जोतेर बाँझो,खनेर खेत,बित्दछ जीवन
धान र कोदो,रोपेर सदा,गल्दछ जीवन
महल हैन, झुपडी भित्र, रमेर बाँच्दछन्
दु:खमा पनि किसानहरु हाँसेर नाच्दछन्।
चाहिन्न हीरा,चाहिन्न मोती,सन्तुष्ट भएर
गुन्द्रुक-ढिंडो खाएर अनि मेलामा गएर
विहान देखि बेलुका सम्म पसिना बगाई
पाल्दछन् पेट,धनीका पनि,अनाज फलाई।
हरिया,ताजा,साग र सब्जी पौष्टिक आहारा
जरुरी हुन्छ,ज्यानको लागि,सबैको सहारा
गरियो भने खेतमा काम,किस्मत फल्दछन्
खाइयो भने गेडा र गुडी, नयन बल्दछन्।
गाई र भैंसी,भेडा र बाख्रा चराई पाखामा
गाउँदै गीत,सपना हरू सजाई आँखामा
चितुवा, बाघ, जन्तुको डर राखेर मनमा
सुरक्षा गर्छन् गोठाला हरु, गएर वनमा।
जटिल हैन, सरल हुन्छ, किसान सदैव
भूमिका ठूलो,खेलेर हुन्छन्,महान सदैव
खाएर घाम,खपेर जाडो, रुझेर झरीमा
हिसाब हुन्न,श्रमको यहाँ,जीवन भरीमा।
No comments:
Post a Comment