शत्रुलाई रनभुल्लमा पार्न
दूर-दराजबाट पठाएको छ कसैले
एउटी सुन्दर नर्तकीलाई
जो पाउमा जालको पाउज्यू लाएर
छमछमी नृत्य गरिरहेकी छिन्
एउटा देशभक्त भनाउँदो
राजनेता भनाउँदो
राजनैतिक दलको टाउके सामू।
उनको आँखाको नशाले लट्ठिएर
उनको माधुर्य वचनको चौतारीमा
औषधीले बचाएको जवानी बिसाउँदै
सलमान खानको पारामा
एउटा कुनाबाट उनको नृत्यमा साथ दिंदै
राष्ट्रियतालाई रद्धीको टोकरीमा मिल्काउँछ
नर्तकीले क्लियोपेट्राको शैलीमा
राजनेतालाई कब्जा गरेपछि
उसको होसहवास गुम्न पुगी
उनको एजेण्डामा ल्याप्चे लाइदिन्छ।
"मुन्नी बदनाम हुई डार्किङ तेरे लिए"
यो गीतको बोलमा कम्मर मर्काउँदा
बिचरा राजनेता मदहोस हुँदै
स्वाभिमानका नोटहरु फर्र-फर्र उडाउँछन्।
उतातिर नर्तकी भने
नृत्य गर्दै नजिक-नजिक आएर
सत्ताका नायक बेहोस हुनेगरी
स्वार्थका प्यालाहरु पिलाउँछे।
नायक होसमा आउँदा
नर्तकी गायब भैसकेकी हुन्छे
भएभरका सम्पत्ति सोर-सार पारेर
नौ-दो-ग्यारा भैसकेकी हुन्छे।
यता नायक भने
आफू सर्वस्व लुटिएको चाल पाएर
मानसिक सन्तुलन गुमाई
आफ्नै शीरमा मुक्का मार्न थाल्छ।
No comments:
Post a Comment