Wednesday, 28 February 2018

लेखक नै हुन्

महादेवलाई भोगी बनाउने लेखक नै हुन्
कृष्णलाई पनि बहकाउने लेखक नै हुन्
कथालाई कसरी हेर्ने पाठककै हातमा छ
सीतालाई जमिनमा दबाउने लेखक नै हुन्।

Tuesday, 27 February 2018

बिन लादेन

हिटलर र उप-हिटलरहरुले
आधिपत्य जमाइरहेका छन् भूगोलमा
गान्धी र बुद्धहरु
शान्ति फैलाएको अभियोगमा
जेल चलान भएका छन्।

हार्मोनिय र पियानोका धूनहरुमा
आर्तनाद र चित्कारका
प्रतिध्वनि गुञ्जिरहेका छन्
ड्रमसेटका तालहरुसंगै
कैयौं जीवनहरु
मृत्युका मुखमा पसिरहेका छन्।

गुलाबका फूलहरुमा प्रेमको बास्ना नभई
बारुदको गन्ध आइरहेको छ
पुष्पदलहरु रेटिंदैछन्
धारिला हतियारबाट।

मानव-बस्तीमा अहंकार बर्साउने हातहरु
नोबेल पुरस्कारबाट सम्मानित हुँदैछन्
शान्तिप्रेमी मनहरु अपमानित हुँदैछन्।

गोरा छालाहरु काला कर्तुत देखाएर
आफूलाई उच्च दर्जामा राख्न चाहँदा
अरबौंको नजरबाट गिरिरहेका छन्।

लडाकु चिलहरु
अबोध चल्लाहरु माथि
बिषालु ग्याँस बर्साएर
औकात पुष्टि गरिरहेछन्।

मानवाधिकारवादीका स्वयं ठेकेदारहरु
शक्ति,क्रूरता र बर्बरता प्रदर्शन गर्दै
अन्याय,अत्याचारको पराकाष्ठा नाघेर
बहुलाइसकेका छन्
पागलखानामा भर्ती गरेर
तिनका मानसिकतामा
करेन्ट लाउनुपर्ने देखिन्छ।

संसारको बादशाह र आसेपासेहरु
आँखामा कालो पट्टी बाँधेर
आफ्नो असली रुपलाई नंग्याउँदै
ताण्डव-नृत्य गरिरहेका छन्।

निर्दोष कोपिलाका आँखाहरु
ढलका ढकनीहरुलाई ढाल बनाएर
बमको बर्षातलाई सूक्ष्म अध्ययन गर्दै
लासको तन्ना बिछ्याएर
लासकै सिरक ओढेर
लासकै सिरानी हालेर
अहंताको ट्वीन-टावरलाई तहसनहस बनाउने
सपना देखिरहेका छन्
उनीहरुका कलिला मनमा
हजारौं बिन लादेनहरु जन्मिरहेका छन्।

Monday, 26 February 2018

आङकामी शेर्पा

आङकामी शेर्पालाई दोश्रो रवि लामिछानेको संज्ञा दिएर उसलाई अन्याय गर्ने काम नगरौं।आङकामीको आफ्नै स्थान छ र रविको पनि।एक-अर्काको बीचमा तुलना गर्नु न्यायोचित होला जस्तो लाग्दैन।उसो त रवि लामिछाने नेपालको मिडियामा आउनुपूर्व नै समाजसेवा गरेर आङकामीले आफ्नो पहिचान बनाइसकेको थियो।अहिलेसम्म बिदेशमा अलपत्र परेका ५६ जनालाई उद्धार गरिसकेका छन्।यता रवि लामिछानेको कदम पनि सह्रानीय छ।दलालबाट ठगिएका,फसाइएका पीडितहरुलाई उद्धार गरिरहेको छ।आवाजविहीनहरुको आवाज बनिरहेको  छ।उत्पीडितहरुका मसिहा बनिरहेको छ।घुसखोरी,अन्याय र अत्याचारका विरुद्ध लडिरहेको छ।मिडियामा छाइरहेको छ।आङकामी मिडियामा थोरै छाएपनि सामाजिक संजालमा छाइरहेकै छ।उसलाई पनि चर्चामा ल्याउनु सकारात्मक पक्ष हो तर चर्चाको नाममा द्धितीय बनाउनु सरासर अन्याय गर्नु हो।उसको आफ्नै सामाजिक कर्म छ,पहिचान छ।उसलाई चिन्न कसैको नामसंग जोड्न र जोडिन आवश्यक छैन।उसो त उसलाई पहिलो हुनुपनि छैन।समाजसेवीहरु निस्वार्थ काम गर्छन्।उनीहरूलाई नाम र दामसंग कुनै सरोकार हुन्न।

