हाम्रो पहिले भेट त्यतिखेर भयो
जब निशाले घुँडा टेकेर
उषाले विजयोत्सव मनाइरहेको थियो
लाली किरणले धरालाई चुम्दै
गर्ल्याम्मै अंगालेको थियो
प्रभाती प्रहरको धरा शरमले भुत्तुक्क हुँदै
रविको प्रेम सहर्ष स्वीकारेकी थिइन्।
त्यो दृश्य देखी म पनि उत्प्रेरित भएर
तिम्रा लाली अधरमा चुम्दै
तिम्रा लर्किएका केशराशी पन्छाउँदै
अंकमाल गर्न मन लागेको थियो।
हाम्रो पहिलो भेट त्यहाँ भयो जहाँ
सुनाखरीहरु सुवास छर्दै फुलिरहेका थिए
गुराँस आफ्नो जवानी फिंजाएर
भमराहरुलाई लट्ठ्याइरहेका थिए
पातहरु पवनको संगीतमा नाचिरहेका थिए
शीतका थोपाहरु पातबाट बिछोडिएर
माटाका कणहरुमा विलीन हुँदै थिए।
त्यतिबेला तिमीलाई फक्रेको फूल देखें
तिमीलाई खसिरहेको शीत देखें
नृत्य गरिरहेको पात देखें
मलाई काउकुती लाग्न थाल्यो
गुफामा लुकेर बसेको पुरुषत्व
गुफाबाट जुरुक्क उठेर बाहिर निस्क्यो
कता-कता भमरा हुन मन लाग्यो
कता-कता पवन हुन मन लाग्यो
कता-कता माटो हुन मन लाग्यो
तिम्रो पग्लिरहेको जवानीलाई
अंजुलीमा भरेर पिउन मन लाग्यो।
हाम्रो पहिलो भेट त्यतिखेर भयो जब
युवा-युवतीहरु नादिङ भाकामा गाएर
खस्रुको रुखमा उक्लिएर
घाँसका डालीहरु काटिरहेका थिए
झरिरहेका थिए गाइबस्तुका दाल-भात
त्यतिबेला तिमी नै खसे झैं लागेर
मनको तन्ना फिंजाएर
थापिरहन मन लाग्यो तिम्रो ज्यानलाई।
चिसोले कठङ्गृएका तिम्रा मुलायम गाला
भएका थिए जोमसोमका ताजा स्याउदाना
क्वाप्प-क्वाप्प टोकेर खाँदै
बर्षौंदेखिको प्रेमभोक मेटाउने रहर जाग्यो।
घाँस-दाउराका भारी लिएर
हल्ला-खल्ला गर्दै,गीत गाउँदै
तरुण-तरुणीहरु गाउँ झर्दै गर्दा
जन्ती गइरहेझैं लाग्यो
जहाँ तिमी बेहुली,म बेहुला भएर
मेरै घरतिर लागे झैं लाग्यो।
खै कुन्नि तिमीले के सोचेकी थियौ
मैले त उतिखेरै तिमीलाई जिन्दगी सोचें
परन्तु आजको दोश्रो भेटमा
तिम्रो काखमा कसैको नासो देखेर
म छाँगाबाट खसिरहेको छु
मलाई कसले बचाइदेला?
No comments:
Post a Comment