यति उचाइ सम्म पुग्न चाहन्छु कि
जहाँबाट संयोगवश खसिहालेमा
कुनै चोटपटक नलागोस्
कुनै अंग भंग नहोस्
घाइते भएर छट्पटिनु नपरोस्
अनि सास गएको आफैंले चाल नपाओस्।
यति धेरै दूर जानुछ कि
लक्ष्य खोज्दा-खोज्दै
उद्गम-बिन्दु नै हराओस्।
यति धेरै प्रगति गर्नुछ कि
मेरो वरिपरि अन्तर्वार्ता लिने
पत्रकारहरुको घुइँचो होस्
उनीहरुले भनून्-"प्लीज सर,प्लीज सर"
म यति व्यस्त हुन सकूँ कि
"नो कमेन्ट" भन्दै
भीड छिचोल्दै गाडीमा बसेर टाप कसूँ।
यस्तो एउटा कविता लेख्न सकूँ ताकि
मेरो मृत्यु पश्चात पनि
मेरो कविता बाँचिरहोस्
युगौं-युगसम्म अजर-अमर रहोस्।
यस्तो एउटा कथा लेख्न सकूँ
जुन कथा आम मानवको व्यथा बनोस्
जुन कथा पढेर
हाँस्न चाहनेले धित मरुञ्जेल हाँस्न सकून्
रुन चाहनेले आँसु सकुञ्जेल रुन सकून्
तत्पश्चात उनीहरुको दु:ख पनि
दु:ख जस्तै नलागोस्।
यस्तो एउटा फूलको बोट रोप्न चाहन्छु
जुन बोटमा सप्तरंगी फूलहरु फुलून्
विना कुनै मलजल
विना कुनै गोडमेल
निर्धक्क फुल्न सकून्
फूलको सुवास सबैले महसुस गरुन्
तर कसैले स्पर्श गर्न नसकून्।
यसरी बाँच्न सकूँ
यतिसम्म बाँच्न सकूँ कि
कुनै काम अधुरो नहोस्
कुनै चाहना अपूरो नहोस्
मर्ने बेला निर्धक्क मर्न सकूँ
हाँसी-हाँसी मर्न सकूँ
मेरो मरण देखेर
शत्रुहरुलाई पनि जलन होस्
उनीहरुको रीस,ईर्ष्या,डाहा
मसंगै सती जाओस्।
No comments:
Post a Comment