यस्तो दिन

खोजेर पनि खाना नभेट्ने दिन आउनेछ
मानवता बिर्सी गला रेट्ने दिन आउनेछ
कुनै पल अहंताले भरिएको यो पृथ्वीमा
मान्छेकै मासुले भोक मेट्ने दिन आउनेछ ।

Saturday, 24 February 2018

थाहै भएन

साहुनीले लखेट्दा कुदेको थाहै भएन
दुबै जुत्ता सडकमा छुटेको थाहै भएन
रक्सीबहादुरलाई बुढीले ढोका नखोल्दा
खोरभित्र कुकुरसंगै सुतेको थाहै भएन।

(बोनस)
कुकुरसंग सुत्दा मुखमा मुतेको थाहै भएन।

सज्जन हुने भए

जन्मिएका सबै जना सज्जन हुने भए
स्वार्थी र ती दुर्जनहरु पतन हुने भए
भएभरका नेपाली मालामाल भैसक्थे
यदि उत्तिस रोपेर चन्दन हुने भए।

पक्षपाती पुरुष

फकाइ-फकाई घरको काम मात्र दिन्छन्
आफू भने कार्यलयको काममा हिन्छन्
हाम्रा समाजका प्रायः पक्षपाती पुरुषहरु
आफू लामा,नारीलाई छोटा कपडा किन्छन्।

लुट्छ घरीघरी

नियतिको असिना चुट्छ घरीघरी
भल जस्तै पसिना छुट्छ घरीघरी
कर,भ्याटको नाममा राज्य,सरकार
जनताका मसिना लुट्छ घरीघरी।

Friday, 23 February 2018

भेट्न आउँला

मेरी बूढी  निंदाएपछि तिमी लाई भेट्न आउँला
सारंगी यो जिन्दगीको तिम्रै हातले रेट्न आउँला
साङ्लोमा नै बाँधिएको कुकुर जस्तै भएको छु
जवानीको बाँकी तलतल तिमीसंगै मेट्न आउँला।

तिमी कहाँ छौ

बैशको फूल फुलिसक्यो,तिमी कहाँ छौ
चाहको डाँडा चुलिसक्यो,तिमी कहाँ छौ
तिमीलाई नै खोजिरहँदा थाकिसकें म
पर-भमरा डुलिसक्यो,तिमी कहाँ छौ?

रमाउने कहिले

बुढेसकालँ बिदेश आएँ,कमाउने कहिले हो
फर्केर आई तिम्रो हात समाउने कहिले हो
पर्खिबस्ने तिमी त्यता,आँसु झार्ने आफू यता
भन न प्रिया अब हामी रमाउने कहिले हो।

जोडी पंक्षी

जोडी पंक्षी जस्तै हामी गगनमा उडौं
उड्दै-उड्दै पिरतीको संसारमा पुगौं।

नवजात नातालाई जोगाउनुपर्छ
बामे सर्ने मायालाई दौडाउनुपर्छ
सम्बन्धको प्वाँख हाली हिमालमा उडौं
उड्दै-उड्दै पिरतीको संसारमा पुगौं।

एकान्तमा मायाको महल खडा गरी
मगमगाउने प्रेम-फूल रोपी वरिपरि
बादल झैं रहर बोकी पवनमा उडौं
उड्दै-उड्दै पिरतीको संसारमा पुगौं।

पूतली

प्रेमपत्रको पुतली बनाएर तिमीलाई प्रहार गर्दा
नागबेली केशको तरेलीमा अल्झिँदा
तिम्रो रिसले सीमारेखा पार गरी
आगो ओकलिदियो
अजिङ्गर भएर मलाई ख्वाप्पै निल्न खोज्यौ।

उसो त तिमी पनि पुतली भन्दा के कम छ्यौ र!
उस्तै मूलायम जीउ
उस्तै-प्रेमिल लोचन।

बैशको पखेटा हालेर
जवानीको गगनमा
फुर्र-फुर्र उडिरह्यौ
यस्तो लाग्छ कि
तिमी आफ्नो प्रेमीको खोजीमा छ्यौ
र त तिम्रो जिन्दगीको चौतारीमा
मनको भारी बिसाउन खोजेको हुँ।

मलाई भयावह भय छ
तिमी जस्ती सुरम्य पुतलीलाई
कतै हुरीले उडाइदेला
बाढी पहिरोले बगाइदेला
मेरो चाहनाको हत्या होला
त्यसैले त तिम्रो पछि परेको छु
र तिमीलाई हैरान पारेको हुँ।

