Monday, 2 October 2017

बेरोजगार-१

दृश्य चित्रण
दोलखा जिल्ला,गाबिस.माली,यलुङ गाउँमा
कृषक हरू,गर्दैछन् खेती,चप्पल पाउमा
झुपडी भित्र,रामेकी छोरी,अनि छे श्रीमती
गरेर कर्म,गुजार्छन् ज्यान,थोरै छ सम्पत्ति।

श्रीमान(बाबा)
पढेर पनि जागिर छैन,कसरी बाँच्ने हो
नगद बिना तनाब हुन्छ,कसरी हाँस्ने हो
जान्छु म अब,छोडेर गाउँ,पस्ने हो शहर
कमाई धन,नानी र तिम्रो किन्नेछु रहर।

श्रीमती(आमा)
गाउँमै बसी गरौंला प्यारा कुटो र कोदालो
मिलेर संगै मेलामा जाऔं,जाउँला गोठालो
पाईन्छ काम यही नै जत्ति,नजानु शहर
जानुनै पर्ने ,हजुर लाई,, के छ र कहर?

छोरी
नजानु बाबा,हजुर गए बाटैमा रोक्ने हो
बसेर संगै मायाको फूल बारीमा रोप्ने हो
चाहिन्न नाना,मलाई नयाँ, लाउने टालेर
चाहिन्न मीठो बाँचौंला बाबा नमिठै खाएर।

श्रीमान(बाबा)
जसरी पनि गाउँमा बसी बाँच्न त सकिन्छ
कहिले नुन,खुर्सानी,तेल,चामल सकिन्छ
आम्दानी छैन,घरमा बसी लाग्दैछ ऋण पो
शहर गए अवश्य मिल्छ सुखको दिन त्यो।

श्रीमती(आमा)
नहुँदा साथ हजुर यहाँ साराले हेप्नेछन्
गरीब माथि निरीह देखि शीरमा टेक्नेछन्
भएसी माया काफी छ हेर्नुस्,धन नै चाहिन्न
धनले माया किनेर हेर्नुस्,कहिल्यै सकिन्न।

छोरी
नहुँदा बाबा लाग्नेछ शुन्य मायाको संसार
हजुर बिना हुँदैन यहाँ बाँच्नुको आधार
गर्दैछु बिन्ती,म हात जोडी,ए बाबा हजुर
चटक्क छोडी जानुनै पर्ने के थियो कसुर।

श्रीमान(बाबा)
बेरोजगारी भएको हुँदा आजको दिनमा
बसेर त्यसै परियो धेरै साहुको ऋणमा
नमान पीर तिमीले छोरी,कमाई आउँछु
चुहियो पानी,घरको छानो,अवश्य छाउँछु।

श्रीमती(आमा)
जानेनै भए राम्ररी जानुस्,माया त नमार्नु
सारेर माया अन्यत्र कतै बिचल्ली नपार्नु
सफल रहोस्,शुभनै रहोस्,आँटेको गन्तव्य
नहिंड्नु होला कुमार्ग तिर,अंगाल्नु है सत्य।

छोरी
गर्नु है फोन कहिलेकाही,नभुल्नु चटक्कै
बाबाको बोली नसुने निँद लाग्दैन पटक्कै
गर्नु है ख्याल जीउको सदा बिरानो ठाउँमा
उराठ लागे शहर त्यहाँ फर्किनु गाउँमा।

श्रीमान(बाबा)
तिमीले आज भनेको बात मनन गर्नेछु
कसरी सक्छु बिर्सन नानी,मनमा राख्नेछु
अहिले लाई चाहन्छु विदा नमरे भेटौंला
मिलन भए दु:ख र सुख मिलेर साटौंला।

दृश्य चित्रण
काँधमा झोला बोकेर रामे लम्कन्छ बाटोमा
छुट्टिने बेला ढोग्दछ उनी गाउँको माटोमा
साउने भेल बग्दछ कठै सानीको आँखामा
उदास हुन्छे निर्मला छोरी हेरेर ती बाबा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...