Tuesday, 6 February 2018

चुनाव

      "भ्रष्टाचार बिरोधी तथा गरिबी निवारण" पार्टी खोलेर आम जनताको मन जित्न सफल भए नरेन्द्र।समाज सेवा गरेर चर्चाको चुलीमा पुगेका नरेन्द्रले संसदीय चुनावमा अप्रत्याशित सफलता हासिल गरे।प्रथम दलसंग मिलेर बनेको सरकारमा मन्त्री पनि भयो।सत्ता,शक्ति र कुर्सीको स्वाद चाखेपछि ऊ मात्तिन थाल्यो।एकाएक उसले आफ्नो धरातल बिर्स्यो।भर्याङ बनाएर माथि चढेपछि जनतालाई बिर्से।नीति र सिद्धान्तलाई गोली मारेर भ्रष्टाचारमा लिप्त भयो।राज्यकोषबाट करोडौं रुपियाँ कुम्ल्याएर आलिशान महल खडा गर्यो।आरामदायी पजेरो खरिद गर्यो।चुनावमा बाँडिएका वाचा र आश्वासनहरु बिर्सेर ब्यक्तिगत स्वार्थ सिद्ध गर्नमा तल्लीन रह्यो।

        अर्कोतिर उसको जेठो छोरा संवेग गुण्डागर्दी र लुटपाटमा संलग्न भएर बाबा र पार्टीको इज्जत माटोमा मिलाउन थाल्यो।चारैतिर बाबा-छोरा आलोचित हुन थाले।नरेन्द्रको बिरुद्धमा आवाजहरु उठ्न थाले।
"नरेन्द्र चोर-देश छोड!"
यस्तै नाराले सडक तातिन थाले।सदनमा बिपक्षी दलका नेताहरुले उस्तै दबाब दिन थाले।

        अर्को संसदीय चुनावले पनि घर-आँगनमा पाइला टेकिसकेको थियो।नरेन्द्र पनि उस्तै चुनावी नारा र घोषणापत्र लिएर जनताका घरदैलो गर्न थाले।
"मुखमा राम-राम,बगालीमा छुरा" भने झैं मुखले भोट दिने कुरा गरेपनि जनताको मनमा भने ठिक विपरीत थियो।
"जसरी पनि नरेलाई हराउनुपर्छ" भनेर लागिपरेका थिए।

       राजनीतिलाई आम्दानीको श्रोत र व्यापार ठानेको चतुर राजनैतिक खेलाडी नरेन्द्रले बुझिसकेको थियो-हार निश्चित छ भनेर।चुनाव आउन दुई दिन मात्र बाँकी थियो।अचानक संवेगले आत्महत्या गरेको खबरले मुलुकमा हलचल मच्चायो।
"मेरो कारण बुबा र पार्टीको बदनाम भयो।आफ्नो गल्तीको प्रायश्चित गर्न म स्वयंले आत्महत्या गरेको हुँ।यसको जिम्मेवार म आफैं हुँ।"
बिष सेवन गर्नु पूर्व सुसाइड नोटिस लेखेर छोडेको थियो।

       नरेन्द्रले पत्रकार सम्मेलन गरेर खेद व्यक्त गर्यो।
"मेरो छोराको कदमले म स्तब्ध भएको छु।मैले पनि जनताको अभिमतको कदर गरिन।कुर्सीको मोहले म अन्धो भएँ।तर फेरि पनि त्यस्तो हुने छैन।म सुध्रिन चाहन्छु।जनताको सेवा गर्न चाहन्छु।मलाई भोट नदिनुस्।सजाय दिनुस्।"
अन्ततः नरेन्द्रले चुनावमा जीत हासिल गर्यो।जीतको खुशीयालीमा भोजको आयोजना गरियो।भोज सकियो।सबै आ-आफ्ना गन्तव्यतिर लागे।

        नशाले मदहोसी नरेन्द्रले भित्तामा फूलमाला लाएर अचल भई बसेको संवेगको तस्वीरलाई एकटकले हेर्यो र भन्यो-
"तँ चिन्ता नगर छोरा!अर्को चुनावमा तेरी आमा तँलाई भेट्न जरुर आउनेछिन्।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...