तिमीलाई धोका दिने ध्येय भए
तिम्रो कुभलो चाहेको भए
म आफूलाई किन यो रुपमा देखाउँछु?
बरु दीप भएर प्रज्वल्लित हुन्छु
जहाँ तिमी होमिएर जल्नेछ्यौ
तर म त्यसो गर्दिन
कारण-तिमीलाई जिन्दगी देख्छु
मलाई आत्महत्या गर्नु छैन।

मेरो एउटै स्वार्थ छ-तिमी पाउने
प्राप्तिले आफूलाई तिमी जस्तै बनाउने
के मीठो स्वप्न देख्नु पाप हो?
यदि हो भने मेरो मनको आँखा फुटाइदेउ
मलाई अन्धो बनाइदेउ।

ए मेरी प्यारी पुतली!
मलाई आफ्नो पखेटामा चढाएर
पिरतीको संसार घुमाइदेउ
तिम्रो यो गुन कहिल्यै भुल्ने छैन
बदलामा जिन्दगीभर तिम्रो गुलाम हुनेछु।

कसैगरी तिम्रो पारो नझरेपछि
मेरो पारो चढेको हो
आखिर म भित्र पनि संवेदना छ
मेरी पुतली!मलाई माफ गरिदेउ
अब म आफ्नै रीसको हत्या गरेर
तिम्रो दिलको कारागारमा
आजीवन कारावास बस्न चाहन्छु।

Thursday, 22 February 2018

इन्काउन्टर

मुटुभरी मायाको हिमाल लिएर
हजारौं गोली छेक्न सक्ने छाती फुलाएर
तिमीसंग प्रेमयुद्ध गर्दा
तिमीले एकै नजरको गोली हानेर
इन्काउन्टर गरिदियौ।

तिमीलाई छातीको देब्रे पाटोमा सजाउँदै
मुसुक्क मुस्कुराउँदै
सुस्तरी-सुस्तरी ढल्दै गएर
जमिनमा उत्तानो पर्दा
तिमीलाई उल्टो उभिएको देखें
जुरुक्क उठेर तिमीसम्म पुग्ने ध्येयले
चल्मलाउन खोज्दा सकिन
क्रमश:शिथिल हुँदै गएँ
आँखी-झ्याल धुमिल हुन थाले
वरिपरि घनघोर मेघ मडारियो
सायद तिम्रो मायाको बर्षात हुन हो कि!

मेरा ओठहरु थर्थराउँदै
"पानी-पानी"को सट्टा
"माया-माया" भन्दै थिए
प्रष्ट बोली आइरहेको थिएन
आँखाहरु झिमिक्क नगरी हेरिरहेका थिए
सायद आँखा पूरै सेता देखिन्थे
जसरी प्राण जाँदा भैंसीको आँखा देखिन्छ।

जब तिमी दौडेर आई
थोरै मायाको प्याला पिलायौ
म अर्ध-चेतनबाट पूर्ण-चेतनमा फर्किँदै गएँ
यस्तो लाग्यो कि तिमीले अमृत खुवायौ।

जिजीविषाका तरंगहरु तनभरी फैलिए
रोकिएका रक्तसंचार पुनः सुचारु भए
रोकिएको मुटुको धड्कन
तिम्रै लागि धड्किन थाल्यो
लोचनको रोशनी तेज भयो।

तिम्रो एक स्पर्शले पनि
गोली लागेको घाउ निको भयो
यस्तो लाग्यो-तिमीले संजीवनी बूटी दियौ
यस्तो मलम दलिदियौ जुन कतै पाइन्न
जसमा अलौकित शक्ति छ
त्यो केवल तिम्रै हातमा छ।

कदंकदाचित तिम्रो प्रस्थान भएमा
म फेरि ढल्नेछु
मेरो प्राण तिमीसंगै जानेछ
तसर्थ प्रिया!
यो एकान्तमा
पिरतीको छानो हालेर
केही दिन यतै बसौं  न!

