एक हुल त्रासदीका गिद्धहरु
मानवीय मांसपेशी च्यापेर
बलात्कृतहरुको रगत पिएर
हत्या-हिंसाको लाइसेन्स बोकी
आकाशमा कावा खाइरहेका छन्।
केही स्यालका हुलहरु
ब्वाँसाहरुको नुन खाएर
पीडितको बिपक्षमा साक्षी बनेर
बिकाउ न्यायलयको कठघरामा
झूटा बयान दिइरहेका छन्।
एक हुल सेनाहरु
स्वदेशी खाना र तलब खाएर
बिदेशी राष्ट्रियगानको तालमा
टुँडिखेलमा परेड खेलिरहेका छन्।
एक हुल आदर्श नेताहरु
चर्का भाषण दिएर
बिदेशी एजेन्डा पास गराउन
संसद-भवन हल्लाइरहेका छन्।
एक हुल खम्बाहरु
दिन-दुगुणा,रात चौगुणा
दक्षिणबाट यता-यता सरिरहेका छन्।
एक हुल युवाहरु
सपनाको पहाड बोकेर
म्यानपावरको सुरुङतिर दौडिरहेका छन्।
एक हुल समाजसेवीहरु
पश्चिमी धर्मग्रन्थसंगै
दुई-चार हात्तीहरु बाँडिरहेका छन्।
एक हुल किसानहरु
बिषादीका सिरिन्ज लिएर
खेततिर लम्किरहेका छन्।
दर्शकहरु रंगमञ्च सम्झेर
यी सबै दृश्यहरु
नतमस्तक भएर हेरिरहेका छन्।
No comments:
Post a Comment