प्रत्येक रजनी/प्रभाती प्रहरमा
गरिबीका भूतहरु आएर
गरिबकै घरमा तर्साउँछन्
तिनका पेटका मुसाहरु
भयभीत भएर यत्रतत्र दगुर्छन्।
बच्चाहरु कुपोषित भएर
टाउका/पेट ठूल्ठूला देखिन्छन्
ठ्याक्कै साना भूत जस्तै
ठूलाहरु दुब्लाएर कंकाल देखिन्छन्
झुत्रा/पुराना वस्त्र लाउँदा
ठ्याक्कै ठूला भूत जस्तै।
भोका/प्यासी मानवीय आकृतिहरु
आलिशान महलको नजिक पुग्दा
सानादेखि ठूलासम्म तर्सिन्छन्
मानौं त्यहाँ साँच्चिकै भूतहरु पुगे।
खाली शिशी,पुरानो कागज बटुल्ने
थोत्रा लुगा लाएका भैयाहरुलाई
कुकुरहरुले समेत भूत नै देख्दा हुन्
र त तिनीहरुलाई देखेर
एक-तमासले भुक्दै लेखेट्छन्।
कहलिएका नामी साहुहरुले
अभावका कारुणिक आवाज सुन्दा
भूतकै आवाज सुनेर होला
नसुने झैं गरेर टाप कसिहाल्छन्।
पक्कै पनि निरीह नारीहरुले
बोक्सीको आरोप खेप्नुपरेको पनि
संकीर्णताका किटाणुहरु संक्रमित
व्यक्तिहरुको मानसिक सन्तुलन
खल्बलिएरै हुनुपर्छ।
No comments:
Post a Comment