Wednesday, 21 February 2018

सिरक बिछ्याई

सिरक बिछ्याई,तन्ना ओढी पलाङमुनी सुतेछु
मध्यरातमा उनको नाम लिएर बर्बराउँदै उठेछु
छोडी जाने निष्ठुरी मायालुको यादले सताइरहँदा
एउटा चप्पल अर्को जुत्ता लगाएर कलेज पुगेछु।

Sunday, 18 February 2018

मरिरहेका छन् मान्छेहरु

मान्छेहरुको रहरले कहाँ मरिरहेका छन् मान्छेहरु?
कुसंस्कारका ती जहरले मरिरहेका छन् मान्छेहरु
कि त मानिस कि त प्रकृति नै दुश्मन बनेका छन् यहाँ
कैले लु कैले शीतलहरले मरिरहेका छन् मान्छेहरू।

तुरुक्क

सुटुक्क सुतेर,जुरुक्क उठ्ने बनाउनुछ
विकासको लागि खुरुक्क कुद्ने बनाउनुछ
नेता र कर्मचारी विरुद्ध  कलम चलाएर
लेखक भनेपछि तुरुक्क मुत्ने बनाउनुछ।

Friday, 16 February 2018

पहिलो भेट

हाम्रो पहिले भेट त्यतिखेर भयो
जब निशाले घुँडा टेकेर
उषाले विजयोत्सव मनाइरहेको थियो
लाली किरणले धरालाई चुम्दै
गर्ल्याम्मै अंगालेको थियो
प्रभाती प्रहरको धरा शरमले भुत्तुक्क हुँदै
रविको प्रेम सहर्ष स्वीकारेकी थिइन्।
त्यो दृश्य देखी म पनि उत्प्रेरित भएर
तिम्रा लाली अधरमा चुम्दै
तिम्रा लर्किएका केशराशी पन्छाउँदै
अंकमाल गर्न मन लागेको थियो।

हाम्रो पहिलो भेट त्यहाँ भयो जहाँ
सुनाखरीहरु सुवास छर्दै फुलिरहेका थिए
गुराँस आफ्नो जवानी फिंजाएर
भमराहरुलाई लट्ठ्याइरहेका थिए
पातहरु पवनको संगीतमा नाचिरहेका थिए
शीतका थोपाहरु पातबाट बिछोडिएर
माटाका कणहरुमा विलीन हुँदै थिए।
त्यतिबेला तिमीलाई फक्रेको फूल देखें
तिमीलाई खसिरहेको शीत देखें
नृत्य गरिरहेको पात देखें
मलाई काउकुती लाग्न थाल्यो
गुफामा लुकेर बसेको पुरुषत्व
गुफाबाट जुरुक्क उठेर बाहिर निस्क्यो
कता-कता भमरा हुन मन लाग्यो
कता-कता पवन हुन मन लाग्यो
कता-कता माटो हुन मन लाग्यो
तिम्रो पग्लिरहेको जवानीलाई
अंजुलीमा भरेर पिउन मन लाग्यो।

हाम्रो पहिलो भेट त्यतिखेर भयो जब
युवा-युवतीहरु नादिङ भाकामा गाएर
खस्रुको रुखमा उक्लिएर
घाँसका डालीहरु काटिरहेका थिए
झरिरहेका थिए गाइबस्तुका दाल-भात
त्यतिबेला तिमी नै खसे झैं लागेर
मनको तन्ना फिंजाएर
थापिरहन मन लाग्यो तिम्रो ज्यानलाई।

चिसोले कठङ्गृएका तिम्रा मुलायम गाला
भएका थिए जोमसोमका ताजा स्याउदाना
क्वाप्प-क्वाप्प टोकेर खाँदै
बर्षौंदेखिको प्रेमभोक मेटाउने रहर जाग्यो।

घाँस-दाउराका भारी लिएर
हल्ला-खल्ला गर्दै,गीत गाउँदै
तरुण-तरुणीहरु गाउँ झर्दै गर्दा
जन्ती गइरहेझैं लाग्यो
जहाँ तिमी बेहुली,म बेहुला भएर
मेरै घरतिर लागे झैं लाग्यो।

खै कुन्नि तिमीले के सोचेकी थियौ
मैले त उतिखेरै तिमीलाई जिन्दगी सोचें
परन्तु आजको दोश्रो भेटमा
तिम्रो काखमा कसैको नासो देखेर
म छाँगाबाट खसिरहेको छु
मलाई कसले बचाइदेला?

