि आउँछन् काइदा।

दृश्य चित्रण
बसेर चुप,लिएर झोला,निस्किन्छ बाहिर
पाएन त्यहाँ,बिसाई बिन्ती,रामेले जागिर
सडक नाप्छ,पाइला सारी,हिम्मत हारेर
अँध्यारो देख्छ संसार सारा,आँसुले रुझेर।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...