Wednesday, 14 February 2018

म काँडा हुँ

सृष्टिको आदिम युगदेखि
अनवरत त्याग र तपस्यामा बसेको छु
परन्तु प्राप्तिको खातिर कहिल्यै सोचिन।
फूल र पातहरुलाई मनमा सजाएर
भमरा र मानिसको संघातिक हमलाबाट
सुरक्षित राख्न पहरेदारी गरिरहेछु
हमेसा निस्वार्थ खटिरहेको छु।

आफ्नै देहलाई एम्बुस बनाएर
स्वयं धारिलो हतियार बनेर
बैरीको सिकार गर्न
सूक्ष्म,बिषालु र शक्तिशाली भएर
ढुकिरहेको छु पातको कुनामा।

फूल जस्तो कोमल छैन म
सुवास छर्ने क्षमता छैन मेरो
पात जस्तो मुलायम पनि छैन
समीरको धुनसंगै नृत्य गर्न सक्दिन।
म सैनिक जस्तो कठोर छु
दुश्मनहरु भयले थर्थर काम्छन्
त्यसैले त मेरो अस्तित्व छ
त्यसैले त मेरो पहिचान छ
र त म काँडा हुँ!

मानिसहरु जतिसुकै सजग भएपनि
मेरा आँखा छल्न खोजेपनि
कुनै दिन मबाट बच्ने छैनन्
मेरो प्रहार जिन्दगीभर यादगार हुनेछ
बैरीको दिलमा हैन
दिमागमा परेड खेल्ने गर्छु म।

जानी-जानी दुश्मनी मोल्दिन
मानिसले नै मलाई दुश्मनको सूचीमा राखे
फूललाई मात्र माया गरेर
मलाई सबैभन्दा ठूलो दुश्मन ठाने
त्यसैले कहिलेकाही
मित्रको मित्र पनि दुश्मन हुनेरहेछ।

फूल र मान्छेलाई मित्र-मित्र देख्दिन म
मित्र भए कोपिलामै निमोठ्ने थिएनन्
वास्ना लिएर मिल्काउने थिएनन्
कुल्चेर हिंड्ने थिएनन्
मित्र भएको भए दिलमा सजाउने थिए
मैले जस्तै।

मानिसहरु हत्यारा हुन्
उनीहरु ज्यानमारा हुन्
हत्याको उजुरी कुन थानामा गर्ने?
मुद्धाको बहस कुन अदालतमा गर्ने?
फूलहरुले कहाँ,कसरी न्याय पाउने?

भमराहरु अत्याचारी हुन्
भमराहरु बलात्कारी हुन्
हुलका हुल आएर पालै-पालो
सामुहिक बलात्कार गरेर जान्छन्
बारम्बार आएर
फूलका अस्मिता लुटेर जान्छन्
कसले कारबाही गर्ने तिनीहरुलाई?

हिड्न सक्ने भए
एक पाइला हिंडेर
तिनीहरुलाई सखाप पार्ने थिएँ
किन्तु प्रकृतिले लक्ष्मण रेखा कोरिदिए
मलाई अचल र स्थिर बनाइदिए।

मेरै आँखा अगाडी
मेरै फूलहरुको इज्जत लिलामी भएको
मुकदर्शक भएर
लाचार भएर
टुलु-टुलु हेरिरहनुपर्दा
म भित्र कति आक्रोशको राँको बल्दो हो?
अनि म भमराहरुको पापी आँखामा नगढुँ?
मानिसको कलुषित हातमा नबिझाउँ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...