रंगमञ्च सोची माया

रंगमञ्च सोची माया,अभिनय गरिदियौ
एकै ढिक्का थियो माया,छरपस्ट छरिदियौ

देखावटी रै'छ कसम,देखावटी रै'छ बाचा
फूल सम्झी सजाएथें,आखिरीमा रै'छ काँडा
अमृत दिए जस्तो गरी,बिषै-बिष भरिदियौ
एकै ढिक्का थियो माया,छरपस्ट छरिदियौ

बाहिरी रुप राम्रो देखें,भित्री रुप चिनिएन
करोडौंको उन्को स्वप्न,किन्न पनि सकिएन
जादुगर्नी रैछ्यौ तिमी,कस्तो जादू गरिदियौ
एकै ढिक्का थियो माया,छरपस्ट छरिदियौ

Wednesday, 14 February 2018

म काँडा हुँ

सृष्टिको आदिम युगदेखि
अनवरत त्याग र तपस्यामा बसेको छु
परन्तु प्राप्तिको खातिर कहिल्यै सोचिन।
फूल र पातहरुलाई मनमा सजाएर
भमरा र मानिसको संघातिक हमलाबाट
सुरक्षित राख्न पहरेदारी गरिरहेछु
हमेसा निस्वार्थ खटिरहेको छु।

आफ्नै देहलाई एम्बुस बनाएर
स्वयं धारिलो हतियार बनेर
बैरीको सिकार गर्न
सूक्ष्म,बिषालु र शक्तिशाली भएर
ढुकिरहेको छु पातको कुनामा।

फूल जस्तो कोमल छैन म
सुवास छर्ने क्षमता छैन मेरो
पात जस्तो मुलायम पनि छैन
समीरको धुनसंगै नृत्य गर्न सक्दिन।
म सैनिक जस्तो कठोर छु
दुश्मनहरु भयले थर्थर काम्छन्
त्यसैले त मेरो अस्तित्व छ
त्यसैले त मेरो पहिचान छ
र त म काँडा हुँ!

मानिसहरु जतिसुकै सजग भएपनि
मेरा आँखा छल्न खोजेपनि
कुनै दिन मबाट बच्ने छैनन्
मेरो प्रहार जिन्दगीभर यादगार हुनेछ
बैरीको दिलमा हैन
दिमागमा परेड खेल्ने गर्छु म।

जानी-जानी दुश्मनी मोल्दिन
मानिसले नै मलाई दुश्मनको सूचीमा राखे
फूललाई मात्र माया गरेर
मलाई सबैभन्दा ठूलो दुश्मन ठाने
त्यसैले कहिलेकाही
मित्रको मित्र पनि दुश्मन हुनेरहेछ।

फूल र मान्छेलाई मित्र-मित्र देख्दिन म
मित्र भए कोपिलामै निमोठ्ने थिएनन्
वास्ना लिएर मिल्काउने थिएनन्
कुल्चेर हिंड्ने थिएनन्
मित्र भएको भए दिलमा सजाउने थिए
मैले जस्तै।

मानिसहरु हत्यारा हुन्
उनीहरु ज्यानमारा हुन्
हत्याको उजुरी कुन थानामा गर्ने?
मुद्धाको बहस कुन अदालतमा गर्ने?
फूलहरुले कहाँ,कसरी न्याय पाउने?

भमराहरु अत्याचारी हुन्
भमराहरु बलात्कारी हुन्
हुलका हुल आएर पालै-पालो
सामुहिक बलात्कार गरेर जान्छन्
बारम्बार आएर
फूलका अस्मिता लुटेर जान्छन्
कसले कारबाही गर्ने तिनीहरुलाई?

हिड्न सक्ने भए
एक पाइला हिंडेर
तिनीहरुलाई सखाप पार्ने थिएँ
किन्तु प्रकृतिले लक्ष्मण रेखा कोरिदिए
मलाई अचल र स्थिर बनाइदिए।

मेरै आँखा अगाडी
मेरै फूलहरुको इज्जत लिलामी भएको
मुकदर्शक भएर
लाचार भएर
टुलु-टुलु हेरिरहनुपर्दा
म भित्र कति आक्रोशको राँको बल्दो हो?
अनि म भमराहरुको पापी आँखामा नगढुँ?
मानिसको कलुषित हातमा नबिझाउँ?

Tuesday, 13 February 2018

भ्यालेन्टाइन

हिजै जस्तो लाग्थ्यो
कतिलाई हँसाएर
कतिलाई रुवाएर गएको
कतिको घर बसाएर
कतिको घर उजाडेर गएको
थाहै नपाइ आइसकेछ -भ्यालेन्टाइन।

३६५ वटा रातहरु
३६५ वटा दिनहरु छिचोल्दै
प्रेमको पहाड बोकेर
पश्चिमी वायुसंगै उडान भरी
मनको बिमानस्थलमा
अवतरण भैसकेछ-भ्यालेन्टाइन।

मनदेखि मनसम्मको यात्रामा
पिरतीको अक्कर मार्गमा
एक-अर्कालाई जोड्ने पुल बनेर
आइसकेछ -भ्यालेन्टाइन डे।

