म हल्लै-हल्लाको भूमरीमा फसेको छु
मेरा बैचारिक अवयवहरु
एक-आपसमा मडारिरहेका छन्
सकारात्मक र नकारात्मक बिचारहरु
द्धन्दमा उत्रेका छन्
नकारात्मक तत्वले सकारात्मक तत्वलाई
घरी-घरी झापड हानिरहेका छन्।
मैले फेर्ने प्रत्येक सासमा
एक-किसिमको अफवाह मिसिएको छ
जुन खतरनाक सरुवा-रोग बनेर
एक व्यक्तिबाट अर्कोमा सरिरहेको छ
आतंक मच्चाइरहेको छ।
मेरा हर स्नायुहरुमा
अर्धचेतनाका भाइरस सल्बलाइरहेछन्
त्यही अर्ध-चेतनाको क्यान्सरले
सिंगो शरीर जीर्ण बनाइसकेको छ।
पंक्षी झैं स्वतन्त्रपूर्वक
खुल्ला गगनमा उड्न चाहन्छु म
तर कुसंस्कारका तरवारबाट
मेरा पखेटाहरु काटिँदैछन्
झरिरहेछु म अनकन्टार मरुभूमिमा।
यसरी फसेको छु
अन्धविश्वासको दलदलमा
पूरै मस्तिष्क भासिएको छ
अंगहरु चल्न सकेका छैनन्
माथि निस्किने चेष्टा गर्छु
तर भवको टाइटनिक जहाज
झन-झन तलतिर डुब्दैछ।
घाइते उमंग लिएर मुश्किलले
दलदलबाट उम्केर भाग्न खोज्दैछु
तर कुरीतिका जंजीरले
हात-पाउहरु बाँधिएका छन्
मोटा-मोटा माखे-साङ्ला तोड्ने
साहस मुर्झाइसकेको छ।
जेलबाट फरार भएको कैदी झैं
भागिरहेको छु मित्थ्याको संसारबाट
लखेटिरहेका छन् अन्धभक्तहरुले
कतिबेला समातिन्छु पत्तो छैन
तैपनि कदम बढाउन छाडेको छैन।
खेल-मैदानमा एक्लो छु
धेरै खेलाडीहरुको सामना गर्दै
बिकृति र विसंगतिको भकुण्डो खेलाउँदै
छल्दै-छलाउँदै अघि लम्किरहेको छु
हारको प्रवल संभावना छ
जीत धेरै कठिन छ
हर प्रहर र पाइलामा चुनौती छन्
तथापि खेल्न छोडेको छैन
हार मानिसकेको छैन
कुनैबेला पोस्टमा गोल गर्छु-गर्छु।
म यकिनका साथ भन्छु
एकदिन अन्धो विश्वासलाई
पिँजडामा कैद गरेर
अँध्यारो संसारमा
चेतनाको पुल्ठो बालेर
उज्यालो अवश्य छर्नेछु।
No comments:
Post a Comment