Wednesday, 4 October 2017

बेरोजगार-२

दृष्य चित्रण
एउटा कोठा भाडामा लिन्छ शहर पुगेर
रामेले काम पाउँदैन कतै भौतारी खोजेर
कहिले भोकै,कहिले तिर्खै बसेर उसले
व्यतीत गर्छ जीवन त्यहाँ,बुझ्नु र कसले।

श्रीमान(बाबा)
पाईन काम शहर आई,कस्तो छ खबर
कमाई पैसा,फर्किन्छु भन्ने आशा नै नगर
बिसञ्चो-सञ्चो हालत भन तिम्रो र नानीको
रहर पूरा सकिन गर्न,के गर्नु सानीको।

श्रीमती
हजुर बिना हुँदैन हाम्रो जिन्दगी उज्यालो
तड्पेर बस्छौं सम्झेर सधैं,नपाई अंगालो
लाग्दैन भोक,लाग्दैन निंद,हजुर नहुँदा
लाग्दैन हाम्रो,जीवन मीठो,मायाले नछुँदा।

श्रीमान
मुटुमा गढ्ने,नगर कुरा,हे मेरी जिन्दगी
अश्रु नै सक्यो दिन र रात रोएर म कति
शहर पनि रहेछ उस्तै,लाग्दैछ नजाति
आफन्त छैन,पराई सबै,न भाइ,न साथी।

श्रीमती
खाएर कस्तो,लाएर कस्तो,बस्याछौ कसरी
यादको बाढी छिनको छिन,आउँछ बेसरी
फर्केर घर,तुरुन्त आउ,जागिर नपाए
मुश्किल हुन्छ,सम्झेर बस्न,हजुर नआए।

श्रीमान
कोठाको भाडा,तिर्नुछ बाँकी,दिनहुँ पाक्दैछ
साहुको हेला सम्झेर दिनै,नराम्रो लाग्दैछ
नतिरे भाडा,निकाल्ने धम्की दिएको दियैछ
त्यैमाथि दिनै सम्झना पनि घरको आकैछ।

श्रीमती
नगर्नु पीर,हजुर त्यहाँ,म केही गरुँला
बेचेर आलु,रुपियाँ केही पठाई दिउँला
प्रगति होला लाग्दैन बरै बिजोग पाराले
टिकट काटी आउनु बरु पठा'को पैसाले।

श्रीमान
नगरी केही,कमाइ बिना कसरी आउनु
आएर रित्तो,चाडमा पनि के खानु,लाउनु
महिना दिन अवस्था हेर्छु,के हुन्छ भविष्य
नलागे केही,घरमा आफ्नै,फर्किन्छु अवश्य।

श्रीमती
हिम्मत हार्नु हुँदैन प्यारा,आँटिलो हुनुहोस्
पुकारी दैव,प्रयास गर्नुस्,धैर्यता राख्नुहोस्
सुनेको छैन राम्ररी फोन,अन्यत्रै सर्नुहोस्
सुतेकी छैन,निर्मला छोरी,लौ कुरा गर्नुहोस्।

छोरी
हजुर बाबा,जोडेर हात गर्दैछु दर्शन
जीवनदाता,हजुर मेरो मुटुको धड्कन
फोनमा सुनें,सम्पूर्ण कुरा,बाबाको हालत
दशैं नि लाग्यो,चाडमा घर आउनु अब त।

बाबा
भएर ब्यस्त,जागिर खोज्दा,आउन सक्दिन
दशैंमा पनि कपडा नयाँ,किन्दिन सकिन
बुझाऊ चित्त,भएको खाई,पुरानै लाएर
आउने बेला ल्याउँछु पक्का नयाँ नै किनेर।

छोरी
बाबाको माया,मलाई भए,क्यै पनि चाहिन्न
आशिष दिनुस्,दशैंमा बरु,सम्पत्ति चाहिन्न
अचेल फेरि,भएर भर्ना,स्कुलमा जाँदैछु
साथी र भाइ,संगिनी संग मिलेर खेल्दैछु।

बाबा
दिएर ध्यान,पढेर नानु,शिक्षित बन्नुछु
शिक्षाको द्धीप लिएर छोरी,अगाडि बढ्नुछ
गरेर दु:ख,अध्ययन गरे,जीवन सुध्रिन्छ
पढाइ भए कठिन कार्य सरल भैदिन्छ।

छोरी
बाबाको कुरा हमेसा मैले ध्यानमा राख्नेछु
असल पाठ सिकेर राम्रो कर्ममा लाग्नेछु
घरको चिन्ता नलिनु बाबा,म फोन राख्दैछु
छिप्पियो धेरै यो रात पनि,सुत्न म लाग्दैछु।

दृश्य चित्रण
काटिन्छ फोन,सकिन्छ बात,रुझेर ती आँखा
सम्झेर गाउँ,खोला र नाला,जंगल र पाखा
श्रीमती,छोरी बेहाल उस्तै,रामेको यादमा
ती आँखाहरु बस्दछन् जागै,अँधेरी रातमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...