एकतिर आकर्षण हुँदा
अर्कोतिर बिकर्षण भई
दुई मनहरुको सम्बन्ध बिच्छेद गर्ने
बिछोडपत्र बनेर
आइसकेछ फेरि-भ्यालेन्टाइन।

उपहार दिने शिलशिलामा
वासनामा लिप्त हुने चाहनामा
प्रेम उजागर गर्ने बहानामा
निमोठिए कति गुलाफहरु
रित्तिए कति पसलहरु
सिद्धिए कति साधनहरु
भरिए कति होटलहरु
धनी भए कति साहुजीहरु।

कति आए गए भ्यालेन्टाइनहरु
अझै आइरहून् धेरै भ्यालेन्टाइनहरु
तर कसैको मनमा चोट नदिई
फाटेका मनहरु सिएर
घाउमा मलम लाएर
भव्यताका साथ आओस् -भ्यालेन्टाइन
भव्यताका साथ जाओस्-भ्यालेन्टाइन।

Monday, 12 February 2018

फोटोकपी

पर-पुरुषबाट वीर्य सापटी लिएर
श्रीमतीलाई गर्भधारण गरेर
श्रीमतीको कमाइ खाएर बाँची
आफूलाई मर्द भनेर कसरी विज्ञापन गरुँ?

अग्रजहरुको बिचारलाई फोटोकपी गरेर
शैली र सिद्धान्तलाई हुबहु नक्कल गरेर
नयाँ पानामा सजाएर
वरिष्ठ साहित्यकार बनुँला र म?

अरुको कलमलाई वैशाखी बनाएर
खोच्याङ-खोच्याङ खोचिएर हिंड्दै
केही दूरी पार गरेकोमा
साहित्यको म्याराथन जितेको ठानुँ?

बरु हिम्मत बटुलेर कालीदासको जस्तै
उल्टोपट्टी बसेर हाँगा काट्ने हिम्मत गर्छु
एकपटक खसेपछि ज्ञान त प्राप्त होला!

अरुको काँधमा बसेर
नदीमा पौडिन असम्भव छ
पौडीमा पारंगत हुनलाई
विना कसैको साथ-सहयोग
हाम्फाल्ने चेष्टा मैले गर्नैपर्छ।

जसरी बाख्राको पाठा/पाठी ब्याएपछि
आफैं उभिन सिक्छ
आफैं दूध चुस्न सिक्छ
उफ्रिन र दौडिन सिक्छ
त्यसरी नै दौडिनुछ-साहित्यिक फाँटमा।

Sunday, 11 February 2018

भूत

प्रत्येक रजनी/प्रभाती प्रहरमा
गरिबीका भूतहरु आएर
गरिबकै घरमा तर्साउँछन्
तिनका पेटका मुसाहरु
भयभीत भएर यत्रतत्र दगुर्छन्।

बच्चाहरु कुपोषित भएर
टाउका/पेट ठूल्ठूला देखिन्छन्
ठ्याक्कै साना भूत जस्तै
ठूलाहरु दुब्लाएर कंकाल देखिन्छन्
झुत्रा/पुराना वस्त्र लाउँदा
ठ्याक्कै ठूला भूत जस्तै।

भोका/प्यासी मानवीय आकृतिहरु
आलिशान महलको नजिक पुग्दा
सानादेखि ठूलासम्म तर्सिन्छन्
मानौं त्यहाँ साँच्चिकै भूतहरु पुगे।

खाली शिशी,पुरानो कागज बटुल्ने
थोत्रा लुगा लाएका भैयाहरुलाई
कुकुरहरुले समेत भूत नै देख्दा हुन्
र त तिनीहरुलाई देखेर
एक-तमासले भुक्दै लेखेट्छन्।

कहलिएका नामी साहुहरुले
अभावका कारुणिक आवाज सुन्दा
भूतकै आवाज सुनेर होला
नसुने झैं गरेर टाप कसिहाल्छन्।

पक्कै पनि निरीह नारीहरुले
बोक्सीको आरोप खेप्नुपरेको पनि
संकीर्णताका किटाणुहरु संक्रमित
व्यक्तिहरुको मानसिक सन्तुलन
खल्बलिएरै हुनुपर्छ।

Saturday, 10 February 2018

रंगमञ्च

एक हुल त्रासदीका गिद्धहरु
मानवीय मांसपेशी च्यापेर
बलात्कृतहरुको रगत पिएर
हत्या-हिंसाको लाइसेन्स बोकी
आकाशमा कावा खाइरहेका छन्।

