धेरै पटक मिसकल आयो
मैले फर्काइन।
तत् पश्चात्
धेरै पटक फोन आयो
मैले उठाइन।
लगातार आइरहे फोनकलहरु
म सुखमा हुँदा
म हाँसिरहँदा
म सफल भैरहँदा
तर मैले फोन उठाइन।
कुनै दिन दु:खले के मीत लाएका थिए
आँसु के झरेको थियो
असफल के भएको थिएँ
फोन आउन बन्द भयो
सबैले सुखमा मात्र सम्झिने त रहेछ।
दु:खसंग पौठेजोरी खेल्दै
आफ्नो आँसु आफैंले पुछ्दै
पुन:सफल के हुँदै थिएँ
बारम्बार फोन आउन थाले
यसपल्ट मैलें कल उठाएँ
हेल्लो मात्र के भनेको थिएँ
उताबाट धाराप्रवाह बोल्यो
"तिम्रो योग्यता पुग्यो
अब तिमी आउन सक्छौ
म टिकट पठाउँदैछु
तयार भएर बस्नु"
मैले सोधें-"को बोलेको?"
उत्तर आयो-"यमराज"
"रोङ नम्बर" भनेर फोन काटें।
त्यसपछि अहिलेसम्म
न कुनै कल आयो
न कुनै म्यासेज!
No comments:
Post a Comment