केही स्यालका हुलहरु
ब्वाँसाहरुको नुन खाएर
पीडितको बिपक्षमा साक्षी बनेर
बिकाउ न्यायलयको कठघरामा
झूटा बयान दिइरहेका छन्।

एक हुल सेनाहरु
स्वदेशी खाना र तलब खाएर
बिदेशी राष्ट्रियगानको तालमा
टुँडिखेलमा परेड खेलिरहेका छन्।

एक हुल आदर्श नेताहरु
चर्का भाषण दिएर
बिदेशी एजेन्डा पास गराउन
संसद-भवन हल्लाइरहेका छन्।

एक हुल खम्बाहरु 
दिन-दुगुणा,रात चौगुणा
दक्षिणबाट यता-यता सरिरहेका छन्।

एक हुल युवाहरु
सपनाको पहाड बोकेर
म्यानपावरको सुरुङतिर दौडिरहेका छन्।

एक हुल समाजसेवीहरु
पश्चिमी धर्मग्रन्थसंगै
दुई-चार हात्तीहरु बाँडिरहेका छन्।

एक हुल किसानहरु
बिषादीका सिरिन्ज लिएर
खेततिर लम्किरहेका छन्।

दर्शकहरु रंगमञ्च सम्झेर
यी सबै दृश्यहरु
नतमस्तक भएर हेरिरहेका छन्।

सीता

        राम र सीताको जोडी नमूना थियो।विवाहको शुरुका दिनहरुमा दूरी घटाउन असहज भएपनि बिस्तारै दुई मुटु एक भएका थिए।त्यसो हुनु स्वभाविकै थियो।उनीहरुको एक सुखी परिवार थियो।झुपडीमा पनि प्रेमको अथाह वर्षा हुन्थ्यो।तर बिडम्बना बर्षौं बित्दा पनि उनीहरुबाट बिरासत थाम्ने सन्तति हुन सकेन।त्यही एउटा कुरा उनीहरुको चिन्ताको बिषय थियो।

       एकदिन राम खेतमा काम गरेर घर पुग्दा सीता झुन्डिएको अवस्थामा फेला परिन्।
"सीता!तिमीले यो के गरेकी?मेरो अलिकति पनि माया लागेन तिमीलाई?किन स्वार्थी भयौ तिमी?अब तिमी बिना मैले कसरी जिउने?किन जिउने?जिउनुको के सार्थकता?"
यति भन्दै रामले डोरी काटेर सीतालाई तल झार्यो।तर सीताको प्राण पखेरु उडेर गैसकेको थियो।स्पन्धन रोकिसकेको थियो।केही दिनसम्म त उसले वियोगमा तड्पेर खाना सम्म खाएन।सुत्न पनि सुतेन।मानसिक सन्तुलन गुमेको मान्छे जसरी झोक्राएर बस्यो।सीताको आत्महत्या या हत्याको कुनै कारण/रहस्य उजागर भएन।सीताको महा-प्रस्थानले पूरै गाउँ शोकाकुल भयो।स्तब्ध भयो।

        सीताको यादमा मरेतुल्य भएर कति बस्न सकिन्थ्यो र!बिस्तारै उसले आफूलाई सम्हाल्दै गयो।सीतालाई बिर्सने कोसिस गर्यो।सीतासंग बिहे गरेको केही महिनापछि उसले आफ्नो डायरी लेख्न बन्द गरेको थियो।सीतासंगको सामिप्यता बढेपछि डायरीलाई कसैले नदेख्ने गरी बाकसमा ताला मारेर चाबी सुरक्षित रुपमा लुकाएको थियो।

         रामलाई पुनः पुराना दिनहरुको याद आयो।उसले चाबी निकालेर बाकस खोली डायरी पल्टायो।अचानक त्यहाँ अरु कसैले ताजा अक्षरहरु यसरी लेखेका थिए-
"मेरो राम!मलाई माफ गर।तिमीले लुकाएको चाबी दुर्भाग्यवश मेरो हात पर्यो।बाकस खोलेर तिम्रो व्यक्तिगत डायरी हेर्ने दुस्साहस गरें।जब-जब मेरा आँखाहरु तिम्रा अतीतका पानाहरुमा सल्बलाउँथे,म आफूलाई दोषी पाउँदै गएँ।मलाई बिहे गर्नु अगावै तिमीले आफ्नो दिल अरु कसैलाई दिएका रहेछौ।हुन त तिमी मलाई पनि असाध्यै माया गर्छौ।तर तिमीले पहिल्यै आफ्नी प्रेमिकालाई सर्वस्व सुम्पेका रहेछौ।म तगारो हुन चाहन्न।बाध्यताले मसंग बिहे गरेका रहेछौ।मैले तिम्री प्रेमिकालाई पनि खबर पठाएकी छु-तिम्रो प्रेमी अवश्य आउनेछ भनेर।म हाँसीहाँसी बिदा हुँदैछु।यो युगको सीता रामको हुन सकिन।तिम्रो प्रेमिका तिम्रै प्रतिक्षामा हुनेछिन्।छिटो जाउ!"

Thursday, 8 February 2018

कसम

मेरी प्रिया!
बाबा कसम
आमा कसम
म तिमीलाई माया गर्छु भन्दा
तिमीले विश्वासै गरिनौ।

गाई खाने
बिद्या नष्ट
म तिमीलाई माया गर्छु भन्दा
तिमीले विश्वासै गरिनौ।

भगवान कसम
सत्य-राम-राम
म तिमीलाई माया गर्छु भन्दा
तिमीले विश्वासै गरिनौ।

हाम्रो प्रेमको कसम
तिम्रो कसम
म तिमीलाई माया गर्छु भन्दा
तिमीले विश्वासै गरिनौ।

मेरी प्रिया!
अब तिमी नै भन
म कसरी विश्वास दिलाउँ तिमीलाई?
संसारको सबै कसम खाएपनि
तिमीले विश्वासै गरिनौ।

अब मेरो सामू
मात्र अन्तिम दुई विकल्प बाँकी छन्।

चट्पटे कसम
पानीपुरी कसम
म तिमीलाई साँच्चिकै माया गर्छु!!!

एक्लो खेलाडी

म हल्लै-हल्लाको भूमरीमा फसेको छु
मेरा बैचारिक अवयवहरु
एक-आपसमा मडारिरहेका छन्
सकारात्मक र नकारात्मक बिचारहरु
द्धन्दमा उत्रेका छन्
नकारात्मक तत्वले सकारात्मक तत्वलाई
घरी-घरी झापड हानिरहेका छन्।

मैले फेर्ने प्रत्येक सासमा
एक-किसिमको अफवाह मिसिएको छ
जुन खतरनाक सरुवा-रोग बनेर
एक व्यक्तिबाट अर्कोमा सरिरहेको छ
आतंक मच्चाइरहेको छ।

मेरा हर स्नायुहरुमा
अर्धचेतनाका भाइरस सल्बलाइरहेछन्
त्यही अर्ध-चेतनाको क्यान्सरले
सिंगो शरीर जीर्ण बनाइसकेको छ।

पंक्षी झैं स्वतन्त्रपूर्वक
खुल्ला गगनमा उड्न चाहन्छु म
तर कुसंस्कारका तरवारबाट
मेरा पखेटाहरु काटिँदैछन्
झरिरहेछु म अनकन्टार मरुभूमिमा।

यसरी फसेको छु
अन्धविश्वासको दलदलमा
पूरै मस्तिष्क भासिएको छ
अंगहरु चल्न सकेका छैनन्
माथि निस्किने चेष्टा गर्छु
तर भवको टाइटनिक जहाज
झन-झन तलतिर डुब्दैछ।

घाइते उमंग लिएर मुश्किलले
दलदलबाट उम्केर भाग्न खोज्दैछु
तर कुरीतिका जंजीरले
हात-पाउहरु बाँधिएका छन्
मोटा-मोटा माखे-साङ्ला तोड्ने
साहस मुर्झाइसकेको छ।

जेलबाट फरार भएको कैदी झैं
भागिरहेको छु मित्थ्याको संसारबाट
लखेटिरहेका छन् अन्धभक्तहरुले
कतिबेला समातिन्छु पत्तो छैन
तैपनि कदम बढाउन छाडेको छैन।

खेल-मैदानमा एक्लो छु
धेरै खेलाडीहरुको सामना गर्दै
बिकृति र विसंगतिको भकुण्डो खेलाउँदै
छल्दै-छलाउँदै अघि लम्किरहेको छु
हारको प्रवल संभावना छ
जीत धेरै कठिन छ
हर  प्रहर र पाइलामा चुनौती छन्
तथापि खेल्न छोडेको छैन
हार मानिसकेको छैन
कुनैबेला पोस्टमा गोल गर्छु-गर्छु।

म यकिनका साथ भन्छु
एकदिन अन्धो विश्वासलाई
पिँजडामा कैद गरेर
अँध्यारो संसारमा
चेतनाको पुल्ठो बालेर
उज्यालो अवश्य छर्नेछु।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...